काठमाडौँ । परिवर्तनको सन्देश प्रवाह गर्दै ‘१२ मई ’ नाटक प्रदर्शन सम्पन्न भएको छ। गत भाद्र २१ गते काठमाडौँ कमलादी स्थित प्रज्ञा भवनमा नाटक मञ्चन गरिएको हो। नाटकका लेखक वामपन्थी नेता तथा साहित्यकार मोहनविक्रम सिंह हुन्। नाटक मञ्चन नेपाल नाट्यशालाले गरेको थियो भने उक्त नाटक मञ्चनको आयोजक रक्तिम सांस्कृतिक अभियान थियो। २०४३ मा नेपालमा हुन थालेको राष्ट्रिय पञ्चायतको चुनाव बहिष्कारको पक्षमा दिल्लीमा गरिएकोे प्रदर्शनमा भएको दमनलाई यस नाटकको विषयवस्तु बनाइएको छ ।
नाटकमा पर्वत कार्की नेताका साहु विष्णुमणि एकजना सहयोगी काले थापालाई लिएर आफ्ना आशमी उठाउन भारतको कानपुर पुग्दछन्। साहु विष्णुमणीलाई हिन्दी भाषा आउँदैन ।उनका सहयोगीले उनलाई भाषामा मद्दत गर्दछन । विष्णुमणि र उनका सहयोगीलाई कानपुरमा प्रहरी र जोगीले हैरान पार्दछन्। उता साहुको ऋण तिर्ने र घर खर्च चलाउने उद्देश्यले कानपुर पुगेको उनको असामी सूर्य अखिल भारत नेपाली एकता समाजमा आबद्ध भइसकेको हुन्छ। एकता समाजमा आबद्ध व्यक्तिहरूले विष्णुमणिको जालझेल थाहा पाइसकेपछि उसलाई कुटपीट गर्दछन् , कारबाही गर्दछन् । नाटकमा हर्कबहादुर र उजेलीलाई सिद्धान्तप्रति निष्ठावान व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ । यस नाटकमा श्यामलाल नाम गरेका व्यक्ति अत्यन्त उग्र क्रान्तिकारी देखिन्छन्। श्यामलालले उजेलीसँग विवाह गर्न प्रस्ताव राखेका हुन्छन् तर श्यामलालको अवसरवादी चरित्र देखेर उजेलीले विवाह गर्न अस्वीकार गर्दछिन्। उजेलीसँग विवाह गर्नबाट वञ्चित भएपछि विक्षिप्त हुन्छन् र उनी सरकारी सिआइडीको संगतमा पुग्दछन्। नेपालको सरकारी सिआइडी इन्स्पेक्टर पदम बहादुर , श्यामलाल ,एकता समाजभित्रकै अर्की पात्र सुनिता भएर संगठनलाई तहस नहस पार्न खोज्दछन्। एकता समाजमा आबद्ध भएका कार्यकर्ताहरुलाई दिग्भर्मित पार्न सकभर प्रयत्न गर्छन् तर हर्कबहादुर , उजेली जस्ता सचेत कार्यकर्ताहरुले भ्रममा परेका कार्यकर्ताहरुलाई पनि क्रान्तिकारी आन्दोलनमा लगाउन सफल हुन्छन् । यता नेपालमा पञ्चायती चुनाव हुँदै थियो। त्यो पञ्चायती चुनावको बहिष्कारको समर्थन गर्दै १९८६ मई १२ का दिन दिल्लीमा प्रदर्शन हुनेवाला थियो। अवसरवादी सोच भएका व्यक्तिहरू विभिन्न बहानाबाजी गरेर त्यो आन्दोलनमा सहभागी हुँदैनन् तर अन्ततः १२ मईका दिन दिल्लीमा पञ्चायती चुनावको बहिष्कारको पक्षमा जुलुस प्रदर्शन हुन्छ र कैयौ व्यक्तिहरु गिरफ्तार हुन्छन् र उनीहरुलाई मुद्दा लाग्दछ । साहु विष्णुमणिले एकता समाजकी नेत्री सबैले विश्वास गरेकी पात्र उजेलीसँग विवाह गर्दैछ भनेर ठूलो हल्ला पनि चलाइन्छ। तर त्यो हल्ला सही साबित हुँदैन। समाजमै काम गर्दै आएकी अर्की पात्र सुनिताले आफ्ना श्रीमानलाई अलपत्र परेकी उजेलीलाई दिल्ली जाने भाडा दिने र हातको घडी लिने भन्दै पठाएर आखिरमा साहु विष्णु मणिसँग चौथी श्रीमती भएर भागेको दृश्य देखाइन्छ । ‘क्रान्तिकारी आन्दोलनमा टुटफुट विभाजन भइरहन्छ तर क्रान्तिकारी आन्दोलन अगाडि बढिरहनेछ’ हर्कबहादुर र उजेलीको यही उद्घोषसँगै नाटक समाप्त हुन्छ।
नाटक हेरिसकेपछि अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति तथा १२ मई आन्दोलनका बेलाका पनि समाजका सभापति गोविन्द सिंह थापाले यस नाटकबाट पुरानो राजनीतिक घटनालाई स्मरण गराएको बताउनुभयो । अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव गङ्गा पौडेलले आफूले १२ मई नाटक एकता समाजको तेस्रो अखिल भारत सम्मेलन १९८९ नोभेम्बरमा कानपुरमा प्रदर्शन भएको स्मरण गर्नुभयो। पौडेलले भन्नुभयो, “नाटकमा स्वयं आन्दोलनकारीहरु जो हिरासत बसेका थिए, जेल परेका थिए र पुलिसको कुटाई खाएका थिए र साँच्चै आन्दोलनमा हिँड्दै गरेका आन्दोलनकारीहरु नै थिए र यसपटक काठमाडौँ नाटकका कलाकारहरु भने व्यवसायिक कलाकारहरू हुन्। त्यसले गर्दा स्वभाविक रुपमा व्यवसायिक कलाकारहरूको भन्दा साँच्चिकै आन्दोलनमा हिँडेका र जेल बसेका कलाकारहरूको अभिनय बढी जीवन्त थियो भन्ने मलाई लाग्छ तर जे भएपनि यसले आज परिवर्तनको आन्दोलनप्रति निराशा छाइरहेको अवस्थामा परिवर्तनप्रति आशाको सन्देश दिएको छ भन्ने मलाई लाग्छ।” साहित्यकार तथा लेखक खेम थपलियाले प्रतिक्रिया जनाउँदै भन्नु भयो, “ मैले यो नाटकको बारेमा सुनेको थिएँ र यो नाटकको अन्तिममा आन्दोलनमा टुटफुट हुँदै जान्छ तर क्रान्तिकारी आन्दोलन निरन्तर अगाडि बढ्छ भन्ने जुन सन्देश दिएको छ, त्यो एकदम सही छ। फुट भएपनि निरन्तर क्रान्तिकारी आन्दोलन अगाडि बढ्छ भन्ने त मेरो आफ्नै पनि नाटकको शीर्षकै थियो। त्यसले गर्दा मैले मोहनजीले लेखेको यो नाटकलाई धन्यवाद नै दिन्छु ।” समग्रमा नाटक ठिकै भएपनि १२ मईको दिनको जुन घटना हो र नाटकको जुन मूल पक्ष हुनुपर्ने हो त्यो मूल पक्षलाई नाटकले फोकसिङ गर्न नसकेको कतिपय दर्शकहरुबाट टिप्पणी आएको छ। १२ मई को घटना केवल नेपथ्यमा जुलुस गरेको मात्रै देखाइन्छ। पक्कै पनि त्यो आन्दोलनको दिन प्रहरी प्रशासन र आन्दोलनकारीका बीच सवाल जवाफहरू भए होलान् । त्यो आन्दोलन गर्नुको उद्देश्यको बारेमा पनि पक्कै त्यहाँ नारा जुलुस र भाषणहरु भए होलान् । नाटकको त्यो मूल पक्षलाई फोकसिङ गर्न नसक्नु नाटकको कमजोर पक्ष हो कि भनेर टिप्पणी पनि हुने गरेको छ।कतिपय दर्शकहरुले लेखकले नाटकमा दिएका गीतहरु जो रक्तिम एल्बममा समेत छन्, लाई नाटकमा समावेश गरेको भए अझ राम्रो हुने थियो भन्ने प्रतिक्रिया पनि दिएका छन् ।
कार्यक्रममा नाटकका लेखक मोहनविक्रम सिंह, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ, अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द सिंह थापा, अखिल भारत नेपाली एकता समाजका संस्थापक सदस्य राजु नेपाली लगायतको उपस्थिति थियो ।
१२ मई आन्दोलनका योद्धाहरू राजेश विश्वकर्मा, योगेन्द्र ढकाल , भीमबहादुर रायमाझी लगायतलाई कार्यक्रमको प्रारम्भमै सम्मान गरिएको थियो । सहयोगदाताहरु दीपक परियार र आश्रम म्युजिक लगायतलाई पनि सहयोग गरेकोमा सम्मान पत्र दिइएको थियो। त्यसै कार्यक्रमको सिलसिलामा नेपाल नाट्यशालाका निर्देशकहरू प्रभात खरेल र सौभाग्य सिंह राईलाई पनि सम्मान गरिएको थियो।सम्मानित व्यक्तिहरूलाई नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सम्मानपत्र प्रदान गरेका थिए भने अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द सिंह थापाले खादा लगाएर सम्मान गरेका थिए। सम्मान कार्यक्रमको सञ्चालन नेकपा (मसाल)का प्रवक्ता राम प्रकाश पुरीले गरेका थिए। नाटकको बीचमा करिब तीनपटक विद्युतको लाइन गएको थियो। त्यस्तो अवस्थामा दर्शक दीर्घाबाट कतैबाट पनि हल्लाखल्ला नहुनुले त्यहाँ अत्यन्त गम्भीर र सचेत तप्काको जमघट थियो भन्ने कुरा स्पष्ट हुन्छ। नाटक समापन भइसकेपछि नाट्यशालाका कलाकारहरुलाई आयोजकहरुले सम्मान गरेका थिए।


फोटो स्रोत : कृष्ण अधिकारीको फेस बुक वालबाट

