रामबहादुर बुढा
लेखक, साहित्यकार तथा गीतकार नारायण योगीले गीतको रुपमा किसानको हक खोज्ने श्रृजना प्रकाशमा ल्याउनुभएको छ । २०२६मई १२ मा योगीले आफ्नो फेसबुक पेज मार्फत उक्त रचनालाई सार्वजनिक गर्नु भएको हो । यस रचनालाई धेरै स्रोताहरुले मन पराएर सामाजिक सञ्जालमा प्रशस्त शेयर गरेका छन् । योगीको मर्मस्पर्सी शब्दहरुलाई रबिन गुरुङले ए. आईको सहयोगमा स्वर र संगीत भर्नु भयो र भिडियो बनाउनुभयो । साहित्यकार गुरु प्रशाद कुमाल बुलबुलले भिडियो इडिटिङ गर्नु भयो अनि हेरिरहुँ , सुनरहुँ लाग्ने सुन्दर श्रृजना तयार भयो ।
किसान दाइ खै तिम्रो हक (गीत)
–नारायण योगी
किसान दाइ खै तिम्रो हक
जिउने स्वतन्त्र अधिकार
महङ्गी भ्रष्टाचार चुलियो
दुःख पिर उस्तै छ बारम्बार –२
कृषि प्रधान देश भन्छन्
मल कारखाना छैन
मलको सधैँ हाहाकार
दलाली व्यापारीलाई चैन
जनताको सरकार भन्छन्
कहाँ छन् त सुखी जन
दिनरात रोइरहेछ किसानहरूको मन
किसान दाइ ………………….।
बाढी आयो पहिरो गयो
थात, बास, गाँस खोस्यो
झुठा कुरा सुनाएर
सरकार गर्छ हाँसो
कहिले होला किसानले यस्ता कुरा बुझ्ने
आफ्नो हक लिनलाई एक भई उठ्ने
किसान दाइ…………………………….।
कति चुनाव आए गए
किन फेरिएन चोला
ठूला ठूला नेता मिली
भर्छन् आफ्नै झोला
यो चलन चलाउने दलाली सरकार
किसान आफै नउठेमा आउँदैन दिन फर्केर
किसान दाइ……………………………।
नारायण योगीद्वारा रचित “किसान दाइ खै तिम्रो हक” गीत नेपाली किसान वर्गको पीडा, शोषण, अन्यायको विरोध र किसानको अधिकार चेतनालाई मुखरित गर्ने एक सशक्त जनवादी तथा प्रगतिशील गीत हो। यस गीतले कृषि प्रधान देश नेपालमा किसानले भोगिरहेका वास्तविक समस्याहरूलाई सरल, सशक्त र मार्मिक भाषामा प्रस्तुत गरेको छ।
विषयवस्तु
गीतको मुख्य विषय किसानको दुःख, राज्यको उदासीनता तथा किसान वर्गको अधिकारप्रतिको चेतना हो। गीतको सुरुवातमै योगीले “किसान दाइ खै तिम्रो हक” भन्ने प्रश्नमार्फत किसानको अस्तित्व र अधिकारमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । । महँगी, भ्रष्टाचार, मल अभाव, दलाली र सरकारी बेवास्ताले किसानको जीवन झन् कष्टकर बनेको यथार्थलाई गीतले उजागर गरेको छ। गीतमा किसानका आर्थिक समस्यामात्र होइन, प्राकृतिक विपत्तिहरू बाढी, पहिरो आदिले थपिएको पीडालाई पनि चित्रण गरिएको छ। यसले किसानको जीवन बहुआयामिक संकटले घेरिएको तथ्य प्रस्तुत गर्छ। बहुसंख्यक झण्डै ६६ प्रतिशत किसानहरुको देशमा किसानको गीत बन्नु आफैमा सराहनीय कार्य हो । किसान आन्दोलनलाई प्रेरित गर्ने गीतहरुको आबश्यकतालाई केही हद सम्म भए पनि यसले पुर्ति गर्ने छ । बर्षा याममा किसानहरु खेतीपातिमा तल्लिन हुन्छन् । खेतिपाति गर्ने समयको मुखैमा यो गीत सार्वजनिक हुँदा गीतको सान्दभिकता अझ बढेको छ ।
विचार पक्ष
गीतमा स्पष्ट रूपमा प्रगतिशील र जनपक्षीय विचार अभिव्यक्त भएको छ। गीतकार योगीले किसानलाई आफ्नो अधिकारबारे सचेत हुन र संगठित संघर्षमार्फत हक प्राप्त गर्न आह्वान गर्नु भएको छ । । “आफ्नो हक लिनलाई एक भई उठ्ने” भन्ने पंक्तिले गीतको संघर्षशील चेतनालाई बलियो बनाएको छ।
यस गीतले केवल दुःखको वर्णन मात्र गर्दैन, परिवर्तनको आवश्यकता र त्यसका लागि किसान स्वयं जाग्नुपर्ने सन्देश पनि दिन्छ। त्यसैले गीतमा आलोचनासँगै प्रतिरोध र आशाको स्वर पनि सुनिन्छ। सरकारले कृषकहरुलाई निरुत्साहित गरिरहेको छ । दलाल र नोकरशाही प्रकारका पूँजीपतिहरूलाई प्रोत्साहन दिइरहेको छ । स्वदेशी उद्योग र व्यापार कमजोर बनाउने । विदेशी वस्तु भित्र्याउन अनेक प्रपञ्च रचेर कृषकलाई निरुत्साहित बनाउने जस्ता कार्य कृषि क्षेत्रमा भइरहेका छन् ।नेपालको हावापानी विश्वकै राम्रो हावापानी मानिन्छ । तर, केही दशकदेखि कृषि उत्पादन बढाउने नाममा खर्बौंको रासायनिक विषादी र विदेशी बिउबिजन भित्र्याउँदा नेपालको खाद्य सम्प्रभुतामा ठूलो घात भएको छ ।
नयाँ प्रविधिको प्रयोग
एआईले सिर्जनात्मक कामलाई छिटो, सस्तो र सहज बनाउन सक्छ।नेपाली संगीत क्षेत्रमा नयाँ प्रविधिको प्रयोगले नवीनता ल्याउन सक्छ। नेपाली संगीत क्षेत्रमा ए.आई. को प्रयोग बढ्दो छ । अबश्य पनि ए.आई. को प्रयोग भन्दा खाति मानव आवाज र वास्तविक प्रस्तुति बढी मूल्यवान् हुन्छ । तर ए.आई. को प्रयोगलाई पूरै अस्वीकार गर्ने अबस्था पनि छैन । कानुनी रूपमा प्रयोग गर्न मिल्ने एआई उपकरण प्रयोग गरिएको हो भने यो सिर्जनात्मक प्रयोग मान्न सकिन्छ। एआईबाट बनेको सामग्रीलाई मानवले बनाएको भनेर प्रस्तुत गर्नु नैतिक रूपमा उचित हुँदैन। योगीले शब्द आफ्नो भए पनि इमान्दारितापूर्वक संगीत ए.आई. को भन्नुभएको छ ।
शिल्प तथा भाषा
गीतको भाषा अत्यन्त सरल, सहज र जनबोलीमा आधारित छ। किसान तथा श्रमजीवी वर्गले सजिलै बुझ्न सक्ने शब्दहरूको प्रयोग गरिएको छ। “किसान दाइ” भन्ने सम्बोधनले किसान सितको आत्मीयता र निकटताको भाव पैदा गरेको छ। लोकगीत तथा जनगीतको शैलीमा लेखिएको यस गीतमा लयात्मकता र सन्देशात्मकता दुवै पक्ष सशक्त छन्।
प्रतीक र बिम्ब
गीतमा मलको अभाव, बाढी–पहिरो, खाली झोला, दलाली सरकार जस्ता बिम्बहरू प्रयोग गरी किसानको यथार्थ जीवनलाई जीवन्त बनाइएको छ। यी बिम्बहरूले नेपाली ग्रामीण समाजको वास्तविक अवस्था पाठक वा श्रोतासामु स्पष्ट रूपमा प्रस्तुत गर्छन्।
निष्कर्ष
“किसान दाइ खै तिम्रो हक” किसान वर्गको आवाज बनेको एक प्रभावशाली जनगीत हो। यसले किसानका समस्या, राज्यको गैरजिम्मेवारी र राजनीतिक विकृतिको आलोचना गर्दै किसानलाई जागरण र संघर्षको बाटोमा अघि बढ्न प्रेरित गर्छ। सरल भाषा, स्पष्ट सन्देश, जनवादी चेतना र सशक्त भाव अभिव्यक्तिका कारण यो गीत नेपाली प्रगतिशील साहित्यको सशक्त रचनामध्ये एक मान्न सकिन्छ।समग्रमा, नारायण योगीको यो गीत किसान जीवनको यथार्थ चित्रण गर्ने, अधिकार चेतना जगाउने र सामाजिक परिवर्तनको आकांक्षा व्यक्त गर्ने उत्कृष्ट जनवादी गीत बन्न गएको छ । योगी लगातार श्रृजना कर्ममा लागिरहनुभएको छ । आसा गरौं उहाँबाट यस्ता जनपक्षीय रचना आइरहने छन् ।

नारायण योगी

