– किसन बहादुर
साल फेरियो, युग फेरियो
जनताको जीवन फेरिएन
शासन फेरियो, नेता फेरिए
जनताको पीडा फेरिएन।
नारा फेरिए, भाषण फेरिए, आश्वासनका शब्द फेरिए
तर गरिबको चुलो उस्तै छ, अभावका दिन फेरिएनन्।
बदलियो संसार सारा, बदलियो समाजको रीत
जातका पर्खाल उस्तै छन्
विभेदको पुरानो गीत।
समानताको नारा घन्कियो
न्यायका कुरा धेरै भए, तर श्रमिकका पसिना उस्तै
शोषणका रूप फेरिएनन्।
हिजो परिवर्तनको सपना बोकी सडकमा उत्रिएका
आज कुर्सी र शक्तिको मोहमा आफ्नै प्रतिबद्धता बिर्सिएका।
जनताको नाम बेचेर आफ्नो स्वार्थ पूरा गर्नेहरू
व्यवस्था बदल्ने कुरा गर्दै पुरानै बाटो हिँड्नेहरू।
कोही आए, कोही गए, सत्ताको खेल चलिरह्यो
जनताको भाग्य लेख्ने भन्दै आफ्नै भविष्य बदलिरह्यो।
झन्डा फेरिए, पार्टी फेरिए, नेतृत्वका अनुहार फेरिए
तर गरिबका आँसु उस्तै छन्,
दुःखका पहाड फेरिएनन्।
हात फेरिए, कलम फेरिए
संविधानका पाना फेरिए, तर श्रम गर्नेका हात खाली
शोषणका संरचना फेरिएनन्।
युवाका सपना विदेशिए, गाउँका बस्ती रित्तिए
देश बनाउने सपना बोकेका पाइलाहरू परदेशतिर मोडिए।
अब पनि कहिलेसम्म सहने, अन्यायका यी शृङ्खला?
कहिलेसम्म मौन बस्ने,विभेद र शोषणका पहाडहरू?
परिवर्तन केवल अनुहार होइन
सोच र व्यवहार बदलिनुपर्छ
जनताको जीवन बदल्न
अब व्यवस्था र आधार बदलिनुपर्छ।
भाग्य हाम्रो लेख्ने को हो? प्रश्न गरौँ आफैँलाई
किन सुम्पने भविष्य सधैँ स्वार्थी नेतृत्वलाई?
जनता जागे इतिहास फेरिन्छ
एकताले शक्ति जन्माउँछ
सचेत वर्गको सामूहिक सङ्घर्षले नयाँ बिहानी ल्याउँछ।
साल फेरिएर मात्रै के भो, जीवन फेरिनुपर्छ
नेता फेरिएर मात्रै के भो, नीति फेरिनुपर्छ।
नारा होइन, व्यवहारमा परिवर्तन देखिनुपर्छ
जनताको शासन जनताकै जीवनमा अनुभूत हुनुपर्छ।

