‘ सीताको धरातलका सुस्केराहरू ’ — समीक्षा

 

  • गौरी देवकोटा

आज भन्दा झण्डै छ दशक अगाडि गोरखाको विकट गाउँमा जन्मिएर साक्षरसम्म बन्ने मौका पाउनु भएकी सीता सिमखडा ज्यूको पहिलो कृति ‘ सीताको धरातलका सुस्केराहरू ’ प्रकाशनमा आएको छ । साहित्यकार निशान निष्कर्षको सम्पादन र श्रीमान् गोविन्द सिमखडा ज्यूको प्रकाशनका प्रकाशित १०८ पृष्ठको यस पुस्तकभित्र जम्मा ८९ शीर्षकका रचनाहरू रहेका छन् । यि रचनाहरूलाई दुई खण्डमा छुट्याइएको छ । कविता खण्ड र गीत खण्ड । कविता खण्डमा ६६ वटा रचना छन् भने गीत खण्डमा २३ वटा रचना रहेका छन् साथै कविता खण्डको अन्त्यमा पारिवारिक तस्वीरहरू पनि सङ्ग्रहीत छन् ।
यस पुस्तकको बाहिरी आवरण कलाकार विकास तमाखुको कलामा सजिएको छ भने भित्री सज्जा राम कुमार कार्कीको रहेको छ । पुस्तकभित्र प्रवेश गर्दै गर्दा सुरुमा गीतकार कृष्णहरि बरालको समीक्षात्मक मन्तव्यसहित केही विद्वत् व्यक्तित्वहरूको शुभकामना मन्तव्यका साथसाथै प्रकाशकीय र स्रष्टाको भनाई पढ्न पाइन्छ । यहाँसम्म पुग्दा यो सङ्ग्रहको सान्दर्भिकता र महत्व पनि बुझ्न सकिन्छ ।

मैले यहाँ यस पुस्तकभित्र रहेको दुई खण्ड मध्ये कविता खण्डभित्र केन्द्रित रहेर पाठकीय दृष्टिकोणबाट समीक्षा गर्ने प्रयास गर्नेछु ।

‘ सीताको धरातलका सुस्केराहरू ’ भित्र लामा छोटा शीर्षकका ६६ वटा कविताहरू रहेका छन् । प्रायः कविताहरू छोटा चार लाइनको स्तान्जा (परिच्छेद) मा लेखिएका छन् भने अन्त्यानुप्रास मिलाएर रचना गरिएकाले लयात्मक र श्रुतिमय पनि बनेको छ । कवितामा स्रष्टाको आफ्नै भोगाइ वरिपरिका परिदृष्यहरू समेटिएकाले एउटी सभ्य, सुशील, जिम्मेवार र सचेत गृहिणीको प्रतिरूप प्रतिबिम्बित भएर आएको छ तर कविताहरू नारीका वेदना वा विलौनामा मात्रै सीमित छैनन्, चुला चौका, माइती मावली त छ नै साथसाथै वर्तमान परिवेशमा उभिएर देशको र समाजको आवश्यकता र विसङ्गतीहरू पनि परिपक्क ढङ्गले केलाउँदै सरल शब्द र वाक्यहरूमा प्रस्तुत गरिएको छ ।

विषयवस्तुका हिसाबले कविताहरू सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक, लैङ्गिक सबै विषयमा लेखिएका छन् भने यसमा व्यक्त विचार अध्ययन गर्दा स्रष्टामा आध्यात्मिक दृष्टिको प्रधानता रहेको पाइन्छ । प्रस्तुत कविताहरूमा व्यक्त भएको माटोप्रतिको प्रेम, राष्ट्रप्रतिको प्रेम, प्रकृतिप्रतिको प्रेम र राष्ट्रिय स्वाधीनताप्रतिको चिन्ता पाठकले अनुभूत गर्ने सुन्दर पक्ष हुन् । तर प्राकृतिक सुन्दरतामाथि अतिक्रमण भइरहँदा कविको मन भने नराम्ररी रोएको पाइन्छ ।

यही जङ्गल फाँड्छ मान्छे
अहम् देखाएर
भीरपाखा पहिरो जान्छ
मनै रुवाएर ।
(पृ.११)

पृथ्वीका सम्पूर्ण जीवक‍ो बाँच्ने आधार भनेको प्रकृति नै हो । यस पृथ्वीको सर्वश्रेष्ठ जीव अर्थात् मान्छे नै प्रकृतिको विनासमा लागेको देख्दा कविको मन रोएको मात्रै छैन जन्मभूमि उजाड बन्दै गएकामा चिन्तित हुँदै परदशीयकालाई देश फर्किन आह्वान पनि गरिएको साक्ष्य कवितामा भेटिन्छ –

फर्की आऊ अब घर
हे निष्ठुरी परदेशी
जन्मभूमि जोगिँदैन
परदेशमा बसी । (पृ.१५)

यस्तै गरेर सिमखडाका कविताहरूमा माटोको माया, निम्न वर्गप्रतिको सद्भाव, सचेत नागरिकको सपना, समभाव, दुस्ख र अवहेलनाले उब्जाएको वेदना, विभेद र विसङ्गतीप्रतिको विमति, विरोध, घृणा, मानवीय धर्म, शिष्टता, नैतिकता सबै कुराहरू आफ्नै बुझाईमा र आफ्नै शैलीमा व्यक्त भएको पाइन्छ ।

प्रस्तुत कविताहरू पढिरहँदा वैचारिक रूपमा सचेत पाठकलाई प्रफुल्ल बनाउने अर्को विषय विचारप्रधान कविताहरू रहेका छन् । राजनैतिक विषयमा लेखिएका कविताहरूमा कविको देश समृद्ध भएको देख्ने चाहाना छ । वैदेशिक हस्तक्षेपको अन्त्य, निम्न वर्ग, किसान वर्ग र भोकालाई न्याय भएको हेर्ने चाहाना छ । साथसाथै चाहाना पूरा हुन समृद्धिका बाधक भ्रष्ट नेताहरू र राज्य सञ्चालन गर्ने प्रणाली ९सिस्टम० नै गलत छ भन्ने ठम्याइ कविको छ यसै प्रसङ्गमा ूसिस्टमू कविताको अंश हेरौँ–

सरकारले जनताको
दुस्ख हेर्नु पर्छ
देशको विकास गराउन
सिस्टम फेर्नु पर्छ ।
(पृ. ५)

कवि सिस्टम फेर्नु पर्छ त भन्नुहुन्छ नै गलत सिस्टमका साथै अनेक द्वन्द्व, हिंसा र कुरीतिबीच बाँच्न सङ्घर्षरत नेपाली र चौतर्फी अतिक्रमणमा परेको नेपाललाई शान्त र विशाल भनेर गफ लगाउने गरेकामा असन्तोष पनि व्यक्त गर्दै लेख्नुहुन्छ(

यस्तै रैुछ सुन्दर अनि
यस्तै रैुछ शान्त
कहिले होला परचक्री
घुसपैठको अन्त रु
(पृ. ५)

‘ सिस्टम  ’ कविता नेपाललाई शान्त र विशाल भनेर आदर्शका कुरामा भुलाएर देश लुट्नेहरूप्रति व्याङ्ग्यात्मक भावसहित वैदेशिक हस्तक्षेपको अन्त्य चाहेको कविता हो ।
यस्तै गरेर बेथितीको जड भ्रष्ट नेताहरू भएको र भ्रष्ट बढार्ने बेला आएकोले युवाहरूलाई आह्वान गरिएको ‘ नेता ’ शीर्षकको कविता पनि उन्नत कविता हो भने वैचारिक पक्ष बलिय‍ो भएको अर्को कविता ‘ विखण्डन ’हो ।

बाध्यकारी विकल्प के
हतियार साँध
चाहेको त समाजवाद हो
भयो दलालवाद ।
(पृ.६८)

आजको आवश्यकता समाजवाद भए पनि नेतृत्व पङ्तिले देशको भन्दा विदेशीको हितमा काम गर्ने गरेक‍ो कटु यथार्थहरू कविताहरूमा भेट्न सकिन्छ ।यसरी नै सुन्दर भाव व्यक्त भएका कविताहरू अरु पनि छन् । निम्न वर्गको दुस्ख पीडा र असाहाय जीवनप्रतिको करुणाभावले ‘ सडक बालक ’,  ‘ किसान ’ , ‘ भरिया’, ‘ यथार्थ ’ जस्ता कविता जन्मिएको पाइन्छ । कवितामा नेपाल र नेपालीको वास्तविक चित्र उतार्दै कविद्वारा गर्व गर्ने कुरामा प्रश्न उब्जाइएको छ –

गरिबले मीठो खान
कुर्नुपर्छ पर्व
सुख खोज्दा ज्यानै जाला
के गर्नु खै गर्व ?
(पृ.५२)

सिर्जनाद्वारा समाजमा भएका विसङ्गतीहरूप्रति विमती राख्नु र असल आचरणको अनुशरण गर्न उत्प्रेरित गर्नु कविमा भएको अर्को खुबी हो । कविताहरूमा आकर्षण छ । छोटा र सरल कविताका कतिपय शीर्षकले पनि उत्सुक बनाउँछ र पढ्न जाँगर चलाउँछ ।
आध्यात्मिक भावको प्रचुरता रहेको यस सङ्ग्रहभित्र जीवन दर्शनका कुराहरू छन् । आदर्शका पङ्तिहरू छन् , पत्रकार बोलेको छ, अभिभावक छ, डक्टर छ, आमा, छोरी, बुहारी, श्रीमती, बालबालिका सबैको आवाज समेटिएका छन् , नेत्रहीनलाई छामिएको छ, कविताले आवाजविहीनहरूको आवाजलाई अघि सारेको छ जस्तैस्ूगौमाताको गुञ्जनू कवितामा गाईको विलौना छ । असन्तोष, अर्ति, उपदेश, सन्देश, आशा, निराशा, कुण्ठा, क्रोध, करुणा, खुसी, देवी देवता, चिन्ता, चेतना, भावना, कामना, संस्मरण सबैको सङ्गालो हो सीताका सुस्केराहरू ।

यति हुँदाहुँदै यस कृतिमा सामान्य कमजोरीहरू पनि छन् । प्रथमतः पुस्तकको शीर्षक “ सीताका सुस्केराहरू” मात्र भनिएको भए पुग्थ्यो भन्ने लाग्छ । अर्को कुरा –यस सङ्ग्रहमा दुई खण्ड छन् गीत र कविता खण्ड । पढ्दै गर्दा लाग्छ–केही कवितालाई गीत खण्डमा राख्न पाएको भए उपयुक्त हुने थियो । कविता खण्डमा राखिएका केही भजनहरू पनि छन् । भजन गीत वर्गमा पर्ने विधा हो । त्यस्तै गरेर“ पुरानो पल“ ,“ संवाद छोरासँग ”, “ देवता एकै .. ” कविताहरू पनि गीति लयमा नै छन् । “ धोका”शीर्षकको दुईवटा कविता छ, यसलाई पनि १ र २ गर्न पाएको भए राम्रो हुने थियो ।
कवितामा अङ्ग्रेजी शब्द पनि परेका छन् । हुन त हामी बोलिचालीमा आगन्तुक शब्दहरूसँग पनि अभ्यस्त भइसकेका छौँ तर पनि साहित्यमा सकेसम्म नेपाली शब्दलाई नै प्राथमिकतामा राख्नु पर्छ भन्ने मान्यता छ । ब्यकरणीय कमजोरी न्यून छ । यसको जस भने पक्कै पनि सम्पादकले पाउनु हुनेछ । कविता सम्पादनकै कुरा गर्दा म चाहिँ कविता अरुबाट सम्पादन गराउँदा कविको मौलिकता र भावना विथोलिने खतरा देख्छु तर यस सङ्ग्रहमा यो कुरालाई ध्यान दिइएको छ भन्ने पाठकलाई अनुभूत हुन्छ ।
साहित्य मध्ये थोरै शब्दमा मीठासपूर्ण ढङ्गले धेरै बताउन सक्ने विधा कविता हो । साहित्यले सन्देश मात्र दिँदैन सत्य र तथ्यको सञ्चार पनि गराउँदछ । जुन यथार्थवादी साहित्यको विशेषता हो । आदर्शवादी साहित्यले कल्पनामा डुलाउँछ, मनोगत विचारहरू र वैयक्तिक प्रसङ्गहरूलाई सम्प्रेषण गर्दछ तर अहिलेको समाज तथ्यमा विश्वास गर्छ । समाजवादी यथार्थवादी साहित्य विज्ञानसम्मत् हुने भएकाले समाजवादी यथार्थवादी सिर्जनाले मात्रै समाजलाई सहि मार्ग निर्देश गर्न सक्छ भन्ने कुरामा म पनि विश्वस्त हुने भएकाले यति कुरा राखेँ ।
अन्तमा स्रष्टा कै शब्द सापटी लिएर भन्दा– “ मान्छेले आफूभित्रको पीडालाई पोख्न जाने मात्रै मनले शान्ति पाउँछ  ”  सत्य हो, उहाँले पीडा पोख्ने तरिका सहि छान्नु भयो र त यो पुस्तक जन्मिएको छ । कतै नपढिएका नछापिएका साजी कविताहरू यस सङ्ग्रहमा पढ्न पाइन्छ । यहाँहरूलाई पनि पढ्न सिफारिस गरेँ ।
जीवनको आधा उकाली कटेपछि आफ्ना भोगाई र भावनाहरूलाई यति सुन्दर शैली र शब्दमा उनेर हाम्रा माझमा ल्याउनु हुने स्रष्टा सीता सिमखडा ज्यूलाई पुनस् हार्दिक बधाई दिँदै साहित्यिक यात्राको थालनी गर्नु भएकामा न्यानो शुभकामना व्यक्त गर्दछु ।
साथसाथै उहाँको सिर्जनशीलतालाई पहिचान गरेर प्रोत्साहित गर्दै संरक्षण र संबर्द्धन गरिदिनु हुने जीवनसाथी गोविन्द प्रसाद सिमखडा ज्यूमा पनि साहित्यलाई माया गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित