कृष्णप्रसाद भुसाल •• गत माघको तेस्रो साता कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वाड नं. ४ मा रहेको माघी होमस्टेमा सम्पन्न दशौ लाटोकोसेरो तथा हुचिल उत्सवमा सहभागी हुन देशभरका संरक्षणकर्मीहरू घोडाघोडीमा भेला भएका थिए । वरिष्ठ वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पा र म पनि उत्सवको अघिल्लो दिन माघी होमस्टेमा पुग्यौँ । नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी रामसार तथा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रको आँडैमा रहेको माघी होमस्टेमा आयोजना गरिएको लाटोकोसेरो तथा हुचिल उत्सवको मुख्य उद्देश्य लाटोकोसेरो तथा हुचिल र तिनको बासस्थान संरक्षण तथा चोरी सिकार रोक्नका लागि स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई सु–सुचित र संरक्षणमा जागरुक बनाउनु थियो । स्थानीय रहनसहन, कला, संस्कृति, खेलकुद र प्राकृतिक छटाको माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्ने चासोका साथ आयोजना गरिने यस उत्सवका अघिल्ला संस्करणहरू धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याडजा जिल्लामा सम्पन्न भैसकेका थिए ।
अध्ययन, अनुसन्धान र संरक्षणका हिसाबले ओेझेलमा परेका लाटोकोसेरोलाई संरक्षणमा मुलप्रवाहीकरण गर्न आयोजना गरीने यस खालका उत्सव अमेरिका, इटाली र भारतमा पनि मनाउने गरीन्छ । नेपालमा वन्यजन्तु र खास प्रजातीलाई लिएर आमरुपमा निरन्तर मनाउने उत्सव तथा संरक्षण अभियानमा लाटोकोसेरो तथा हुचिल उत्सव पहिलो र सबैभन्दा ठुलो जागरण कार्यक्रम हो । यस महाअभियानको सुरुवात र निरन्तर नेतृत्व लाटोकोसेरो विज्ञ राजु आचार्यले गनुभएको छ ।
सामान्य बोलीचालीको भाषमा उल्लु भनेर चिनीने लाटोकोसेरो तथा हुचिल रातीमा बढी सक्रिय हुने शिकारी चराका प्रजाती हुन । रुखको टोड्को, भुइँमा तथा पहराहरूमा फुल पारी र बच्चा कोरल्ने लाटोकोसेरो नेपालमा तराइदेखि हिमालसम्मै पाईन्छन । लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन । यसले यिनिहरूलाई शिकार गर्न सहजता प्रदान गर्छ । टाउकोलाई एकापट्टिमात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्नेहुदा लाटोकोसेरोले अघि, पछी, दायाँ, बायाँ चारै दिशा देख्न सक्छन ।
विश्वमा पाईने करिब २२५ प्रजातीका लाटोकोेसेराहरू मध्ये नेपालमा हालसम्म २३ प्रजातीका लाटोकोसेरोको अभिलेख भैसकेका छन जसमध्ये नौ प्रजातीका लाटोकोसेरोहरू नेपालमा दुर्लभ मानिन्छन् । मुसाहरूको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले लाटोकोसेरोलाई ‘किसानको साथी’ भनिन्छ । गोठे लाटोकोसेरोको एक परिवारले एक प्रजन्न अवधीमा करिब तिन हजार मुसा खाने अध्ययनहरूले देखाएको छ । मुसाबाहेक अन्य हानिकारक किरा, फट्याङग्रा, सर्प, भ्यागुता र साना जीवलाई आहार बनाई पारिस्थितीक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशिल बनाउन महत्त्वपुर्ण भुमिका निर्वाह गरीरहेका हुन्छन ।
लाटोकोसेरालाई वातावरणीय सन्तुलनको सूचकको रुपमा पनि हेरीन्छ । पुराना वन जगंलसँग सम्बन्धित धेरै लाटोकोसेराहरूलाई त्यस्ता वनजगंलहरूको स्वास्थ्य र भाग्यको सुचना दिने चराको रुपमा लिने गरेको पनि पाइन्छ । उदारहणका लागि भारतीय उपमहाद्धीपका वन क्षेत्रमा बस्ने चश्मे उलूक धेरै पुराना र मान्छेको आवतजावत एकदमै कम भएका सालका जगंलमा बस्दछ । लाटोकोसेरोलाई हेर्न र फोटो तथा भिडियो खिच्न धेरै मान्छे लालयित हुने हुदा यसले पर्यापर्यटन प्रवद्धन र जिविकोपार्जनमा समेत सहयोग पुर्याउछ । लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई सास्कृतिक र धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छन । संसारका धेरै सभ्यताहरूमा लाटोकोसेरोलाई अन्धकारमा देख्ने शक्ति, विद्धता र ज्ञानको प्रतिनिधित्वको रुपमा ब्याख्या गरेको भेटीन्छ । हिन्दु धर्ममा लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बहानको रुपमा पुजिन्छ । यसको स्वरलाई पौराणिक साहित्यमा गायनकलाको स्वरसाधनाको निम्ती सहयोगि हुने कुरा पुराणमा जनाइएको पाइन्छ । इसाई धर्ममा लाटोकोसेरोलाई प्रभु येसुको ज्ञानको प्रतिनिधि पात्रको रुपमा हेरीन्छ ।
पारिस्थितिक मात्र होइन धार्मिक र सांस्कृतिक महत्त्व समेत बोकेका प्रकृतिको अभिन्न अङ्ग लाटोकोसेराहरू भने मुलत तस्करी र अवैध चोरीशिकारका कारण सङ्कटमा परीरहेका छन । नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाईन्छ । प्रकृतिका साथिहरू संस्थाको ४६ जिल्लामा गरेको एक अध्यय अनुसार वार्षीक रुपमा नेपालबाट कम्तिमा २ हजार लाटोकोसेरो अवैधरुपमा बिदेश चोरी निकासी हुने र सयौको सङ्ख्यामा मारीने गर्छन । औषधी र झारफुकका नाममा तस्करी हुनेगरेको लाटोकोसेराको कुनै पनि अङ्गको औषधीय उपयोग र अदृष्य तान्त्रीक शक्तिबारे कुनै वैज्ञानिक आधारहरू छैनन् । यस खाले प्रयोगको धारणा जनमानसमा विधमान अन्धविश्वास र भ्रम मात्र हो । अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू हुचील, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक सङ्कटापन्न अवस्थामा पुगेका छन् । बढदो अवैध व्यापार सँगै वनजङ्गलको फँडानी र खण्डिकरण, बुढा रुखहरूको कटानी, आवास निर्माण, सहरीकरण आदिले बासस्थान बिनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग र मौषम परिवर्तन जस्ता कारणहरूले गर्दा लाटोकोसेराहरूलाई थप सङ्कटमा पारेकाछन् । विष प्रयोग गरी मारीएका मुसा र अन्य साना स्तनधारी जीवहरू खादा पनि लाटोकोसेरो मर्ने गर्छन ।
कानुनीरुपमा प्रतिवन्धित लाटोकोसेरोको व्यापार वा शिकार गरेको पाईएमा २५ देखी ५० हजार सम्म जरीवाना वा ६ महिना देखी एक वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भु–संरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (२०२०–२०२९) लागु गरेको छ । यस कार्ययोजनाले लाटोकोसेरोको वासस्थान सुधार, वैज्ञानिक अनुसन्धान, अवैध चोरी सिकार नियन्त्रण, सरोकारवालाको क्षमता अभिवृद्धि र स्थानीय/राष्ट्रिय/अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेको छ । वन्यजन्तुको संरक्षण, तिनको बासस्थान व्यवस्थापन र समग्रमा पर्यावरणीय स्रोतको दिगो उपयोगमा जन चासो, जन सहभागिता र अपनवत्व अपरीहार्य छ । यसका लागि संरक्षण सचेतनाको आम प्रहाव र मुल प्रवाहिकरण पहिलो प्राथमिकता नै हो । यहि उद्देश्यले प्रत्येक वर्ष देशका फरक फरक भु–भागहरूमा गरीदै आएको लाटोकोसेरो तथा हुचील उत्सव यस वर्ष थप परीष्कृत, भव्य र व्यापक रुपमा पहिलो पटक सुदुरपश्चि प्रदेशमा आयोजना गरीएको थियो ।
प्रकृतिका साथीहरू सस्थाले चरा संरक्षण सञ्जाल, कैलाली र स्थानिय समुदाय सँगको सहकार्यमा आयोजना गरीएको यस उत्सवमा चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने, लाटोकोसेरा सम्बन्धी सङ्ग्रहालय अवलोकन र रोवट प्रदर्शनी, विज्ञका विचार तथा प्रस्तुतीहरू, संरक्षणकर्मिहरूलाई सम्मान, वातावरण संरक्षण सम्बन्धी संस्थाका स्टल राखिएका थिए । परम्परागत थारु समुदाएको घरको बसाईले सबैलाई मोहित बनायो । त्यससँगै साँइ किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, साराङ्गी हाटा जस्ता स्थानिय लोपोन्मुख खेलको प्रदर्शनी र मुंन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुËुवा, देउडा खेल, कौडा नाँचहरूले करिब ३० जिल्लाबाट आएका पाहुना सहित करिब ६००० जना मानिसलाई संरक्षण सचेतना र मनोरञ्जन प्रदान गर्यो । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूले लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच र मनिरामको संरक्षण गीतले उत्सवको सार्थकता दर्शाएको थियो । लाटोकोसेरोकोे महत्त्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी, लाटोकोसेरो संरक्षण सम्बन्धि नाटक, अनुहार र नङ पेन्टीङ्ग र त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट ल्याइएका लाटोकोसेरोको नमुनाहरूको प्रदर्शनीले उत्सवलाई थप रोचक र प्रभावकारी बनाएको थियो ।
बि.सं. २०७१ पौषबाट सुरुवात गरीएको माघी होमस्टे खासमा परम्परागत थारु सस्कृतीको खजना भएको स्थान हो । धनगढीबजारदेखि करिब ५३ किलोमिटर, कर्णाली चिसापानीदेखि ३६ किलोमिटर र सुख्खड बजारदेखि ६ किलोमिटर दूरीमा रहेको थारु होमस्टे माघी गाउँमा १६ घरमा होमस्टे सञ्चालनमा छन । थारु घरको बास र स्थानीय खेतबारीमा उत्पादित अर्गानिक तरकारी र खाद्यान्नको स्वाद मुखमै झुन्डीरहन्छ । माघी होमस्टेको तिन दिने ‘अर्गानिक’ बसाई, घोडाघोडी ‘बर्ड सेन्चुरी’को चरा अवलोकन र उल्लु उत्सवको रोनक तथा सन्देश बोकेर माघी होमस्टेका अध्यक्ष सिताराम चौधरी, चरा संरक्षण सञ्जालका अध्यक्ष डि.आर. चौधरी, संरक्षणकर्मी मित्र हिरूलाल डगौँरा र ‘उल्लु सर’ उपनामले परीचित हामी सबैका राजु दाइ सँग बिदा भएर ‘सुन्दर सुदुरपश्चिम’ लेखीएको रात्री बस चढी काठमाडौँ फर्कदै गर्दा बिछोडको बेदनाले पोलिरह्यो । साच्चिकै सुन्दर सुदुरपश्चिमको माघी होमस्टेमा बास बस्न तपाई पनि एकपटक पुग्ने कि ?

