काठमाडौं । संविधान घोषणा असोज ३ नेपालको संविधान घोषणा भएको दिनहो । आज संविधान घोषणाको ११ वर्ष पूरा भएको छ । सरकारले संविधान जारी भएको आजको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । यस दिवसका अवसरमा हरेक वर्ष सैनिक मञ्च, टुँडिखेलमा कार्यक्रम हुने गरेको छ । दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दछन् । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम गरिन्छ ।२०७२ साल असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए ।
३५ भाग , ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको छ । पहिलो संविधान सभा (२०६४) ले ४ वर्षमा पनि संविधान बनाउन नसके पछि दोस्रो संविधान सभा (२०७० ) ले २०७२ मा संविधान बनाउन सफल भएको थियो । २०७० को दोस्रो संविधान सभा निर्वाचनलाई मोहन बैद्धले नेतृत्व गरेको नेकपा –माओवादी र नेकपा (एकीकृत) लगायतका पार्टीहरुले बहिस्कार गरेको थिए । असोज ३ मा घोषणा भएको उक्त संविधानलाई नेकपा –माओवादीले कालो संविधान भनेको थियो । विभिन्न जनजाति संघ संगठनहरुले पनि यो संविधानलाई कालो संविधान भनेर विरोध गरेका छन् । वर्तमान बालेन सरकारले संविधान संशोधन कार्यदल बनाएको छ र संविधान संशोधन गर्ने भनेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी विचार राख्ने पार्टीहरुले संविधान संशोधनबाट हैन , नयाँ जनवादी गणतान्त्रिक संविधान लेखेर मात्र देश र जनताका समस्या समाधान हुनसक्ने मत राख्दै आएका छन् ।

