– प्रा.डा.युवराज संग्रौला
भ्रष्ट लोकतन्त्रका नागरिक नियन्त्रण गर्ने आठ तिकडम जसले नेपालमा गरिबीलाई नियति बनायो,
जब शासन व्यवस्था नागरिकको समृद्धिमा होइन, सत्ताको सिंहासनमा लिप्त हुन्छ, देश अनेक षड्यन्त्र र अस्थिरताको चंगुलमा पर्छ। नागरिकले विद्रोह गर्छन्। आजसम्म इतिहासमा यही प्रवृत्ति देखिँदै आएको छ। तर शासनले विद्रोह रोक्न नागरिकमाथि लगाम लगाउँछ र नियन्त्रण कायम गर्छ; नागरिकको आवाज बन्द गर्छ। फ्रेन्च क्रान्ति र त्यसपछिको उपनिवेशवाद, अनि उपनिवेशवादपछिका स्वाधीन देशका शासन व्यवस्था हेर्दै आजसम्म आइपुग्दा लोकतन्त्र भनिने व्यवस्था आफैँमा एउटा निरंकुशतन्त्र बनेको छ— चाहे त्यो पश्चिममा होस् वा त्यसलाइ आदर्श मान्ने पूर्वीय कतिपय देशहरूको कथित स्वतन्त्र निर्वाचनमा आधारित राजनीतिक प्रणाली। यी लोकतन्त्रमा शासकहरू निर्वाचनलगायतका सबै गतिविधिमा आठवटा रणनीति अवलम्बन गरी नागरिकमाथि बन्दुकको प्रयोगबिना नियन्त्रण कायम गर्छन्। नेपालमा पनि त्यही हुँदै आएको छ र विगत ७५ वर्षमा नागरिकको जीवनमा हुनुपर्ने उन्नयन कुण्ठित भएको छ। आधुनिक राज्यप्रणालीको सञ्चालनका लागि विकास भएका “वाद र सिद्धान्तहरू” विद्रूप पारिएका छन्। अर्थतन्त्रमा पूर्वऔपनिवेशिक तथा प्रभुत्ववादी देशका ढाँचा प्रयोग गरी ती ढाँचाले प्रयोग गरेका शब्दजाल (जार्गन) को प्रयोगले नागरिकलाई रनभुल्ल पारिआएका छन् र राजनीतिमा लोकप्रियतावादले निर्वाचनलाई भ्रम बेच्ने पोकोको बजार बनाएको छ। यस्तो लोकतन्त्रले “नागरिक स्वतन्त्रता” का नाममा केही नवधनाढ्य, दलमा एकाधिकार प्राप्त गर्न सफल मुखिया तथा केही कुलीन वा अभिजात वर्गका मानिसको सत्ता विशेषाधिकार निर्माण गर्दछ। यस्तो सत्तामा मोहक शब्द “आर्थिक वृद्धि” को प्रयोगले सामाजिक न्यायको उन्मूलन गर्दछ। यस व्यवस्थामा “जनजीवनको वास्तविकता खोज्ने नेता होइन, अर्थशास्त्रीका नाममा नवउदारवादी वित्तविज्ञलाई अर्थमन्त्री बनाई ‘हिसाबको जादु’ निर्माण गरिन्छ।” अनि नागरिक प्रशासनका नाममा “सेतोपोष” (अभिजात नेता र रेडटेपिजमका नायक कर्मचारी) अहंकारको जालो निर्माण गरिन्छ। विगत सात दशकमा नेपालमा यही हुँदै आएको छ। र, नेपाली सेतोपोष सत्ताले नागरिकहित, सामाजिक न्याय र उच्चतम समानताविरुद्धको निरंकुश नियन्त्रण कायम गर्न आठ रणनीति वा तिकडम प्रयोग गरी लोकतन्त्र र शासनका नाममा एउटा विद्रूप सञ्जाल निर्माण गरेको छ, जसले लोककल्याण होइन, “काण्डहरू” (स्क्याम) उत्पादन गर्दछ। लोकतन्त्रका नाममा खडा गरिएका ती आठ तिकडम निम्न छन्:
१. “एउटा शत्रु देखाइदेउ र नागरिकलाई आपसमा भिडिरहन देउ”
नेपाली शासकहरूले नागरिकलाई उनीहरूका शत्रु देखाइदिन्छन्— चतुर्याइँ र कुटिल ढंगले। तब भोका मानिस शासकका विरुद्ध होइन, शासकले देखाइदिएका शत्रुविरुद्ध लड्छन्। जर्मन नाजिवादले “यहूदी तिम्रो शत्रु हो” भनेजस्तै, च्याङ काई-शेकले अफिमको लत, गरिबी र जापानी आक्रमणकारी होइन, माओको जनसेना शत्रु हो भनेजस्तै नेपालमा शासकहरूले गरिबी होइन, हाम्रो भूराजनीति हाम्रो शत्रु हो भनिदिए। जर्मन नागरिक “हिटलरको जय होस्” भन्ने थाले र यहूदी मार्न थाले। तालिबानले “आधुनिक मानिस र गैरइस्लामलाई शत्रु” भनिदिए, तब जिहाद जन्मियो। दक्षिण एसियामा पाकिस्तानले भारतलाई शत्रु देखाइदियो; भारतले पाकिस्तानलाई शत्रु देखाइदियो। आज पाकिस्तानी र भारतीय नागरिक एकअर्कालाई शत्रु ठान्छन्। अमेरिकाले कम्युनिस्टलाई शत्रु देखाइदियो। इजरायलले प्यालेस्टिनी जनतालाई शत्रु देखाइदियो, अनि प्रतिकारमा इरानले इजरायललाई शत्रु देखाइदियो। यही नक्कल नेपालमा भयो; माओवादी जनयुद्धपछि खस-आर्यलाई जनजातिको अनि जनजातिलाई खस-आर्यको शत्रु देखाइदिए। अनि पहाडे र मधेसीलाई एकअर्काका शत्रु देखाइदिए। अनि नेपाली भाषा र अन्य भाषालाई एकअर्काका शत्रु देखाइदिए। तब नागरिकमाथि शासकले बन्दुकको प्रयोग गर्नु परेन; नागरिकलाई एकअर्काका शत्रु बनाइदिए पुग्यो। तब गरिब गरिबको शत्रु भयो। एक गरिब अर्को गरिब मार्न हिचकिचाउँदैन; अपमान गर्छ, संगठित हुन्छ, विवेक त्याग्छ र कथित शत्रुसँग लड्छ। यसरी सत्तामा बस्नेको चुनौती समाप्त हुन्छ। सत्ताधारीलाई अधीन कायम गर्न बन्दुक चाहिँदैन, नागरिकलाई भ्रमित गरिदिए पुग्यो; सत्ता सुरक्षित हुन्छ। नागरिक आपसमा लड्छन् र मारामार गर्छन्। ७५ वर्ष भयो, यो रणनीति कायम छ। गरिबका घरमा खाने कुरा छैन; उत्पादन छैन, काम छैन, अस्पताल छैन। बिरामी मर्छन्, पैसा छैन। स्कुल छन्, सीप छैन। अहिले नयाँ र पुराना दल शत्रु भएका छन्। गरिब जति भात कमाउन विदेशमा जान बाध्य छन्। यहाँ कांग्रेस, एमाले, माओवादी, रास्वपा घरदेखि सत्तासम्म लडिरहेका छन्। अहिले त पुस्ताको लडाइँ पनि थपिएको छ। कहाँ छ र बन्दुकको नियन्त्रण? बस, हरेक एउटाको अर्को शत्रु छ। कानुन त्यसकै सेवाका लागि बनाइएको छ; संविधान त्यसैका लागि बनाइएको छ। उच्चतम समानता होइन, हरेक जात र वर्गका पृथक्-पृथक् अधिकार सिर्जना गरिएका छन्। मानिस मात्र होइन, राज्यका अंग र निकाय पनि एकअर्काका शत्रु छन्, लडिरहेका छन्। गरिबी कसैको शत्रु होइन; शत्रु त एउटा गरिबको अर्को गरिब हो! त्यसैले एउटा गरिब बाहुन गरिब दलितलाई अछुत ठान्छ; एउटा गरिब दलित गरिब बाहुनलाई शत्रु ठान्छ। बस, सत्तामा आउन एउटा शत्रु तयार पार र नागरिकलाई त्यो शत्रुसँग लडाऊ। यो नेपाली शासकको लोकतन्त्र हो। यही तिकडममा विदेशी संलग्न हुन्छन्। यसरी नेपाल “राजनीतिक अस्थिरताको चंगुलमा” फसेको छ। नेपालको गरिबी र विद्रूप भूराजनीति यही “नागरिकलाई शत्रु बनाएर भिडाउने” तिकडमको परिणति हो। नागरिक कथित शत्रुलाई पराजित गर्न “झन्डा बोकेर कुद्छ”। लडाइँ गरिबीविरुद्ध उत्पादनको थियो, तर लडाइँ नाकको बीचमा, थालको बीचमा, कपालको बीचमा, माटोको बीचमा भयो। आज परिवर्तन चाहने नेपालीले यो तिकडम बुझ्नुपर्छ।
२. “सबै तिमी लेऊ र थोरै फर्काइदेऊ, मानिस दंग पर्छन्”
जमिनमा मालपोत, तलबमा कर, खाने वस्तुमा कर, लुगामा कर, जुत्तामा कर, बाँच्ने औषधिमा कर, सीप सिक्न शिक्षामा कर, सवारीमा कर, पकाउने दाउरा र ग्यासमा कर, जन्मिएपछि नाम लेखाउँदा कर, मरेको जानकारी दिँदा कर, उमेर पुगेको प्रमाणपत्र लिँदा कर, विदेश जाने प्रमाणपत्रमा कर, उत्पादनमा कर, भन्सार, शुल्क— हरेक पटक सास फेर्दा कर। जमिनको, पानीको, मलको, मेसिनको कर लिएपछि उत्पादन बेच्दा किन कर लिइएको? भन्सारमाथि किन भ्याट लिइएको? नागरिक नांगो छ, तर दुई-चारवटा चारलेनका बाटो बनाइदेऊ, पुल हालिदेऊ, विश्वविद्यालयका साइनबोर्ड झुन्ड्याइदेऊ— यति दिएपछि लुटेको माफ हुन्छ। तब नागरिक शासकमाथि होइन, आफ्नो कथित शत्रुमाथि खनिन्छ। यही हो विकास: “गोजी लुट र पाँच रुपैयाँ फिर्ता देऊ।” नागरिक खुसी हुन्छ; उसमाथि बन्दुक प्रयोग गर्नुपर्दैन। यो तिकडमलाई लोकतन्त्र भनिन्छ, भलै यो निरंकुश छ।
३. “थकित पार, पेद बनाऊ”
बाँच्नका लागि रातदिन काम गराऊ, तैपनि अघाउन्जेल खान नपाओस्। भोलिपल्ट खान आज दिनभर जोतिन बाध्य पार। नेपालमा रोजगारी बन्द गर र कमाउन विदेश पठाऊ; तैपनि खान पुग्ने नदेऊ। भाउ बढाऊ, भएको पनि थाहै नपाई लुट। यति थकाऊ कि नागरिक बोल्नै सकोस्। तब विरोध आफैँ मर्छ। तब मानिसले कहाँ स्वतन्त्रता माग्ने आँट गर्छ? कहाँ उसले प्रश्न गर्ने आँट गर्छ? थकित र रित्तो नागरिकलाई नियन्त्रण गर्न कहाँ बन्दुक चाहिन्छ? सात दशकमा यही भएको छ। कम्युनिस्टका नाममा “बजार भत्काएर पार्क बनाऊ, खेती हुने जमिन मासेर प्लटिङ गर्न देऊ र आफ्नो विचार पुँजीवाद बनाऊ।” कांग्रेस भएर पश्चिमी मोडेलको अर्थतन्त्रको नक्कल गर। गाउँ होइन, आँखा विदेश तेर्स्याऊ र उताको यता लेऊ। ठूला परियोजनामा ऋण लेऊ। करबाट उठेको पैसा विदेशी ऋणको ब्याजतिर तिर। कृषि मास र नागरिकलाई विदेश पठाऊ। लोथ पार; कमाउँदै, ऋण तिर्दै मरोस्। तब विरोध पनि मर्छ। यही हो आज अनेक झन्डा बोकेर कुद्ने नेपालीको नियति।
४. “सजाय होइन, बागी वा देशद्रोही घोषणा गर्ने कानुन बनाऊ”
सजाय गर्दा मानिसले बगावत गर्छ। त्यसैले सत्ताको विरोध गर्नेलाई राष्ट्रघाती, विकासविरोधी, परिवर्तनविरोधी घोषित गर। उसको अपमान गर। उसलाई ठग बनाइदेऊ, हतकडी लगाइदेऊ र छोडिदेऊ। हरेकको मर्यादामा दाग लगाइदेऊ र छोडिदेऊ। बाँकी कुरा जत्था उन्माद र भ्रमको दूषित हावाले आफैँ गर्छ जे गर्नुपर्ने हो। सामाजिक सञ्जाललाई आफ्नो हातमा राख। आफ्ना भिजिलान्ते निर्माण गर र शत्रु देखाइदेऊ। भिडले शत्रु समाप्त पारिदिन्छ। भ्रमको खेती गर र “भ्रमलाई विवेक मार्ने हतियार बनाऊ।” तब बन्दुक कहाँ चाहिन्छ?
५. “झुठो कुरा एक दिन भन र हरेक दिन दोहोर्याऊ”
एउटा झुठो कुरा एक दिन भन— “भ्रष्टाचार भयो, यो भ्रष्टाचार हामी समाप्त गर्छौँ।” हरेक दिन भन। अल्गोरिदम प्रयोग गर। अर्थात् भन, “अब हामी घरजग्गा दिन्छौँ, हामी नेपाललाई सिंगापुर बनाउँछौँ, क्रान्तिपछि हरेकका घरमा चाहिएको आउँछ। अब जान्नेले देश चलाउँछन्। देशमा गतिलो मानिस चाहिएको छ। युवा सत्तामा आएपछि सबै बन्छ।” यस्तै-यस्तै झुठ सयपटक दोहोर्याऊ, त्यो नै सत्य बन्छ। मानिसले कान छाम्दैन, कागका पछिपछि दगुर्छ। देशमा यही भइरहेको छ, होइन र? कसैले देशको उत्पादन, सभ्यता र गुणस्तरीय शिक्षाको कुरा गर्यो र आजसम्म? भ्रमलाई सत्य बनाऊ र झुठलाई सत्य बनाऊ।
६. “तिमी स्वतन्त्र छौ, तिमी नै मालिक हौ भन्ने झुठो विश्वास देऊ”
मानिस स्वतन्त्र छ कि छैन, उसलाई थाहा हुन्न; बस, ऊ विश्वास गर्छ कि ऊ स्वतन्त्र छ। संविधानमा नेपाली नागरिक सार्वभौम हो भनिएको छ। सरकारको निर्वाचन गर्ने अधिकार नागरिकलाई छ भनिएको छ। सामाजिक न्यायको ठूलो प्रतिबद्धता छ। राज्य नागरिकप्रति उत्तरदायी छ भनिएको छ। अदालतले न्याय दिन्छ भनिएको छ। उपचारको बिमा छ। माध्यमिक तहसम्म निःशुल्क शिक्षा हुने भनिएको छ। हरेक नागरिक समान छन् भनिएको छ। यिनै आदर्शलाई लोकतन्त्र हो भनिएको छ। स्वतन्त्र मताधिकार छ भनी लेखिएको छ। जनताको चाहना भनिएको छ, तर निर्णय को गर्छ? चुनावमा मतदाता “बाटो र बिजुली” दिन्छु भन्नेलाई भोट दिन्छ। मताधिकार होइन, “स्वार्थ” को मोलमोलाइ हुन्छ। पैसाको खेती हुन्छ। मासुभात हुन्छ। गुन्डाको प्रयोग हुन्छ। अल्गोरिदमले झुठो सूचना दिन्छ। साधुलाई चोर र चोरलाई साधु बनाउँछ। प्याज र आलुलाई पानी चाहिन्छ भन्ने थाहा नभएको, विदेशी विश्वविद्यालय पढेका नाममा मन्त्री हुन्छ। योग्यता होइन, जात र धनका आधारमा मन्त्री हुन्छ। सालिमार रोपेर फर्निचर बनाउने र विदेशमा बसेर देशका समस्याको पहिचान गर्ने सांसद हुन्छ। यो स्वतन्त्रताको कमाल हो। यो सञ्जीवनी खुवाइदेऊ, मानिस सत्य खोज्दैन; आफैँ स्वतन्त्रताको साङ्लोमा बाँधिन्छ र खुसीसाथ बाँधिन्छ। उसलाई नियन्त्रण गर्न बन्दुक चाहिँदैन।
७. “तिम्रो शत्रु उसका पनि शत्रु हुन् भन्ने विश्वास पार”
रविका शत्रु मेरा शत्रु हुन्, बालेनका शत्रु मेरा शत्रु हुन्, केपीका शत्रु मेरा शत्रु हुन्, प्रचण्डका शत्रु मेरा शत्रु हुन्! यो विश्वास नै आजको नेपालको राजनीति होइन र? तब त बालेनलाई “यो होइन, त्यो गर” भन्नेबित्तिकै रास्वपाका मान्छे “—–का छोरा, झोले” भनेर बम्किन्छन्। केपीको आलोचना वा समालोचना गर्नेलाई उनका समर्थक “खराने ग्याङ” भनेर बम्किन्छन्। प्रचण्डको जनयुद्धको बारेमा केही विचार व्यक्त गर्नेबित्तिकै विदेशी दलाल हुन्छ। यस्तै-यस्तै। जब कोही “तिम्रो शत्रु मेरो शत्रु हो” भनी ठान्ने मूर्खको खेतीको उत्पादन हुन्छ, त्यो मूर्खको दिमागबाट “औचित्यता, विवेक र तर्क” को भाँडो खाली हुन्छ। उसलाई विचार होइन, मानिस चाहिन्छ र त्यो मानिसलाई देवता बनाएर यो मूर्ख आफूलाई चेतनाहीन दासमा परिणत गर्छ र आम मानिसलाई कागका पछाडि कुद्ने भिडमा परिवर्तन गर्छ।
८. “अरूबाट पृथक् गर, आत्मवादी बनाऊ र गुमनाम हुनु राम्रो हुनु हो भन्ने दर्शनको चुपचाप प्रचार गर”
धूर्त राजनीतिले मानिसलाई “भोगवादी, व्यक्तिवादी, आत्मदम्भी र गैरसमुदायवादी” बनाउँछ। नेपालको वर्तमान संस्कृति यही हो। संवेदना मरेको छ। मौका पाउनेबित्तिकै हरेकले हरेकलाई प्रहार गर्छ। यो अवस्थाको सिर्जना नै “भ्रष्ट लोकतन्त्रको लक्ष्य हो।” बाँदरले जसरी नाप्दै, खाँदै बिरालाको रोटी सिध्याइदिन्छ, यो लोकतन्त्रमा नियन्त्रणका लागि बन्दुक चाहिँदैन। बस, “मेरो भोग समाप्त होला” भन्ने गुप्त डर सिर्जना गर, ताकि मानिस सधैँ मनोवैज्ञानिक डरको सिकार होस्। आजको नेपाल यही नेपाल हो।
भत्किएको परम्परागत उदारवादको मूल चरित्र यिनै तिकडम हुन्, जहाँ मानिस आँप खान सल्लोको खेती गर्छ। यस्ता नागरिकप्रति शासक खुसी हुन्छ। यस्तो उदारवादमा “चेतना र विवेक मरेको हुन्छ र कर्मकाण्ड” मा शासन चल्छ। शासकले माथिका आठ सिद्धान्त वा रणनीति प्रयोग गर्छ र मानिसलाई नियन्त्रणमा राख्छ। यस्तो लोकतन्त्र “भित्रबाट एउटा निरंकुशतन्त्रका रूपमा चल्छ।” विगत सात दशकको नेपालको यथार्थता हो यो। यहाँ हरेक नागरिकलाई एकअर्काको शत्रु बनाइएको छ। गरिबी होइन, चीन, भारत र अमेरिका शत्रु हुन् भनी सिकाइएको छ; अतः नागरिक भ्रष्ट शासनका विरुद्धमा होइन, यी देशलाई सरापेर बस्छ। शासक यी सबैबाट लिन्छ र मोज गर्छ। कम्युनिस्ट अमेरिका जान र रास्वपा चीन जान लालायित हुन्छन्; भित्रभित्रै साँठगाँठ गर्छन्। नागरिक मूर्ख हुन्छन्; उनीहरू आफ्ना मालिकका शत्रुलाई आफ्ना शत्रु मानेर लड्छन्। अनि आज रास्वपा सत्ता खुस्किएका दलका मानिसलाई “झोले” र “—–का बहान” भन्छन्, सत्ता खुस्किएका दलका मानिस रास्वपाका समर्थकलाई “खराने” भन्छन्। उनीहरू एकअर्कालाई अवसर पाए मार्छन्। उनीहरूले नेपाल उनीहरूको साझा देश छ भन्ने बिर्सेका छन्; उनीहरू एकअर्काका शत्रु बनेका छन्। तर उनीहरू यो “दलदल हो र सत्ताले आफ्नो सुरक्षाका लागि उनीहरूलाई परतन्त्र र दास बनाउन निर्माण गरेको चंगुल हो” भन्ने बुझ्दैनन्। देशमा विदेशी सहायताको दुर्व्यसनको रोग लागेको छ भन्ने कुरा सोच्न नदिने चंगुल बनाइएको छ। सामाजिक न्यायका विरुद्ध “आर्थिक वृद्धि” को कुरा गरी नागरिकको उत्पादकत्व र उत्पादनलाई बेवास्ता गर्ने पश्चिमी “ढाँचा” रोपिएको देख्दैनन्। गाउँ नदेखेका, विकासका नाममा मानिसको जीवनको उन्नयन होइन, वृद्धिका नाममा असमानताको खाडल निर्माण गर्ने मान्छे अर्थमन्त्री बन्छन्। उनीहरूका आँखाले गाउँका यथार्थता देख्दैनन्, विश्व बैंकका तथ्यांक मात्र देख्छन्। स्व. प्रदीप गिरीले संसद्मा भनेका थिए, “आलु र प्याजलाई पानी चाहिन्छ भन्ने अर्थमन्त्री सामाजिक न्याय होइन, नेपालमा असमानता निर्माण गर्ने आर्थिक वृद्धिको सिद्धान्त रोप्दै छन्।” आफूलाई समाजवादी भन्ने कांग्रेस, वैज्ञानिक समाजवादी भन्ने कम्युनिस्टहरू र आफूलाई सामाजिक लोकतन्त्रवादी भन्ने रास्वपाको विचार भने “सामाजिक न्यायको विरुद्धमा क्रियाशील नवउदारवादी पुँजीवादी ढाँचा हो, जसले आर्थिक वृद्धिका नाममा सीमित व्यक्तिलाई मात्र धनी पार्छ।” यो समग्र प्रणाली नागरिकलाई नियन्त्रण गर्ने चंगुल हो; अतः यसको विरुद्धको विचार मात्र विकल्प हो। त्यो विकल्प “सामाजिक न्यायको पक्षपोषणका लागि आर्थिक वृद्धि” हो र यसको प्राप्तिका लागि उत्पादन, उत्पादकत्व र शिक्षामा राज्यको लगानी हो। राज्यले उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणद्वारा नागरिकलाई धनी बनाई राज्य धनी हुने ढाँचा मात्र लोकतन्त्र हो। अतः कृषि उत्पादनका लागि किसानमा लगानी राज्यको पहिलो प्राथमिकता हो। कृषिलाई औद्योगिकीकरण गरी आयात रोक्नु र श्रम होइन,
श्रमिकको उत्पादन निर्यात गर्ने अर्थतन्त्रको निर्माणका लागि:
(१) राज्यले अहिले निष्क्रिय रहेको बैंकमा मौज्दात पैसा उत्प्रेरणा ऋणद्वारा निजी उद्यमीलाई सक्रिय बनाउनु पर्छ र यस्तो ऋणको ब्याज २/३ प्रतिशत मात्र हुनुपर्छ।
(२) उच्च मूल्यका निर्यातयोग्य उत्पादनमा जोड दिई कच्चा पदार्थ निर्यातलाई रोक्नुपर्छ।
(३) उत्पादित वस्तुलाई राज्यले खरिद गरी सार्वजनिक व्यापार संस्था वा सक्षम व्यापारीद्वारा “मेड इन नेपाल” ब्रान्ड गरी निर्यात गर्नुपर्छ।
उत्पादनमा सहुलियत प्रदान गरी निर्यातको आर्जनबाट मुनाफा कमाउने ढाँचाको नेतृत्व गर्ने नेतृत्व मात्र वैकल्पिक नेतृत्व हो। नेपालको अर्थतन्त्रमा “मखवा” आर्थिक वृद्धिको सिद्धान्त होइन, केनेसियन “सामाजिक न्याय” को सिद्धान्तले मात्र नागरिकलाई भ्रष्ट, दुष्ट शासनको नियन्त्रणबाट मुक्त गर्छ र “नागरिकतन्त्र” को निर्माणद्वारा शासकको होइन, नागरिकको सर्वोच्चता निर्माण गर्न सकिन्छ।
Comments

