नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालद्वारा नेपाल संवत् ११४७ नयाँ वर्षको शुभकामना

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले नेपाल संवत् ११४७ नयाँ वर्षको शुभकामना व्यक्त गरेको छ । ०८३ कार्तिक २४ गते नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संयोजक पवन मान श्रेष्ठले  नयाँ वर्षको शुभकामना व्यक्त गर्दै एक वक्तव्य जारी गर्नु भएको छ । वक्तव्यमा भनिएको छ –

“ सर्वप्रथम नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सम्पूर्ण नेपाली जनतामा सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नेपाल संवत् ११४७ नयाँ वर्षको शुभअवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछ। नेपालको संस्कृति र जनताको ऋण मोचनसित नङ र मासु जस्तै सम्बन्ध रहेको र एक सर्वसाधारण नेपाली शंखधर साख्वाःद्वारा देशको नाममा स्थापित यो संवत् विश्वकै अद्वितीय र नेपालको मौलिक संवत् हो। नेपालमा यस संवत्लाई ब्राह्मणवादी राज्यद्वारा मान्नेलाई मुखले मात्र राष्ट्रिय संवत् भनिए तापनि यसलाई राष्ट्रिय संवत्को रूपमा लिएको अवस्था छैन र राज्यले नयाँ वर्षको रूपमा कहिल्यै मनाएको पनि छैन। तर विडम्बना नै भन्नुपर्छ चन्द्र शमशेरद्वारा नेपालमा थालनी गरिएको भारतको विक्रम संवत्लाई भारतले समेत मनाएको अवस्था छैन तर नेपालमा ब्राह्मणवादी राज्यले त्यही संवत्लाई राष्ट्रिय संवत्को रूपमा मान्दै आइरहेको छ। नेपालको ब्राह्मणवादी राज्य र ब्राह्मणवादीहरूको मनोदशा कति निम्नकोटीको जातिवादी रहेछ भन्ने कुरा यसले पुष्टि गर्दछ।

ब्राह्मणवादी बालेनको नेतृत्वको सरकारको राष्ट्रघाती चरित्र अर्थमन्त्रीको भारत भ्रमणका क्रममा भारतको दलाली गर्ने अभिव्यक्तिले यसको पुष्टि गर्दछ। सरकारको स्वेच्छाचारी कामकारबाही र जनतालाई महँगीको मारमा पारेर देशमा केही नभएको जसरी देश र जनताप्रति बेखबर भइरहने कुराले यो सरकार कसका लागि हो भन्ने प्रश्न उठिरहेको मात्र होइन, नेपालका उत्पीडित जनताको अवस्था पनि यसप्रति बेखबर भइरहेको कुराले जनताको निराशाको अभिव्यक्ति रहेको पुष्टि हुन्छ र यसले वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र सामाजिक उत्पीडन झन् बढ्ने निश्चित छ। यसको एउटा कारणको रूपमा विश्वमा भइरहेको परिवर्तन, आर्थिक अवस्था र प्रविधिको विकासको प्रभाव पनि हो।

तर यो अवस्था सधैँ यस्तै रहँदैन, जस्तो कि आजभोलि युरोपमा आन्दोलनको हरिबिजोगले उथलपुथल भइरहेको छ। त्यसैले निराश भएर होइन, आफ्नो अधिकारप्रति सचेत हुने र सचेत गराउने कामबाट पछि हट्नु हुँदैन। यही अनुरोधसहित पुनः सबैमा नयाँ वर्षको हार्दिक शुभकामना ! धन्यवाद ! ”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित