जरिवानाको लेठो

-मोदनाथ मरहट्टा
आफ्नै गतिमा सोझो बाटो हिँड्दा पनि भड्खारोमा परिन्छ । सामाजिक मर्यादा नाघेर अहिलेसम्म चोरी डकैती गरिएन त्यसैले वैधानिक वा कानुनले तोके बमोजिम दण्ड जरिवाना तिरिएन । यहाँ कानुनी वा वैधानिक भनेको अदालतले तोके वा अह्राएको भनेर बुझ्नु पर्छ । कुनै गैरकानुनी कार्य गरे गराएमा राज्यले निर्देशन गरेको अदालतले तात्कालिक कानुन मिचेको पुष्टि भयो भने दण्ड र जरिवाना ठेकाउछ त्यस्तो फैसलाले जेल बस्नुपर्ने र नगदको धनरासी तिर्नुपर्ने पनि हुन्छ । त्यस्तो निर्णय आफ्नो जीवनमा आइलागेन । भन्नू होला तँ जेल बसेको त होस नि । त्यो त बसेर आएकै हो । त्यो बसाइ जिल्लाका ठूला बडा हाकिमको निर्णय थियो । जेल बस्दा जरिवाना त तिरिएन तर हिरासतको भातको मोल भने जिप्रकाको मेष हवल्दारले असुल गरेरै छाडेथे । त्यहाँ न्युनतम मानवाधिकार पनि थिएन । हामी आस्थाका साथीहरू जो जो जेल बस्यांै हामी श्रमिकवर्गको मुक्तिको पक्षधर थियौँ । हामीलाई थुन्नेहरु शामन्त र पुँजीपति वर्गका प्रतिनिधि थिएँ । त्यसैले त्यहाँ मानवाधिकार वर्गीय थियो । तपाईं भन्नुहोला मानवाधिकार त सर्वमान्य हुनुपर्दछ । हामीले पनि पढेको र बुझेको त त्यही हो तर त्यस्तो मान्यता लागू हुने कुरा भएन ।“बोलबोल मछलि मुखभरी पानी !”
कहिलेकाहीँ समाचारहरू सुनिन्छ, पढिन्छ, अख्तियारले डामेका साँढेहरु सिङ तिखारेर जुरो ढल्काउँदै लालदरवार, शितल दरवार, घाम दरवार पुगेर आफ्नो सान देखाउँछन र सयखत माफीको पगरी गुथेर डुक्रिन्छन् । त्यो तपाईं हामी सबैले देखे सुनेकै छौँ । अख्तियारले कैद र जरिवाना तोकेका अभियुक्तहरू जेल भुक्तान र दण्ड चुक्तान गरेर निस्कँदा उनका प्रशंसकहरुले गुथाइ दिएको माला र खादाको तौल कति क्वीन्टल थियो कसैले नापतौल गरेन । यो पनि हाम्रै समाजको वास्तविक चित्र हो ।
हामी सानो छँदा हाम्रा बाले भन्नुहुन्थ्यो डाँड तिर्नुपर्ने कुनै पनि काम नगर है त्यसैको प्रभावले होला तन्देरी बेलमा त्यस्तो बिठ्याइँ सायदै गरिएन र दण्ड जरिवानामा परिएन । कुनै कुनै जिज्ञासा वा कौतुहलले भने असमन्जस्यमा पार्ने रहेछ । एक पटक म केटौले उमेरमै थिएँ एकदिन एउटा परिक्षण गर्न खोज्दा एकजना गुरुले पाँचसुका जरिवानाको उर्दि सुनाए । भएको के थियो भने हामी कक्षा पाँचमा पढ्दै थियौँ । भदौको कुनै रात विद्यालयको प्राङ्गणमा लाखे नाच देखाइएको थियो । भोलिपल्ट सदाझैँ विद्यालय खुल्यो । दोश्रो घण्टिमा एकजना गुरुले राती उज्यालो दिएको मैन्टोल ल्याएर हाम्रो कक्षा कोठाको झ्यालमा राख्नुभयो । दोश्रो घण्टीपछि लघुशङ्काको फुर्सद भयो । मलाई त्यो जिनिसमा झुण्डिएको सेतो जालीले निकै कौतुहल बनायो र मैले त्यो जालीलाई हातका औँलाले छोएँ । ला ! जाली त खरानी भएको रहेछ मेरा औँलामा खरानी पो आयो । मन ढक्क फुल्यो । त्यही बेला आफ्नै कक्षाका एकजना साथीले हल्ला मच्चाए “मोदेले मैन्टोलको जाली फुटायो !” सबै गुरुरुरु हेर्न आए । म कालो निलो भएँ । हल्ला मैन्टोल धनी गुरुकोमा पुगेछ उहाँ पनि आउनु भयो र मलाइ पाँचसुका जरिवाना तोक्नु भयो । म कायल हुँदै भोलि ल्याउछु भनेर उम्किएँ । म त्यो जरिवाना बुझाउन सक्ने अवस्थामा थिइन । गुरुको ताकेतालाई भोलि भोलि भनेर टार्दै गएँ । मसित गुरुको पैसा तिर्ने उपाय थिएन घरमा बाआमालाई पनि भन्न सक्दिनथेँ । धेरैचोटी ती गुरुको ताकेता सहन गाह्रो परेपछि मैले आफ्नै दाइसित रुँदै भनेँ । दाइ आठ कक्षामा पढदै हुनुहुन्थ्यो । दाइले आफ्ना साथीसित कुरा गर्नु भएछ र साथीहरू सहित ती गुरू कहाँ पुगेर जलेको जालीको जरिवाना लिन पाइन्न भन्नुभएछ । त्यो दिनदेखि गुरूले पैसा त माग्नु भएन तर राता राता आँखाले हेरेर आतंकित पार्नु भयो । जलेको जालीको जरिवाना माग्ने ती गुरूप्रति मेरो मनमा द्रोह जाग्यो । मभित्र बदलाको भावना बढ्दै गयो र दशैँको बिदा हुने दिन सरसफाइ सिध्दिएर सबै साथी घर गए । म भने ती गुरुको घर जाने बाटोमा लुकेर बसेँ । मेरो हातमा एउटा ढुङ्गो थियो जब गुरु ओरालो झरे अनि मैले ढुङ्गाले उनलाई ताकेर हानेँ अनि भागेँ । गुरुले के सोच्नुभयो कुन्नी दशैपछि केही कुरा भएन । अस्तिताका त्यही जाली फुटाएको सुराकदिने साथीसित भेट्दा मरिमरी हाँसियो ।
उमेरले बुढ्यौलितिर लाग्दै गर्दा भुलवश केही घटनामा जरिवानामा परेको छु । २०७२ को भदौमा अखिल क्रान्तिकारीको एउटा टोलीसँग मिसिएर म पनि दार्चुलासम्म गएको थिएँ । डडेँलधुराको सदरमुकाममा पुगेर बस रोकियो । पछाडिका बसहरु आइ नपुगेको र म चुरोटको अम्मली भएकोले बसको छेल पारेर चुरोट पिउन शुरु गरेँ । चुरोटको धुवाँमा लठ्ठिरहेको म एकजना प्रहरी भाइ आएर “बुबा त्यो चुरोट फ्याक्नुस “भन्दा खङ्ग्रङ्ग भएँ । त्यहाँ सार्वजनिक स्थलमा धुम्रपान निषेध रहेछ । मैले सरी भन्दै कान समातेँ । ती प्रहरीले भने–“तपाईं पहिलो पटक भएकोले चेतावनिमा पर्नुभयो । यहाका महिलाले सार्वजानिक स्थलमा धुम्रपान निषेध गराएका छन ।” महिलाहरुको त्यो निर्णयलाई मैले सम्मान गरेँ । उतिखेरै एकजना मजदुर भाइले चेप्टेको मदिरा खुलमखुल्ल पिए । मैले तीनै प्रहरीलाई सोधेँ – “धुम्रपान निषेध क्षेत्रमा मद्यपान चाहिँ खुला रहेछ नि” उनले लाचार हुँदै भने “रक्सी रोक्ने हामिलाई अर्डर छैन बा ! “भोलिपल्ट टोलिसगै म दार्चुला पुगेँ । केही युवा विद्यार्थीहरु लिपुतिर पठाएर बाँकी साथीहरू फर्कियौँ । बेलुका डडेलधुरामा बास पर्यो । बिहान त्यहाँबाट हिडेर केही तल भीमदत्तको सालिग नजिक गाडी रोकियो । मलाई लघुशङ्काले च्यापेकोले हतारहतार शौचालय पसेँ जब म निवृत्त भएर बाहिर निस्किएँ म त महिला शौचालयमा पो पसेको रहेछु । म बाहिर निस्कँदा चार पाँच महिलाको घेरामा परिहालेँ । मैले कायलनामा भएर माफी मागेँ तर ती दिदीबहिनीहरूले मलाई पाँचसय जरिवाना माग्नु भयो । मैले खुरुक्क पाँचसय बुझाएँ र लज्जाबोध हुँदै बसभित्र कुचुक्क बसेँ ।
लघुशङ्काकै कारण बबइ बजारमा पनि जरिवानाको नगद बुझाएको छु । इच्छुक प्रतिष्ठानको एउटा विचार गोष्ठिमा हामी सुर्खेत बजारमा थियौँ । कार्यक्रम सकेर फर्कँदा दिन गैसकेको थियो । त्यसदिन आफ्नो समस्याको ख्याल नगरी बढ्तै पानी पिइएछ बाटोभरी समस्या बनाइ रह्यो ।आफ्नै टीमको गाडी भएर पनि बाटोमा नरभक्षी बाघको हल्लाले गाडी रोकिएन । बबइ बजार आइपुग्दा झिमिक्क अँध्यारो भयो । म प्रोस्टेटको समस्याको मनुवा बाटोभरी सकस कटाउदै खुम्चिएर बसभित्र बसेको थिएँ । जब गाडी रोकियो म दौडिएर पाखातिर लागेँ । आफू निवृत्त भएर फर्कदै गर्दा त म गिरफ्तारीमा पो परेँ । त्यो स्थलमा स्थानीय बजारियाहरुको समुहले खुल्ला दिशा मुक्त घोषणा गरेको रहेछ । घुर्मैलोघुर्मैलो अँध्यारोमा मलाई पाखुरामा समातेर उनीहरुको कार्यालयमा उभ्याइयो र केरकार गर्न थालियो । उता गाडी छुट्ला भन्ने डर यता जरिवानाको डर । मेरो ओठतालु सुक्यो । मैले आफू अपरिचित भएकोमा र स्थानीय नियम नबुझेकोमा गल्ती स्वीकारेँ । उनीहरुले मसित रु पाँच सय जरिवाना मागे मैले त्यति रुपियाँ नभएको भनेर रु २०० ÷ तिरेर उम्किएँ ।
कानुनी रुपमा फैसलाले जरिवाना नतिराए पनि जन अदालतले मागे बमोजिम तिरेर आफूलाई बचाउ गरेको छु । हालैको एकदिन नेपालकै जेठो अस्पतालले पनि जरिवाना तिरायो । जीवन साथीको चेकअपको लागि अस्पताल पुगेका थियौँ । क्यान्टिनमा खाना खान गयौँ । भुक्तानी गरेर आआफ्नो प्लेटमा खाना लियौँ । मेरो बिरामिले प्लेटमा राखेको खाना खान सकिनन । त्यत्तिकै टेबुलमा छोडेर हामी बाहिर आयौँ तर क्यान्टिनको बेरा आएर हामीलाइ भित्र डाके । के रहेछ भनेर हामी काउन्टरमा गयौँ त्यहाको साहुले खाना फाले बापत रु ५०० तिर्नुस भनेर कडिकडाउ गरे । एकातिर बेस्वादिलो खाना अर्कोतिर जरिवाना मुर्दामाथि कात्रो भन्दै जरिवाना बुझाएर हिडियो । ती साहुले त्यो रुपैयाँ आफ्नै गोजीमा हाले जरिवानाको लेठोले लखेटेको लखेट्यै छ ।
दण्ड जरिवाना वा सजायँ निर्धाहरुका लागि हो । मुलुकका मन्दिरहरूबाट कति मुर्ती हराए खोजी हँुदैनन कति सुन भित्रिए अपराधलाई ढाकछोप गरिएको छ । चोरहरु साधुको दर्जा पाएर उम्किएका छन भने साधुहरू चोरिको दोषमा सजायको भागिदार बनेका छन् । यस्तो परिपाटिको भुक्तभोगी अरु कोको हुनुहुन्छ हँ ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित