क्रान्तिकारीहरुले आफ्नो पहिचान स्थापित गर्नुपर्छ

 

–नारायण लम्साल, सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तनहुँ जिल्ला समिति

० दलाई लामाको जन्मजयन्ती मनाउन सरकारले अनुमति दिएको कुरा प्रति तपाईको भनाई ?
–राम्रो भएन । पश्चिमाहरु नेपालको आन्तरिक राजनीतिमा हावी हुन खोजे । राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले नेपालको लागि राष्ट्रघात हो। सरकारको यो विदेशी शक्ति केन्द्रलाई हावी हुन दिने कुराको विरोध गर्नुपर्दछ ।

० सुकुम्बासी समस्या समाधानप्रति सरकारको नीति ठीक छ वा छैन ?
– ठीक देखिएन । पहिलो कुरा, सुकुम्बासीहरुको पहिचान हुनुपथ्र्यो । दोस्रो, आवासको सुनिश्चिता हुनुपथ्र्यो, तेस्रो कुरा, उनीहरुलाई कतै रोजगारी कलकारखानामा, नभए कृषि उत्पादनमा लगाउनु पर्दथ्यो। हुकुमवासीको विरुद्ध कदम चाल्छु भन्दा शोषित पीडित जनतालाई मर्कामा पारियो । वालेन सरकारले अत्यत जनता विरोधी काम गरिरहेको छ । वर्षाको यो झरि, बादल, बाढी पहिरोको बेला गरिबहरुको बेहाल बनाइदियो ।

० तनहुँको हकमा सुकुम्बासीहरुमा अवस्था के छ ?
–यहाँ पनि सच्चा सुकुम्बासीको पहिचान भएका छैन । व्यवस्थापनको कुरा टाढाको कुरा भयो । दमौली, ढोरफेदी, खैरेनीटार, डुम्रे , आबुँखैरेनी, भानु धेरै ठाउँमा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु छन्। उनीहरुको उचित व्यवस्थापन हुन जरुरी छ । पार्टीको तर्फबाट पनि हामीले मुद्दा उठाउने काम गरिरहेको छौं ।

० बालेन सरकारको यो तीन महिनाको कार्यकाल मूल्यांकन कसरी गर्नुहुन्छ ?
–संसदवादी पार्टीहरुप्रतिको असन्तुष्टिले रास्वपा बहुमतमा आएको हो । तर यो तीन महिनाका बीचमा यो बालेन सरकारप्रति पनि असन्तुष्टि बढ्दै गइरहेको छ। सुकुम्बासीहरुले आत्महत्या गरेका छन् । काठमाडौं, शेयर राइडर गणेश नेपालीको आत्म दाहले राज्य प्रतिको चरम असन्तुष्टिलाई अभिव्यक्ति गर्दछ ।

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्तो बेलामा के गर्नुपर्दछ ?
–सबैभन्दा पहिलो कुरा त क्रान्तिकारीको पहिचान गर्न गाह्रो भयो । भ्रष्ट संसदवादी कम्युनिष्टहरुले पनि आफूलाई कम्युनिस्ट भनिरहेका छन् । यस्तो बेलामा क्रान्तिकारीहरुलाई पनि उस्तै देख्छन्, साधारण जनताले । त्यसैले क्रान्तिकारी पार्टीले राजनीतिमा, कार्यक्रममा बेग्लै पहिचान सहित जनतामा स्थापित हुन जरुरी छ । जनतासित जोडिने कार्यक्रम बनाउनु पर्दछ ।

०कम्युनिस्ट आन्दोलनमा तपाई कसरी जोडिनु भयो ?
–तनहुँको भिमादमा २०४६ सालमा तत्कालीन नेकपा (मशाल) सम्बद्ध विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यु. (छैठौं) सित आवद्ध भएर कार्यक्रममा लागियो ।
पंचहरुको विगविगी थियो । केही समय विद्यालय पस्न समेत दिएनन् । प्रशासनले शिक्षक इन्द्रमोहन सिग्देल (सिद्धार्थ मा.वि.), शिक्षक अशोक लम्साल (सिद्धार्थ मा.वि.),टुकराज सिग्देल (सिद्धार्थ मा.वि.) लाई गिरफ्तार गरेको थियो । सिद्धार्थबाट स्कूलबाट टुकराज सिग्देललाइ र जनज्योति मावि भिमादबाट दधिराज सुवेदीलाई गिरफ्तारगरेको थियो । पंचायतको जनविरोधी रवैया, शिक्षकहरुको गिरफ्तारी, विद्यार्थीहरु आन्दोलनकारी बनेको त्यस राजनीतिक वातावरणले म कम्युनिष्ट आन्दोलनमा जोडिएँ ।

०जनयुद्धकालमा तपाईको भूमिका ?
–२०५६ मा मोर्चाको (शिक्षक मोर्चा) को जिम्मा लिएर काम गरेको थिएँ । २०५८ देखि म नेकपा (माओवादी) को जिल्ला कमिटीमा रहेर काम गरेको हुँ ।

० शिक्षक संगठनमा तपाईको भूमिका ?
–अखिल नेपाल शिक्षक संगठनको २०६३ देखि २०६९ सम्म केन्द्रीय सदस्य, २०६९ देखि २०७४ सम्म केन्द्रीय कोषाध्यक्ष रहेर काम गरें । अखिल नेपाल शिक्षक संगठनको संस्थापक सचिव रहेको थिएँ ।

० पार्टीको तनहुँ जिल्लामा आगामी कार्यक्रम के छ ?
–जनसम्पर्क, भेटघाट, जनवर्गीय मोर्चाहरुलाई व्यवस्थित गर्ने कार्यक्रम छ ।

० तनहुँमा सामाजिक, राजनीतिक अन्तर्विरोध ?
–धेरै नै राजनीतिक चलखेल हुने ठाउँ हो । यहाँ पृथ्वीराजमार्गले वल्लो छेउदेखि पल्लो, छेउसम्म छोएको छ । तर यहाँ शोषण, दमन चर्को छ। यसलाई पहिचान गरेर आन्दोलनलाई व्यवस्थित गर्नु जरुरी छ ।

० अन्त्यमा केही छ कि ?
–नियमित रुपमा विचार र गतिविधि प्रचारप्रसारका लागि यु ट्युव संचालन गर्नुपर्दछ । यो प्रचारको कार्यलाई विशेष ध्यान दिनुपर्दछ । यु टयुवलाई नियमित र व्यवस्थित गर्नु प¥यो । 000

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित