किसनबहादुर वि.क.
सुनौलो नेपालको सपना
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने,
कल्पना थियो—
व्यवस्था बदल्ने,
समानता र न्यायले भरिएको
सुन्दर समाज निर्माण गर्ने।
जसलाई हामीले
सबैभन्दा आफ्नो सम्झियौँ,
कहिलेकाहीँ त्यहीँबाट
सबैभन्दा ठूलो धोका आयो।
हरदिन माया दिँदै गयौँ,
तर जति माया गर्यौँ,
उति नै सम्बन्ध टुट्दै गयो।
अब त शङ्कामै पनि माया लाग्छ,
हाँसोभित्र पनि डर लुकिरहन्छ,
यो समाज हो हजुर—
यहाँ सबै आफ्ना हुँदैनन्,
कति सम्बन्ध स्वार्थका हुन्छन्,
कति मुस्कानभित्र
अदृश्य पीडा लुकेको हुन्छ।
सपना थियो—
यो धर्तीको मुहार फेर्ने,
काँडाहरू पन्छाएर
बसन्तमा फूल फुलाउने।
तर फूलभन्दा पहिले
दुर्गन्ध फैलियो,
सुगन्ध खोज्दै हिँड्दा
मन नै थाकेर गयो।
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने।
एक पुस्तक, एक कलम,
एक शिष्य र एक शिक्षक—
यीनले पनि त
संसार बदल्न सक्छन्।
ज्ञानको एउटा दीपले
अन्धकारलाई चुनौती दिन सक्छ,
आशाको एउटा किरणले
निराश मनलाई जगाउन सक्छ।
एक दिन
खुसीको सपना देख्दै थिएँ,
निद्राबाट ब्युँझँदा
समय जीवन र मृत्युको बीचमा
उभिएको पाएँ।
दुई क्षण रोकिएर सोचेँ—
“के साँच्चै हामीले चाहेको संसार
यही हो ? ”
उत्तर खोज्दै जाँदा
आफ्नै पीडाको आवाज सुनियो,
आँखाबाट आँसु झर्यो,
तर मनले भनिरह्यो—
“अझै यात्रा बाँकी छ,
अझै सपना बाँकी छ।”
टुटे सपना, फुटे चुरा,
पुछियो निधारको सिन्दूर,
कति सपनाहरू
समयको आँधीमा हराए।
कति आदर्शहरू
सत्ताको भीडमा अलमलिए,
कति क्रान्तिकारी सपनाहरू
अधुरा नै रहे।
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने।
टुटे सपना,
बिर्सिए आशा,
तर एकपटक फेरि उठ्नुपर्छ।
सबै पीडा मनभित्र राखेर
फेरि सपना सजाउनुपर्छ।
लडेको थिएँ धेरैचोटि,
तर हिम्मत कहिल्यै टुटेन।
दुश्मनले बाटो रोके पनि
हौसला कहिल्यै छुटेन।
अब फेरि मजबुत भएर
आफैँ उभिनुछ,
जुन टुटेको छ—जोड्नुछ,
जुन बिग्रिएको छ—सुधार्नुछ,
र सपनालाई फेरि
नयाँ उज्यालो दिनुछ।
आकाश छुने हिम्मत गरौँ,
तर खुट्टा धर्तीमै राखौँ
अँध्यारो जति गहिरो भए पनि
उज्यालो खोज्न नछोडौँ।
टुटे सपना, बिर्सिए आशा—
बस, एक अन्तिमपटक फेरि उठ्न है।
जिन्दगीले जति पीडा दिए पनि
नयाँ सपनासँग मुस्कुराउनु है।
किनकि सपना मर्नु भनेको
आशा मर्नु हो,
र आशा बाँचेपछि
अझै केही गर्न बाँकी हुन्छ।
बाचा थियो—
संसार जित्ने होइन,
आफ्नो देशलाई जिताउने
सपना थियो—
समतामूलक समाज बनाउने।
कल्पना थियो—
शोषण र विभेदरहित
न्यायपूर्ण समाजको निर्माण गर्ने।
तर समय बदलियो,
नारा बदलियो,
मान्छेका प्राथमिकता बदलिए।
आदर्शका शब्दहरू रहे,
तर व्यवहारमा
स्वार्थका पर्खालहरू उठे।
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने।
अन्धाधुन्ध गोली चल्दा
धनजनको ठूलो क्षति भयो,
ठूलाहरूले चैन पाए होलान्,
तर निमुखाहरूले
के पाए ?
कति आमाको काख रित्तियो,
कति घरको दियो निभ्यो,
कति युवाको सपना
समयले खोसेर लग्यो।
आज भन्दै, भोलि भन्दै
यसै बित्दै गयो जुनी।
तर प्रश्न अझै उस्तै छ—
कहिले बदलिन्छ हाम्रो अवस्था ?
कहिले फर्किन्छ
मान्छेको अनुहारमा मुस्कान ?
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने।
यो जुनी अँध्यारो भए पनि
अर्को जुनीको प्रतीक्षा किन ?
यही जीवनमा
उज्यालो ल्याउनुपर्छ।
हारेको छैन हिम्मत,
निभेको छैन आशा,
अझै बाँकी छ
परिवर्तनको चाहना।
पुरानो सोचका पर्खाल भत्काएर
नयाँ पुस्तालाई अवसर दिऔँ,
देशको जिम्मेवारीमा
युवाको ऊर्जा जोडौँ।
किनकि आजका धेरै युवा
विदेशिएका छन्,
गाउँघरमा
बुढा आमाबुबाका आँखा
छोराछोरी फर्किने बाटो हेरिरहेका छन्।
गणतन्त्रको नाममा
यदि पुरानै असमानताको छायाँ रह्यो भने,
हामीले फेरि प्रश्न गर्नुपर्छ—
कहाँ चुक्यौँ हामी ?
कहाँ हरायो त्यो सपना ?
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने।
हरेक रात
नयाँ आशा दिन्छ,
हरेक बिहान
वास्तविकता देखाउँछ।
केही सपनाहरू पूरा भएनन्,
तर तिनैले
अझै बाँच्ने कारण दिएका छन्।
किनकि—
जो सपना अधुरो रहन्छ,
त्यसलाई पूरा गर्ने प्रयास गर्नु
हाम्रो जिम्मेवारी हो।
मुहारमा मुस्कान छ,
मुटुभित्र पीडा धेरै छ।
प्राकृतिक सम्पदाले भरिपूर्ण देश
किन अझै रोइरहेछ ?
जताततै सुनिन्छ
समाजवादका नारा,
जताततै देखिन्छन्
हँसिया र हथौडाका प्रतीक।
तर प्रतीकभन्दा ठूलो कुरा
मान्छेको जीवन हो,
नाराभन्दा ठूलो कुरा
न्याय र समानता हो।
जागौँ—
किसान, मजदुर, युवा र श्रमिक,
आफ्नो अधिकार र जिम्मेवारी बुझ्न।
संसार बदल्ने सपना देख्नुअघि
आफ्नो समाज बदल्ने बाटो रोज्न।
सबै युवा पुस्ता,
आँखामा सपना सजाऔँ,
मनमा आशा जगाऔँ,
देश निर्माणको यात्रामा
आफ्नो योगदान खोजौँ।
बाटो कठिन छ,
यात्रा अप्ठ्यारो छ,
तर मुटुभित्र
आशाको ज्वाला बलिरहेछ।
सपना थियो—
सुनौलो नेपालको निर्माण गर्ने।
मनभित्र अझै
पुरानो सोचको छाया छ,
कुरा गर्नेहरू धेरै छन्,
तर कर्म गर्नेहरू थोरै छन्।
आफ्नो भन्नेहरू पनि
कहिलेकाहीँ पराइ बन्छन्,
विचार नमिलेपछि
सम्बन्धहरू पनि टाढिन्छन्
तर संघर्षसँग डराउनु हुँदैन
सानो मकैको बीउबाट सिक—
माटोभित्र गाडिए पनि
उसले हार मान्दैन।
अँध्यारो चिरेर
ऊ उज्यालोतिर आउँछ,
धर्तीको छाती चिरेर
आफ्नो अस्तित्व प्रमाणित गर्छ।
त्यसैले—
उठौँ किसान,
उठौँ मजदुर,
उठौँ युवा,
उठौँ सचेत नागरिक।
देश र समाजको भविष्यप्रति
आफ्नो जिम्मेवारी बुझौँ।
हाम्रो सार्वभौमसत्ता,
हाम्रो स्वाभिमान,
हाम्रो प्रकृति र सम्पदा—
सबैको संरक्षण गरौँ।
टुटे सपना, बिर्सिए आशा,
बस, एक अन्तिमपटक फेरि उठ्न है।
पीडालाई शक्तिमा बदल्न है,
अँध्यारोलाई उज्यालोमा बदल्न है,
हारलाई अनुभवमा बदल्न है,
र अधुरो सपनालाई
फेरि नयाँ सपनामा बदल्न है।
किनकि—
सपना अझै बाँकी छ,
आशा अझै बाँकी छ,
यात्रा अझै बाँकी छ।
र हाम्रो सबैभन्दा ठूलो सपना—
सुनौलो नेपालको निर्माण गर्ने।
मिति ः २०८३ असोज ६

