जात व्यवस्था, सतिप्रथा र माता नङ्गेली

शशिधर भण्डारी •• दक्षिण एशियाको हिन्दु समाजमा कायम रहँदै आएको जात व्यवस्थाका विषयमा इतिहासको लामो कालखण्डदेखि छलफल र विमर्शहरू हुँदै आएका छन् । ती विमर्श र छलफलहरू पौराणिकरुपमा, ऐतिहासिकरुपमा तथा धार्मिक र सांस्कृतिकरुपमा बढ्ता केन्द्रित भएको पाइन्छ । आज दक्षिण एशियाको वैदिक समाजमा जात व्यवस्था हिन्दु धर्मकै लागि डरलाग्दो चुनौती बनिरहेको छ । भारतको इतिहास हेर्दा भारतीय समाजमा विशेषरुपले जात व्यवस्थाको अमानवीयताका कारण नै हिन्दु समाजभित्रै इसाई र मुस्लिम धर्मको विस्तार भएको पाइन्छ । दक्षिण एशियाको वैदिक कर्मकाण्डी समाजको अर्को डरलाग्दो कलङ्क सतिप्रथा थियो ।

मध्यकालमा भारत वर्षमा सामन्ती शासकहरूले सतिप्रथालाई अनिवार्य बनाएका थिए । सत्रौँ शताब्दीको शुरुमा भारतमा अङ्ग्रेजहरू आउँदासम्म सति प्रथा अनिवार्य जस्तै थियो । पुरुषको मृत्युमा महिलालाई जबर्जस्ती सति पठाइन्थ्यो । सति जान नमान्ने महिलाहरूलाई मलामीहरूले जबर्जस्त समातेर बलेको चितामा चढाउँथे । कतिपय महिलाहरू सति जान इन्कार गरेर भाग्थे । साडी लगाएका महिलाहरू दगुर्न सक्दैनथे र पुरुषहरूले पक्रेर लतार्दै लगेर चितामा जलाउँथे । भारतमा श्रीमान मरेका कतिपय महिलाहरू सति जानबाट बच्न अङ्ग्रेजहरूको कोठीको पर्खालभित्र पसेर ज्यान जोगाउँथे । ब्रिटिशकालीन भारतमा ज्यान जोगाउन पर्खालभित्र छिरेका कैयन महिलाहरूले इसाई धर्मको अनुशरण गरेको कुरा इतिहासकारहरूले लेखेका छन् ।

आजभन्दा एक हजार वर्ष अगाडिबाट नेपाल र भारतको हिमाञ्चल तथा उत्तराञ्चलमा बसोवास गर्ने खस आर्य समुदाय र पछि काठमाडौँको नेवार समुदायमा पनि वैदिक आर्यहरूले हिन्दु धर्म, जात व्यवस्था र सतिप्रथा जस्ता कुराहरूलाई प्रवेश गराएको देखिन्छ । नेपाली खस आर्य समुदायमा मल्लकालीन अवस्थामा जात व्यवस्था र सतिप्रथालाई कडिकडाउ गराइसकिएको थियो । मल्लकालमा नै काठमाडौँ उपत्यकामा खस भाषा र खस आर्य जातिको प्रवेश भइसकेको थियो भन्ने कुरालाई रानी पोखरीलगायतका शीलालेखहरू खस भाषामा लेखिएको कुराबाट प्रष्ट हुन्छ । उदाहरणका लागि रानीपोखरी बनाउन लगाउने काठमाडौँका राजा प्रताप मल्लका ३३ वटी महारानीहरू सति गएका थिए ।

ऐतिहासिक अध्ययनका आधारमा मूल्याङ्कन गर्दा जात व्यवस्था र सतिप्रथा दक्षिण एशियाली समाजका डरलाग्दा कलङ्क नै भएको देखिन्छ । आजभन्दा २५ सय वर्ष अगाडि नै गौतम बुद्धले अन्धविश्वासको जगमा उभिएको वैदिक कर्मकाण्ड र जात व्यवस्थाका विरुद्धमा नयाँ दर्शन नै दिएका थिए तर भारतका सामन्तवादी पुरातनवादी धार्मिक पण्डाहरूले बौद्ध दर्शनमाथि दमन गरेका थिए । त्यसैले बौद्ध धर्म दक्षिण एशियामा विस्तार हुन सकेन । यी पण्डाहरूले प्राचीन भारतको इतिहासमा अत्यन्त प्रभावशाली दर्शनका रुपमा आएको चार्वाक दर्शनलाई पनि जलाएर दमन गरेका थिए । चार्वाक एउटा भौतिकवादी दर्शन थियो । सो दर्शनलाई आम जनताले मन पराएकै कारण लोकायत दर्शन पनि भन्ने गरिन्थ्यो ।

आज पनि चार्वाक दर्शनलाई लोकायत दर्शन भन्ने प्रचलन छ । किनभने यो दर्शनले इहलोक र परलोकका कथाहरू जोडेर समाजलाई अनावश्यक कुरामा भ्रमित गराउँदैन । यही दुनियाँमा लोकको हित कसरी हुन्छ भन्ने विषयमा चिन्तन गर्दछ । आज कतिपय विचारकहरूले त्यतिबेलादेखि नै लोकायत दर्शनको मार्गबाट समाजलाई अगाडि बढ्न दिएको भए आजको संसार कति सुन्दर र विकसित हुन्थ्यो होला भनेर पनि लेखेका छन् । लोकायत दर्शनका महत्त्वपूर्ण र अकाट्य दार्शनिक तर्कहरू थिए । ती धेरैलाई ईश्वरवादीहरूले ध्वस्त पारे, जलाए र खरानी पारे भन्ने भनाइ छ । लोकायत दर्शनका विषयमा भारतका प्रसिद्ध दर्शनशास्त्री देवीप्रसाद चटोपाध्यायले अत्यन्त मिहिनढङ्गले अनुसन्धान गरेर धेरै कुरा प्रकाश पार्ने काम गरेका छन् । दक्षिण एशियाको वैदिक समाज परलोक र भाग्यवादका वरिपरि घुमेको देखिन्छ ।

दास र सामन्तवादी युगमा शासकहरूले वैदिक दर्शनलाई धर्म बनाएर शोषण गर्ने औजारका रुपमा प्रयोग गरे । यसरी वैदिक पण्डाहरूले जात व्यवस्था, छुवाछुत प्रथा, जातिप्रथा, सतिप्रथाका नियमहरू निर्माण गरे । त्यसपछि नारी र शूद्रहरूले पढ्न लेख्नसम्म पाइँदैन भन्ने डरलाग्दो विभेदको पर्खाल खडा गर्ने काम गरे । कर्मकाण्डहरूमा दान दक्षिणारुपी शोषणका उपमाहरू थप्दै गएर वैदिक दर्शन र सभ्यतामा रहेका वैज्ञानिक सत्य र विचारहरूलाई समेत भुत्ते पार्दै अगाडि बढाए । त्यसरी भारतीय उपमहाद्वीपमा डरलाग्दो कलङ्कले भरिएको समाज व्यवस्था कायम हुन गयो । जसलाई राजनीतिज्ञहरूले मल हालेर आˆनो सत्ता राजनीतिको रोटी सेक्ने काम गर्दै आए । दास युग र सामन्तवादी युगमा धर्म र दर्शनलाई समेत त्यो युगका शासकहरूले शोषणप्रधान सत्ता टिकाउने र हत्याउने अस्त्रका रुपमा प्रयोग गरे । आजको पूँजीवादी युगमा धर्म र संस्कृतिलाई व्यापार बनाइएको छ । राजनीतिक दलहरूले धर्म, जाति, क्षेत्र, लिङ्गलगायतका विभेदहरूलाई एक वा अर्को बहानामा कायम राखेर भोटबैङ्कका रुपमा उपयोग गर्दै आएका छन् ।

दक्षिण एशियामा जात व्यवस्था, सतिप्रथा अन्धविश्वासमा आधारित ब्राहृमणवादी कर्मकाण्डका विरुद्धमा सुधारका निमित्त केही महापुरुषहरूको नेतृत्वमा आदर्शवादी चिन्तप्रणालीमै धेरै प्रयत्नहरू भएका थिए । त्यसमा भारतको आर्य समाज र नेपालको जोसमति सन्त परम्परा आदिलाई लिन सकिन्छ । आत्मिक विद्रोहका रुपमा नेपालमा योगमायाको नेतृत्वमा भएको विद्रोह र भारतमा माता नङ्गेलीले गरेको विद्रोह विशेष उल्लेखनीय छन् तर दक्षिण एशियाको भूगोलमा युरोपमा जस्तो पुनर्जागरणको कडा आन्दोलन हुन सकेन । त्यसैले हाम्रो समाजको मानसिक चेतनास्तर आज पनि पिछडिएको अवस्थामा रहेको छ । भारतमा भएको कुसंस्कारविरुद्धको माता नङ्गेलीको आत्मिक विद्रोह अत्यन्त कारुणिक र मार्मिक छ । त्यसको नेपालमा अत्यन्त कम चर्चा हुने गर्दछ ।

माता नङ्गेलीको आत्मदाह र उनका पतिको सतित्त्व इतिहासको एउटा करुण व्यथा हो । उन्नाइसौँ सताब्दीको उत्तराद्र्धसम्म भारतमा दलित महिलामाथि अत्यन्त ठूलो अत्याचार थियो । दलित महिलाहरूले स्थानीय सरकारी प्रशासनलाई स्तन कर बुझाउनु पर्दथ्यो । दलित महिलाहरूले स्तन कर बुझाउन सकेनन् भने शासक, प्रशासक, कथित उच्च जातिका पुरुषहरू तथा अन्य बज्रस्वाँठहरूलाई ती महिलाको स्तन स्पर्श गर्ने अधिकार हुन्थ्यो । जुन पुरुषले ती महिलाहरूको स्तनकर बुझाइदिन्थ्यो सो पुरुष ती महिलाको स्तनको अधिपति हुन्थ्यो । भारतको केरला राज्यमा सन् १८८३ तिर एउटा अत्यन्त करुणादायी र दु:खद घटना भएको थियो । दलित महिलालाई कर नतिरेको खण्डमा आˆनो स्तन ढाक्ने अधिकारसम्म थिएन । गाउँ शहरमा हिड्दा स्तन खुला छाडेर हिड्नु पर्दथ्यो ।

केरलामा एउटी नङ्गेली नाम गरेकी अत्यन्त सुन्दरी दलित महिला थिइन् । उनले स्थानीय प्रशासनलाई स्तनकर बुझाउन सकेकी थिइनन् तर उनी बाहिर हिड्दा स्तन ढाकेर हिड्ने गर्दथिइन् । उनले दुवै स्तन ढाकेर हिडिरहेको तर स्तनकर नबुझाएको भनेर गाउँका बदमासहरूले राजाको कर अधिकारी समक्ष उजुरी दिए । एकजना राजाको करअधिकारी माता नङ्गेलीको आँगनमा स्तनकर उठाउन आयो ।

त्यतिबेला केरलामा प्लानेटको विरुवाको पातमा पैसा राखेर राजाको कर अधिकारीलाई स्तनकर बुझाउने प्रचलन थियो । नङ्गेलीको घरमा स्तनकर बुझाउने पैसा थिएन । नङ्गेली घरभित्र पसिन् र धारिलो छुराले आˆना दुवै स्तर काटिन र प्लानेटको विरुवाको पातमा राखेर राजाको करअधिकारीलाई टकारिन । करअधिकारी त्यहाँबाट भाग्यो । नङ्गेलीका काटिएका दुवै स्तनबाट अत्यन्त धेरै रक्तस्राव भयो । रगतको भलमा नङ्गेली मुर्छा परेर ढलिन् । केही समयमा नै उनको मृत्यु भयो । उनका श्रीमान काममा गएका थिए । घरमा थिएनन् । माता नङ्गेलीका श्रीमानको नाम चिरुकन्दन थियो । चिरुकन्दन घरमा आइपुग्ने बेलामा नङ्गेलीलाई स्थानीयहरूले चितामा चढाइसकेका थिए । आफ्नी श्रीमतीको त्यो अत्यन्त विभत्स मृत्युवरण र विद्रोहले छटपटाहट बनायो । त्यसपछि आगो दन्केको चितामा चिरुकन्दनले हाम फालेर श्रीमतीसँगै आत्मदाह गरे । चिरुकन्दन भारतीय इतिहासका पुरुष सति हुन् । यो नृशंस घटनापश्चात केरलाका तत्कालीन राजाले स्तनकर उठाउने प्रचलन अन्त्य भएको घोषणा गरे । त्यतिबेला केरलामा स्तनकरलाई मुलक्करम भनिन्थ्यो । माता नङ्गेलीले गरेको आत्मविद्रोहको परिणाम सन् १८८३ पछि केरलाका दलित महिलाहरूलाई मुल्ककरम बुझाउन परेन । स्वतन्त्ररुपमा स्तन ढाकेर हिड्न पाउने अधिकार प्राप्त भयो । त्यस कालमा भारतमा दलित महिलाहरूको हातको पानी चल्दैनथ्यो तर तिनीहरूको स्तनस्पर्श र अवैध सम्भोगलाई स्वाभाविक मान्ने प्रचलन थियो ।

भारतको जात व्यवस्था सम्बन्धी इतिहासमा माता नङ्गेली प्रकरण एउटा प्रतिनिधि र उदाहरणमूलक घटना मात्र हो । भारतको इतिहासमा यस्ता लुकेका घटनाहरू अनगिन्ती छन् । जसको अध्ययन, अनुसन्धान र अभिलेखीकरण गर्न बाँकी छ । मूलरुपमा आजसम्मको मानव जातिको इतिहास शासक र विजेताहरूको मात्र लेखिएको छ । समाजको पिछडिएको उत्पीडित जाति, वर्ग, लिङ्ग र क्षेत्रका वीर विराङ्गनाहरूका इतिहास ओझेलमा परेको देखिन्छ । शासक र विजेताहरूको मात्र होइन जनताको इतिहास लेखनमा शुरुमा माक्र्सवादीहरू र पछिल्लो घडीमा सवाल्र्टनवादीहरूले प्रयत्न गर्दै आइरहेका छन् । भारतमा अहिले इतिहास पुनर्लेखनको एक प्रकारको अभियान नै चलेको अनुभूति हुन्छ । किनभने इतिहास लेखनका नयाँ–नयाँ धाराहरू अगाडि आइरहेका छन् ।

भाजपा नेतृत्वको मोदी सरकारले इतिहासको पाठ्यक्रमबाट मुगलकालीन इतिहास हटाएकोमा भारतमा त्यसको कडा विरोध भइरहेको छ । त्यति मात्र होइन कट्टर हिन्दुवादी मोदी सरकारले विज्ञानको विषयभित्र चाल्र्स डार्विनको विकासवादी सिद्धान्तलाई नसमेटेकोमा पनि सिक्षाविद्हरूले कडा आलोचना गरिरहेका छन् । यसबाट भारतमा समाजका तल्लो तहका जनता र समाजको रुपान्तरणमा तिनीहरूको योगदानको इतिहास अध्ययन, अनुसन्धान र लेखन कार्यलाई मौजुदा अवस्थामा अगाडि बढाउन सहज छैन । नेपाल सरकारलाई त आˆनो इतिहासको अध्ययन, त्यस सम्बन्धी पाठ्यक्रम, इतिहास र संस्कृति पढेकाहरूलाई रोजगारीका सम्बन्धमा कुनै ध्यान नै छैन । दक्षिण एशियाको सामाजिक इतिहासको खोज, अनुसन्धान र अध्ययन गर्ने हो भने नङ्गेली जस्ता विराङ्गनाहरू हजारौँ छन् । ती आज पनि इतिहासको गर्भमा लुकेका छन् । भारतको कम्युनिष्ट आन्दोलनको इतिहासले एक सताब्दी पूरा गरेको छ ।

भारतमा आजसम्म सफल कम्युनिष्ट क्रान्ति हुनसकेको छैन । तर भारत त्यस्तो भूमि हो जहाँ कम्युनिष्ट क्रान्तिको सपनामा हजारौँले बलिदान दिएका छन् । क्रान्ति सफल भएन तर भारतमा उर्लेको तेलङ्गना किसान विद्रोह र नक्सलवादी विद्रोहले भारतीय समाजको मनोविज्ञानलाई जबर्जस्त हल्लाएको थियो । ती कम्युनिष्ट विद्रोहमा कैयांै कम्युनिष्ट विराङ्गना महिलाहरूले सहादत प्राप्त गरेका थिए । क्रान्तिकारीहरूलाई सेल्टर दिने, खाना खुवाउने र संरक्षण गर्ने गरेका थिए । क्रान्तिकारीहरूलाई पछाडि राखेर अगाडि उभिने र गोप्य कुरा खुल्छ भनेर आत्मदाह गर्न तत्पर हुने कैयौ नङ्गेलीहरू थिए भन्ने कुराहरू पनि माक्र्सवादीहरूले बताउँछन् । दक्षिण एशियाको विभेद र जात व्यवस्थाभित्रको नङ्गेली र योगमायाहरूको करुणगाथामय इतिहासको खोज तथा पुनस्र्थापना आजको समयको माग हो । इतिहासको यो गाथामा नटेकिकन विभेदका विरुद्धमा समाजमा क्रान्तिकारी पुनर्जागरण ल्याउन सकिदैन र पूँजीवाद रहेसम्म जात व्यवस्था विभेदको पर्खाल ढल्न सक्दैन । सैद्धान्तिकरुपमा हेक्का राख्नैपर्ने विषय यो हो ।

चुनावी नारा र भोट बैङ्कको लागि भए पनि पूँजीवादी नेताहरूले जात व्यवस्था र गरिवी समाप्त पार्न चाहँदैनन् । पूँजीवाद खेल्ने यस्तै कुरामा हो । पूँजीवादले धर्मलाई व्यापार बनाएको दृष्य हामी सबैका अगाडि छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित