समाचार टिप्पणी – ‘क्यान्डिडेट क्लब’को भ्रम

 

 मनु वि.क. ।

सत्ताको प्रमुख दल रास्वपाले आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी छनौटकोलागि भन्दै ‘क्यान्डिडेट क्लब’को घोषणा गरेको छ । रास्वपा सभापति रवि लामिछानेले २०८३ भदौ १ गते आफ्नै केन्द्रीय कार्यालयमा क्याण्डिडेट क्लबको घोषणा गरेका छन् । उनले स्थानीय तह गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष तथा वडाको अध्यक्ष तथा सदस्य बन्नकोलागि जुनसुकैले पनि क्यान्डिडेट क्लबमा सहभागी हुनु पर्ने अनिवार्य गरेको बताएका छन् । कोही पनि आफुखुशी निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी क्यान्डिडेट क्लबको घोषणा गरेको सभापतिले बताएका छन् ।

स्थानीय तहको समयावधि सकिन लागिरहँदा प्रमुख सत्ताधारी दलले क्यान्डिडेट क्लबमार्फत चुनावमा भाग लिन सबैमा अनुरोध गरेको छ । क्याण्डिडेट क्लबको घोषणा गरेको विषयलाई विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेको छ । कतिपयले क्यान्डिडेट क्लबलाई विपक्षीका नेता कार्यकर्तालाई आफुतिर तान्ने पासोका रुपमा पनि अथ्र्याएका छन् । अहिले विगतमा जस्तो रास्वपाको पक्षमा जनलहर छैन । विगतमा जो जो नेता कार्यकर्ता अन्य पार्टी परित्याग गरी रास्वपामा छुपचाप लागेका थिए उनीहरु विस्तारै आफ्नै पार्टीमा फर्केका वा निस्क्रिय बसेका छन् । २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी विद्रोह पछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको थियो त्यो सरकारले सम्पन्न गराएको पाmगुन २१ को निर्वाचनपछि बनेको सरकारबाट जनताले जुन किसिमको आशा गरेका थिए त्यो आशा अहिले निराशामा परिणत भएको छ । सरकार जनताको आवश्यकताहरु पूरा गर्न र मंहंगी नियन्त्रण गर्न सरकार पुरै असफल भएको छ । जनताले झनै दुःख पाइरहेका छन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यो सरकारप्रति अविश्वास सिर्जना भएको छ । सुशासनको नारा अघि सारेको र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको सरकारले सुशासनको कुनै काम पनि गर्न सकेको छैन । जनताले झनै दुःख पाइरहेका छन् । महंगी चुलिएको छ । जनताले यो सरकारले केही गर्न सक्दैन भन्ने प्रमाणित भएको छ । जनाधिकार र लोकतन्त्रमाथि यो सरकारले एक पछि अर्को गर्दै प्रहार गरिरहेको छ ।

विश्वविद्यालयमा विद्यार्थी संगठनहरुमाथिको प्रतिबन्धको कुरा,कर्मचारीमा टे«ड युनियनहरुको खारेजीको कुरा निजी संचार माध्यमलाई सरकारी विज्ञापन रोक लगाउने कुरा , नागरिक,उद्योगी व्यापारीलाई विना प्रमाण गिरफ्तार गर्ने, धम्काउने, घरमा खानतलासी लिने जस्ता व्यवहार, पत्रकारहरुमाथि व्यापक निगरानी तथा गिरफ्तार गर्ने जस्ता कार्य सरकारले गर्दै आएको छ । रास्वपाका सांसद तथा मन्त्रीहरुको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति ,प्रस्तुती तथा शैलीका कारण जनताले रास्वपालाई विश्वास गर्न मुश्किल हुँदै गएको छ । यो अवस्थामा सो पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै निकै चलाकीपूर्ण तरिकाले क्यान्डिडेट क्लबको घोषणा गरेको छ र सो मार्फत जनतालाई आफ्नो उम्मेदबार घोषणा गर्ने बताएको छ । कोही कसैले पनि उम्मेदबार हुन चाहनेले सो क्लबमा नै नाम दर्ता गर्नु पर्ने बताएको छ । अब उम्मेदबार बन्नकोलागि जनताको काम गरेको, स्थानीय स्तरमा उसले पु¥याएको योगदान,जनतासँग उसको सम्बन्धको कुनै भूमिका रहने देखिँदैन मात्र क्यान्डिडेट क्लबको सदस्य बनेमा मात्रै उम्मेदबार हुने मौका पाउने छ । विगतको निर्वाचनमा सिधै पहुँचवालाले टिकट पाएको कुरा सभापतिको नजिक भएको, पैसावालाले मात्रै टिकट पाएको भन्ने आलोचना भएको थियो । अहिले क्याण्डिडेट क्लबबाट पनि त्यस्तै नहोला भन्ने आधार केही छैन । हुकुमीशैलीमा फलाना फलाना उम्मेदवार बन्ने भनेर घोषणा गरिदिने र सोही अनुसार नजिकको र पैसावालाले टिकट पाउने कुरा नेपाली राजनीतिमा सामान्य भएको छ । रास्वपाको सन्दर्भमा पनि त्यही भएको छ । अहिले जनतालाई फेरि झुक्यानमा पार्न , जनतालाई निकै पारदर्शी तरिकाले गरेका छौं भनेर भ्रम सिर्जना गर्न सो क्लबको घोषणा गरिएको छ । यसले जनतालाई निकै राम्रो गरेका छौं भनेर भ्रम दिएर भोटको राजनीति गर्नेबाहेक केही गर्नेछैन । क्यान्डिडेट क्लबमा धेरै नाम परेमा त्यसको छनौट त गर्नै पर्ला । छनौट गर्ने क्रममा कोही उम्मेदवार हुने वा कोही हुनबाट वञ्चित होलान् । यसमा जसको पहुँच पुगेको छ उनीहरु नै त आउने होलान् ।

यो क्यान्डिडेट क्लब अरु केही नभएर एक किसिमको भ्रम र अरु दलमा असन्तुष्ट कार्यकर्तालाई आफ्नो संगठनमा ल्याउने पासो सिवाय केही हुने छैन । जनताले यो राजनीतिक पार्टीको चरित्रलाई राम्रोसँग केलाउँदै छन् । क्यान्डिडेट क्लबमा नाम दर्ता गराउन जाने छैनन् । जो जानेछन् उनीहरुले जितेर पनि देश तथा जनताकोलागि केही गर्न सक्ने छैनन् । रास्वपाका सांसद तथा मन्त्रीहरुले जनताहरुलाई स्थानीय तथा प्रदेशस्तरमा पनि काम गर्नकोलागि रास्वपालाई नै मत दिन माग गरिरहेका छन् । यसकोलागि पनि क्यान्डिडेट क्लब निर्माण गरिएको छ । क्यान्डिडेट क्लबको भ्रम जनताले बुझ्नेछन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित