पार्टी र सामाजिक काममा लाग्दा धेरै कुरा थाहा पाइने रहेछ

– मीरा थापा, अध्यक्ष, लेकवेसी टोल विकास संस्था, म्याग्दे गा.पा.,वडा नं ५, टोल न.४ तनहुँ

० लेकबेसी टोल विकास संस्थाको अध्यक्ष बन्नु भएको कति समय भयो ?

– दश महिना भयो । पोहोर साल असारमा नियुक्त भएको हो ।

० यस टोल विकास संस्था अन्तर्गत कति घर धुरी हुनुहुन्छ ?

–  यस टोल विकास संस्था अन्तर्गत २२२ घर धुरी छन् ।

० यो कहिले स्थापना भएको हो ?

२०७४ सालमा स्थापना भएको हो ।

० निकै धेरै घर धुरी भए नि, हैन र ?

– टोल भित्र घर धुरी धेरै भए पछि संस्था विभाजित पनि गरिन्छ । तर यहाँ बिभाजन गरिएको छैन ।

० टोल विकास संस्थाको अध्यक्ष भए पछि कस्तो अनुभव भएको छ ?

–  राम्रै लागेको छ । नयाँ कुरा सिक्न पाइएको छ ।

० टोल विकास संस्थाको अध्यक्ष भए पछि के के गर्नु पर्ने रहेछ ?

–  वडा अध्यक्ष र सदस्यहरु सित बसेर टोल विकास संस्थाका बारेमा छलफल गर्नु पर्दछ । मेरो नेतृत्वमा संस्था गठन भएको छ । महिनामा दुई चोटी पहिलो शनिबार र तेस्रो शनिबार टोलको सरसफाई कार्यक्रम राख्ने गरेका छौँ । महिनाको पहिलो शनिबार हरेक महिनामा बैठक बस्ने गर्छौं । संस्थाको नाममा बैंक खाता खोलेका छौँ । हरेक परिवारबाट रु. दुई सयका दरले हरेक वर्ष पैसा उठाएर कोषमा राखिन्छ । सामाजिक काममा खाँचो पर्दा सानातिना पैसाको आवश्यकता कोषबाट खर्च गरिन्छ ।

टोलमा सरसफाइमा नआउने परिवारलाई पचास रुपैयाँ जरीमाना लिइन्छ । टोलमा झैझगडा परे टोलमै मिलाइन्छ । टोलमा मिल्न नसके पछि मात्र वडामा लगिन्छ । टोलको खाने पानी, वन, सडक, शिक्षा लगायतका विषयमा विकासका काम गर्दा टोलविकास समितिमा छलफल गरेर उपभोक्ता समिति बनाइन्छ । टोल विकास संस्थामा छलफल गरेर विकासको योजनाको माग वडामा पु¥याइन्छ ।

० टोलमा अरु के काम गर्नु भएको छ ?

– हाम्रो टोलमा आमा समूह पनि छ । यसको नाम छाङ्पाटन भोमरे टार एकता आमा समूह हो । यो आमा समूहको पनि म अध्यक्ष हुँ । सेती नदीको किनार भोमरेटारमा हाम्रो आमा समूहले बाल बगैचा बनाउने विचार गरेकोछ । म यहाँ मगर समाजको उपाध्यक्ष हुँ । मगर समाजले घडेरी किनेर आफ्नै भवन बनाएको छ । हलको व्यवस्था छ । समाजलाई चाहिने भाँडा,कपडा यही राखिएकोछ । यहाँ टोलमा चेतनामूलक कार्यक्रम पनि चलाउने गर्दछौं ।

० तपाईं नेकपा (मशाल) मा पनि आबद्ध हुनुहुन्छ । सामाजिक काम, पार्टीको काम र घरको काममा समय कसरी मिलाउनु हुन्छ ?

–घरको कामबाट समय निकालेर हिड्नु पर्दछ । घरको जिम्मेवारी पूरा गरेर हिड्दा सबै ठाउँको काममा पुग्न गाह्रो भयो भने  कामको प्राथमिकता हेरेर जानु पर्दछ । कार्यक्रम नजुधाउने कोशिश गरिन्छ । सामाजिक काम, पार्टीको काममा लाग्दा धेरै मान्छेको कुरा सुन्न बुझ्न पाइने रहेछ ।

० अन्त्यमा हाँक मार्फत केही भन्नु छ ?

– हाँकको प्रगति र निरन्तरताको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित