– घननाथ सापकोटा (विकास)
खास गरेर गाईबाट जन्मेको बाच्छो हुर्केर ठूलो भएपछि साँढे भनिन्छ । गाईको बाच्छोलाई किसानले हुर्काइबढाई गरी तालिम दिएपछि गोरु बन्छ र खेत जोत्ने र अन्य कृषिकर्ममा प्रयोग गरिन्छ । तर आजभोलि त्यो काम ट्रेक्टर लगायत अन्य मसिनद्वारा गर्ने गरिएको छ । तर पनि पहाडी भूगोल तिर यदाकदा गोरुले हलो जोत्ने चलन छँदै छ । यो काम कतिपय ठाउँमा आवश्यकताले हुँदै आएको छ भने कतिपय ठाउँमा आर्थिक बाध्यताले पनि चलन रहिआएको छ । गाईका बाच्छाहरु किसानलाई घाँडो भइसकेका छन् । अपवाद बाहेक यिनीहरुको कुनै बजार मूल्य नै छैन । उल्टो किसानले पैसा दिएर मेरो बाच्छो लगि दिनुहोस् भनेर बिन्ती समेत गर्नुपर्ने अवस्था छ । विगतमा जनताले आफ्नो धर्म, संस्कार धान्न घरको कुनै सदस्यको मृत्यु हुँदा धार्मिक विधि विधान अनुसार सार्वजनिक ठाउँमा छोड्ने चलन थियो । यस्ता बाच्छोहरुले किसानको बालिनाली , अन्नपात खाएर मोटाएपछिसाँढे हुन्थ्यो र मानिसहरूलाई सताउँथ्यो । जनताको बालिनाली खाने धपाउन जाँदा उल्टै हान्न आउँछ । व्यापारीले बेच्न राखेको होस् वा ग्राहकले किनेको होस् तरकारी फलफूल आफ्नै अधिकार जस्तो गरेर ग्वाम ग्वाम खान्छ । धपाउँदा टेर्दैन, उल्टो आफैं माथि आइलाग्छ । डुक्रँदै सिँगौरी खेल्दै घर पर्खाल भत्काएर हैरान पारेको हामीले देख्दै र भोग्दै आयौं । कोहि मान्छेले अटेरी गरे ‘कस्तो असनको साँढे जस्तो रहेछ भन्ने उखानै छ । केही वर्ष अघिसम्म काठमाण्डौको असन , बागबजार , सुन्धारा सहित देशै भरिका साना ठूूला सहरहरुमा प्रसस्तै थिए साँढेहरु । तर अचेल छैनन् ।
हाम्रो देश नेपाल हिमाल , पहाड , तराई भूगोलको बिबिधता सहित वनस्पति र हावापानी पनि अत्यधिक चिसो देखि अति गर्मिसम्म सबैखाले उपलब्ध छ । हिउँले भरिएको हिमाल, वन जंगल , जडिबुटी , जंगली जनावर , खोलानाला, ताल तलैया, मठ मन्दिर , पुरातात्त्विक वस्तुहरु , युरेनियमको खानी , विभिन्न जातजाति , भाषा, धर्म , संस्कृति भएको , पाहुनालाई अतिथि सत्कार गर्ने जनताको वसोवास रहेको देश हो ।
यस्तो अनुकुल वातावरण भए,ठाउँमा साँढेहरु राम्रोसंग चरिचरन गरेर आफ्नो वृतिविकास गर्न सक्छन भनेर विभिन्न शक्तिकेन्द्रहरुले मानव साँढेका नश्ल विकाश गरेका छन् । यस्तो वर्णशंकर प्रजातिमा अन्यको तुलनामा अमेरिकी डोनाल्ड ट्रम्प , भारतीय नरेन्द्र मोदि, बारबारा फाउन्डेसन , दलाइ लामा नश्लका साँढेहरुको बाहुल्यता रहेको छ । यिनिहरु नेपालमा जन्मे हुर्केर लक्का जवान साँढे भए, ती साँढेहरु अहिले नेपालमा छाडा छोडिएका छन् । यिनीहरुले अहिले हाम्रो देशमा चर्तीकला देखाउन थालेका छन् । एउटा छाडा साँढेले त कत्तिको हैरान पार्छ , यहाँ त हजारौं छन् । हुर्के बढेपछि सर्वप्रथम लामा लामा तिखा तिखा सिंग उद्याउँदै देशका सार्वजनिक भवन सिंहदरबार लगायत सरकारी कार्यालय र जनताका घर सम्पत्ति सब सिंगले उधिनेर ध्वस्त बनाए । कोही पनि त्यहाँ धपाउन जानै सकिएन । नजिक पर्नै सकिएन । जो छेउमा गयो उसैलाई डुक्रँदै सिंगले हानेर मारीहाल्छ । सिंग पनि कत्ति तिखा रहेछन् । कुनै साँढेले राष्ट्रिय स्वाधीनता नै खान खोज्छ । कुनै साँढे सिंग उध्याउँदै सुकुम्बासी जनताका घर सिँगौरी खेल्दै भत्काउँछ । जनताको रगत पसिना जम्मा गरेको पैसा सहकारीको पैसा अर्को कुनै साँढेले ग्वाम ग्वाम मुख हालेर झ्वाम पार्छ । धपाउनु गयो भने उल्टै मार्न आउँछ । कोहि नजिक पर्नै सक्दैन । बल्ल तल्ल खोरमा हालेको पनि खोरै भत्काएर बाहिर आएर ताण्डव मच्चाई रहेको छ । कुनैकुनै साँढेले हानेर जनताको प्राणपखेरु नै उडाई दिन्छ । केही समय अघि काठमाण्डौको एकजना पठाओ चालक र सुनसरी , सिरहा , धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा जनतालाई तिखा डरलाग्दा सिंगले हानेर मार्यो । कुनै साँढे शिक्षा नीतिमा सिँगौरी खेलेर ध्वस्त बनाउन लागिपरेको छ । स्वास्थ क्षेत्र उस्तै ध्वस्त छ । यी साँढेहरु अवैध सन्तान जन्माएर अर्थतन्त्र ध्वस्त पार्न लागेका छन् । कुनै साँढे गौंडा ढुकेर मोटरसाइकल र अन्य सवारी साधन कर्याप झ्याप पारी हाल्छन । कुनै साँढे बेच्न राखेको काफलमा मुख गाड्छ । केही खान्छ , नखाएको सडकमा छरपस्ट पोखी दिन्छ । धपाउनै सकिँदैन , आँखा रातो पारेर हेर्छ । साँढे पनि थरीथरीका छन । कुनै साँढे गरिबको कमाई खाने थोत्रो अटो समेत सिँगौरी हानेर भिरबाट खसाली दिन्छ । जनताले आफैं रोजगार सिर्जना गरेर डोका , ठेलागाडामा बेच्न राखेका सामानहरु, घर– टहरा , पसल राईंदाईं गरेर सिँगौरी खेल्ने , उधिन्ने गरेको गर्यै छ । यिनको चर्तीकला सहि नसक्नु भएको छ ।
साँढेहरु उर्दी पनि जारी गर्छन् । हुँदाहुँदै शनिबार र आइतबार त घरबाट निस्कनै हुँदैन । साँढेहरुको मारमा परि हालिन्छ । यो छोटो लेखमा यत्तिका धेरै साँढेहरुको ज्यादती के वर्णन गरि सक्नु र ? कुनैपनी ठाउँ, क्षेत्र , बिभाग केही पनि बाँकी छैन । कुन साँढेको कोपभाजनमा कुन दिन परिने हो भनेर हामी जनता बाँच्नु परिरहेको छ । यसकारण सबै साँढे पीडितहरुले दह्रो सल्लाह गर्न ढिला गर्नु हुँदैन । यो जनतामारा साँढेलाई डार्ट गरेर हुन्छ कि कसरी हुन्छ , खोरमा हाल्न पर्यो । खोरमा हाल्न सकिएन भने ……….नै पनि ठोक्न पछि पर्न भएन । यो काम अलिक गाह्रो भएपनि हामी जनतासँँग अर्को बिकल्प छैन ।(

