महासभामा गुटेरेसले सम्झिए नेपालको हिमाल

 

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनको गम्भीर असरमा परेको विषयलाई प्रमुखताका साथ उठाएका छन्।

मंगलबार महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि आफू नेपालको हिमाली क्षेत्रमा पुगेर तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने प्रक्रियाबारे विश्वलाई सचेत गराएको स्मरण गरे। उनले त्यतिबेला नेपालको हिमाललाई ‘विश्वको छानो’ भन्दै त्यसको अवस्था भत्किँदै गएको चेतावनी दिएको उल्लेख गरे।

गुटेरेसले जलवायु परिवर्तनको प्रभाव आफूहरूले अनुमान गरेभन्दा पनि छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको बताए। उनले विश्व तापमान वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिलाई जलवायु संकटको प्रत्यक्ष परिणामका रूपमा प्रस्तुत गरे।

उनका अनुसार जलवायु संकट पुस्ताबीचको असमानताको गम्भीर उदाहरण हो। अहिलेको पुस्ताले प्राकृतिक स्रोतको अत्यधिक उपयोग गर्दा त्यसको ठूलो मूल्य आगामी पुस्ता तथा जलवायु परिवर्तनमा कम योगदान गरेका समुदायहरूले चुकाउनुपरेको उनको भनाइ थियो।

गुटेरेसले आफ्नो सम्बोधनमा नेपालको हालैको भोटेकोशी बाढीको नाम भने लिएनन्। तर नेपालका हिमालमा देखिएको जलवायु संकट र त्यसबाट उत्पन्न भइरहेका गम्भीर घटनाहरूले आफूले विगतमा दिएको चेतावनीलाई थप पुष्टि गरेको उनको भनाइ थियो। नेपाली सञ्चारमाध्यमहरूले उनको उक्त भनाइलाई हालै नेपालमा भएको विनाशकारी बाढीको सन्दर्भसँग जोडेर हेरेका छन्।

यसअघि २०२५ मा नेपालको पहिलो ‘सगरमाथा संवाद’का लागि भिडियो सन्देश दिँदै पनि गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए। उनले सगरमाथा र अन्नपूर्ण क्षेत्रको भ्रमणका क्रममा हिमनदी तथा हिमाली भूभागमा आएको परिवर्तन प्रत्यक्ष देखेको बताएका थिए।

नेपालका लागि गुटेरेसको पछिल्लो अभिव्यक्ति महत्वपूर्ण मानिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको नेपालले यसपटक पनि जलवायु न्याय, क्षति तथा नोक्सानीको क्षतिपूर्ति र हिमाली क्षेत्रको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित