. शम्भु श्रेष्ठ
पञ्चायती निरंकुश व्यवस्थामा पत्र–पत्रिकाको दर्ता जिल्ला प्रशासन कार्यालयबाट हुने भए पनि जो कोहीलाई पत्रिका दर्ता गर्न सजिलो थिएन । पत्रिका दर्ता गर्नका लागि प्रहरी रिपोर्ट अनिवार्य भएकोले तीनपुस्ते विवरणको आधारमा प्रहरीले प्रतिवेदन तयार गथ्र्यो । खासगरी प्रहरीले उसको राजनीति पृष्ठभूमि बुझ्थ्यो ।
जिल्ला प्रशासन कार्यालयमा पत्रिका दर्ताको लागि तयार पारिएको फर्ममा सबै विवरण उल्लेख गरेर दर्ता गरेपछि जिल्ला प्रशासन कार्यालयले ‘गोप्य’ रुपमा सम्पादक, प्रकाशकको चालचलन बुझ्ने भनेर प्रहरीमा लेखेर पठाउने चलन थियो । तर, प्रहरीले चालचलन बुझ्ने नाममा आलटाल गर्ने र झुलाउने गरेकोले धेरै आवेदकहरु निराश हुन्थे । केही टाठाबाठा व्यवस्था निकट व्यक्तिले मात्रै पत्रिका दर्ता गर्न पाउँथे, त्यो पनि साहित्यिक पत्रिकाको नाममा । साप्ताहिक पत्रिका विरलै दर्ता हुन्थ्यो, त्यो विरलै दर्ता हुने पत्रिकामा हाँक साप्ताहिक पनि एउटा हो ।
हाँक साप्ताहिक र दृष्टि साप्ताहिक जिल्ला प्रशासन कार्यालय ललितपुरमा एकै दिन दर्ता भएको पत्रिका हुन् । हाँक साप्ताहिकको दर्ता ५४/०४०/४१ हो भने दृष्टि साप्ताहिकको ५५/०४०/४१ हो । पत्रिका दर्ता गर्ने क्रममा हाँकका सम्पादक शोभाकर धनन्जयसँग जिल्ला प्रशासन कार्यालय ललितपुरमा धेरैपटक देखादेख भए पनि परिचय थिएन । उनी अलि नबोल्ने स्वभावका थिए । हाँक साप्ताहिक दर्ताका लागि अर्घाखाँचीका पत्रकार पिताम्बर गौतम र खेम कोपिलासँगै शोभाकर आउने गर्थे ।
‘दृष्टि’ दर्ताका लागि मैले पनि धेरैपटक धाए, त्यो क्रममा गौतम र कोपिलाले पनि सहयोग गरे । तर, मेरो नागरिकता चितवन जिल्लाबाट लिएकोले प्रहरीले रिपोर्टका लागि चितवन पत्राचार गरेको रहेछ । म पाल्पामा जन्मिए पनि मेरो बुबा चितवन भूमि सुधार कार्यालयमा जागिरे हुँदा मैले नागरिकता लिएको थिएँ ।
त्यसैले पनि समयमा चितवनले प्रतिवेदन दिएन, उल्टै शम्भुलाल श्रेष्ठ भन्ने व्यक्ति भरतपुरको वडा नं ५ मै छैन भन्ने रिपोर्ट दिएर हैरान बनाए । पछि ललितपुर अस्थायी ठेगाना लेखेपछि ललितपुर प्रहरीले सोर्सफोर्सको आधारमा चरित्र ठिक भएको, राजनीतिमा नलागेको भनेर प्रतिवेदन दिएपछि बल्ल मेरो नाममा पत्रिका दर्ता भयो ।
तर, हाँक दर्ता गर्न त्यति सजिलो थिएन । शोभाकर धनन्जय भूमिगत राजनीतिक नेता थिए । त्यसकारणले पनि प्रहरी प्रशासन भन्नासाथ शोभाकर भागीभागी हिँड्थे । उनको परिचय के हो मलाई पनि थाहा थिएन । दिनहुँ जिल्ला प्रशासन कार्यालयमा उनीसँग भेट भए पनि उनले मलाई आफ्नो परिचय खुलाएनन् । खेम कोपिलाले हाम्रै गाउँले हो भनेर परिचय गराए । हेर्दा पातलो ख्याउटे जस्तो देखिने शोभाकर भूमिगत नेता होलान् भन्ने कुरा मैले अनुमान गर्न सक्ने कुरा भएन ।
तै पनि, पिताम्बर गौतम र खेम कोपिलाले हाम्रै डेरामा कुपन्डोलमा बस्छन् भनेर प्रहरीलाई बताएपछि उनको प्रहरी रिपोर्ट बन्यो र उनी हाँकका सम्पादक हुन योग्य भए । पत्रिका दर्ता गर्न लगभग एक महिनाभन्दा बढी धाउनुप¥यो । त्यतिबेला प्रजिअ विन्देश्वरी प्रसाद सिन्हा थिए । उनले पत्रिका दर्ताको फाइल सदर गर्नुभन्दा अगाडि मसँग धेरै प्रश्न गरे । मेरो घर पाल्पा हो भनेपछि उनी सकारात्मक त भए तर यो उमेरमा पढ्न लेख्न जागिर खान छोडेर किन पत्रिका दर्ता गर्न लागेको हो भनेर छड्के मेरो मनोविज्ञान बुझ्न खोजे । प्रजिअले मसँग प्रश्न सोधिरहँदा शोभाकर भने डराएर ढोका बाहिरै थिए । म पछि प्रजिअसँग भेट्ने उनकै पालो थियो ।
त्यसपछि प्रजिअ सिन्हाले मेरो निवेदनमा तोक लगाएपछि अर्को निवेदक शोभाकरलाई भित्र बोलाए । शोभाकरको बारेमा गौतम र कोपिला जानकार भएकाले प्रजिअलाई ढाट्दै उनीहरुले हाम्रै पत्रिकामा काम गर्ने हाम्रै गाउँका मान्छे हुन्, पत्रिका चलाउन रहर गरेकोले हजुरसमक्ष ल्याएका हौँ, दर्ता गरे फरक पर्दैन भनेर प्रजिअलाई शोभाकरसँग बोल्नै दिएनन् । शोभाकर भने केही प्रश्न गर्लान् कि भन्ने डरमा थिए ।
कात्तिकको समय चाँडो रात पर्न थालेकोले प्रजिअ पनि घर जाने हतारमा थिए र लौ म हिँडे भनेर भ¥याङबाट ओर्लिए । हामीमा पत्रिका दर्ता भएकोमा खुसीको सीमा थिएन । फेरि तल फाँटमा अड्काउलान् भनेर खेम कोपिलाले फाँटवालालाई हाँकको पहिला र दृष्टिको पछि दर्ता नम्बर दिनु भनेर फकाए फुल्लाए । कार्यालय बन्दै हुन लाग्दा हाँक ५४ र दृष्टि ५५ दर्ता नम्बरमा दर्ता भयो । प्रमाणपत्र बुझेर बाहिर सडकमा निस्कँदै गर्दा खेम कोपिलाले मलाई भने– ‘अब सिडिओको जागिर जाने भयो । यो प्रमाणपत्र होइन, पञ्चायत ढाल्ने बम हो ।’
त्यसबीच आक्कलझुक्कल पिताम्बर गौतमको प्रेस गणबहालमा शोभाकरसँग भेट हुन्थ्यो, सायद हाँकको केही अंक त्यही प्रेसबाट निस्कन्थ्यो । धेरै समयपछि पिताम्बरले शोभाकरको हत्या भएको घटना सुनाए, त्यसपछि मात्र शोभाकर र हाँकको राजनीतिक पृष्ठभूमि थाहा भयो ।
हार्दिक श्रद्धाञ्जली शोभाकर कमरेड ।
लेखक दृष्टि साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुनुहुन्छ ।

