क्रान्ति र परिवार

 

मोहन वैद्य ‘किरण’

क्रान्ति र परिवारबीच द्वन्द्वात्मक सम्बन्ध छ । पुरानो परिवारको ध्वंस र नयाँ परिवारको निर्माण क्रान्तिबाटै हुन्छ । आज हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने दिशामा अघि बढिरहेका छौं । यो स्थितिमा हाम्रा सामु नयाँ परिवारको स्वरुप, क्रान्तिमा महिलाहरुको सहभागिता र क्रान्तिकारीहरुको आचरणसँग सम्बन्धित अनेकौं प्रश्नहरु निकै टड्कारो बनेर उभिएका छन्, जसको समाधानका लागि हामीले राम्रोसँग सोच्न जरुरी भएको छ ।

परिवार अन्तर्गत प्रेम, यौन, विवाह, तलाक, बालबच्चाको हेरचाह,पारस्परिक कर्तव्यबोध लगायत तमाम आचार व्यवहारसम्बन्धी विषय पर्दछन् र यी सबको आधारशीलाको काम सम्पत्ति सम्बन्धले गर्दछ । दास समाज,सामन्ती समाज र पुँजीवादी समाज निजी सम्पत्तिको जगमा खडा पितृसत्तावादी शोषणमूलक समाज हुन् । अहिलेको अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाली समाज पनि पितृसत्तावादी शोषणमूलक समाज नै हो ।यस प्रकारको शोषणबाट नेपाली जनताको मुक्तिका लागि नयाँ जनवादी क्रान्ति एक ऐतिहासिक आवश्यता बन्न गएको छ । नयाँ जनवादी क्रान्तिले सम्पत्ति लगायत जीवनका सबै क्षेत्रमा महिलाहरुलाई पुरुषसरह समान अधिकार प्रदान गर्दछ । समाजवादी क्रान्तिले सर्वहारावर्ग एवं नारी जनसमुदायको मुक्तिका ल ागि भौतिक एवं मानसिक आधार तयार पार्दछ र निजी सम्पत्तिको अन्तसँगै साम्यवादी क्रान्तिले नारीसहित आम उत्पीडित मानवजातिलाई वास्तविक मुक्ति प्रदान गर्दछ । पुरानो परिवारको ध्वंस र नयाँ परिवारको निर्माण पनि वास्तवमा क्रान्तिका यिनै प्रक्रियाका बीचमा सम्पन्न हुँदै जान्छ ।

हामीले क्रान्ति र परिवारबारे चर्चा गर्दा मूलतः दुई कुरामाथि ध्यान केन्द्रित गर्न जरुरी छ । पहिलो कुरा यो हो कि नेपाली नयाँ जनवादी क्रान्तिको वर्तमान ऐतिहासिक चरणमा वस्तुगत रुपमा परिवारको स्वरुप कस्तो हुन्छ र दोस्रो यो हो कि यसप्रकारको क्रान्ति सम्पन्न गर्ने सिलसिलामा आत्मगत रुपमा क्रान्तिमा संलग्न योद्दाहरुले परिवारबारे कस्तो भूमिका खेल्नुपर्छ ? हामीले क्रान्ति र परिवारसँग सम्बन्धित समस्याहरुको वास्तविक समाधान यसै वस्तुगत एवं आत्मगत आवश्यताको द्वन्द्वात्मक सम्बन्धका बीचबाट नै गर्न सक्छौं ।

माओ भन्नुहुन्छ–“जनवादी क्रान्तिको केन्द्रीय लक्ष्य किसानहरुलाई विदेशी आक्रमणकारी, भूस्वामीहरु र दलालहरुका जुवाबाट मुक्त गराउनु एवं एक आधुनिक औद्योगिक समाजको स्थापना गर्नु हो । परिवारलाई मजबुत पार एक क्रान्तिकारी नारा त्यो बेला बन्न सक्छ, जुन बेलामाथि बताइएका विभिन्न ढंगका क्रान्तिकारी आन्दोलनहरुसँग त्यो गाँसिन्छ । किसानहरुका परिवार विघटन हुनका लागि बाध्य छन् । जब मानिस सेनामा सामेल हुन्छन् या कारखानामा काम गर्नका लागि जान्छन्, यी परिवारबाट बाहिर निस्कन्छन् र स्वयं त्यसै विघटनका कारण बन्दछन् । वास्तवमा हामी परिवारबाट बाहिर निस्कने र परिवारलाई मजबुत पार्ने दोहोरो नीतिको पुर्पक्ष गर्दछौंं । परिवारबारे माओका यी भनाईहरु हाम्रा लागि मननीय रहेका छन् । माओ अगाडि भन्नुहुन्छ–“सामाजिक कार्यकलापहरु जस्तो कि युद्धमा लड्नु, कारखानामा प्रविष्ट हुनु,कुतमा कमीका लागि संघर्ष गर्नु तथा आदान प्रदान दलहरुलाई संगठित गर्नु) का अभावमा परिवार कहिल्यै बदलिनेछैन। गाउँको सामन्त परिवारको कुनै सदस्यको किताब या समाचारपत्रमा पढेको ज्ञानका आधारमा एक्लै दुक्लै क्रियाशील भएर एउटा जनवादी परिवारमा कहिल्यै रुपान्तरण हुनेछैन । अपितु त्यो स्वतः जनआन्दोलनकै माध्यमबाट सम्पन्न गर्न सकिनेछ । यस अतिरिक्त, कारखानाका उत्पादन, सामाजिक उत्पादन (उद्यम चाहे जन वा निजी स्वामित्वको होस्) र सहकारी उत्पादन (जसमा आदानप्रदान दलद्वारा हुने उत्पादन सामेल छ) एक छितरिएको निजी आर्थिक व्यवस्थाको सट्टा नयाँ जनवादी समाजको आधारको निर्माण गर्दछ । छितरिएको निजी अर्थव्यवस्था, पारिवारिक खेती र पारिवारिक हस्तकला सामन्ती समाजका आधार हुन् र ती जनवादी समाज जसमा पुरानो जनवादी, नयाँ जनवादी र समाजवादी सामेल छन्–का आधार होइनन् ।”

माओका उक्त भनाईहरुबाट हामी जनवादी परिवारबारे महत्वपूर्ण शिक्षा प्राप्त गर्न सक्छौं । जस्तो कि माओको भनाई छ– सामाजिक कार्यकलापहरुका आभावमा परिवार कहिल्यै बदलिनेछैन । यो पुरुष र नारी दुवैको लागि सत्य हो । जब पुरुषका साथै महिलाहरु पनि जनआन्दोलनमा संलग्न हुन्छन्, जनयुद्धमा भाग लिन्छन्, जनसेनामा समाविष्ट हुन्छन्, कारखानामा प्रवेश गर्दछन् र सामाजिक उत्पादनको क्षेत्रमा सरिक हुन्छन्, त्यो बेला उनीहरुको मुक्तिका लागि राम्रो भौतिक आधार तयार हुँदै जान्छ । नयाँ जनवादी क्रान्तिले एकातिर पुरानो पारिवारिक संरचनालाई पूरै ध्वस्त पारिदिने काम गर्दछ भने अर्कोतिर त्यसले महिलाहरुलाई सम्पत्ति लगायत सबै क्षेत्रमा समान अधिकार प्रदान गर्दछ । यी कुराबाट नयाँ जनवादी परिवारहरुको निर्माण हुन्छ । माओको परिवारबाट बाहिर निस्कने र परिवारलाई मजबुत पार्ने दोहोरो नीतिको असली सार यही हो ।

जनवादी परिवार निर्माणसम्बन्धी माओको यस प्रकारको धारणाले नयाँ जनवादी क्रान्तिको प्रकृत्तिसँग पूरै मेल खान्छ । जसरी नयाँ जनवादी क्रान्ति न पुरानो जनवादी क्रान्ति हो, न त समाजवादी क्रान्ति नै । ठीक त्यस्तै नवजनवादी परिवार पनि न पुरानो जनवादी परिवार हो न त समाजवादी परिवार नै । नव जनवादी परिवार पुरानो जनवादी परिवारसँग यस अर्थमा भिन्न छ कि यसले पुरानो जनवादको तुलनामा महिलाहरुको समस्त जनवादी अधिकारहरुको पूरै सुनिश्चित गर्दछ र कम्युनिस्ट विचारधाराको पथप्रदर्शनमा निर्मित हुन्छ । साथै यो समाजवादी परिवारबाट यस अर्थमा भिन्न छ कि यसले महिलालगायत पुरुष जनसमुदायको निजी सम्पत्तिको पक्षपोषण गर्दछ । यसरी हेर्दा जनवादी परिवार यस्तो परिवार हो, जसले सामन्ती पितृसत्तावादी परिवारमाथि प्रहार गर्दै महिलाहरुलाई सबै क्षेत्रमा पुरुषसरहको समान अधिकार एवं सम्मान प्रदान गर्दछ र समाजवादी परिवारको निर्माणको दिशातर्फ प्रवाहित हुन्छ । समाजवादी परिवारको अंग भएर पनि नयाँ जनवादी परिवारको अन्तर्वस्तु जनवादी नै हुन्छ र यो एक संक्रमणशील पारिवारिक संरचना हो ।

नेपाली समाज नोकरशाही पुँजीवादको आर्थिक धरातलमा खडा हुनुको कारण यहाँको पारिवारिक संरचना पनि त्यसअनुरुप नै छ । यहाँको अर्थतन्त्र सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको सहसम्बन्धमा अडेको छ । सामन्त, नोकरशाह एवं दलाल पुँजीपतिहरु जमिनका साथै पुँजीसँग पनि आबद्ध छन् । सामन्त भूस्वामी मात्र होइन पुँजीपति पनि छ र पुँजीपति पुँजीको मालिक मात्र नभई भूस्वामी पनि छ । धनी एवं मध्यम किसानहरु पनि जमिनका साथै अन्य पेशा र सेवामा संलग्न छन्। सानो छिटरिएको जोत हुनु र आवश्यक उद्योगधन्दाको विकास नहुनुले मानिसलाई एउटा खुट्टा जमिन र अर्को खुट्टा अन्य व्यवसायमा चिप्काउनुपर्ने बाध्यता छ । किसान मास्टर पनि छ र मास्टर किसान पनि छ । किसानले खेतीका साथै सातोतिनो व्यापार पनि गर्नुपर्छ । मध्यम र गरिब किसानले खेती पनि गर्नुपर्छ, कुनै अन्य पेशा वा मजदुरीमा पनि लाग्नुपर्छ । यो थितिमा हरेक परिवार न जीवन न मृत्युको स्थितिमा छन् । परिवारभित्र न त शास्त्रीय सामन्तवादी हैकम चल्न पाउँछ, न त जनवादी नै । वास्तवमा नोकरशाही पुँजीवादको धरातलमा नेपालमा पारिवारिक संरचनाको स्थिति निकै अन्तर्विरोधपूर्ण र संकटग्रस्त देखिन्छ । जहाँसम्म गरिब श्रमिक जनताको सवाल हो, उनीहरुको संख्या दिनप्रतिदिन बढ्दै छ र त्यहाँ नारीहरु पनि सामाजिक श्रमकार्यमा संलग्न बन्दै गएको पाइन्छ र त्यस प्रकारका परिवारमा पितृसत्तावादी हैकम पनि त्यति चलेको देखिन्न । वास्तवमा नेपाली जनसंख्याको यो भागमा जनवादी परिवारका अनेकौं तत्वहरु पाइने गर्दछन् । यसका साथै नेपाली जनता जनआन्दोलन र वर्गसंघर्ष जसरी लामो समयदेखि संलग्न बन्दै आएका छन्, त्यसबाट पनि नयाँ जनवादी परिवार निर्माणका लागि राम्रो आधार तयार हुँदै गएको देखिन्छ । यो स्थितिमा हामीले सामन्ती नोकरशाही पुँजीमा आधारित पुरानो पारिवारिक संरचनाको विरोध र नयाँ जनवादी पारिवारिक संरचनाको पक्षमा जोडदार आवाज उठाउनु आवश्यक छ ।
जीवनका सबै क्षेत्रमा सामन्ती पितृसत्तावादी हैकमको विरोध एवं नारी–पुरुष दुवैको समानतामा जोड, महिलाहरुलाई समेत सामाजिक कार्यकलापहरुमा संलग्न बनाउने कुराको दृढ पक्षपोषण, प्रेम आधारित विवाह तथा त्यसमा स्वतन्त्रताको पक्षपोषण, तलाकको स्वीकृति, बालबच्चा एवं अशक्तहरुको हेरचाह, दम्पत्तिबीच पारस्परिक सम्मानभाव र क्रान्ति एवं वर्गसंघर्षको हितप्रति निष्ठा–यसप्रकारको नयाँ जनवादी परिवारका नैतिक मान्यताका मूल तत्व हुन् । वस्तुगत रुपमा आम जनसमुदाय यसप्रकारको नयाँ पारिवारिक मूल्यलाई आन्दोलनका बीचबाट स्थापित गर्दै गएर नै क्रान्तिकारीहरुले क्रान्तिको सिंगो प्रक्रियामा आफ्नो आत्मगत भूमिका सही ढंगले निर्वाह गर्न सक्दछन् ।

वास्तवमा आत्मगत रुपमा कम्युनिस्ट क्रान्तिकारीहरुले नयाँ जनवादी परिवारको स्थितिभन्दा माथि उठेर सोंच्नुपर्दछ । कम्युनिस्ट विचारधाराद्वारा पथप्रदर्शित भएर पनि नयाँ जनवादी परिवारमा जनताको निजी सम्पत्तिसम्बन्धी अधिकारलाई मान्यता दिइएको हुन्छ, परन्तु कम्युनिस्ट क्रान्तिकारीहरु परिवारको सर्वहाराकरणको दिशामा संलग्न बन्नुपर्दछ र जनतालाई त्यसतर्फ वैचारिक रुपले प्रशिक्षित गर्दै लग्नु आवश्यक हुन्छ ।

जब पुरुषहरुका साथै महिलाहरु पनि क्रान्ति र सामाजिक उत्पादनका काममा सँगसँगै काम गर्न थाल्दछन्, जब पतिले एक ढंगको र पत्नीले अर्कोढंगको काममा लाग्नुपर्ने हुन्छ, जब उनीहरुले क्रान्तिमा संलग्न बन्नुको कारण बालबच्चाप्रतिको जिम्मेवारी राम्रोसँग निर्वाह गर्न नसक्ने स्थिति उत्पन्न हुन्छ, त्यो बेला निजी सम्पत्तिसम्बन्धमाथि आधारित परिवारको पुरानो रुप भत्कँदै जान्छ र क्रान्तिको हित अनुरुप वर्गीय प्रेममा आधारित नयाँ पारिवारिक संरचनाले आकार ग्रहण गर्दछ । त्यो स्थितिमा प्रेम, यौन र विवाहका सम्बन्धमा पनि नयाँ ढंगका समस्या पैदा हुन्छन् र तिनले पनि नयाँ ढंगको समाधानको अपेक्षा गर्दछन् । संसारका क्रान्तिकारीहरुले यस ढंगका समस्या समाधान गर्दै आएका छन् र हामीले पनि त्यसो गर्नैपर्ने हुन्छ । वास्तवमा यो काम पनि संघर्षका बीचबाट मात्रै सम्पन्न हुन सक्छ । यसप्रकारको संघर्ष एकातिर वर्गदुश्मनसँग हुने गर्दछ भने अर्कोतिर आफ्नै मित्र पंक्तिभित्र पनि । दुश्मनको जोड क्रान्तिकारीहरुमाथि दमन एवं यातनाका क्रुर हत्कण्डा अपनाउने, क्रान्तिकारीहरुमा फुट पार्ने, क्रान्तिकारीहरुको परिवारभित्र अन्तर्कलह चर्काउने र उनीहरुका परिवारका सदस्यहरुलाई नानातरहको प्रलोभनमा फँसाउने आदि कुरामा हुन्छ भने क्रान्तिकारीहरुको जोड दुश्मनका यस्ता प्रकारका गतिविधिविरुद्ध मित्रपंक्तिलाई गोलबन्द गर्ने र क्रान्तिको आवश्यकता अनुरुप नयाँ आधारमा नयाँ पारिवारिक एकता कायम गर्ने कुरामा हुन्छ । यस कार्यमा क्रान्तिकारीहरुले सुरुसुरुमा कैयौं कष्ट र असफलताहरुको पनि सामना गर्नुपर्ने हुन्छ । पतिपत्नीका विरुद्ध, पत्नीपतिका विरुद्ध, आमाबाबु छोराछोरीका विरुद्ध छोराछोरी आमाबाबुका विरुद्ध र परिवारको एक सदस्य अर्को सदस्यका विरुद्ध पनि जान सक्छन् । त्यो बेला क्रान्ति एवं वर्गसंघर्षको हित नै नयाँ परिवारको कसी वा मापदण्ड हुने गर्दछ । यसप्रकारका कसी वा मापदण्डका विरुद्ध जाने परिवारको कुनै पनि सदस्यसित अर्को सदस्यको मेलमिलाप हुन सक्दैन र यसै क्रममा पुरानो प्रकारको प्रेम ध्वस्त हुँदै जान्छ र नयाँ प्रकारको प्रेम पल्लवित हुँदै जान्छ । यसैबाट नयाँ परिवारको जन्म हुन्छ र त्यो निरन्तर संघर्षका बीचबाट उच्च रुपमा विकसित हुँदै जान्छ । यो काम जनताबाट अलग्गिएर होइन, जनतासितै घुलमिल भएर नै सम्पन्न हुन्छ । कम्युनिस्टहरुले परिवारको सर्वहाराकरण पनि ठीक यसै प्रक्रियाका बीचबाट मात्रै गर्न सक्दछन् ।

यी सबै कुराको समग्रतामा कम्युनिस्टहरुले क्रान्ति र परिवारबारे निम्न कुरामा ध्यान दिन जरुरी छ :
० देश एवं जनताको मुक्तिको निम्ति क्रान्तिको महान् कार्यमा संलग्न बन्नुलाई गौरव, सुख र आनन्दानुभूतिको विषय ठान्नु ।
० निजी हितलाई सामूहिक हितको अधीनमा राख्नु, निजी सम्पत्तिमा आधाििरत पारिवारिक प्रेम होइन, क्रान्तिमा आधारित वर्गीय प्रेमलाई आदर्श मानेर चल्नु ।
० महिलाहरुलाई तुच्छ घरेलु दासता र अनुर्वरक श्रमकार्यबाट सामाजिक श्रम कार्यमा संलग्न बन्न प्रेरित गर्नु, उनीहरुलाई महिला मात्र हैन, पार्टी लगायत सबै जनवर्गीय मोर्चा, संयुक्त मोर्चा एवं लडाकु दस्ताहरुमा सम्मिलित गर्नु र वर्गसंघर्षमा सहभागी बनाउनु, उनीहरुप्रति सम्मानभाव राख्नु र समानताको व्यवहार गर्नु ।
० प्रेममा आधारित विवाह तथा त्यसमा स्वतन्त्रताको दृढ पक्षपोषण गर्नु, पतिपत्नीमध्ये कुनैको एक अर्काप्रति भावनात्मक सम्बन्ध र प्रेम नरहेको स्थितिमा तलाकको स्वीकृति दिनु ।
० बालबच्चा तथा अशक्त सदस्यहरुको हेरचाहको निम्ति पतिपत्नी दुवैले समान जिम्मेवारीबोधका साथ सोच्नु, परिवारको हरसदस्यलाई क्रान्तिको एक योद्दाको रुपमा प्रशिक्षित गर्ने प्रयत्नशील रहनु ।
० क्रान्तिकारीहरुबीच पारस्परिक मैत्री एवं स्नेहभाव हुनु, समस्या र कठिनाईहरुसँग जुध्ने काममा एकले अर्कोलाई सघाउनु तथा प्रेरित गर्नु ।

उपर्युक्त मान्यता अनुरुप समृद्ध बन्नका निम्ति हामीमा क्रान्तिका दुश्मनहरु, गद्दारहरु र अवसरवादीहरुप्रति तीब्र घृणा र जनताप्रति प्रचुर प्रेमभाव हुनु जरुरी छ ।यस निम्ति हामीले जीवन, जगत र जनताकोउज्ज्वल भविष्यप्रति क्रान्तिकारी आशावादी दृष्टि अवलम्बन गर्न र उच्च प्रकारको त्याग एवं आत्मबलिदानको भावनाले अभिप्रेरित हुन आवश्यक छ ।यस निम्ति हामी माक्र्सवाद–लेनिनवाद–माओवादप्रति निष्ठावान् हुन् जरुरी छ ।

नयाँ आधारमा नयाँ पारिवारिक एकता कायम गर्नेबारे हामीले अत्यधिक गम्भीरताका साथ सोंच्नु आवश्यक छ । क्रान्तिको बेला एउटा परिवारको सदस्य अनेकौं प्रकारका बेग्लाबेग्लै कार्यक्षेत्रमा संलग्न बन्दछन्, पुरानो पारिवारिक संरचना विघटित हुन्छ, उनीहरु जहाँ बस्तछन्, त्यही नै एक नयाँ परिवारको जन्म हून्छ । क्रान्तिको जटिलता र आवश्यकताअनुरुप एउटा परिवारको सदस्य अर्को परिवारमा गएर बस्दा पनि नयाँ परिवारको जन्म हुन्छ । जब हामी निजी सम्पत्ति होइन, क्रान्तिको हितमा आधारित वर्गीय प्रेमलाई आदर्श मानेर चल्दछौं, त्यो बेला परिवारका सदस्यहरुबीच वर्षौंसम्म विछोड हुँदा पनि ती चिन्तित हुने तथा एक अर्काप्रति नकारात्मक ढंगले सोंच्ने गर्दैनन्, अपितु वर्गीय प्रेमद्वारा आबद्ध भई परस्पर उच्च प्रकारको सम्मानभाव राख्न समर्थ हुन्छन् । यसरी नै एउटा परिवारमा अर्को परिवारका सदस्य थपिएकोमा क्रान्तिकारीहरु प्रशन्नता एवं गौरवको अनुभूति गर्दछन् र ती पनि वर्गीय प्रेमको अंगालोमा बाँधिन पुग्दछन् । नयाँ आधारमा नयाँ पारिवारिक एकता यसरी नै कायम हुँदै जान्छ । परिवारबाट बाहिर निस्क र परिवारलाई मजबुत पार भन्ने माओको दोहोरो नीति यहाँ पनि लागु हुन्छ । यो काम कडा वर्गसंघर्ष एवं अन्तरसंघर्षका बीचबाट मात्रै सम्पन्न हुन सक्दछ र यहाँ पनि एकता–संघर्ष–रुपान्तरणको द्वन्द्ववाद लागु हुन्छ ।

यद्यपि यो सत्य हो कि यौन, प्रेम र विवाहका समस्या क्रान्तिको बेला केही जटिल अवश्यै बनेर जान्छन् । परन्तु ती खुकुला र अस्वस्थकर कदापि बन्दैनन् । यस ढंगका समस्याहरुलाई क्रान्तिकारीहरुले सर्वहारा विश्वदृष्टिकोणका आधारमा सही ढंगले हल गर्दै जानुपर्दछ । जस्तो कि लेनिन भन्नुहुन्छ–“यौनसम्बन्धी मामलाहरुमा खुकुलोपन देखाउनु पुँजीवादी चीज हो, पतनको चिन्ह हो । सर्वहारावर्ग जागृतवर्ग हो, त्यसलाई अचेत वा उत्तेजित गर्नका लागि कुनै नशाको आवश्यकता पर्दैन । न त्यसलाई यौन सम्बन्धको खुकुलोपना अथवा मदिराबाट पैदा हुने नशाको दरकार छ । पुँजीवादको नीचता, गन्दगी र बर्बरता न त त्यो बिर्सिन नै सक्छ , न त बिर्सन नै चाहन्छ । लड्नका लागि सबैभन्दा सबल प्रोत्साहन त्यसलाई आफ्नो वर्गको स्थितिबाट, कम्युनिस्ट आदर्शहरुबाट प्राप्त हुन्छ। उसलाई जुन चीजको आवश्यकता छ, त्यो हो शुद्धता, शुद्धता र अरु पनि बढी शुद्धता । त्यसैले म दोहो¥याउँछु, कतै कमजोरी आउनुहुँदैन, शक्तिको कतै कुनै अपव्यय वा बर्बादी हुनुहुदैन । आत्म संयम, आत्मानुशासन गुलामी होइनन्, प्रेममा पनि ती हुन जरुरी छ ।” प्रेम र यौन सम्बन्धबारे लेनिनका यी भनाई निकै ध्यान दिनयोग्य छन् र हामीले तिनलाई आदर्श मानेर चल्नु आवश्यक छ ।

परिवार समाजको आर्थिक जग र त्यस अनुरुपको नैतिक मान्यतामा खडा संस्था हो । समाजमा हुने परिवर्तनसँगै परिवार वा विवाहका रुपहरुमा पनि परिवर्तन हुँदै जान्छ । मानवजातिले जंगली युगमा समूह विवाह र बर्बर युगमा युगल विवाह पार गर्दै सभ्य युगको एकनिष्ठ विवाहमा प्रवेश गरेको छ । विकासक्रममा एक निष्ठ विवाह पनि धेरै परिष्कृत बन्दै आएकोछ । पितृसत्तावादी एकनिष्ठ परिवार र हामीले अपेक्षा गरेको नयाँ एक निष्ठ परिवारबीच गुणात्मक अन्तर छ । पितृसत्तावादी एकनिष्ठ परिवारको थालनी व्यक्तिगत सम्पत्तिको उत्पक्ति त्यो सम्पत्तिको उत्तराधिकारी आफ्नै सन्तान होस् भन्ने पुरुषको चाहना र वर्गको उदयको साथसाथै भएको थियो । यस निम्ति पुरुष एकपत्नीनिष्ठ हुन जरुरी थिएन, बरु नारी एकपतिनिष्ठ हुन जरुरी थियो । त्यसैले एक निष्ठ परिवारले व्यभिचार र बेश्यावृत्तिलाई समेत पुरुषको आधिपत्य र विवाह सम्बन्धको कहिल्यै नटुट्ने रुपलाई प्रश्रय दियो । यी विशेषता त्यसप्रकारको आर्थिक परिस्थिति र परम्पराका परिणाम हुन । क्रान्तिले जब यस प्रकारको परिस्थिति र परम्परामाथि प्रहार गर्दछ, जब नारीमाथि पुरुषको प्रभुत्व खतम हुन्छ, जब नारीलाई आफ्नो जीविका र बालबच्चाको भविष्यको कुनै चिन्ता हुँदैन, जब उत्पादनका साधनहरुमा सामाजिक स्वामित्व कायम हुन्छ र त्यसको परिणाम निजी परिवार समाजको आर्थिक एकाई रहन्न, जब घरको निजी प्रबन्ध सार्वजनिक धन्दा बन्न पुग्छ र बालबच्चाको पालनपोषण एवं शिक्षादीक्षा सार्वजनिक विषय बन्दछन्, त्यो बेला पारिवारिक संरचनामा ठूलो फेरबदल हुन्छ । त्यो बेला न त बेश्यावृत्ति रहन्छ, न व्यभिचार नै । त्यो बेला नारी एकपतिनिष्ठ मात्र हैन पुरुष पनि एकपत्नीनिष्ठ बन्न जरुरी हुन्छ। विवाहको मामिलामा व्यक्तिगत यौन प्रेम नै निर्णायक तत्व बन्न पुग्दछ र त्यो नै नैतिक मानिन्छ । यी सबै कुराबारे एंगेल्सले आफ्नो परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति शीर्षक प्रसिद्ध रचनामा विशद व्याख्या गर्नु भएको छ र हामीले त्यसमाथि विशेष ध्यान दिन जरुरी छ ।

सामाजिक परिवर्तन र परिवारको विकासक्रमबीचको सम्बन्धीमाथि प्रकाश पार्दै माओ भन्नुहुन्छ–“परिवार, जुन आदिम साम्यवादको अन्तिम अवधिमा पैदा भएको थियो, भविष्यमा उन्मूलन हुनेछ । यसको प्रारम्भ भएका थियो र अन्त हुनेछ । ऐतिहासिक रुपमा परिवार उत्पादन एकाई, उपभोग एकाई, अर्को पुस्ताको श्रमशक्ति प्रजननको एकाई, बालबच्चाको शिक्षाको एकाई थियो । अहिले मजदुरहरु उत्पादनको एकाईको रुपमा परिवारसँग सम्बद्ध छैनन् । किसानहरु सहकारितामा ठूलो संख्यामा बदलिएका छन् र किसान परिवार सामान्यतः उत्पादनका एकाई छैनन् । तिनले खाली पुरक उत्पादनको निश्चित मात्रामा भाग लिन्छन् ।

जहाँसम्म सरकारी मजदुर र सेनाका सदस्यहरुका सवाल हो, ती खाली उपभोग एकाई बनेका छन् र श्रम आपूर्तिका एकाईका रुपमा रहेका छन्, जबकि शिक्षाको मुख्य एकाई स्कूल नै बनेको छ । संक्षिप्तमा, परिवार भविष्यमा उत्पादनको विकासका लागि अनुकूल नबन्न सक्छ । अहिलेको हरेकलाई उसको काम अनुसारको वितरण प्रणाली अन्तर्गतसम्म परिवार उपयोगी हुन्छ । जब हामी हरेकलाई उसको आवश्यकता अनुसारको वितरणको साम्यवादी सम्बन्धको चरणमा पुग्दछौं, हाम्रा धेरै विचारहरु बदलिनेछन् । हुन सक्छ, केही हजार वा केही सय वर्षपछि परिवार बिलाउन पुग्नेछ । यी कुराबारे हाम्रा धेरै कमरेडहरु यसरी सोच्ने साहस गर्दैनन् । ती धेरै संकीर्ण मस्तिष्कका छन् ।” माओले यी कुराहरु चीनको समाजवादी क्रान्तिकालमा १९५८ मा बताउनु भएको थियो । परिवारको उत्पत्ति र अन्तबारे माओका यी भनाईले विशेष सैद्धान्तिक महत्व राख्दछन् ।

पुँजीवादको विनासपछि यौन सम्बन्धको स्वरुप कस्तो हुन्छ र त्यससम्बन्धी मान्यताहरु के कस्ता हुन्छन् ? एंगेल्स भन्नुहुन्छ–“अतएव, पुँजीवादी उत्पादनको आसन्न विनासपछि यौन सम्बन्धको स्वरुप के होला, त्यसबारे आज हामी खाली नकारात्मक अनुमान गर्न सक्छौं, अहिले हामी खाली यत्ति भन्न सक्छौं कि कुन कुरा त्यो बेला हुने छैनन् । परन्तु, त्यसमा कुन नयाँ कुरा जोडिन जाने हुन, त्यो बेला निश्चित हुनेछ, जब एक नयाँ पिंढी हुर्कनेछ–यस्ता पुरुषहरुको पिंढी जसलाई जीवनभर कहिल्यै कुनै नारीको देह पैसा दिएर या सामाजिक शक्तिका कुनै अन्य साधनद्वारा खरिद गर्ने अवसर मिल्नेछैन र यस्ता नारीहरुको पिंढी जसलाई कहिल्यै सच्चा प्रेमबाहेक अरु कुनै कारणबाट कुनै पुरुषका सामु आत्मसमर्पण गर्नका लागि विवश हुनुपर्ने छैन र न जसलाई आर्थिक परिणामहरुको भयबाट आफूलाई आफ्नो प्रेमीका सामु आत्मसमर्पण गर्नुबाट रोक्नु नैपर्नेछ ।

जब एक पटक यस्ता नारी पुरुषहरुले यस दुनियाँमा जन्म लिनेछन्, त्यो बेला उनीहरु यस कुराको अलिकति पनि चिन्ता गर्ने छैनन् कि आज हाम्रो रायमा उनीहरुले के गर्नुपर्दछ । उनीहरु स्वयं यो निर्णय गर्ने छन् कि उनीहरुले के गर्नुपर्दछ र त्यसअनुसार उनीहरु स्वयं नै प्रत्येक व्यक्तिका आचरणका बारेमा जनमतको निर्णय गर्नेछन् र बस समस्या टुंगिनेछ ।” एंगेल्सका यी भनाईहरु निकै वस्तुवादी, वैज्ञानिक र गहन छन् । यसबाट के कुराको पुष्टि हुन्छ भने सामाजिक परिवर्तनसँगै परिवारको स्वरुपमा पनि निरन्तर परिवर्तन हुँदै जान्छ र नारी पुरुषबीचको यौनसम्बन्धी नैतिक मान्यतामा पनि ठीक यही कुरा लागु हुन्छ ।

प्रतिक्रियावादीहरु कम्युनिस्टहरुमाथि के आरोप लगाउँछन् भने उनीहरु नारी पुरुषबीचको सम्बन्धको मामिलामा हस्तक्षेप गर्दछन् र पत्नीहरुलाई सर्वोपभोग्या बनाउँछन् । माक्र्सवाद यस कुराको दृढ विरोधी छ । कम्युनिज्मको स्थापनाले परिवारमा कस्तो प्रभाव पार्दछ ? यस प्रश्नको जवाफमा एंगेल्स भन्नुहुन्छ “त्यसले पुरुषहरु र नारीहरुका सम्बन्धलाई विशुद्ध रुपले निजी मामिला बनाइदिनेछ, जसको केवल सम्बन्धित व्यक्तिहरुसित नै सरोकार हुनेछ र जसले समाजबाट कुनै पनि ढंगको हस्तक्षेपको अपेक्षा गर्नेछैन । यो निजी स्वामित्वको उन्मूलन र बच्चाहरुको सार्वजनिक प्रशिक्षणको कारण सम्भव हुनेछ । यसरी प्रचलित विवाहका दुवै आधारशिलाहरु नष्ट गरिनेछन् पत्नीको आप्mनो पतिमाथि र बच्चाहरुको आफ्ना आमा–बाबुहरुमाथिको निर्भरता जुन निजी स्वामित्वद्वारा प्रभावित हुन्छ ।

पत्नीहरुको सर्वोपभोग्यता यस्तो व्यापार हो जसमा पूरै पुँजीवादी समाजको चारित्रिक गुण छ र आज बेश्यावृत्तिका रुपमा विशुद्ध रुपले विद्यमान छ । परन्तु बेश्यावृत्तिका जरा त निजी स्वामित्वभित्र छन् र ती त्यसका साथै नष्ट हुनेछन् । त्यसैले पत्नीहरुको सर्वोपभोग्यताको स्थापनाको सट्टा कम्युनिस्ट ढंगको संगठनले त्यसको अन्त गरिदिनेछ ।” कम्युनिस्टहरु नारी र पुरुषबीच कुन ढंगको आदर्श सम्बन्ध कायम गर्न चाहन्छन्, यो कुरा एंगेल्सको उक्त विचारबाट छर्लङ हुन्छ ।
क्रान्ति र परिवारबो यसरी सोच्ने तथा अगाडि बढ्ने सन्दर्भमा चिन्तन र व्यवहारको क्षेत्रमा अनगिन्ती व्यवधानहरु खडा छन्, जसको सामना गर्नका लागि हामी तयार रहनुपर्दछ । यस ढंगका व्यवधानहरुलाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ ।
पहिलो ःप्रतिगामी दृष्टिकोण । यस अन्तर्गत सामन्ती हिन्दु अभिजात्यवादी, उदारतावादी एवं पुँजीवादी अराजकतावादी दृष्टिकोण पर्दछन् । नेपाली समाजमा हिन्दु अभिजात्यवादले अझै वैचारिक प्रभुत्व जमाइरहेकोछ । नारीलाई पुरुषको चरणकीदासी, अवला, भोग्या एवं घरकी कैदी ठान्नु र नारी स्वाधीनताको पूरै विरोध गर्नु यसको विशेषता हो । यसले परिवारमा पैतृक तानाशाहीको पुर्पक्ष गर्दछ । उदारतावादले हिन्दु अभिजात्यवादको त केही हदसम्म विरोध गर्दछ, परन्तु समग्र र मूल रुपमा होइन । पुँजीवादी अराजकतावाद साम्राज्यवादी विश्वदृष्टिकोण हो । छाडावादी, व्यवसायवादी एवं संवेगवादी नीतिशास्त्रसँग यसको घनिष्ट सम्बन्ध रहेको छ । यी तीनवटै दृष्टिकोण आज घुलमिल बन्दै गएका छन् र यिनले नोकरशाही पुँजीवादको आर्थिक धरातलमा खडा पितृसत्तात्मक प्रतिक्रियावादी व्यवस्था र त्यसका मूल्य मान्यतालाई बचाइराख्न चाहन्छन् ।

दोस्रोः नारीवादी दृष्टिकोण । यो नेपालमा भर्खरै भित्रिंदै छ । यसले पितृसत्तावादका विरद्ध आवाज उठाए पनि नारीमाथिको शोषण र मुक्तिको सवाललाई वर्गीय एवं सामाजिक दृष्टिकोणले नहेरी लंैगिक एवं जैविक दृष्टिकोणले हेर्दछ । महिला र पुरुषबीच वैरभाव खडा गर्नुु तथा वर्गसंघर्ष र क्रान्तिलाई नकार्नु यसका मूल विशेषता हुन् । सारतः यो पनि पुँजीवादी दृष्टिकोणकै एक रुप हो ।

तेस्रो ः संशोधनवादी सुधारवादी दृष्टिकोण । क्रान्ति र परिवारप्रति यसले वर्गसमन्वयवादी, सुधारवादी एवं सम्झौतावादी दृष्टि अंगाल्छ। वामपन्थी आन्दोलनका साथै महिला मुक्ति आन्दोलनलाई पनि टे«ड युनियनवादी एवं संसदवादी भासमा फँसाउनु यसको मूल विषेताहो।यो माक्र्सवाद–लेनिनवाद–माओवादका विरुद्ध खडा छ र यसले क्रान्तिकारी कम्युनिस्टहरुमाथि जडसुत्रवाद एवं उग्रवादको आरोप लगाउँछ । यसको अन्तिम परिणति गद्दारी र आत्मसमर्पण हो ।

चौथोः जडसुत्रवादी दृष्टिकोण। जडसुत्रवादीहरु क्रान्तिका साथै परिवारको प्रश्नमा पनि यान्त्रिक भौतिकवादी ढंगले सोच्ने गर्दछन् । परिवार र आचारणको प्रश्नमा यी केही रुढीवादी र कट्टरतावादी पनि हुन्छन्। नेपाली जडसुत्रवादीहरुमा हिन्दु–ब्राम्हणवादको प्रशस्तै छाप परेको पाइन्छ । उनीहरु परिवारलाई गतिशील एवं परिवर्तनशील संस्थाको रुपमा नभई स्थिर एवं स्थायी संस्थाको रुपमा ग्रहण गर्दछन् र कुनै पनि नयाँपन एवं लचकता उनीहरुका लागि असह्य हुन्छ । उनीहरु पनि महिलााहरुलाई सामाजिक कार्यकलापहरुमा संलग्न गराउने र पुरानो परिवारलाई भत्काउने कुराको प्रत्यक्ष वा परोक्षरुपले विरोध गर्दछन् ।
पाँचौंः छाडावादी दृष्टिकोण । यो जडसुत्रवादका विरुद्ध त खडाछ,परन्तु यसले यौनसम्बन्धी प्रश्नमा खुकुलोपनाको माग गर्दछ । यसले प्रेम, यौन र विवाहका समस्यालाई सामाजिक संस्कृति र वर्गसंघर्षसँग होइन,प्रकृतिवाद र जैविकीय आवश्यकतासँग जोड्ने गर्दछ । यसप्रकारको चिन्तनले निम्न पुँजीवादी समतावादी धारणासँग पूरै मेल खान्छ र सारतः यो पुँजीवादी मुक्त प्रेम र संवेगवादसितै गाँसिएको छ ।
छैठौंः वैराग्यवादी दृष्टिकोण ।यो अलिकति पलायनवाद,अलिकति निराशावाद र अलिकति साधुसन्यासीवाद मिसिएर बनेको छ । त्याग र बलिदानका नाममा यसले पारिवारिक जीवन र दायित्वबाटै पन्छने, बिहे र सन्तान जन्माउने कुराको उपेक्षा गर्ने, क्रान्तिकारीहरुले राम्रो लगाउन र मीठो खान हुँदैन तथा हमेशा दुःखकष्ट भोग्नुपर्दछ भन्ने कुराको पुर्पक्ष गर्दछ । वास्तवमा यो वैराज्यबाद मात्र नभई एक ढोंग पनि हो । वास्तवमा के सत्य हो भने शोषकवर्गले श्रमिक जनताबाट सबै सुख र आनन्द छिनिसकेको छ । सर्वहारावर्गले सबै कुरा त्यागिसकेको छ र अब उसलाई वैराग्यवादी त्यागको उपदेश दिनुको कुनै औचित्य छैन । आखिर क्रान्ति सिंगो मानव जातिको सुख र आनन्दका लागि नै हो । क्रान्ति जीवनबाट भागेर र जीवनलाई डसेर होइन,वर्गसंघर्षको हितलाई राम्रोसँग हृदयगम गरेर र जीवनका हरेक चुनौतीहरुको सामना गरेर मात्र हुन सक्छ । ठीक त्यसैकारण हामीले दुःखमा पनि सुख खोज्ने, कालो अन्धकारका बीचमा पनि प्रकाशका सुनौला किरणहरु देख्ने, हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न प्रयत्नशील रहने, उत्कृष्ट आनन्दका लागि निकृष्टआनन्दको परित्याग गर्ने र जीवनका लागि मृत्युवरण गर्न सक्ने हुनुपर्दछ । यस निम्ति वैराग्यभाव होइन, उल्लासमय जीवन र प्रशन्न मनोभावको आवश्यकता पर्दछ । क्रान्ति एक ऐतिहासिक आवश्यकता हो । त्यसलाई हामीले सहर्ष स्वीकार गर्नुपर्दछ र आज हामीले अपेक्षा गरेको नयाँ परिवार वास्तवमा त्यसै क्रान्तिको पाठशाला बन्नुपर्दछ ।
उक्त प्रकारका सबै गलत दृष्टिकोणहरुको हामीले विरोध र खण्डन गर्नुपर्दछ । सही चिन्तनको विकास गलत चिन्तनका विरुद्ध लडेर मात्र हुन सक्छ । यस सन्दर्भमा हामीले मुख्य प्रहार सबै प्रतिगामी तथा पुँजीवादी विश्वदृष्टिकोणमाथि नै गर्नु आवश्यक छ ।
क्रान्ति र परिवारबीचको सम्बन्धबारे बुझ्नु र समाधान गर्दै जार्नुपर्ने विषय र समस्या अनेकौं छन् । यस निम्ति आवश्यक अध्ययन, छलफल र व्यवहारिक गतिविधिका प्रक्रियामा संलग्न बन्दै जानुपर्दछ ।यसबारे हामीले माक्र्सवादी–लेनिनवादी–माओवादी दृष्टिकोण र मान्यताअनुरुप जे कुरा बतायौं, तिनका आधारमा निष्कर्षका रुपमा निम्नकुरामा ध्यान दिनु आवश्यक छः
(क) आम नेपाली जनताका साथै उत्पीडित नारी जनसमुदायको मुक्तिका लागि हामीले दुई कुरामाथि विशेष ध्यान दिनु जरुरी छ । पहिलो, उत्पीडित महिला जनसमुदायको सक्रिय सहभागिताविना उत्पीडित पुरुष जनसमुदायको पनि मुक्ति एवं क्रान्ति असम्भव छ । दोस्रो, नयाँ जनवादी क्रान्तिविना महिला मुक्ति पनि असम्भवछ । ठीक त्यसैले हामी के कुरामा जोड दिन्छांै भने नयाँ व्यवस्थाको स्थापना र पारिवारिक संरचनामा रुपान्तरणका लागि नारी तथा पुरुष दुवैको संयुक्त भूमिका अनिवार्य रुपले आवश्यक छ ।
(ख) आज हामी नयाँ जनवादी क्रान्तिको चरणमा छांै । ठीक त्यसैले यस क्रान्तिको आर्थिक, राजनीतिक एवं सांस्कृतिक कार्यक्रमअनुसार हामी नयाँ जनवादी परिवारको पक्षपोषण गर्दछौं । परन्तु, हामी यत्तिमै सीमित हुन्नौं, परिवारलाई कम्युनिस्ट चेतना र विश्वदृष्टिकोणका हैसियतले बुझ्ने र बदल्दै जाने प्रक्रियामा लाग्दछौं ।
(ग) वर्तमान सामन्ती पितृसत्तावादी परिवारबाट नयाँजनवादी परिवार,नयाँ जनवादी परिवारबाट समाजवादी परिवार र समाजवादी परिवारबाट साम्यवादमा पुग्ने काम क्रान्तिका निकैलामा र जटिल तीन चरण पार गर्दै अगाडि बढ्ने काम हो । यस निम्ति वर्गसंघर्षका अनेकौं अभियानहरु, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र समाजवादी रुपान्तरणका प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ ।यस बीचमा कुन बेला कुन ढंगको नीति र मूल्यमान्यता अवलम्वन गर्ने भन्ने कुरा द्वन्द्ववादका आधारमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नै टुंगो लगाउन सकिन्छ । यदि द्वन्द्ववादको यस विशेषतामाथि ध्यान दिइन्न र एउटा परिस्थितिका लागि निर्धारित सिद्धान्त, नियम र मूल्यमान्यतालाई अर्को परिस्थितिमा लगेर जबरजस्ती थोपर्ने कोशिश गरिन्छ भने त्यो सिधै सार संग्रहवाद हुनेछ र त्यसबाट अवसरवाद बाहेक अरु जन्मने छैन ।

समाप्त

(नोटः लेखकको यो लेख सुरुमा महिला ध्वनि, वर्ष २, अंक १, २०५३ असारमा प्रकाशित भएको थियो । यो लेख लेखकको पुस्तक “माक्र्सवाद र संस्कृति” पुस्तक (२०६६)मा पनि संग्रहित छ ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित