वर्गीय धरातल र श्रमजीवी जनताको वास्तविक जीवनबाट विचलित भइसकेपछि विकासका जतिसुकै आकर्षक नारा र गफको रटान लगाए पनि अब त्यस्तो कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास पुनः स्थापित हुन कठिन छ। कुनै समय गरिब, किसान, मजदुर, उत्पीडित र सर्वहारा वर्गको मुक्तिको सपना बोकेर जनताको झुपडीबाट उदाएको राजनीतिक आन्दोलन जब विस्तारै सुविधाभोगी नेतृत्व, सत्ताको मोह, पदको भागबन्डा र व्यक्तिगत स्वार्थको दलदलमा फस्छ, तब त्यसले आफ्नो वर्गीय चरित्र मात्र गुमाउँदैन, आफ्नो राजनीतिक औचित्यसमेत गुमाउँदै जान्छ। जनताले कम्युनिस्ट पार्टीसँग विकासका चिल्ला भाषण मात्र खोजेका होइनन्, आफ्नो जीवनमा अनुभूत हुने परिवर्तन, श्रमको सम्मान, उत्पादनमा अधिकार, आर्थिक समानता, सामाजिक न्याय र शोषणविरुद्धको इमानदार संघर्ष खोजेका हुन्। तर विडम्बना, जसको मुक्तिका लागि संघर्षको इतिहास लेखियो, आज तिनै श्रमजीवी जनताको पीडा नेतृत्वका भाषणमा सीमित भएको छ। जनताको पसिना र आँसुलाई राजनीतिक भर्याङ बनाएर सत्ताको शिखरमा पुगेपछि तिनै जनतालाई बिर्सने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको वैचारिक जग कमजोर बनाएको छ।
वर्ग धरातलबाट विचलित भए पछि विस्वासको पुनः स्थापना हुन कठिन
– बिपिन क्षेत्री ,केन्द्रीय सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
वर्गीय धरातल छोडेर विकासको नाममा सडक, भवन र भौतिक संरचनाको सूची सुनाउँदैमा राजनीतिक विश्वास फर्किँदैन। किनकि विकासको वास्तविक अर्थ केही संरचना ठड्याउनु मात्र होइन, समाजमा व्याप्त वर्गीय असमानता हटाउनु, श्रम गर्नेको जीवनस्तर उठाउनु र राज्यको स्रोत तथा अवसरमा न्यायपूर्ण पहुँच स्थापित गर्नु हो। जनताले अब भाषण होइन, व्यवहार खोजिरहेका छन्; प्रतिबद्धता होइन, परिणाम खोजिरहेका छन्; क्रान्तिका पुराना कथा होइन, वर्तमानको इमानदार परिवर्तन खोजिरहेका छन्।
विचार र वर्गीय प्रतिबद्धता बिनाको कम्युनिस्ट राजनीति केवल नाम, झण्डा र चुनाव चिह्नको व्यापारमा सीमित हुन्छ। त्यसैले अब प्रश्न जनताले कम्युनिस्ट पार्टीलाई किन विश्वास गरेनन् भन्ने मात्र होइन, आफूले बोकेको विचार, वर्गीय चरित्र र ऐतिहासिक जिम्मेवारीलाई नेतृत्वले किन तिलाञ्जली दियो भन्ने हो। जनताको विश्वास भाषणले जितिँदैन, जनताको पक्षमा उभिएर, जनताकै जीवनमा परिवर्तन अनुभूत गराएर मात्र जितिन्छ। जनतालाई के दिने, जनताको जीवनमा के परिवर्तन ल्याउने, देशको राजनीतिक, आर्थिक र सामाजिक संकटबाट मुक्ति दिलाउन दुई महिने अभियानको वास्तविक उद्देश्य के हो भन्ने प्रश्नको उत्तर दिन नसक्ने नेतृत्वले फेरि अभियानको नाममा कार्यकर्ताको नवीकरण र संगठन विस्तारको नाटक मञ्चन गरिरहेको छ। जनताको दुःख, अभाव, बेरोजगारी, महँगी र निराशालाई सम्बोधन गर्ने कुनै ठोस दृष्टिकोण र कार्ययोजना देखिँदैन; बरु अभियानको अन्तर्यमा जनताको भविष्यभन्दा नेतृत्वको राजनीतिक आयु लम्ब्याउने अभिलाषा बढी मुखरित भएको देखिन्छ। प्रचण्डको नेतृत्वलाई जनताको विश्वास र विचारको बलमा होइन, पार्टीको सदस्यता नवीकरण र संगठनात्मक अंकगणितको सहारामा आर्यघाटसम्म निरन्तरता दिने मनोविज्ञान नै यस अभियानको मूल ध्येय हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
आखिर पार्टी जनताका लागि हो कि जनता नेतृत्वको कुर्सी जोगाइदिनका लागि हुन्? क्रान्ति, परिवर्तन र समाजवादका नाममा दशकौँदेखि जनतालाई सपना बाँड्ने तर हरेक राजनीतिक मोडमा नेतृत्वको निरन्तरता र सत्ताको समीकरणलाई नै प्राथमिकता दिने प्रवृत्तिले आन्दोलनको आदर्शलाई खोक्रो बनाइसकेको छ। नेतृत्व परिवर्तनको बहसलाई निषेध गर्ने, आलोचनालाई गुटबन्दी ठान्ने र कार्यकर्ताको नवीकरणलाई जनताको समर्थनको प्रमाण मान्ने राजनीतिक संस्कारले कुनै नयाँ युग निर्माण गर्न सक्दैन। दुई महिने अभियान जनताको घाउमा मलम लगाउने, उनीहरूको जीवनमा आशा र भरोसा जगाउने तथा पार्टीलाई विचार, नीति र व्यवहारमा रूपान्तरण गर्ने अभियान हुनुपर्ने हो; तर यदि यसको उद्देश्य केवल नेतृत्वको पदावधि लम्ब्याउनु,कार्यकर्तालाई पुरानै व्यक्तिपूजाको घेराभित्र राख्नु र प्रचण्डको राजनीतिक विरासतलाई सुरक्षित गर्नु मात्रै हो भने त्यो अभियान होइन, नेतृत्वको राजनीतिक आयु थप्ने औपचारिक कर्मकाण्ड मात्र हो। जनतालाई अब भाषण होइन, परिणाम चाहिएको छ; नारा होइन, परिवर्तन चाहिएको छ; नेतृत्वको अमरत्व होइन, जनताको मुक्ति चाहिएको छ। इतिहासले कुनै नेताको पद कति लामो रह्यो भनेर होइन, उसले जनताको जीवनमा कति सार्थक परिवर्तन ल्यायो भनेर मूल्याङ्कन गर्छ। आर्यघाटसम्म पदमा रहिरहनु नेतृत्वको उपलब्धि होइन, जनताको विश्वास जित्न नसक्नु राजनीतिक विफलताको सबैभन्दा कुरूप अभिव्यक्ति हाे ।
Comments

