शुभकामना (कविता)

– गौरी देवकोटा

बालबिवाह गरेर डोली चढाइएकी
सानी बच्ची होइन म
मेरो फुर्सदले, मेरो इच्छाले
जतिखेर पनि पुग्न सक्छु मेरो घर
भेट्न सक्छु बा आमा
टेक्न सक्छु आफ्नो आँगन
सानी नानीलाई झैँ
नआउनू लिन
मीठो खानकै लागि
चाहिँदैन तीजको बाहाना
शुभकामना छ, दिदी बहिनीहरूमा पनि
वर्ष दिनको भोक मेट्न
कुनै चाड कुर्न नपरोस्
तीजलाई तन्काएर चुइगम झैँ
चपाउँदै हिड्न नपरोस्
सबै दिदी बहिनीलाई
वर्षभरि मनभरि पेटभरि
खाने स्वतन्त्रता मिलोस्
आफ्नै जन्म घर जान कसैले नछेकोस्
कसैको निम्तो नचाहियोस्
सबैमा शुभकामना छ
आफैंमा आँट पलाओस् विश्वास भरियोस्
आफैं आउँछु भन्न सकून्
समय सापेक्ष बन्न सकून्
शुभकामना छ
विमान चढेर
विश्व भ्रमण गर्ने दिदी बहिनी लिन
कुनै भाइले कष्ट गर्न नपरोस्
पितृसत्ताको बुइ चढेर
नपछारिउन् कुनै छोरी आफै
आफ्नै सीपलाई पुज्न सकून्
आफ्नो घर आफैं पुग्न सकून्
समस्त दिदीबहिनीहरूमा
हार्दिक शुभकामना छ
आफै पछारिने खेल त्याग्न सकून्
शिक्षाको मान राख्न सकून्
हार्दिक शुभकामना छ !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित