नारायण अधिकारी
वैकल्पिक पि.वि.एम. तथा ६ नं. व्यूरो इन्चार्ज,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल
० असार २५ गते काठमाडौंमा मुगुका राइड शेयररिङका मजदुर गणेश नेपालीले आत्मदाह गरे । त्यस घटनालाई एकाथरीले फ्रस्टेशनको उपज र अर्काथरीले सरकारको दमनले निम्ताएको घटना भनेका छन् । यसबारे तपाई के भन्नु हुन्छ ?
–यो घटनालाई मैले सरकारले निम्ताएको घटनाको रुपमा बुझेको छु । सरकारले सुरुदेखि नै गरिखाने वर्गमाथि दमनको नीति अपनाएको छ । सुकुम्बासीहरुको बस्ती भत्काएर लखेट्यो । वस्ती भत्केपछि होल्डिङ सेन्टरमा राखिएका सुुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई विना विकल्प त्यहाँबाट लखेट्दैछ । सिमानामा तथाकथित कडाईका नाममा २/४ किलो चिनी, आधारभूत खानपिनका बस्तु खरिद गरेर ल्याउने निम्न वर्गका मानिसहरुलाई दमन ग¥यो । राइड शेअरिङमा काम गर्ने सर्वसाधारण स्वरोजगार मजदुरहरुमाथि दमन बढाएको छ । सरकारको गरिब विरोधी नीतिका कारणले नै गणेश नेपालीको दुःखद मृत्यु भयो ।
० तर सरकारले त नियम लागु गर्न खोजेको थियो दमन गर्न खोजेको हैन भन्छ त ?
– अहिलेको नियम कानुन नै गरिब विरोधी छ । त्यसमा अझ बालेन सरकार गरिब विरोधी कार्यमा लागिरहेको छ । नियम लागु गर्छु भन्दैमा मान्छेको ज्यान लिने र मान्छेको यो धर्तीमा बाँच्ने अधिकार खोस्ने अधिकार सरकारलाई छैन ।
० विगतमा संविधानसभा भवन अगाडि नै उद्यमी प्रेम आचार्यले आत्मदाह गरे । अहिले गणेश नेपालीले आत्मदाह गरे । भविष्यमा यस्तो घटना दोहोरिंदै जान सक्छ । यस्तोघटना दोहोरिन नदिने उपाय के हुन सक्छ ?
– पहिलो कुरा जनताको सुरक्षा र सुविधा, रोजगारीको जिम्मेवारी लिने राज्य हुनुपर्दछ । राज्य अहिले जनताबाट कर लिने तर जनताको सुरक्षा र सुविधाप्रति जवाफदेही नहुने प्रवृत्ति छ । त्यसलेगर्दा जनताप्रति उत्तरदायी राज्य चाहिन्छ । अहिले सरकार जनताको सरकार नभएर शोषक वर्गको सरकार हो । यो साम्राज्यवादका एजेन्टहरुको सरकार हो ।
यो सरकार र यो राज्यबाट जनताले सुरक्षा र सुविधा पाउने सम्भावना छैन । दोस्रो कुरा, तसर्थ आत्मदाहको बाटो हैन, शोषित पीडित वर्ग संगठित भई आफ्नै वर्गको सत्ता स्थापना गर्ने संघर्षको बाटोमा जानु पर्दछ । यो नै समस्या समधानको उपाय हो ।
० गत असार २३ गते काठमाडौंमा एक विद्यालयमा सरकारकै अनुमति लिएर तिब्बतका पृथकतावादी धार्मिक नेता दलाई लामाको ९१ औं जन्म जयन्ती मनाएको समाचार आएको छ । इतिहासमा सरकारले यस्तो अनुमति दिएको थाहा थिएन । यसबारे तपाई के भन्नुहुन्छ ?
– सरकारले दलाई लामाको जन्म दिवस मनाउन छुट वा अनुमति दिनु परम्परागत रुपमा नेपालको परराष्ट्र नीतिमा जुन “एक चीन नीीति ” थियो, त्यसको उल्लंघन हो । चिनियाँ परराष्ट्र मन्त्रीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणका बेला “टाढाका आफन्त भन्दा नजिकका मित्र काम लाग्छन्” भनेका थिए । चीनले नेपाललाई लगातार तिब्बत मामलामा एक चीन नीति अपनाउन विशेष जोड दिंदै आएको छ । यति हुँदा हुँदै पनि चीन विरोधी गतिविधि हुने गरी नेपाल सरकारले दलाई लामाको जन्म जयन्ती मनाउन दिनु एक, नेपालको स्थापित परराष्ट्र नीति उल्लंघन हो, दुई प्रकारान्तरले यो नेपालको लागि राष्ट्रघात हो किनभने यो सरकारले नेपालको भू राजनीतिक संवेदनशीलतालाई बुझ्न सकेन । सरकारको यस्तै नीतिले नेपाल विदेशी शक्ति केन्द्रहरुको क्रिडास्थल बन्न सक्छ। नेपालले युक्रेनले भोगिरहेको नियति भोग्नु पर्ने स्थिति आउन सक्छ । त्यसकारण त्यस्तो आउन नदिन आम नेपाली देशभक्त जनताहरु सचेत भई सरकारको गलत परराष्ट्रनीतिको विरोध गर्नु पर्दछ ।
० तपाईहरुको पार्टीले बालेन सरकारलाई अमेरिकी साम्राज्यवादको एजेन्टको सरकार भनिरहेको छ । नेपाली जनताले नै निर्वाचित गरेको सरकारलाई साम्राज्यवादको एजेन्टको सरकार भन्नु पूर्वाग्रही सोंचाई भएन र ?
–हाम्रो धारणा पूर्वाग्रही छैन । तथ्य संगत नै छ। गत जेनजी आन्दोलनमा टि.ओ.वि.(टिवेटियन अरिजिनल व्लड) का डे«स लगाएका र त्यस आन्दोलनमा हिंडेको व्यक्तिहरुको प्रतिनिधित्व यो सरकारले गरिरहेको छ । बारबरा फाउण्डेशन, जो अमेरिकन लगानीमा संचालन भइरहेको एनजिओ हो । त्यस एनजिओसँग सम्बन्धित व्यक्तिहरु अहिले सरकारमा छन् । अमेरिकन युथ काउन्सिलले नेपालमा युवाहरुलाई भड्काउने काम गरिरहेको छ । त्यस्ता युवा अभियानकर्मीहरुलाई सरकारले संरक्षण गर्ने काम गरिरहेको छ । अहिलेको सरकार पनि राष्ट्रघाती एमसीसीको मतियार हो । प्रशस्त प्रमाणहरु छन्, जो सरकार साम्राज्यवादको एजेण्ट हो भन्नका लागि ।
० सुकुम्बासी आन्दोलनलाई सरकारले दमन गरिरहेको छ । यसबारे के भन्नुहुन्छ ?
–हुकुम्बासीलाई बस्तीबाट हटाउने नाममा वास्तविक सुकुम्बासीलाई विना विकल्प यो वर्षायामका बेला बालेन सरकारले विचल्ली बनाएको छ । संविधान अनुसार मौलिक अधिकार अन्तर्गत नै जनताको आवासको व्यवस्था उसको नैसर्गिक हक हो। यो सरकारले जनताको आवासको अधिकार खोसेको छ । सुकुम्बासी बस्तीबाट लखेटेर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीहरु नारकीय जीवन बिताउन बाध्य छन् । होल्डिङ सेन्टरबाट पनि लखेटेर विचल्ली बनाउदै छ । सरकारले सुकुम्बासीको व्यवस्थापन गर्छौं भन्यो तर व्यवस्थापन गर्न सकेन । यो सरकारले सुकुम्बासीको व्यवस्थापन गर्न सक्दा पनि सक्दैन । जनताको नयाँ जनवादी व्यवस्था नआउँदासम्म सुुकुम्बासी समस्या समाधान हुनेवाला छैन । अब सुुकुम्बासी, किसान, मजदुर सबैले आफ्ना पीडा, आक्रोशलाई संगठित शक्तिको रुपमा बदल्नु पर्दछ ।
० तपाई राजनीतिक आन्दोलनमा कसरी जोडिनु भयो ?
–मैले कक्षा ५/६ मा ज्ञान ज्योति मावि लप्सीबोट गोर्खामा अध्ययन गर्ने बेला सँगै पढ्ने विद्यार्थी साथीहरुले म लगायतलाई यिनीहरु उग्रवादीका सन्तान हुन् भनेर जिस्काउँथे । हामीलाई के भनेको होला भनेर अचम्म लाग्थ्यो । पछि कुरा बुझ्दा हाम्रो बुबा श्रीनाथ अधिकारी कम्युनिस्ट पार्टीमा लागेकाले हामीलाई उग्रवादी भनेका रहेछन् । कक्षा ७ मा पढ्दा २०४६ सालको आन्दोलन भयो । त्यो आन्दोलनमा हामी जानी नजानी हिंडियो। बहुदल आएपछि ज्ञान ज्योति माविमा नेविसंघ र अखिल छुट्टियो । मैले अखिलको सदस्यता लिने र वितरण गर्ने काम गरे । त्यो अखिल नेकपा (मशाल) निकटको अखिल रहेछ । कक्षा १० मा पुग्दा मूल इकाई समितिको सचिव भएँ २०५० सालमा । २०५१ सालमा वाई.सि.एल.को कमिटीमा पनि आबद्ध भएँ । २०५२ मंसिरमा मैले तत्कालीन नेकपा (माओवादी) को सदस्यता लिएको थिएँ । राजनीतिक आन्दोलनमा हिंड्नका लागि परिवार नै राजनीतिक परिवार भएकाले पारिवारिक व्यवधान खेप्नु परेन । बुबा तत्कालीन नेकपा (एकताकेन्द्र) को गोर्खा जिल्लाको पहिलो सेक्रेटरी हुनुहुन्थ्यो । २०४८ को संसदीय निर्वाचन गोर्खा क्षेत्र नं. १ बाट संयुक्त जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बन्नु भएको थियो । झण्डै १२ हजार भन्दा बढी मत लिए पनि नेकाको चिरञ्जीवी वाग्लेसित करिव २५ सय मतले पराजित हुनुभयो ।
० जनयुद्धकालमा तपाईको भूमिका के रह्यो ?
–२०५२ साल फागुन १गते म व्यक्तिगत कामले गोर्खाको आरुघाट बजार पुगेको थिएँ । त्यस दिन नेकपा (माओवादी) ले आरुघाट बजारमा मशाल जुलुश निकालेको थियो । संयोगवस म त्यो जुलुशमा सहभागी भएँ । मशाल जुलुशलाई प्रहरी चौकीको अगाडि समापन गरिएको थियो । समापन कार्यमक्रममा भक्ति लामिछानेले सम्बोधन गर्दै भन्नु भएको थियो, “आजबाट नेकपा (माओवादी) ले जनयुद्धको सुरुआत ग¥यो । प्रहरी साथीहरु तपाईहरु हामीमाथि दमनमा नउत्रनु होला । हाम्रो लडाई तपाईहरुका विरुद्ध हैन । राज्यसत्ताको विरुद्ध हो । यो लडाई तपाईहरुको हितको लागि पनि हो । मजदुर किसानको सत्ता स्थापना नगरी हाम्रो मुक्ति हुँदैन ।” ६ दिनपछि भक्ति लामिछाने आरुघाट घरबाटै गिरफ्तार हुनुभयो । म गोर्खा क्याम्पस इकाईमा ०५३ सम्म काम गरे । ०५३ देखि ०५५ सम्म गोर्खाको लप्सीबोट गाउँमै बसेर घरको काम र पार्टीको काम गरें । ०५४ सालको असारमा जाली फटाहा विरोधी आन्दोलन अन्तर्गत नेकपा (माओवादी) ले एक जना फटाहालाई कार्वाही गरेका रहेछन् । (कुटपिट गरेका रहेछन्) । तर म त्यस घटनामा थिएन । मलाई झुठा मुद्दा लगाइयो । बुबा त पहिले नै भूमिगत हुनुहुन्थ्यो । परिवारकै सल्लाह अनुसार मुद्दा नखेप्ने भूमिगत हुने कुरा भयो र म २०५५ असोजबाट भूमिगत र होलटाइमर भई काम गरें । ०५५ देखि ०५९ सम्म गोर्खा–लमजुङ संयुक्त जिल्ला कमिटी अन्तर्गतका कमिटीमा संगठनको क्षेत्रमा काम गरें । मैले संगठनको क्षेत्रमा काम गरें तर जनमुक्ति सेनातर्फ जानु परेको थिएन। ०५९ श्रावणदेिख ०६३ श्रावणसम्म ४ वर्ष कास्की जिल्ला पार्टीमा रहेर काम गरें ।
० शान्ति प्रक्रिया पछि तपाईको पार्टीगत भूमिका के रह्यो ?
–शान्ति प्रक्रिया पछि सुरुमा गोर्खा जिल्ला पार्टी सदस्य र केही समय तमुवान राज्य समितिको सदस्य रहेर पार्टीको काम गरें ।
०एकीकृत नेकपा (माओवादी) को विभाजन र पार्टी पुनर्गठनबारे तपाईको के स्मरण छ ?
–२०६५ सालको मंसिरमा भक्तपुरको खरिपाटीमा नेकपा (माओवादी) को राष्ट्रिय भेला भएको थियो । त्यस भेलामा प्रचण्डको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर जाने र मोहन वैद्यको संघीय जनगणतन्त्रको तयारी गर्ने दुई बेग्लाबेग्लै प्रस्ताव आएका थिए । २०६७ को मंसिरमा एनेकपा (माओवादी) को छैठौं विस्तारित बैठक गोर्खाको पालुङटारमा भयो। प्रचण्डको “अनुकूल भए संविधान, प्रतिकूल भए जनविद्रोह,” बाबुरामको “शान्ति र संविधान” र मोहन वैद्यको “जनयुद्धको जगमा जनविद्रोह प्रस्ताव” आए । विस्तारित बैठकले निर्णय गर्न नसकेपछि त्यो प्रस्तावलाई केन्द्रमा फर्काइयो । त्यो विस्तारित बैठकमा म मोहन बैद्यको प्रस्तावको पक्षमा थिएँ । दुई लाइन संघर्ष बढ्दै गएर २०६९ साल असार मा पार्टी विभाजित भएर बैद्यको नेतृत्वमा नेकपा – माओवादी गठन भयो । नेकपा – माओवादी गठन भएपछि गोर्खा जिल्ला सेक्रेटरी, २०७२ कार्तिक २२ गते नेकपा–माओवादी र नेकपा (एकीकृत) बीच एकता भई नेकपा (क्रान्तिकारी माओवादी) बन्यो । म नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सदस्य र गोर्खा जिल्ला इन्चार्ज भएँ। २०७७ सम्म गोर्खा जिल्ला इन्चार्ज भएँ । २०७८ मा एक वर्ष स्याङ्जाको इन्चार्ज भएँ । ०७९–८० मा ४ नं. प्रदेश कमिटीको कार्यालय इन्चार्ज भएँ । २०८० मा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बन्यो । म त्यस पार्टीको केन्द्रीय सदस्य भएर ४ नं. प्रदेश कार्यालय सदस्य रहेर काम गरें। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा २०८१ वैशाखमा एकता भई बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन आयोजक समितिका सदस्य, २०८१ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्य र २०८१ फागुनबाट ७ नं. व्यूरोको सेक्रेटरी तथा बैकल्पिक पोलिटव्यूरो सदस्य र अहिले २०८३ वैशाखबाट ६ नं. व्यूरो इन्चार्ज रही काम गर्दैछु ।
० पार्टीको एकता महाधिवेशनबाट पारित कार्यदिशा कार्यान्वयनबारे के भइरहेको छ ?
–हाम्रो पार्टीको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जानेछ । यसको संघर्षको रुप जनसंघर्ष ,प्रतिरोध संघर्ष र सशस्त्र जनविद्रोह हुनेछ । अहिलेको चरण भनेको जनसंघर्षको विकास गर्ने चरण हो । अहिले हामी त्यही चरणमा छौं । समाजमा बढिरहेको अन्तर्विरोधको पहिचान गर्ने र सही ढंगले अन्तर्विरोध संचालनगर्ने कार्यमा लागेका छौं । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई उठाउँदै सचेत वर्गसंघर्षमा ध्यान दिएका छौं ।
० तपाईको परिवार प्रगतिशील संस्कृति अपनाउँदै आएको परिवार हो । समाजमा अहिले कम्युनिस्टहरुले नै प्रगतिशील संस्कृति त्याग्दै गइरहेका छन् । के भन्नु हुन्छ ?
–मेरो बुबाले पनि आफ्नो बुबाको काजक्रिया गर्नु भएको थिएन। हामी ३ दाजुभाइ २ दिदीबहिनी सबैको जनवादी विवाह भएको हो । मेरो २०५७ साल फागुन ३० गते भूमिगत जीवनमै शुशिला थापा सित जनवादी विवाह भएको थियो । कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउन जन्म, विवाह, मृत्यु संस्कारलाई प्रगतिशील बनाउँदै जानुपर्छ । प्रगतिशील र जनवादी संस्कृतिको विकास गर्नु पर्दछ ।
० अन्त्यमा केही छ कि ?
– विचार सम्प्रेशणको अवसरका लागि धन्यवाद दिन चाहान्छु । हाँक साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।


