मनु वि.क
२०८३ गत भाद्र १० गते बुधबारको दिन । बुधबार निकै थाकेको अवस्थामा हुन्छु । मंगलबारको दिनमा हाँक पत्रिकाको काममा खट्दा खट्दै आँखाले हेर्न नमिल्ने खस्रो हुँैदै जान्छ । आँखामा पानी सकिए जस्तो आफुलाई महसुस भइरहेको हुन्छ । बुधबार उठ्नै नपरे हुनेथियो जस्तो हुन्छ । मंगलबार हाँकको बागबजार अपिसबाट घर आउँदा साँझ रात पर्नसक्छ । त्यो दिनको अघिल्लो दिन मंगलबार थियो । निकै अबेर भएको थियो कोठामा आउँदा । कोठामा आएर कहिले आफै खाना बनाउन थाल्नु पर्छ । कहिले बच्चाहरुले बनाएका हुन्छन् । त्यो दिन बच्चाहरुले खाना बनाएका थिए । सबै जनाले एकैचोटी खाना खाएर सुत्दा रातको अबेर भइसकेको हुन्छ । मंगलबारको दिनमा पनि त्यस्तै भएको थियो । थाकेको ज्यानलाई मुढो झैं ओछ्यानमा गुल्ट्याएर बिहान छ साढे छ बजेको समयमा बिउझिए पछि फेरि उही हिजो कै दैनिकी शुरु भइहाल्छ । खाना के पकाउने , के खाने ? तरकारी के बनाउने ? बच्चाहरुलाई कसरी समयमा स्कूल पठाउने ? यसैमा रुमलिँदा रुमलिँदै दिनको दश एघार बजिसक्छ ।
बाढीको दिन बुधबार बच्चा स्कूल गइसकेपछि कोठा सरसफाइ वा लुगा धुने काममा लाग्छु र फेरि हाँकका जाउँला भनेर सरसफाइ के गर्न थालेकी थिएँ तल्लो कोठामा बस्ने एक जना आमा आएर भन्नुभयो –“नानी चीनतिरबाट त ठूलो बाढी आएर बाढीले सबै लग्यो रे, फेसबुकका सबै त्यही छ रे ।” उहाँ आमाको कुरा सुन्ने बित्तिकै रामबहादुरलाई भने – “ए लौ हेर्नु त, चीनबाट बाढी आएको छ रे त ,हेर्नु त समाचारमा ।” उहाँ भर्खर प्रेसबाट हाँक पत्रिका ल्याएर आएर खाना खाएर ल्यापटपमा के हेर्दै हुनुुहुँदो रहेछ । उहाँ बस्नुभएको ठाउँमा गएर भनेँ – छिटो हेर्नु हाँक टुडेमा समाचार राख्नु पर्छ । उहाँले तकाल अनलाइनहरुमा हेर्न थाल्नुभयो । मैले नजिकै बसेर हेरेँ । छोरी गिनिज पनि त्यही थिइन् । बाढी आएको कुरा जताततै भाइरल भइसकेको रहेछ । नेपालको रसुवा जिल्लाको भोटेकोशीमा आएको भयानक बाढीको कारण रसुवाका टिमुरे,स्याफ्रुबेसीमा व्यापक क्षति पु¥याँउदै बाढी त्रिलुली हुँदै मुग्लिनतिर लागेको समाचार आयो । रामबहादुरले त्यो समाचार हाँक टुडे अनलाइनमा राख्नु भयो । उहाँले त्यो समाचार राख्दासम्म समाचारहरु निकै नै फैलिसकेका थिए । समाजिक संजालहरु बाढीको बहाबको भिडियो र फोटोहरुले भरिइसकेको थियो । उद्धार र राहत कार्यकोलागि सरकारले सेना प्रहरीलाई निर्देशन दिइसकेको ,त्यो क्षेत्रमा खटाइसकेको जस्ता कुराहरु थाहा भयो । बाढीको वितण्डाको यो समाचार सुनिसकेपछि घरका सबै कामहरु छोडेर हामी बागबजारको हाँक कार्यालयमा आएर समाचारहरुसँग अपडेट हुने प्रयास ग¥यौं । हाँकमा आएर समाचारहरु हेर्दा त निकै कहालीलाग्दो स्थिति भएको समाचारहरु आइरहे । मन मनमा सोचेँ अब सरकारले मात्रै केही गर्न सक्ने स्थिति छैन। बाढीले पु¥याएको क्षतिको स्थल एक स्थान विशेष थिएन । उत्तर नाकादेखि दक्षिण नाकासम्म फैलिएको थियो । तल्लो तटीय क्षेत्रमा व्यापक रुपमा मानवीय तथा भौतिक क्षति पु¥याएको थियो । हाम्रो सडक पूर्वाधार नदीको तट हुँदै भएको र त्यो सडक वरपर मानव वस्तीहरु बसाउने चलन रहेकाले ठूलो मात्रामा मानवीय क्षति भएको हुनुपर्छ । गाउँका गाउँ ,बस्तीका बस्ती बगाएको हुनुपर्छ । जो जो माथि डाडातिर लाग्न र भाग्न सफल हुनुभयो ,उहाँहरुको जीवन सुरक्षित होला नत्र त सबै नै गएको हुनुपर्छ । सडक संजालसँगै बिजुलीका पोलहरु पनि जोडिएका कारण ती पोलहरु पनि सहजै बगाएको हुनुपर्छ । बिजुलीको पोलहरु बगाएपछि मोबाइलमा सम्पर्क हुन समेत केही समयपछि असम्भव हुनेछ । मेरो मनले सोच्यो –जो जो पुरिनु भयो वा मृत्युवरण हुनुभयो उहाँहरुको त जीवन सकियो । जो जो घाइते हुनुभयो जो जो निस्कनै नसक्नेगरी फस्नु भएको छ, उहाँहरुको त छिटो उद्धार हुनु प¥यो । मेरो आँकलन रह्यो हज्जारौं मानिसहरु यसबाट प्रभावित तथा मृत्युवरण हुन पुगेको हुनुपर्छ । बाढीले त्रिशुली हुँदै मुग्लिन पार गरेको समाचार दिनको तीन बजेतिर आयो । बाढीको रफ्तार अकल्पनीय थियो । मान्छे संयोगले मात्रैबाँच्न सफल भएको हुनुपर्छ मनले सोच्यो । फेरि सोच्यो मनले कति वृद्धवृद्धा भाग्न सकेन्न्,कति सुत्केरी, महिला,बालबालिका पुरिए होलान् । कति जीवनको माया लाग्दालाग्दै बगे होलान् र कति पुरिए होलान् ? मन यसै यसै छटपटी भयो । के गरौं कसो गरौं भन्ने भयो । मनले सोच्नेबाहेक केही गर्न नसकिने रहेछ जस्तो भयो । देश शोकमा डुबेको बेला यो हो भन्ने सोचेँ । कस्तो विडम्बना पटक पटकका चोटहरु देशमाथि आइलाग्यो । २०८२ साल भाद्रको आगजनी, तोडफोड ,ल्टपाट तथा विध्वंश देखेको फेरि एक वर्ष नपुग्दै किन यस्तो विपत्ति आइलाग्यो भनेर मन निकै दुःखीरह्यो । कहिले प्राकृतिक त कहिले मानव सिर्जित निकै भयानक घटनाहरु देशमाथि आइलाग्यो भन्ने मनले सोच्यो । यो विपत्तिको बेला केही उद्धार तथा राहतको कार्य गर्न सक्न पाए हुने थियो । थोरैको मात्रै पनि जीवन बचाउन पाए कति हुने थियो भन्ने मनले सोच्यो ।आफु जानेसम्म कल्पना गर्न नसक्ने घटना छ । आकाशको बाटोको कल्पना हाम्रोलागि केवल कल्पना मात्रै त होनि भन्ने भयो । तर पनि दिउँसोतिर हाँक टुडे अनलाइनमा एउटा लेख– सिंगो देश बाढीपीडितको उद्धार राहतमा लागौं ! भन्ने शीर्षकमा राखेँ ।लेखको पूरा अंश यस्तो थियो –
“२०८३ भदौ १० गते बिहान तिब्बतको भोटेकोशीबाट आएको भयानक बाढीले नेपालतर्फ रसुवाको रसुवागढी नाका हुँदै स्याफ्रुबेसी, टिमुरे बजार सहित त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । बजारका बजारहरु बाढीले बगाएको छ । मानिसहरु तल्लो तटीय क्षेत्रहरुहरु नुवाकोट, धादिङ, गोरखा चितवन लगायतका क्षेत्रहरुमा बाढीले निकै क्षति पु¥याएको छ । क्षणभर मै सुन्दर बस्ती खण्डहरमा परिणत भएको छ । सपना क्षणभर मै माटोमा मिलेको छ । मानिसहरुले कल्पना नै नगरेको बाढीको कारण देश अहिले शोकमा डुबेको छ । यो अवस्थामा सबै नेपालीहरुले राहत, उद्धार तथा प्रभावितहरुलाई पुनस्र्थापनामा विशेष ध्यान दिनु पर्दछ । यो भयानक प्राकृतिक विपत्ति हो । विपत्ति कतिबेला कसलाई आउँछ भन्ने केही थाहा हुँदैन । अहिले नेपालमा पनि यस्तै भएको छ । अहिलेसम्म कति जनधनको क्षति भएको छ भन्ने विवरण आउन बाँकी नै छ । तर पनि जो जहाँ जहाँ जिउँदो अवस्थामा छन् जो सक्ने अवस्थामा छन् उनीहरु स्वयमले नै सक्दो उद्धारकार्यलाई प्राथमिकता दिनु पर्दछ । सरकारले उद्धारकोलागि सबै संयन्त्रहरुको परिचालन गर्नु पर्दछ । राष्ट्रमाथि आएको यो प्राकृतिक विपत्तिमा यो वा त्यो नभनिकन उद्धारमा लाग्नुपर्दछ । सरकारले सबैमा अनुरोध पनि गरेको छ । सरकारको अनुरोधका बाबजुत मुख्य उद्धार कार्यको दायित्व सरकारको हो। सरकारले रातदिन नभनेर कामलाई तीव्रता दिनु पर्दछ ।
विपत्तिमा परेर ज्यान गुम्नेहरुको त गुम्यो जो जो घाइते अवस्थामा रहेका छन् उनीहरुको तत्काल उद्धार हुनु पर्दछ । तत्काल उद्धार गरी उपचारमा ध्यान दिनु पर्दछ । चिकित्सकहरुलाई,औषधी उपचारमा सक्दो छिटो ध्यान दिनु पर्दछ । लडाइँ ,प्राकृतिक विपत्तिमा ज्यान जोगाउनु नै प्रमुख कार्य हो । जो जो उद्धारको पखाइमा रहेका छन् उनीहरुको उद्धारमा कुनै पनि कमी कमजोरी हुन दिनु हुँदैन । बाटोहरु बन्द छन् । उद्धारकोलागि जाने गाडीहरु जान नसक्ने अवस्था छ । एम्बुलेन्स समेत जानकोलागि बाटोको राम्रो व्यवस्था हुनु पर्दछ तर तटीय क्षेत्रमा बनेका सडक पूर्वाधारमा क्षति भएका कारण यातायात नगर्न सरकारले अनुरोध गरेको छ । उद्धारकोलागि अब एकमात्र विकल्प भनेको हवाइ मार्ग मात्रै सम्भव हुने भएको छ । हवाइ मार्गबाट मात्रै उद्धारको कार्य गर्दा पीडितहरुसम्म पुग्न चाहिने जनशक्ति र साधन स्रोतको स्थिति के हुनेछ ।पर्याप्तताको अभावमा उद्धार कार्य प्रभावकारी हुन नसक्ने स्थिति आउनु हुँदैन। बाढीको जोखिम अझै उच्च रहेको भन्ने समाचारहरु आइरहेका छन् । चीनतिर थुनिएको भनिएको नदी पूर्ण रुपमा नबगेको अवस्थामा रहेकोले तल्लो क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनले जानकारी गराएको छ । अझै बाढीको खतरा टरिसकेको अवस्था छैन । विपत्ति आइसकेपछि उपचार र राहत तथा पुनस्र्थापनाको विषयलाई प्राथमिकतामा राख्नु पर्छ । विपत्तिमा परेकाहरुको जो जो बाँच्न सफल हुनुभएको छ उहाँहरुकोलागि उचित स्थानमा बसोबासको व्यवस्था मिलाउनु पर्दछ ।
सुकुम्बासीहरुको भत्किएका घरहरु ५ महिना लाग्दा समेत बन्न र सुकुम्बासीहरुले बास पाउन नसकिरहेको अवस्था छ । यो अवस्थामा प्राकृतिक विपत्तिको कारण फेरी हज्जारौं मानिसहरु घरबारविहीन हुने अवस्था आएको छ । यो अवस्थामा पीडितहरुको उद्धार तथा राहत तथा पुनस्र्थापनाको विषय निकै चुनौतीपूर्ण देखिन्छ । पीडितहरुलाई कहाँ राख्ने ? कसरी बचाउने भन्ने कुरा प्रमुख कुरा हो । अहिले सिङ्गो देश शोकमा डुबेको छ र सबैले मानवीय साथ सहयोगमा कमी नहोस भन्ने कामना गरिरहेको अवस्था छ । मनोवैज्ञानिक डरत्रास सिर्जना भएको छ । कतिपय अवस्थामा डरत्रासका कारण समेत ठूलो मनोवैज्ञानिक असर पर्न सक्छ उनीहरुलाई मनोवैज्ञानिक उपचारमा समेत ध्यान दिनु पर्दछ । प्रभावित हुन सक्ने र भएका स्थलका नदी किनार छेउछाउमा बसोबास गरेका मानिसहरुलाई सुरक्षित स्थानमा लैजानु पर्छ ।
विपदको बेला निकै सतर्कताको समेत आवश्यकता पर्दछ । मानवीय सहायता गर्ने नाममा अनेक खाले देशविरोधी गतिविधि समेत हुन सक्दछ । यसकोलागि राज्यले विशेष ध्यान दिनु पर्छ । उद्धारकालागि ड्रोनहरु उडाउन अनुमति लिन नपर्ने भन्ने खालको सुचना आएको छ । राहत र उद्धारकोलागि यो तरिका सही होइन । मानवीय सहायता पु¥याउने बेलामा देशको सार्वभौमिकता आँच आउने प्रकारका गतिविधिहरु हुन नदिन सरकारले विशेष ध्यान दिनु पर्छ ।
अहिलेको यो अवस्थामा देशमाथि देशमाथि आइलागेको यो विपत्तिको बेलामा सबैले सक्दो प्रकारको साथ सहयोग गर्नु पर्दछ । अहिले क्षतिको विवरण आइसकेको छैन । मानवीय थप क्षति हुन नदिन सबै सतर्क बनौं । भौतिक क्षति जति भए पनि मानिसले सिर्जना गरेका संरचनाहरु हुन् । तिनीहरुलाई त बनाउँदै जाउँला । तर मानवीय क्षति जो भइसकेको छ भयो यो कसैले जोगाउन सक्ने कुरा भएन तर जो जो बाँचेका छन् उनीहरुको उद्धार, राहत,उपचार तथा पुनस्र्थापनामा सबैले सहयोग पु¥याऔं । देशमाथि आएको यो विपत्तिबाट सबैको साथ र हातले उठौंला ।”
यो लेख लेखि सकेपछि आफु पनि उद्धार कार्यमा जान पाए हुने थियो भन्ने भइरह्यो । तर मनले भनेजस्तो त केही पूरा हुँदैन । दिनभरि बाढीका समाचारहरु आइरहे । बाढीले पु¥याएको क्षतिको कुरा आइरह्यो । प्राकृतिक विपत्तिको के भर ? कतिबेला के हुन्छ भन्ने ? कतिबेला मरिने हो भन्ने केही थाहा हुँदैन । संयोगले मात्रै बाँच्ने हो मानव जीवन । आँधीहुरी, तुफान, बाढी ,पहिरो,डुबान,भूकम्प ,ज्वालामुखी विस्फोट,आगलागी,सुनामी अनेक प्राकृतिक विपत्तिसँग जुध्दै मानव जीवन बाँचेको हुन्छ । जुध्दा जुध्दै जीवन नै सकिन्छ । आखिर केही छैन मान्छेको जीवन । यस्ता खालका प्राकृतिक विपत्तिको साथ साथमा मानव सिर्जित समस्याहरु त छँदैछन् । विश्वका स्वार्थहरुको टकरावमा परि कैयौं निर्दोषहरुको अकाल मै ज्यान गएको हुन्छ । कैयौं घाइते तथा अपाङग बनेर जीवन बिताउनु पर्छ । सोच्दा निकै कठिन छ मानव जीवन जीउन । बाँच्नेहरुले त फेरि जीवन जिउनु नै प¥यो । जीवन जीउने कर्महरु गर्दा गर्दै संसारलाई सुन्दर बनाउनु पर्ने रहेछ । यसरी नै त मानव जीवन चल्नेरहेछ । अनेक कल्पनाहरु मनमा भरिइरहे ।
साँझ अबेर मन गह्रुगो लिएर घरमा गयौं । शोकमा मन भारी हुँदै गयो । रातभरि मनमा कुराहरु आयो । उद्धारमा के कस्तो भएको होला ? हिमाली ठाउँ बाँचेकाहरुलाई जाडोले कति कमाएको होला ? आफु २०७५ सालको दशैंकोबेला हाम्रो परिवार गोसाइँ कुण्डको यात्रामा गएको थियो । त्यो समयमा मेरो छोरो नोबेल मात्रै साढे दुइ वर्षको थियो । त्यो समय यात्रा निकै कठिन भएको थियो ।बच्चालाई जाडोबाट बचाउन र आफैलाई पनि जाडोबाट बचाउन निकै कठिन भएको थियो । त्यो बेलाको याद आयो । त्यो ठाउँ पर्यटकीय ठाउँ भएको र त्यो ठाउँमा जनैपूर्णिमाको बेलामा मेला लाग्ने भएकाले मेला भर्न गएका कति स्वदेशी तथा विदेशीहरु परे होलान् भन्ने मनमा आइरह्यो ।घरबार विहीनहरु जो बाँचेका छन्,तिनीहरुको कति कहालीलाग्दो स्थिति होला भन्ने मनले सोच्यो । वर्षा यामकोे समय पानी परि नै रहेको अवस्था छ ,बाँचेकाहरु उद्धारको पर्खाइ कति लामो भएको होला ? ज्यानको माया कति लागेको होला ? मनले सोच्यो । भोलिपल्ट पनि त्यही समाचारहरु आए । सामाजिक संजालहरुमा यतिसम्म भयानक दृश्यहरु देखिए कि मानिसहरु बाढीले बगाएर ल्याएका सामानहरुको खोजीमा आफ्नो ज्यानको बाजी लगाएर बाढीसँग खेलवाड गरेको सामाजिक संजालमा देखियो । तेस्रो, चौथो, पाँचौं दिनसम्म पनि उद्धारको कार्यमा सुरक्षा कर्मी लागिरहेको समाचारहरु आइरहेका छन् । प्राकृतिक विपत्तिमा उद्धार पहिलो कुरा त्यसपछि राहत तथा पुनस्र्थापनाको कुरा आउँछ । अहिले यो संस्मरण लेख्दासम्म(२०८३ भाद्र १५ ) पनि उद्धार कार्य जारी नै रहेको सरकारले बताएको छ । कति हराइरहेका छन् भन्ने आधिकारिक तथ्याङक आएको छैन । नौ सय तीन जनाको शव भेटिएको बताइएको छ । १० हजार बढीको उद्धार गरिएको सरकारले बताएको छ ।
यो विपत्तिमा जो जो डाडाँतिर लाग्नुभयो उहाँहरु बाँच्न सफल हुनु भयो । प्रकृतिबाट मान्छेले सिक्ने कुरा जब बाढी आउने संकेत मिल्छ तथा आकाश कालोनिलो हुन्छ र गड्याङ गुडुङको आवाज आउन थाल्छ तब खोलाका गंगटा, भ्यागुताहरु पहाडतिर उक्लिन्छन् । यो बाट पानी तथा बाढीको समयमा माथि पहाडतिर जानुपर्छ भन्ने पनि सिकाएको हुन्छ तर अहिले यस्ता खालको ज्ञानको निकै अभाव छ । जोगिने शिक्षा पुराना हजुरबुवा हजुरआमाले सुनाउने थिए होलान् तर अबको बच्चाहरुको हुर्काइ त्यो किसिमको छैन। प्रकृतिबाट आफै सिक्ने थिए होलान् तर आफै सिक्नलाई पनि बच्चाहरु एउटा कोठामा हुर्किदैछन् । अबको पुस्ता त झनै बच्ने उपायहरु नजानेर नै ज्यान गुमाउने होलान् भन्ने पीरले सताउँछ ।
यो बाढीपछि राहत तथा पुनस्र्थापनाको कुरा प्रमुख कुरा हो । राहत तथा पुनस्र्थापनामा यो वा त्यो नभनी कनै व्यवस्था होस भन्ने कामना मनले गरिरहेको छ । राहतको घोषणा व्यापक मात्रामा भइ नै रहेको छ । एक मानवले अर्को मानवलाई सहयोग गर्ने ,एक छिमेकीले अर्को छिमेकीलाई सहयोग गर्ने , एक देशले अर्को देशलाई आपत विपद परेको बेलामा सहयोग गर्नु निकै मूल्यवान पूँजी हो । यो कार्य भइरहको छ । सहयोग थोरै नै भए पनि वा धेरै नै भए पनि जति जति भए पनि थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झैं हो । थोरै सहयोगले पनि अफ्ठ्यारो अवस्थामा सजिलो बनाउन मद्दतगर्छ । अहिलेको तत्कालको अवस्थामा उद्धार,घाइतेहरुको उपचार तथा विस्थापनमा परेका घरबारबिहीनहरुलाई बास स्थानको व्यवस्था प्रमुख कुरा हो । त्यसको साथ साथै मनोवैज्ञानिक उपचारको पनि महत्वपूर्ण भूमिका हुन्छ । जो जसको आफन्ती गुमेका छन् ,जो जसको बाँच्ने आधारहरु सबै गुमेका छन्,उनीहरुलाई सामान्य अवस्थामा फर्किन निकै नै गाह्रो छ भने भविष्यको चिन्ता पनि थपिएको छ । भविष्य अब कसरी चलाउने होला ? कहाँ बस्ने होला ? के खाने होला ? भन्ने चिन्ता हुनु स्वभाविक नै छ । यो अवस्थामा उचित स्थानमा बसोबासको व्यवस्था मिलाउन र राहत उचित किसिमले वितरण गर्न सरकारले ढिला गर्नु हुन्न भन्ने सोचिरहेको छु । राहतमा र पुनस्र्थापनामा अत्यावश्यकहरुलाई मात्रै प्राथमिकतामा राख्नु पर्छ । पुरानै स्थानमा फर्कन सक्ने अवस्था छ कि नाई ? अहिलेको बाढीले बाटो कता कता बनाएको छ ? फेरि बाढीको जोखिम कति छ ? फर्किन सक्ने, नसक्ने अवस्थाको गम्भीर अध्ययन हुनु पर्दछ । विस्थापित हुनेहरुलाई उचित स्थान जो बाढी पहिरोको जोखिम कम छ ,त्यो स्थानको अध्ययन गरी स्थान उपलब्ध गराउने आवश्यक शिक्षा, स्वास्थ्य तथा यातायातको व्यवस्था मिलाउन ढिलो नगरे हुनेथियो भन्ने मनमा भइरहेको छ । बाढीमा परी अविभावक गुमाएका बालबालिकाहरुको रेखदेख तथा हुर्काउने काम कसले गर्नेहो त्यसको निक्र्यौल हुनु पर्दछ । उनीहरुको खानपान,शिक्षा स्वास्थ्य उपचारको राम्रो व्यवस्था हुनु पर्दछ भन्ने मनले सोचिरहेको छ । राहत कुनै कोषमा थुप्रिने तर प्रभावितहरु पर्खाइमा जीवन सकिने दिन नआओस भन्दै पीडितहरुकोमा तत्काल पुगोस भन्ने कामना गरिरहेको छु ।
बाढी प्राकृतिक विपत्ति थियो । जो जताबाट आएको भए पनि रोक्न सकिने कुरा थिएन । तर नेपालमा यस्तो बाढी आउने सम्भावनाहरु धेरै रहेको विज्ञहरुले बताउँछन् । यो बाढीबाट नदी किनारमा सडक बनाउनु र बस्ती बसाउनु उचित रहेनछ भन्ने लागेको छ र आफ्नै उत्पादनमा बाँच्न सक्ने बन्नु पर्छ भन्ने लागेको छ । हिमाल पग्लिएर आएको यो बाढीले तल्लो क्षेत्रमा वितण्डा मच्चाइरहेको यो अवस्थामा हाम्रो देशको विकासको मोडेलको बारेमा पनि गम्भीर सोच्नु पर्ने आवश्यकता देखाएको छ । मैले यो बाढीको विनास देखिरहँदा मेरो पाल्पा जिल्लाको पहिलाको गेझा गाविस हालको रामपुर नपा वडा नं १० को चम्फे सम्झिरहेको छु । चम्फेमा हाम्रो घर, हामी स –ससाना केटाकेटीको उफ्राइ, खेलाइ, चलाइ हुने दिन । ३०–३५ वर्ष अगाडिको कुरा,जहाँ मेरो आमा बुबाले फाँटका खेतहरुबाट धानका विटाहरु चम्फेको घरमा ल्याएर उरुङ लगाएको कुरा याद आइरहेको छ । मेरो बाले सेतो कमिज लगाएर धान झाँटेको सम्झिरहेको छु । धानको पहेंलपुर थुप्रो हेरेर हामी केटाकेटी हाँसिरहेको सम्झेको छु । फाँटमा खेती गरेर माथि डाँडातिर बस्ती बसाउने पुराना मान्छेहरुको दिमाग निकै राम्रो लागिरहेको छ । मलाइ यो पनि लागिरहेको छ कि बस्तीलाई एक झुप्पा बनाएर तल्लो फाँटिलो तथा खोला ,नदी, किनारतिर नबनाउन पाए विपत्तिको बेला हुने रसुवाबाट भदौ १० गते आएको बाढीबाट भएको क्षति जस्तै क्षतिबाट जोगिन सजिलो हुने थियो कि ?
भदौ १०को बाढी पछि …..
Comments

