क्रान्तिप्रति घात गर्नेहरुलाई दरिलो खबरदारी र क्रान्तिकारीहरुलाई उर्जा दिने गीत –“ओ हितसङ्गी”

– नारायण शर्मा
क्रान्तिको मार्ग सजिलो हुदैन तर त्यो मार्गमा यात्रारत रहँदाको आनन्द छुट्टै र विशिष्ट हुन्छ । क्रान्ति भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महशुस गर्न सक्छ । वर्गविहीन समाज निर्माणको महायात्रा सटिक हुँदैन, त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जाँदा जब चुनौतीका अजङ्ग पहाडहरु अगाडि खडा हुन्छन् क्रान्तिकारी योद्धाहरुको वास्तविक परिक्षण त्यो बेलामा मात्र हुने गर्छ । कृतिम क्रान्तिकारीहरु चुनौतिका अगाडि घुँडा टेक्न पुग्छन्, उनीहरु गल्छन, लत्रिन्छन र बाटो मोड्न पुग्छ्न । तर सच्चा क्रान्तिकारीहरुले भने चुनौतीहरुको दृढतापूर्वक सामना गर्छन र आफ्नो लक्ष्य तर्फ निरन्तर अगाडि बढ्छ्न । क्रान्तिको यो महायात्रामा यस्तो पनि देखिने गरेको छ – हिजो प्रतिक्रियावादी दुश्मन शक्तिको जेल नेल र असह्य यातनामा नगलेको, नढलेको योद्धा आर्थिक प्रलोभनको जालमा सजिलै फस्न पनि सक्दोरहेछ । अर्थात “गनको अगाडि नढलेको योद्धा धनका अगाडि ढलेका” दृष्टान्तहरु पनि हाम्रा सामु प्रशस्तै छन । क्रान्तियात्राका तिनै दुई खाले पात्रहरुको सजिव चित्रण सहित क्रान्तिकारी भाव बोकेको नयाँ गीत बजारमा आएको छ – “ओ हितसङ्गी” ।
गीतमा शब्द र सङ्गीत, जनवादी गितकार÷सङ्गितकार चिरन सिको रहेको छ । सशस्त्र संघर्ष अर्थात जनयुद्धमा प्रत्यक्ष सहभागी भएर आएका अर्का चर्चित जनवादी गितकार÷संगीतकार तथा गायक कर्ण गौतम “विद्रोही”को स्वरमा सजिएको यस गीतमा सङ्गीत संयोजन नारायण दङ्गालको रहेको छ । गीतको भिडियो निर्देशन रबिन डोङले गरेका छन । गीतको भिडियोमा सर्जक स्वम चिरन सि, गायक कर्ण बिद्रोही र कलाकारहरु सरल सि, लक्ष्मण पाख्रिन, अनु शर्मा, र कुशल गौतम लगायतको अभिनय रहेको छ । गीतका शब्दहरुले यथार्थ क्रान्तिकारी भाव बोकेका छन ः–
हिजो धिक्कारेका खुनी उनका काखहरुमा
लडिबुडि गर्छौ रे भन्छन
हिजो ललकारेका ज्यानी दुस्मन वर्गहरु सँग
मन्द मुस्कान हाँस्छौ रे भन्छन
ओ हितसङ्गी तिमी कहाँ छौ
खोज्दैछु तिम्रो मुस्कान जहाँ हामी
सड्ढट पर्दा सँगै हाँसेको
ओ भन प्रिय तिमी कहाँ छौ
खोज्दैछु तिम्रो आँशु जहाँ कमरेड
सहिद हँुदासँगै रोएको
सुन्दैछु तिमीले त साथ छड्यौ अरे
भन्दैछन तिमीले त बासै सार्यौ अरे
ओ हितसङ्गी ……………….
वर्ग शत्रुको राज्य सत्ता उल्टाउन हिजो उनीहरु सङ्गै हिंडेका थिए । त्यति बेला उनीहरु दुवैको मन मस्तिष्क वर्ग शत्रु प्रतिको घृणाले भरिएको थियो । उनीहरु दुवैको मनमा देशमा न्याय र समानतामूलक समाज स्थापना गर्ने समान सपना सजिएको थियो । दुश्मनका सिपाहीले लखेटिरहेका ती संकटपूर्ण काला पलहरुमा पनि उनीहरु एक अर्कालाई हेरेर मुस्कुराइरहेका हुन्थ्ये । तर सहृदयी भावको त्यही सङ्गी अहिले उसको साथमा छैन । कस्तो आश्चर्य र विडम्वनाको कुरा ! हिजो जसलाई वर्ग शत्रु घोषणा गरेर, जसका विरुद्धमा लडाइ केन्द्रित गरिएको थियो आज उसैको काखमा मन्दमुस्कान साटासाट गर्दै त्यो हितसङ्गी लडिबुडी खेलिरहेको छ । क्रान्तिपथबाट विचलित त्यही पुरानो हितसङ्गीलाई सम्झँदै एक सच्चा क्रान्तिकारी योद्दाको मनमा खेलेका भावहरुलाई सजिव ढंगबाट उतारिएको छ यस गीतमा ।
गीत “ओ हितसङ्गी” ले वर्तमान कम्युनिस्ट आन्दोलन भित्रका भिन्न भिन्न प्रवृत्तिहरुको यथार्थ अवस्था उजागर गरेको छ । नेपालको वाम आन्दोलनभित्र त्यस्ता क्रान्तिपथबाट विचलित भएर वर्ग शत्रुको काखमा लम्पसार परिरहेका पात्रहरु छरप्रस्ट रुपमा देख्न पाइन्छ । कम्युनिस्ट आन्दोलन वर्गविहिन समाज निर्माण नहुँदासम्म निरन्तर चलिरहने महाअभियान हो । राज्यसत्ता भनेकै एउटा वर्गले अर्को वर्ग माथि शासन गर्न अपनाउने एक उच्चतम थलो हो । बाघ र बाख्रा कहिल्यै पनि एउटै खोर भित्र अटाउन सक्दैनन । शोषक र शोषित वर्गका बीचमा पनि कहिल्यै मेल हुन सक्दैन । शोषकको हातमा रहेको राज्यसत्ता छिनेर शोषित वर्गले आफ्नो हातमा लिनका लागि नै शोषित उत्पीडित र दमितजनहरु कम्युनिस्ट आन्दोलनमा संगठित हुनु पर्दछ । एउटा सच्चा कम्युनिस्ट योद्धाको मन वर्ग शत्रु प्रति सधै तीब्र घृणा र आक्रोशले भरिएको हुनुपर्दछ । – हिजो त्यही पाठ पढाउने सिकाउने कतिपय कम्युनिस्ट गुरुहरु नै आज आफै वर्ग शत्रुको खुनी काखमा लडिबुडी खेल्नु, उनीहरु सँगै हातेमालो गर्दै मन्द मुस्कान साटासाट गरिरहेको हामी सबैले देखिरहेकै छांै । गीत “ओ हितसङ्गी” मा नेपालको कम्युनिस्ट आन्दोलनभित्रको त्यही दारुणिक अवस्था र प्रवृत्तिको उजागर गरिएको छ ।
गीत “ओ हितसङ्गी” मा क्रान्तिपथबाट विचल्लित भएकाहरुको अवस्थालाई चित्रण मात्र गरिएको छैन । वर्ग कित्ता परिवर्तन गरेर बसाइ सर्ने भुपु कामरेडहरुलाई उनीहरुको वर्ग धरातल र कर्तव्य सम्झाउने प्रयास पनि गरिएको छ ः–
……..ओ हितसङ्गी तिमी कहाँ छौ
बाँकी छ शिखर चुम्ने,
सङ्गसङ्गै स्विकारेका यात्रा बाकी छ
ओ भन प्रिय तिमी कहाँ छौ
बाकी छ लक्ष्य भेट्ने,
बर्गभेद मिल्काउने क्रान्ति बाकी छ
भन्दैछन तिमिले त घात गरेउ अरे
सुन्दैछु तिमिले त बर्गै फेर्यौ अरे
ओ भन प्रिय ………
हो क्रान्ति अझै बाँकी नै छ, पूरा भएको छैन । हाम्रो लक्ष्यको ब्यवस्था अझै आएको छैन । श्रम गरेर खानेहरुको राज्य सत्ता देशमा अझै स्थापित भैसकेको छैन । अहिले पनि देशको राज्य सत्ता बसिखाने शोषक वर्गकै हातभित्र कैद छ । समाजमा विभेद, असमानता, ज्यादती, घुसखोरी, भ्रष्टाचार, अनियमितता, अशान्ति, बेरोजगारी, राष्ट्रघात अहिले पनि ब्याप्त छ । त्यसकारण देशमा क्रान्ति अहिले पनि आवश्यक छ । आफुलाई कम्युनिष्ट बताउने कुनै पनि नेता र पार्टीलाइ वर्गघात गर्ने छुट छैन । वर्गशत्रुसँग अङ्कमाल गरेर वर्गविहिन समाज निर्माणको लक्ष्य भेटाउन सकिँदैन । वर्तमान राज्य ब्यवस्था मुलतः प्रतिक्रियावादी व्यवस्थानै हो । मात्र हिजोको तानाशाही राजतन्त्रात्मक ब्यवस्था भन्दा यो व्यवस्था केही प्रगतिशील हो । तर सम्पूर्ण शोषितजनहरुको हितकारी व्यवस्था हो होइन । कम्युनिस्ट क्रान्तिकारीहरुले त यो गणतान्त्रिक संसदीय व्यवस्थालाई श्रमजीवी वर्गको पक्षमा उपयोग गर्ने अधिकतम प्रयास गर्ने हो, आफै यै व्यवस्थाबाट उपयोग हुने होइन । तर बिडम्बना ! अहिलेसम्म भैरहेको छ त्यही । यो व्यवस्थालाई उपयोग गर्छु भन्दै संसद र सरकारमा पुगेका कम्युनिस्ट पार्टिहरुलाई प्रतिक्रियावादी, साम्राज्यवादी, विस्तारवादी र विशेषत ः दलाल पुँजीवादी शक्तिहरुले नै उपयोग गर्दै आइरहेका छन । कम्युनिस्ट भनिने ती पार्टी र नेताहरुले कम्युनिस्ट आन्दोलनको लक्ष्य र मर्म भुल्दै गैरहेका छन् । वर्गबैरिहरुको काखमै रमाइरहेका छन् उनीहरु । गीत “ओ हितसङ्गी” ले क्रान्ति प्रति घात गर्नेहरुलाई, आफ्नो वर्गीय धरातल भुल्दै र कुल्चँदै जानेहरुलाइ दरिलो खबरदारी गरेको छ । उनीहरुलाई आफ्नो वर्ग धरातल नबिर्सन , क्रान्ति प्रति घात नगर्न, फर्किएर क्रान्तिपथमै आउन आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट नैतिकता र आचरणमा ह्रास आउन नदिइ निरन्तर क्रान्तियात्रामा डटिरहेका महासमरका अभियात्रीहरुलाइ थप उर्जा र प्रेरणा प्रदान गरेको छ यो गीतले ।
गीतका शब्दहरु सरल छन तर त्यसभित्र गम्भीर भाव अन्तर्निहित रहेका छन । सर्जक आफैले सङ्गीत भरेका कारणनै हुनु पर्छ गीतका शब्दहरुले न्यायपुर्ण सङ्गीत पाएका छन् । प्रगतिशील गीत÷सङ्गीतसँग सुपरिचित र अभ्यस्त रहेका नारायण दङ्गालले सङ्गीत संयोजन कुशलतापूर्वक गरेका छन् । सबै भन्दा महत्वपूर्ण कुरा त शब्द र सङ्गितभित्र अन्तरनिहित भावमाथि पूर्ण न्याय दिन सक्ने गायक पाएको छ यो गीतले । जनगायक कर्ण गौतम “बिद्रोही” आफै वर्गसंघर्षको भट्टिमा खारिएर आएका एक स्पातिला सांस्कृतिक योद्धा हुन । उनी आफै गीतकार र सङ्गितकार समेत हुन । प्रगतिशील सांस्कृतिक आन्दोलनको एक अमुल्य निधीका रुपमा रहेको “टुटफुट खण्डित कुरा नगर” बोलको चर्चित गीतका सर्जक, सङ्गितकार र गायक समेत हुन कर्ण विद्रोही । यस्तै दर्जनौ क्रान्तिकारी जनगितहरुमा आफै शब्द सृजना गरेर सङ्गीत भरेका छन उनले । रक्तिम सांस्कृतिक अभियानबाट आफ्नो जनसाङ्गितिक यात्रा सुरु गरेका जनगायक विद्रोही पछि माओवादी जनयुद्धमै समाहित हुँदै जनसाङ्गितिक यात्रालाई निरन्तरता दिएका थिए । एक काधमा बन्दुक र अर्को काधमा हार्मोनियम बोक्दै जनमुक्तिको माहायात्रामा निरन्तर डटिरहेका सांस्कृतिक योद्धा हुन विद्रोही । कर्णप्रिय स्वरका धनी उनै कर्णलाई यो गीतका लागि गायक छनौट गर्नु सर्जकको बुद्धिमतापूर्ण सही निर्णय थियो भन्न सकिन्छ । जनगायक विद्रोहीले गीतको शब्दभाव प्रति पूर्ण न्याय गरेर स्वर दिएका छन् । गीत सुन्दा विद्रोहीले शब्दभावलाई आत्मसाथ गरी गाएको प्रष्ट बुझ्न सकिन्छ ।
गीतको भिजुअल पनि राम्रो बनेको छ । गीतको दृस्याङ्कन कुनै नाट्यघरको हलमा गरिएको छ । सर्जक, सर्जकै भूमिकामा, गायक गायककै भूमिकामा, सङ्गीत संयोजक किबोर्ड बजाउँदै गरेको भूमिकामा, अनु शर्मा र कुशल गौतम गितार बादकको भूमिकामा र सरल सि ड्रम बाधकको भूमिकामा देखिएका छन । भिजुअलको पृष्ठभुमिमा क्रान्तिकारी आन्दोलनमा विगतको समयका झल्को दिने दृश्यहरु पनि देखाइएको छ । ती सबै भूमिका र दृश्यहरुमा अभिनय गर्ने कलाकारहरुको अभिनय उत्कृष्ट नै देखिन्छ । रबिन डोङको निर्देशकीय कौसलता अब्बल रहेको यो गीतमा पनि प्रस्ट झल्किएको छ । यद्यपि गीतको शब्द भावले हिजो संघर्षरत रहँदाका गाउँघर र बनपाखाका दृश्यहरु र क्रान्तिपथबाट बिचल्लित भएको कमरेड वर्गबैरी सँग रमाउँदै गरेको शहर बजारका दृश्यहरुको पनि माग गरेको देखिन्छ । भिडियोका ती दृष्यहरु आउटडोर सुटिङ गरेको भए अझ सुनमा सुगन्ध थपिन्थ्यो भन्ने जोकोहीको मनमा पनि लाग्न सक्छ ।
प्रगतिशील र क्रान्तिकारी गीतहरुको तुलना अन्य व्यवसायिक गीतहरुसँग गर्न सकिँदैन । ती दुइलाई तौलने तराजु नै अलग अलग हुन । तसर्थ गीतले व्यवसायिक रुपमा कति मुनाफा आर्जन गर्छ त्यसका आधारमा प्रगतिशील , क्रान्तिकारी तथा जनगितहरुको सफलता वा असफलता मापन गर्नु हुँदैन । जनगीतहरुमा बिचारपक्ष र त्यो गीतले प्रवाह गर्न खोजेको सन्देस प्रधान हुन्छ । गीत “ओ हितसङ्गी” भित्र अन्तरनिहित बिचार र त्यसले दिएको सन्देस सुन्दर छ । यो गितले क्रान्तिपथबाट बिचल्लित भएकाहरुलाई खबरदारी गरेको छ भने क्रान्तिकारी नैतिकता सहित इमान्दारीताका साथ क्रान्तिपथमा डटिरहेका योद्धाहरुलाई उर्जा प्रदान गरेको छ । यसर्थ प्रगतिशील सांस्कृतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा कृयासिल हरेक अभियात्रीहरुले यो गीत सुन्दा र हेर्दा त्यो उनीहरुका लागि नै लाभदायक हुनेछ । जनवादी सर्जक तथा संगीकार चिरन सिले विगत केही समय यता जनगित तथा क्रान्तिकारी गीतहरुको प्रकाशनलाई निकै तीब्रता दिइरहेका छन् । यो निकै खुशीको कुरा हो । उनका गीतहरु बढी नारावादी र पार्टीगत स्वार्थ मिश्रित भए भन्ने आरोप पनि बेला बेलामा लाग्ने गरेको छ । तर अहिले आएको “ओ हितसङ्गी” त्यो आरोपबाट पूर्ण रुपमा मुक्त छ । आगामी दिनमा पनि त्यस्ता आरोपबाट बच्दै, यस्तै स्वच्छ र उत्कृष्ट क्रान्तिकारी भाव बोकेका सृजनाहरुलाई सर्जक चिरनले निरन्तरता दिंदै जाउन । सर्जक एवं संगीतकार चिरन सि सहित “ओ हितसङ्गी” गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथ यो गीत सफलताको हार्दिक शुभकामना ।
– २३ असार २०८०
(लेखक शर्मा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुन । )

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित