साम्राज्यवादले मानिसलाई चेतनाविहीन यन्त्र बनाएको छ

जीवन शर्मा, संस्थापक अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान •• जीवन शर्मा नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनका अग्रणी व्यक्तित्व हुनुहुन्छ । गीतकार, सङ्गीतकार, नाटककार, जनगायक लगायतका परिचयबाट उहाँ नेपाली समाजमा चिनिनु हुन्छ । सम्पूर्ण न्यायप्रेमी, गरिखाने वर्ग र राष्ट्रप्रेमीहरूले शर्मालाई आफ्नो कलाकार ठान्दछन् ।

जीवन शर्मा र उहाँका रचनाका बारेमा विभिन्न विश्वविद्यालयहरूमा अनुसन्धानकर्ताहरूले अनुसन्धान गरिररहेका छन् । फ्रान्सको पेरिस युनिभर्सिटिका प्रोफेसर एन.डी. सेल्सले जीवन शर्मा र रक्तिमका गीत र सङ्गीतबारे अनुसन्धानमूलक लेख तयार गरी बेलायतबाट प्रकाशित हुने हिमालयन बुलेटिनमा प्रकाशित गर्नु भएको छ ।

बागलुङ राङ्खानीको पाही स्थित जनता प्रा.वि.बाट अध्ययन सुरु गर्नु भएका शर्माले मानवशास्त्र र अङ्ग्रेजी साहित्यमा एम.ए.सम्मको अध्ययन गर्नु भएको छ । बागलुङको सर्कुवा माविमा पढ्ने बेलादेखि नै शर्माले सांस्कृतिक र राजनीतिक यात्राको प्रारम्भ गर्नु भएको थियो । कृष्ण पौडेल र जगन्नाथ पौडेल जस्ता स्कूले जीवनका गुरुहरूले उहाँको जीवन दर्शनको जग बसाल्नमा टेवा पुर्‍याउनु भएको थियो । शर्माले पंचायतकालमा मुस्ताङ, सङ्खुवासभा र बागलुङका विभिन्न विद्यालयमा शिक्षण कार्य पनि गर्नु भएको थियो । हाँक साप्ताहिकले शर्मासित कला,साहित्य र राजनीतिबारे गरेका कुराकानीहरूको सारसंक्षेप यहाँ दिइएको छ ।

सौन्दर्यशास्त्रलाई कतिपयले दर्शनशास्त्रको एउटा शाखा हो भन्दछन् । कतिपयले दर्शन हैन पनि भनेका छन् । तपाई के भन्नुहुन्छ ?

सौन्दर्यशास्त्र दर्शन हो । मानव जीवनका लागि महत्त्वपूर्ण दर्शन हो ।

किन दर्शन हो ?

सौन्दर्य भनेको हेर्ने चीज हो । हेरेर राम्रो नराम्रो छुट्टाउने कुरा सौन्दर्यशास्त्र भित्र पर्दछ । सौन्दर्यशास्त्रको ज्ञान विना मानिसले के राम्रो, के नराम्रो, के गर्न हुने, के गर्न नहुने मानव जीवनको लागि के उपयोगी , के अनुपयोगी भन्ने कुरा थाहा पाउन सक्दैन । सौन्दर्यशास्त्रलाई मानिसले जति गहिरोसँग आत्मसाथ गर्दछ, त्यति उसले जीवनलाई फलदायी बनाउन सक्दछ । सौन्दर्यशास्त्रले जीवनलाई दिशाबोध गर्दछ । यो काम गर्नु सुन्दर कार्य हो, राम्रो कार्य हो भनेर भित्र मन देखि नै बुझेपछि कुनै पनि व्यक्ति आफ्नो कार्यमा दत्तचित्त भएर लाग्दछ । त्यसैले सौन्दर्यशास्त्र दर्शन हो ।

सौन्दर्यशास्त्र शाखा प्रशाखा छन् ?

छन् । ब्रह्माण्डीय सौन्दर्य, लौकिक सौन्दर्य, प्राकृतिक सौन्दर्य, मानव निर्मित सौन्दर्य, कलाको सौन्दर्य, संस्कृतिको सौन्दर्य लगायत संस्कृतिका अनेकौँ पक्ष छन् । मावन जीवनसित जोडिएका तमाम पक्षहरूका आफ्ना सौन्दर्य छन् ।

वर्गीय समाजमा सौन्दर्य पनि वर्गीय नै हुन्छ नि, हैन ?

हो । जस्तैएउटा भ्रष्टाचारीको लागि भ्रष्टाचार गर्नु र गर्न पाउनु राम्रो कुरा हो । एउटा शोषकको लागि शोषण गर्न पाउनु राम्रो हो । तर शोषित वर्गका लागि शोषणका विरुद्ध सङ्घर्ष गर्नु राम्रो हो । शोषित वर्गले आफ्नो दर्शन, सिद्धान्त र राजनीतिलाई अगाडि बढाउन जति मिहेनत गर्दछ त्यो नै उसको सौन्दर्य चेत हो । शोषित वर्गले जति बढी आफ्नो वर्गीय स्वार्थको पक्षमा काम गर्दछ उति नै उसको सौन्दर्य चेतनाको विकास हुन्छ ।

नेपालमा कला, साहित्य र सौन्दर्यशास्त्र सम्बन्धी कलेज, र अध्ययनको अवसर अत्यन्त सीमित छ । सरकारले यी विषयमा राम्रो कोर्सको विकास गरेर अध्ययन, पठन पाठनमा ध्यान दिए हुन्थ्यो भन्ने लाग्दैन ?

अवश्य पनि त्यसो गर्नु पर्ने हो । त्यसो गरे त राम्रो हुन्थ्यो नि । तर यहाँ कला, साहित्यलाई त्यसरी लिइएको छैन । जुन देशले आफ्नो कला साहित्यलाई विकसित गरेको हुन्छ । त्यो देशको समग्र विकास भएको हुन्छ । कला, साहित्यलाई ध्यान नदिने देशको अन्य पक्षमा पनि विकास हुन्न । पिछडिएको देशले कला, साहित्यलाई विकास गरेको हुँदैन । पिछडिएको देशमा कला र साहित्यलाई ज्ञान÷विज्ञान÷विधाका रुपमा हैन केवल मनोरञ्जनका रुपमा मात्र लिएका हुन्छन् । त्यस्ता देशका शासकहरूले कलाका पारखीहरूलाई अपहेलना गरेका हुन्छन् । गाइनेले गीत गाउँछ उसलाई यहाँ तल्लो जात बनाइएको छ । कला उत्पादन गर्ने वर्गलाई तल्लो जात बनाइन्छ । छोएको पनि खाइँदैन । पानी नचल्ने बनाइन्छ । त्यस्तो देश त्यस्तो समाजको कसरी विकास हुन्छ ? जुन जात, वर्गलाई सम्मान दिनुपर्ने हो त्यसलाई अपहेलना गरेपछि त्यो देश अधोगति लाग्नु स्वाभाविक हो । नौमती बाजामा कति सुन्दरता छ ? हेर्नुस त ? उसलाई दमाई भनेर , तल्लो जात भनेर, पानी नचल्ने भनेर कति धेरै हेला गरिएको छ ? काम गरेर खाने मान्छेलाई हेला गर्ने, बसेर खाने, ठगेर खानेलाई सम्मान गर्ने देश उँभो लाग्न सक्दैन ।

हो, त्यो संस्कृति अझै पनि छ । गाउने बजाउने काम त “तल्लो जातकै हो” भनेर जिम्मा लगाउने र कथित ठूला जातले त्यसो गरेपछि जातै खस्छ जस्तो गरिन्थ्यो । तर अहिले पश्चिम र मध्यपश्चिम नेपालमा मगर र गुरुङ जातिका मानिसहरूले पनि नौमति बाजा समूह बनाएर त्यसलाई व्यवसायीकरण गरेको देखिन्छ नि ? यो सामाजिक परिवर्तन हैन र ?

हो, यो प्रगतिशील कदम हो । नौमती बाजा समूह गुरुङ र मगरको मात्र हैन । बाहुनको नौमती बाजा समूह पनि बनाइएका छन् । यो समाजमा आएको प्रगतिशील परिवर्तन हो । जापान गएका नेपालीहरू मध्ये धेरै जसो बाहुनहरूले नै नौमती बाजा बजाएको देखेको छु ।

तपाई रक्तिम सांस्कृतिक अभियानको संस्थापक अध्यक्ष हुनुहुन्छ र लामो समयदेखि सांस्कृतिक आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ । तपाईले बोकेको गीत, सङ्गीतको धारा भनेको महान सर्वहारा सांस्कृतिक क्रान्ति नै हो नि , हैन र ?

सर्वहारा सांस्कृतिक क्रान्ति मूलत : विचारधारात्मक क्रान्ति हो । सर्वहारा सांस्कृतिक क्रान्तिले दर्शन, सिद्धान्त, शिक्षा, संस्कृति, प्रविधि लगायत मानव जीवनसित जोडिएका समग्र पक्षमा सर्वहारा दृष्टिकोण अनुरुपको क्रान्तिलाई दिशा निर्देश गर्दछ । मैले सर्वहारा सांस्कृतिक क्रान्तिको एउटा पाटो कला र साहित्यलाई लिने काम गरेको छु ।

सर्वहारा सांस्कृतिक क्रान्तिको विचारधारात्मक पक्ष के हो ?

यो धेरै गहन विषय हो । परिवारको सम्बन्ध र रक्त सम्बन्ध भन्दा पनि वर्गसम्बन्ध धेरै उच्च र महान हुन्छ भन्ने यसको विचारधारात्मक पक्ष हो । परिवारलाई आर्थिक एकाई बनाउने भन्दा पनि परिवर्तनको निम्ति सङ्घर्ष गर्ने एकाई बनाउनु पर्दछ भन्ने हो ।

सर्वहारा सांस्कृतिक क्रान्तिले मानव जातिलार्ई उन्नत चेतनायुक्त समाजतर्फ डोर्‍याउन मार्ग निर्देश गर्दछ । यसले विचार, दर्शन, चिन्तन, मानव ज्ञान माथि जोड दिन्छ । तर पछिल्लो अवधिमा चिन्तनको क्षेत्रमा उत्तर आधुनिकतावादीहरू डेरिडा, फुकुयामाहरूले “मानव इतिहासको अन्त्य भयो”, “ज्ञानको अर्थ छैन” भनेका छन् नि । यसलाई के भन्नु हुन्छ ?

 “ज्ञानको अर्थ छैन” भन्नका लागि पनि चेतना वा ज्ञान नै चाहिने होला नि !” “इतिहासको अन्त्य भयो” भन्नका लागि पनि इतिहास पढ्नु पर्ने होला नि ! त्यसले गर्दा यस्ता कुराको कुनै अर्थ छैन । के तिनीहरू मरेका चीजबाट जन्मेका हुन् ? मान्छेलाई अलमलाउन, गुमराहमा पार्न, समाजलाई प्रगतिशील दिशामा अगाडि जान रोक्नका लागि आएका यी पुँजीवादी र साम्राज्यवादी चिन्तन प्रणाली हुन् । मान्छेलाई चिन्तन कार्यमा लाग्न नदिने, मान्छेलाई चेतनाहीन यन्त्र जस्तो बनाएर राख्ने, इतिहास पनि छैन, भविष्य पनि छैन, ज्ञानको पनि अर्थ छैन, केवल म तिम्रो काम गरिदिन्छु, मलाई एक गास खान देऊ मात्र भन्ने पुँजीपतिका चेतनाहीन दासहरू उत्पादन गर्न ल्याइएका गलत विचारहरू हुन् । यसका पछाडि ठूलो शोषक वर्गीय षडयन्त्र लुकेको छ ।

नेपालमा राजनीतिक क्रान्ति पूरा भयो । अब आर्थिक उन्नति मात्र गरे पुग्छ । क्रान्ति समाप्त भयो भन्ने विचारलाई जवरजस्त स्थापना गर्न खोजेको देखिन्छ नि ?

त्यसो भन्ने हुने खाने वर्गले हो । हुँदा खाने र गरिखाने वर्गले राजनीतिक क्रान्ति पूरा भयो भनेको छैन । राजनीतिक क्रान्ति नभई आर्थिक क्रान्ति हुँदैन । पुगी सरी भएकालाई क्रान्ति किन चाहियो ? शोषित वर्गलाई त क्रान्ति चाहिएको छ नि । अबको क्रान्ति मेरा विरुद्ध वा हाम्रो विरुद्ध हुन्छ भन्ने थाहा पाएर सचेततापूर्वक क्रान्ति पूरा भयो भनेका हुन् । आफ्नै विरुद्ध क्रान्ति त कसले चाहन्छ र ?

विश्वमा विभिन्न गीत सङ्गीतका धाराहरू छन् । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनले तीबाट के सिक्नु पर्दछ ?

नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनले विश्वका क्रान्तिकारी धाराका विभिन्न गीत सङ्गीतबाट पाठ सिक्नु पर्दछ । फेन्च क्रान्ति, रसियन क्रान्ति, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिका बेला सिर्जना गरिएका गीत, सङ्गीतबाट शिक्षा लिन सकिन्छ । पेरिस कम्युनका बेला युजे पोत्तरका गीत, पि.डिजेटरले सङ्गीतबद्ध गरेका गीतहरू, फ्रेन्च अपेराहरू उत्कृष्ट छन् । तीबाट शिक्षा लिन सकिन्छ । वास्तवमा अपेरालाई चिनियाँहरूले यूरोपबाट ल्याएका हुन् । यूरोपबाट ल्याइएको अपेरालाई चिनियाँहरूले आप्mनो पनमा विकास गरेका हुन् । अपेरा भनेको अभिनय, गीत, सङ्गीत नाँच आदि हो । ती सबैको अध्ययन गरेर नेपालीपन पनि त्यसमा राखेर ÷ मिसाएर नेपाली सर्वहारा वर्गका लागि उत्कृष्ट रचना तयार गर्न सकिन्छ भन्ने लाग्छ ।

“यो संसारमा म जन्मेर के गर्ने सक्थे र ?” बोलको चिनियाँ साहित्यकार लुसुन लिखित गीतलाई नेपाली फ्लेभर समेत राखेर त्यसरी नै तपाईले सिर्जना गर्नु भएको हो ?

हो, त्यसै गरेको हो । लुसुनले लेखेको कवितालाई शान्तदासले नेपालीमा उल्था गर्नु भएको थियो । भाव नबिग्रने गरी केही शब्द हेरफेर र तलमाथि पारेर मैले त्यो कवितालाई गीतका रुपमा पुनर्संरचना गरी, चिनियाँ सङ्गीतको पनि थोरै अध्ययन गरी त्यसमा नेपालीपन मिसाएर त्यो गीत तयार पारियो । राम्रै भएको छ । सङ्गीत पनि सुन्दर भएको छ ।

“यो संसारमा म जन्मेर ……” जुन सिर्जना छ । यसमाथि विवाद पनि रहेछ । केहीले यो निराशावादी हो भन्दा रहेछन् । केहीले जीवनको यथार्थता बोकेको छ यसलाई प्रगतिशील नै भन्नु पर्दछ भन्दा रहेछन् ?

यो यथार्थवादी हो तर समाजवादी यथार्थवादी हैन ।

यथार्थवादी हुनु पनि प्रगतिशील नै हो ।

हो, प्रगतिशील नै हो । लुसुनको कविता मध्ये सर्वश्रेष्ठ कविता यही नै हो । यो आफै माथिको व्यंग्य हो, मान्छे माथिको व्यंग्य हो । लुसुनको निबन्धमा सबैभन्दा राम्रो “बहुलाको डायरी” हो । कवितामा यो नै सबभन्दा सुन्दर रचना हो । चीन जाँदा मैले लुसुनको घरकै अगाडि गएर त्यो गीत गाएँ । कवितालाई गीत बनाएर गाउनु निकै अप्ठ्यारो काम हो । अहिलेसम्म लुसुनको कवितालाई कसैले पनि गीत बनाएर गाएको रहेनछ । चिनियाँहरूले भनेका थिए हामीले अहिलेसम्म यो काम गर्न पाएका थिएनौँ । तपाईले गर्नुभयो । उनीहरू धेरै खुशी भए । लुसुनको घरलाई सङ्ग्रहालय बनाइएको रहेछ । लुसुनले लेखेको कलम, पढेका पुस्तक र प्रयोग गरेका सामग्री सुरक्षित राखिएको रहेछ ।

दक्षिण अमेरिका र अफ्रिकामा पनि साम्राज्यवाद र उपनिवेशवादका विरुद्ध ठूला ठूला सङ्घर्ष भएका छन् । त्यस सन्दर्भमा सिर्जना भएका कला, साहित्य, गीत, सङ्गीतलार्ई नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनले प्रयोग गर्नुपर्ने हैन र ?

प्रयोग गर्नु पर्ने हो । तर त्यसको निम्ति त्यो क्षेत्रको अध्ययन गर्नु पर्‍यो । एक, दुई जना व्यक्तिले भन्दा पनि संस्थागत रुपले नै यस्ता काममा ध्यान दिनुपर्दछ ।

नेपालको स्थानीय गीत, सङ्गीतलाई पनि नेपालको प्रगतिशील आन्दोलनले कसरी प्रयोग गर्नु पर्दछ ?

नेपालमा स्थानीय रुपमा प्रशस्त गीत, सङ्गीत छन् । भाकाहरू छन् । तिनलाई सर्वहाराको हितमा प्रयोग गर्नुपर्दछ । जस्तो सालैजो भाकालाई जस्ताको त्यस्तै प्रयोग गरे त्यति राम्रो हुँदैन । तर त्यसमा केही नयाँपन थपेर प्रगतिशील शब्द राखेर गाउँने हो भनेर धेरै राम्रो हुन्छ । यस्ता तमाम सांस्कृतिक स्रोतहरूलाई सर्वहारा आन्दोलनको पक्षमा प्रयोग गर्नुपर्दछ ।

प्रगतिशील सांस्कृतिक आन्दोलनमा आउन चाहने नयाँ पुस्तालाई के सल्लाह छ ?

प्रगतिशील सांस्कृतिक आन्दोलनमा आउन, आएर टिक्न र काम गर्न निकै गाह्रो छ । उच्च प्रकारको सङ्घर्षको स्पीरिट हुनुपर्दछ । अनेकौँ दु:ख पाउन तयार छु भनेर मानसिक रुपमा तयार हुनुपर्दछ । यदि मानसिकरुपमा जस्तोसुकै समस्या झेल्न पनि तयार छु भनेर आउने हो भने यो क्षेत्रबाट नयाँ पुस्ताले प्रगति गर्न सक्छ । नयाँ पुस्ता आउन जरुरी छ । आजको सर्वहारा सांस्कृतिक आन्दोलनको आवश्यकता नै हो कि यस क्षेत्रमा नयाँ पुस्ताको आगमन ।

क्रान्तिकारी सर्वहारा आन्दोलन कमजोर भएको छ । जनताबाट आशा गरिएका पार्टी र नेताहरू भ्रष्ट भएर बदनाम भएका छन् । निकै निराशा छाएको यो अवस्थामा कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्ला ?

मलाई त दोस्रो अन्तर्राष्ट्रियका बेला एङ्गेल्स मरेपछिको अवस्था यस्तै थियो होला जस्तो लाग्छ । पेरिस कम्युनलाई दबाइएको अवस्था थियो । जताततै मजदुर आन्दोलनमा निराशा थियो । जताततै अवसरवादीहरू हावी भएका थिए । फेरि नयाँ परिस्थिति आयो, नयाँ एजेण्डा आए, लेनिन जस्ता नेताहरू उदाए, फेरि निराशा चिर्दै आशा र उत्साह बढेर गयो । अहिले जताततै निराशा छ भ्रष्टाचार र बेथितिमा नेतृत्व चुर्लुम्म डुबेको छ । कम्युनिस्ट भन्नेहरू काङ्ग्रेसको पछि लागेर हिंडेका छन् । मलाई विश्वास छ फेरि सर्वहारा आन्दोलनको नयाँ उभार आउँछ । निराशा फेरि उत्साह, यो त युगौँदेखि चल्दै आएको प्रक्रिया हो र फेरि गरिखाने वर्गको खुशियालीको दिन अवश्य आउँछ ।

पश्चातापको कुनै क्षण छ कि ?

मैले लेखेको देशभक्तिपूर्ण नाटक “नालापानी देखि कालापानीसम्म” हराएकोमा मलाई पश्चाताप छ । “झोलुङ्गी म्यानमा तरवार राखी तिघ्रामा झुलाउँदै ! म जान्छु प्यारी युद्धमा अब यो छाती फुलाउँदै ! ! ” भन्ने राष्ट्रभक्ति गीत त्यो नाटकका लागि तयार पारेको थिएँ । प्रतिगमनकालमा हरायो । त्यो हराएकोले पश्चाताम लागिरहन्छ ।

जीवनमा पढेका महत्त्वपूर्ण कृतिहरू के के छन् ?

रसियाली लेखक चेर्नीसेभ्सकीले लेखेको “के गर्ने” शीर्षकको उपन्यास उत्कृष्ट उपन्यास लाग्छ । त्यो उपन्यासले मानिसको दृष्टिकोण बदलिदिन्छ । त्यो उपन्यासले जीवन के हो, मानिसले जीवनमा के गर्नु पर्दछ, परिवार के हो ? यस्ता धेरै कुरामा दृष्टिकोण प्रष्ट गर्दछ । माक्सिम गोर्कीको “आमा”, याङ्मोको “युवाहरूको गीत”, टल्स्टयका रचनाहरू, पारिजातको उपन्यास “अनिंदो पहाडसँगै”, मोहनविक्रम सिंहका “लेफ्टराइट कदम बढाउ” कविता, मोदनाथ प्रश्रितको “अठार रुपियाँको तमसुक” जस्ता क्रान्तिकारी सिर्जनाहरू पढेको छु र पढ्नुपर्दछ भन्ने सल्लाह दिन्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित