आन्दोलनले गिरिजासँगै राजतन्त्र बढार्ने

अभिलेख

काठमाडौं । राष्ट्रघात र जनघातको अपराध गरेको कारण एक पटक प्रधानमन्त्री पदबाट खुस्कि सकेका गिरिजाप्रसाद कोइराला राजाद्वारा संजीवीनी प्राप्त गरेपछि पुनः प्र.म. कै कुर्सी मै बसेका छन्। आफू एक पटक च्यूत भइसकेपछि राजासँग अप्रजातान्त्रिक गठबन्धन गरी राजालाई असंवैधानिक तरिकाले प्रतिनिधि स भाको विघटन र मध्यावधि चुनावको घोषणा गर्न लगाउनु भनेको बहुदलीय व्यवस्थाले दिएको अधिकार माथिकै हमला हो भन्दै अस्ति ६ वटा पार्टीहरुले गिरिजालाई सत्ताच्यूत नगरेसम्म आन्दोलनलाई नरोक्ने कसम खाएका छन् ।

सातौं अधिवेशनको समयमा शानेवानी काण्डमा भ्रष्टाचार गरेको आरोपमा महा अभियोगमा पर्ने सम्भावना रहेको गिरिजाप्रसाद कोइराला सरकारी कायपत्रमै बल्डयाङ खाएपछि पुनः प्रधानमन्त्री बनी देशमा नव अधिनायकवाद लाद्न पाउने ख्वाब देखेका गिरिजाले राजासँग अपवित्र गठबन्धन गर्न पुगेका थिए । राजीनामा दिएको नाटक गरी राजाद्वारा स्वीकृत भएपछि पनि पुन २७ गते राजाले गिरिजाको मन्त्रीमण्डलले नै चुनाव गराउने घोषणाले सर्वत्र आक्रोस सिर्जना गर्न थाल्यो ।
विगत लामो समयदेखि गिरिजाको अन्त्यको लागि आन्दोलनको जेहाद छेडने भएका छन् । अस्ती नेकपा एमालेको केन्द्रीय कार्यालयमा ६ वटा पार्टीको संयुक्त मिटिङ पश्चात गरिएको एक पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । नेकपा (मसाल) का दीनानाथ शर्मा, नेकपा (एमाले) का माधव नेपाल, नेकपा (एकताकेन्द्र) का निर्मल लामा, नेकपा (संयुक्त का महेशमणि दिक्षित नेपाल कम्युनिस्ट लिगका शम्भुराम श्रेष्ठ, संयुक्त जनमोर्चा (वैद्य समूह) का चण्डेश्वर श्रेष्ठद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार काम चलाउ प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सिफारिसमा गरिएको उक्त घोषणा संविधान सम्मत नभएको बताइएको छ । वक्तव्यमा गिरिजालाई सत्ताच्यूत गरी सर्वदलीय सरकारको गठन हुनपर्ने बताइएको छ ।

सरकारी कार्यपत्रमै पराजित भएका प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि दोस्रो ठूलो पार्टीलाई सरकार बनाउने र तोकिएको अवधि भित्र बहुमत प्राप्त गर्ने अवसर त्यसलाई प्रदान गरिनुपर्ने संसदीय मान्यता र संवैधनिक प्रावधानलाई २७ गतेको शाही घोाषणाले पूरै मिचेको कुरा पनि वत्तव्यमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुद्वारा सोधिएको प्रश्नको उत्तर दिंदै नेकपा (मसाल) का दिनानाथ शर्माले चुनाव भनेको कार्यनैतिक सवाल हो त्यसलाई भोलिको स्थिति हेरेर बहिष्कार वा उपयोग गर्न सकिने कुरा बताउनु भएको थियो । सोही अवसरमा नेकपा (एमाले) का माधव नेपालले गिरिजालाई सत्ताच्यूत नगरेसम्म आन्दोलन नरोकिने र गिरिजा सत्ताच्इुत नगरेसम्म सर्वंदलीय सरकारमा नजाने बताउनु भएको थियो । उहाँले आन्दोलनको स्थिति हेरेर हामीले चुनावलाई बहिष्कारसम्म गर्न सक्ने कुरा बताउनु भएको थियो ।

६ वटा पार्टीहरुले गिरिजाको सत्ताच्यूत गरी सर्वदलीय सरकारको मागमा आन्दोलन गर्ने सहमतिमा पुगेको अवस्थामा संसदीय चुनावको बहिष्कार गर्ने पार्टी कसरी सर्वदलीय सरकारको बुंदामा सहभागी हुन पुग्यो भन्ने जिज्ञासा राख्दा नेकपा (मसाल) का प्रवक्ता का. दिनानाथ शर्माले भन्नुभयो “हामीले संयुक्त बैठकमा गिरिजालाई सत्ताच्यूत गरी जनतामा सत्ता हस्तान्तरणको लागि संविधान सभाको चुनाव र त्यसको लागि अन्तरिम सरकारको माग हुनुपर्छ भनेका थिए तर त्यसकुरामा सर्वसम्मति हुनसकेपछि हामीले आफ्ना रिजर्भ मत राख्दै गिरिजा सरकार भन्दा सर्वदलीय सरकार एक कदम प्रगतिशील हो भन्ने मान्यतामा त्यसलाई समर्थन मात्र गरिएको हो । उहाँले हाम्रो पार्टीको संयुक्त आन्दोलनलाई जोड दिने नीति भए अनुरुप मिल्न सक्ने बुँदाहरुमा सहमति भइ संयुक्त आन्दोलनमा लागेका छौं भन्नु भयो । उहाँले आफ्नो पार्टीको उक्त रिजर्भ मतलाई जनता समक्ष लैजाने कुरा पनि बताउनुभएको छ ।

यसरी गिरिजालाई सत्ताच्यूत गर्ने कसमका साथ आन्दोलनमा उत्रिएका ६ वटा पार्टीको आन्दोलनमा व्यापक जनताको सहभागी हुने र स्वयं गिरिजा विरोधी कांग्रेसीहरुको पनि समर्थन रहेकोले यो आन्दोलन विगतको आन्दोलनले भन्दा छुट्टै रुप लिने र त्यसले ०४६ सालको भन्दा पनि सशक्त हुन सक्ने कुरा राजनैतिक पर्यवेक्षकहरुको भनाई छ ।हिजो बसेको नेकपा (मालेमा) को पोलिटव्यूरोको बैठकले ६ पार्टीको संचालन गरेको आन्दोलनमा आफ्नो पार्टी पनि सामले हुने निर्णय गरेको छ र अब आन्दोलनमा सात वटा हुन पुगेको छ ।

स्मरणरहोस् उक्त संयुक्त आन्दोलनमा संयुक्त जनमोर्चा नेपाल बाबुराम समूहको गिरिजा हटाउने सवालमा मत मिलेको भए तापनि संयुक्त आन्दोलनमा सामेल भएको छैन ।

(नोटः यो समाचार नयाँ हाँक साप्ताहिक, वर्ष ३ , अंक २६, २०५१, साउन ३ गते सोमबार प्रकाशित भएको थियो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित