विश्व कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यको सपना देख्नुपर्छ

– विन बहाददुर कुँवर
सचिव, माक्र्सवादी अध्ययन मञ्च, नेपाल
० सर्वप्रथम तपाई आबद्ध संस्था माक्र्सवादी विचार मञ्च नेपाल (२०४९) को परिचय दिनु हुन अनुरोध छ ।
–माक्र्सवादी विचार मञ्च नेपाल (०४९) नेपाल देशका विभिन्न कम्युनिस्ट पार्टी, संघसंस्था र विचारकहरुको साझा मंच हो । यसमा नेपालका प्रायः सबै ठुला वामपन्थी दल जस्तो एमाले, माओवादी, मसाल, माले आदि समावेश छन् । यसको साथै कम्युनिस्ट सिद्धान्त र विचार समर्थक केही व्यक्ति विशेषहरु पनि यसमा छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माक्र्सवादी–लेनिनवादी तथा माओवादी वा विचारधारासँग सम्बन्धित वैचारिक, राजनैतिक, सामाजिक तथा आर्थिक आदि जनसरोकारका विषयमा विचार प्रवाह गर्ने यसको मूल उद्देश्य रहेको छ । त्यसै अनुरुप माक्र्सवादका विभिन्न विधाहरुमा संवाद, छलफल, अन्तर्गत र विचार गोष्ठीको आयोजना गर्दै आएको छ । यसका लागि माक्र्सवादी संवाद नामक पुस्तक पनि प्रकाशन गर्ने गरिएको छ । यसको पहिलो स्थापना २०४९ मा भएको हो ।
० देशका कैयौं ठाउँमा विभिन्न नामका माक्र्सवादी अध्ययन समूह छन्, तिनीहरुबीच सहकार्य, अन्तरसंवाद गर्नुपर्दछ भन्ने ठान्नु हुन्छ कि हुन्न ?
–हो, निश्चय नै देशका विभिन्न ठाउँहरुमा यस्ता माक्र्सवादी अध्ययन समूह छन् । ती सबैसँग यसको लागि सहकार्य र अन्तरसंवाद गर्नैका लागि यो मञ्चको स्थापना भएको हो । बेलाबेलामा यसप्रकारको सहकार्य र संवाद भएको पनि छ । सामान्यतः भेटघाट, प्रकाशन मार्फत् विचार आदान प्रदान पनि भइरहेको छ । अझ हाम्रो जोड त राष्ट्रियस्तरको यस्तै एउटै मञ्च बनाऊँ भन्नेमा पनि छ ।
० नयाँ पुस्तामा राजनीतिप्रति प्रायः वितृष्णा देखिन्छ । अरु माक्र्सवाद प्रति त युवाहरुको त्यति चासो देखिंदैन । युवाहरुलाई यसप्रति आकर्षण पैदा गर्न के गर्नु पर्छ होला ?
–माक्र्सवाद विश्व जगतको बोध र परिवर्तनको शक्तिशाली अस्त्र हो । यसले समाजको उत्पत्ति र विकासको वैज्ञानिक व्याख्या विश्लेषण गर्दछ । जस अनुसार समाज परिवर्तनको गति र दिशा आदिम समाजवादबाट दास र दासबाट सामन्तवाद हुँदै अनि पुँजीवादबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हुन्छ । यो आमूल सामाजिक परिवर्तनको यस युगमा माक्र्सवादको अध्ययन ज्ञान हुन अति आवश्यक छ । माक्र्सवादलाई सर्वहारावर्गको विज्ञान पनि भनिन्छ । संसारका मजदुर एक हौं भन्ने माक्र्सवादको मूल नारा नै छ ।
साम्यवादी समाज जहाँ सदा सर्वदाका लागि सबै प्रकारका शोषण तथा उत्पीडन अन्त्य हुनेछ । सम्पूर्ण श्रमजीवीहरुले आ–आफ्नो हात र विवेकको प्रतिफल पूर्ण रुपमा उपभोग गर्न पाउने छन् । जहाँ वास्तविक समानता, तेरो र मेरो हट्ने छ । यस अर्थमा झन यसको अध्ययन र ज्ञान युवा पिंढीलाई अझ बढी आवश्यकता छ । यसले युवालाई राजनैतिक परिपक्वता, विदेशी हस्तक्षेप र सामाजिक उत्पीडनका विरुद्धको संघर्षमा दृढता र साहसी भावनाको विकास गराउन मद्दत गर्दछ । तर वर्तमान राज्य व्यवस्था यसको ठीक विपरीत सामन्ती, दलाल र नोकरशाही वुर्जुवा छोटकरीमा भन्दा दलाल पुँजीवादी भएकाले आम जनता र आम युवा पिंढीलाई राजनीतिप्रति यसरी वितृष्णा गराउँदा उसको हितमा हुने हुनाले त्यही गराउँदै आएको छ । अरु माक्र्सवादको अध्ययन, मनन र ज्ञान गराउने कुरा त परै छाडौं ।
तर सच्चा माक्र्सवादीहरुले भने अन्य शोषित पीडित न्यायप्रेमी जनता साथै युवा पिंढीहरुलाई यसको अध्ययन, मनन र ज्ञान गराउनु अत्यन्त जरुरी छ । यो विना न कुनै समाज परिवर्तन हुन्छ न कुनै क्रान्ति सम्भव छ । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने अरु विचित्र कम्युनिस्ट भनौंदाहरु नै सत्तामा छन् । भन्दा कम्युनिस्ट पार्टी तर काम गर्दा हुबहु दलाल पुँजीवादी र सामन्तीहरु कै तरिका यसले गर्दा झन यहाँका मजदुर, किसान, शोषित पीडित सबका सब साथै युवा जमात सबैमा यस्तो वितृष्णा बढिरहेको छ । यस प्रति निश्चय नै सबैको ध्यान जानु पर्दछ । खाली माक्र्सवादी मात्रै भनेर पुग्दैन । माक्र्सवादको अध्ययन, मनन र ज्ञान सबैलाई गराउँदै समाजको आमूल परिवर्तनका लागि पनि यो आवश्यक छ ।
० केही तपाईसँग सम्बन्धित कुरा गरौं । २०४० देखि २०४२ सम्म सिन्धुपाल्चोकमा शिक्षक हुनुहुन्थ्यो । शिक्षक जागिर छोडेर २०४३ मा अखिल छैठौंको केन्द्रीय अध्यक्ष भएर काम गर्न आउनु भयो । आफ्नो दिनमा उभिएर ती दिन सम्झँदा कस्तो अनुभुति हुन्छ ?
–हो, म त्यो दुई वर्ष त्यहाँ विज्ञान शिक्षक भई बसें । त्यो भन्दा पहिले २०३९ सालमा पनि एक वर्ष चोभारमा शिक्षक भइ बसेको थिएँ । त्यसरी शिक्षक भई बस्नुका पछाडि पहिलो कारण आर्थिक समस्या हो भने दोस्रो कारण राजनैतिक नै हो । तत्कालिन नेकपा (चौम) मा देखिएको त्रिपक्षीय गुटका (निर्मल लामा, शेयर सिंह अनि मोहन विक्रम) ती मध्ये काठमाडौंमा मोहनविक्रमका अवस्था कमजोर थियो । म त्यही गुटको भएकाले मलाई त्यहाँ कुनै जिम्मेवारी न दिई उपेक्षा गरियो । त्यही भएर शिक्षक हुनुपर्ने बाध्यता आइप¥यो । शिक्षक भए पनि र जहाँ भए पनि काम राजनीतिक पार्टी कै गरियो । कम्युनिस्टको विऊ रोप्ने काम भयो । अहिले पनि ती सबै ठाउँमा थुप्रै मसाल अनि पछि माओवादी नै छन् ।
तर जब पार्टीमा विभाजन आयो । त्यसपछि पार्टीले मलाई विद्यार्थी मोर्चा सम्हाल्ने जिम्मेवारी दियो । पार्टी पेसेवर कार्यकर्ता कै रुपमा अखिल (छैठौं)मा केन्द्रीय अध्यक्ष भई काम गरियो । त्यो बेला विद्यार्थी खुल्ला तथा पार्टी भूमिगत । खुला रुपमा भूमिगत पार्टीको काम गर्दा निकै कठिनाई हुन्थ्यो । देशमा केही भयो कि त पहिलो गिरफ्तारी पर्ने हामी । त्यस्तै पार्टीमा भूमिगत आन्दोलनमा कार्यक्रम गर्नुपर्ने पनि हामी । जहिले पनि प्रहरीको कुटपिट र गिरफ्तारी भोग्नुपर्ने हामी । नखाने ठाउँ न बस्ने ठाउँ । भोकभोकै जहाँ रात प¥यो त्यही बास । यस्तै कठिन दिन २०४६ सालसम्म रह्यो । तैपनि आज ती दिन सम्झँदा त्यसप्रति कुनै दुःख, गुनासो केही छैन, गर्व नै छ । दुःख, कष्ट, त्याग, तपस्या र बलिदानकै लागि त्यो संघर्ष र आन्दोलनमा होमिएको थिएँ ।
० २०४६ सालको जनआन्दोलनपछि तपाई सहितको टोलीले गुल्मी, अर्घाखाँची र प्यूठानसम्म पंचे फटाहा र गुण्डा विरोधी अभियान चलाएको थियो । त्यो अभियानमा तपाईलाई ती राक्षसहरुले मेरै हातबाट तेरो काल हुनेछ भन्ने समेतका चिठ्ठी आएका थिए । त्यो जाली फटाहा विरोधी अभियानलाई संक्षिप्तमा मूल्यांकन गर्दा के भन्नुहुन्छ ?
–भर्खरै निरंकुश पंचायती व्यवस्था ढलेको तर बहुदलीय व्यवस्थाको जग न बसिसकेको त्यो अस्थिर अवस्थामा तत्कालिन हाम्रो पार्टी मसालले राजा–कांग्रेस र वामबीचको त्यो त्रिपक्षीय सम्झौतालाई धोका हो भन्दै संविधानसभाको निर्वाचनद्वारा देशको सार्वभौम सत्ता जनतामा हस्तान्तरणको नारालाई अघि सारेको थियो । त्यसका लागि त्यो आन्दोलनलाई अझ अघि बढाउन जनतालाई आह्वान गरेको थियो । त्यही मुताविक हामी संघर्षको लागि गाउँगाउँ, बस्ती र शहरमा गएका थियौं । त्यही संघर्षका लागि हामीले त्यो पंचे, दलाल, गुण्डा, मण्डले र जाली फटाहा विरोधी अभियान संचालन ग¥यौं । जसमा त्यो क्षेत्रका हजारौं जनताको प्रत्यक्ष सहयागीता रह्यो । त्यस्ता साना ठूला सयौं जनकार्वाही भए । एक प्रकारले यी तीन जिल्ला चारैतिर मसालमय जस्तै नै भयो । त्यसको प्रभाव अरु छिमेकी जिल्ला जस्तो बागलुङ, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा पनि प¥यो । त्यसबाट आतंकित केही पुराना पंचे, मण्डले र फटाहाहरुले हामीलाई त्यस्ता पत्र पठाएर धम्क्याउने काम पनि गरे । त्यसमा कांग्रेस, एमालेका मान्छेहरुको पनि अप्रत्यक्ष हात रहेको थियो । तर हामी त्यतिबेला जनतामा स्थापित भइसकेका थियौं । त्यसका विरुद्ध स्वयं जनताहरुले नै लडाकु टिम बनाएर प्रतिकार गरेका थिए ।
तर दुःखको कुरा यसबाट स्वयं तत्कालीन हाम्रो पार्टी मसाल नेतृत्व नै आतंकित हुन पुग्यो । एकाध घटनाका विषयलाई लिएर हामीलाई अनावश्यक रुपमा स्पष्टीकरण लिंदै कार्वाही गर्ने प्रयास भयो । एउटा घटना मुख्यतः अर्घाखाँची पार्टी महामन्त्री मोहन विक्रम सिंहकी बहिनी र बहिनी ज्वाईले जवरजस्ती आफ्नो बनाई राखेको सयौं रोपनी वनक्षेत्रको जमिन कब्जा गरी जनतालाई नै फिर्ता गराउनेमा रह्यो ।
० रुपन्देहीको चरंगेमा सुकुम्वासी बस्ती बसाउन मसालको योगदान छ । त्यो आन्दोलनमा तपाईहरुको पनि अगुवाई थियो । त्यो कसरी टुंगिएको थियो ?
–त्यो सुकुम्वासी आन्दोलन रुपन्देहीको चरंगेमा मात्र होइन, पूरै रुपन्देही जिल्लाभरी नै भएको थियो । यसको प्रभावमा कपिलवस्तु, अर्घाखाँची र नवलपरासीमा पनि परेको थियो । गाउँगाउँ र वस्तीबस्तीमा सुकुम्वासी संगठन बने । प्रतिकारका लागि जन लडाकु, जनजत्थाहरु पनि बने । ठाउँठाउँमा जनप्रतिकार पनि भयो । जसको फलस्वरुप तत्कालिन कांग्रेस–एमाले–वाम संयुक्त सरकार पछि हट्न बाध्य भई सहमतिमा आयो । त्यही सहमति अनुसार नै हालसम्म सुकुम्बासी वस्तीहरुमा बसोबास भइरहेको छ । यहाँ पनि पार्टी नेतृत्वको हस्तक्षेप भयो । ठाउँठाउँमा पार्टी नेतृत्व स्वयं चित्रबहादुर के.सी.ले नै यो आन्दोलन पार्टीको अगुवाईमा नभएको भन्दै हाम्रो बदनाम गर्ने काम गरे ।
० तपाई पछि प्रचण्ड नेतृत्वको नेकपा (एकताकेन्द्र) को केन्द्रीय सदस्यमा रहेर काम गर्नुभयो । तपाई जीवनको एकताकेन्द्रकाल कस्तो रह्यो ? माओवादी जनयुद्धमा सामेल हुन सक्नु भएन है ?
–मसालबाट विद्रोह गरी म लगायत मसालका थुप्रै नेता, कार्यकर्ताहरु नेकपा (एकताकेन्द्र) मा सामेल भयो । तर त्यहाँ पनि त्यस्तै भद्रगोल खुराफाती, जालझेल, षडयन्त्र नै बढी । विभिन्न गुटउपगुट । तैपनि त्यहाँको एउटा तप्का साँच्चै नै क्रान्तिकारी थियो । हामीले त्यो सँग एकता गर्ने ठूलो प्रयत्न ग¥यौं । तर प्रचण्ड कै षडयन्त्र र जालझेलका कारण त्यो सम्भव भएन । तैपनि त्यसको एकता महाधिवेशनमा मैले केही नयाँ फरक राजनैतिक प्रस्ताव पेश गरें । त्यो सुनाई भएन । त्यसपछि हामीले छुट्टै किसिमले पार्टी निर्माण गर्नुपर्ने र त्यस अनुरुपको संगठन र संघर्षको कार्यक्रम अघि सा¥यौं । एकताकेन्द्रको फुट अर्थात् पुरानो चौ.म र सर्वहारा श्रमिक संगठन एकातिर भने पूर्व मशाल र मसाल अर्कोतिर भई आ–आफ्ना राष्ट्रिय भेला भए । ती दुवैमा हाम्रो छुट्टै विचार समूहलाई बोलाईएको थियो । तर हामी बाबुराम सँगको लामो छलफलपछि छुट्टै राजनैतिक प्रस्ताव सहित पूर्व मशाल–मसालहरु नै राष्ट्रिय भेलामा जाने निर्णय ग¥यो । तर प्रचण्ड–बाबुरामले बेइमानी गरी मलाई उक्त भेलामा जान रोक लगाए । तैपनि हाम्रो त्यो प्रस्ताव सहित क. विकास केसी उक्त भेलामा गई त्यो प्रस्ताव त्यहाँ राखे । त्यसप्रति दुई दिन लामो छलफल भयो । अन्त्यमा त्यसलाई त्यहाँ कुनै स्थान नै दिइएन । त्यसपछि हामीले पनि छुट्टै भेला गरी माओवादी केन्द्र, नेपालको निर्माण ग¥यौं । त्यसको एक वर्षपछि फेरि प्रचण्ड–बाबुरामहरुले पनि नेकपा (माओवादी) पार्टी निर्माण गरी २०५२ फागुन १ देखि माओवादी जनयुद्धको थालनी गरे । त्यसको हामीले आलोचनात्मक समर्थन गर्दै त्यही पार्टीमा आ–आफ्नो ढंगबाट समावेश हुने निर्णयमा पुग्यौं । हाम्रा थुप्रै कमरेडहरु त्यसमा समावेश भए । तर म लगायत केही कमरेडहरु प्रति प्रचण्डको व्यक्तिगत पूर्वाग्रहीका कारण हामी त्यहाँ अटाएनौं । त्यसैले माओवादी जनयुद्धको समर्थन र सहयोग गर्दा गर्दै पनि त्यसमा म समावेश रहन सकिन । मैले शुरुदेखि नै प्रचण्ड षडयन्त्रकारी र धोकेबाज छन् । सबैलाई सचेत पार्दै आएको थिएँ । अन्ततः त्यही नै भयो । १० वर्षे माओवादी जनयुद्धको गला रेटेर यही सामन्ती, दलाल र नोकरशाही वुर्जुवा राज्य सत्ताको कुर्ची ओगटी बस्न पुगेका छन् ।
० तपाईसँग पार्टीमा काम गरेका व्यक्तिहरु अहिले सरकारी पदमा पुगे र विभिन्न किसिमले बदनामी पनि भएका छन् । राजनीति र कम्युनिस्ट आन्दोलनमा निरासा छाएको देखिन्छ । अब कम्युनिस्ट आन्दोलनको भविष्य कस्तो देख्नुहुन्छ ?
–हो मसँगसँगै काम गरेका धेरै व्यक्तिहरु विभिन्न सरकारी पदमा पुगेका छन् । ती मध्ये सबैलाई त नभनौं कोही बदनामी भएका छन् । यो स्वभाविक छ । जानी जानी फोहोरी गन्हाउने आहालमा पस्नेहरुको अवस्था त्यो भन्दा अरु हुने नै थिएन । अरु बाँकी सबैको स्थिति पनि भविष्यमा त्यस्तै हुनुको अर्को विकल्प नै छैन । निश्चय नै यसले राजनीति र कम्युनिस्ट आन्दोलनमा निरासा छाएकै छ । तैपनि क. लेनिनले भने जस्तै जहिले पनि सपना देख्नु पर्दछ । क्रान्तिको सपना देश र जनताको मुक्तिको सपना । नेपालको मात्रै होइन । विश्व कम्युनिस्ट आन्दोलनको उज्जवल भविष्यको सपना देख्नु पर्छ ।
० नेपाल कम्युनिस्ट आन्दोलनको सही कार्यदिशा कस्तो हुनुपर्दछ भन्ने ठान्नु हुन्छ ?
–नेपाल वर्तमान अवस्था अहिले पनि अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्था नै छ । पिछडिएको कृषिमा आधारित आर्थिक प्रणाली भएकाले कृषि क्रान्ति नै यसको मूल आधार हो । गाउँ परिवेष्ठिक मुलुक भएकाले पहिले गाउँ केन्द्रित राजनैतिक र आर्थिक विकास जरुरी छ । त्यसैले यहाँको आन्दोलन र क्रान्तिको सही कार्यदिशा माक्र्सवाद–लेनिनवाद अझ मुख्य गरेर माओवाद वा विचारधारामा केन्द्रित गाउँले शहर घेर्ने रणनीतिमा आधारित माओवादी जनयुद्धकै कार्यदिशा सही हो ।
० अहिले नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीको नेतृत्वमा राष्ट्रिय क्रान्तिकारी मोर्चा क्रियाशील भईरहेको छ । यो मोर्चालाई सल्लाह दिनु पर्दा के भन्नुहुन्छ ?
–यो मोर्चा प्रति मेरो पूर्व समर्थन र सहयोग छ । स्वयं क. सन्तबहादुर नेपालीबाट नै मैले यसको अवधारणापत्र पढ्न पाएको हुँ । त्यही अनुरुप मैले आफ्नो तरिकाले यसलाई सहयोग गर्दै आएको छु । यसैको आयोजनामा यहाँ यस्ता केही कार्यक्रम भइरहेका छन् । अरु मेरो जोड र सल्लाह यो मोर्चालाई अरु फराकिलो र अझ व्यापक बनाउनका लागि यस्ता अरु मोर्चाहरुसँग पनि एकता गर्न जरुरी छ । क. मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि यस्तै मोर्चा निर्माणमा जोड दिंदै आएको छ । यी सबै मोर्चाबीच एउटा बृहत राष्ट्रिय भेला आयोजना गरी सबै एउटै संयुक्त मोर्चा निर्माण गरौं । त्यो नभए मिल्ने सहमतिका आधारमा संयुक्त भई आन्दोलनको कार्यक्रम तत्काल अघि बढाउँ । देशमा चौतर्फी आन्दोलनको माग उठिरहेको छ ।
० देशको अहिलेको राजनैतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– वर्तमान नेपालको राजनैतिक परिस्थिति अत्यन्त संकटग्रस्त अवस्थामा रहेको छ । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका दिनप्रति दिन खस्कँदो हुँदै गइरहेको छ ।
राष्ट्रियता र देशको स्वाभिमान लगभग २००७ सालपछि कै अवस्थामा देखिंदैछ । देशका सम्पूर्ण शासकहरु भारतीय विस्तारवादी शासकका खेलौना जस्तै भएका छन् । एकपछि अर्को सबै भारतकै पक्षमा लम्पसार पर्दै आएका छन् । हालै मात्र नेपालको विद्युत भारत निर्यात र भारतले दिने भनिएको २० करोड आर्थिक रकम सम्बन्धी सम्झौताबाट नेपाल अब अर्ध औपनिवेशिक नरही प्रत्यक्ष भारतकै औपनिवेशिक एक प्रकारले भारतकै एउटा अर्को प्रान्तकै रुपमा पुगेको आभाष हुन्छ । त्यस्तै नेपाल अब अन्तर साम्राज्यवादी युद्धस्थल अर्थात् युक्रेन जस्तै पो हुने हो कि भन्ने गम्भीर आशंका देखिन थालेको छ । हिजोका प्रतिगामी (राजा, पंचे र मण्डले) हरुको दौडधुप र चुरुफुरीले र सत्ताधारी कांग्रेस–माओवादी अनि प्रतिपक्षी दल एमालेहरुको यथास्थितिवादी सोंच र द्वन्द्वले २०१७ सालमा जस्तै देशमा पुनः निरंकुश र अधिनायकतन्त्र हावी हुने शंका उत्पन्न हुन थालेको छ । त्यसैले यी सबै खाले प्रतिक्रियावादीहरुका विरुद्ध अग्रगमनका लागि संयुक्त संघर्षको जरुरी छ । नेपालको विगत आन्दोलनको इतिहासले पनि बेलाबेलामा यस्ता राष्ट्रिय संकट देखिंदै आएका थिए र अब एकपछि अर्को ठूलो यस्ता संकट देखिंदै छ । यसका लागि फेरि जनआन्दोलन, जनसंघर्ष र आवश्यकता परे पुनः जनविद्रोह वा जनयुद्ध नै गर्नु पर्ने भए पनि सबै एकताबद्ध भई आजैदेखि तमतयार भइबसौं ।
० अन्त्यमा हाँक साप्ताहिक मार्फत् थप भन्नु केही छ कि ?
– यो हाँक साप्ताहिक धेरै पुरानो पत्रिका हो । स्मरण रहोस् यो पत्रिका दर्ता र प्रकाशनका लागि हामी तीन जना क. शहिद शोभाखर धनञ्जय, राम कार्की र म विनबहादुर कुँवरको पहिलो भूमिका छ । काठमाडौंबाट केही अंक प्रकाशन भएपछि यो लामो समयसम्म बन्द भयो । २०४२ सालमा स्वयं यो पत्रिकाका पहिलो सम्पादक र प्रकाशक क. शहिद शोभाखर धनञ्जय (सरोज शर्मा) र म सिन्धुपाल्चोक ठूला पोखरास्थित श्री ककलिङ हरिसिद्ध माविका शिक्षक भई बसेका थिए ।
२०४२ आषाढको बम काण्डपछि शोभाखरलाई बढो मुस्किलले सुरक्षित भारत पठाउने काम भयो । यो नाता र सम्बन्धले पनि यो पत्रिका प्रति मेरो ठूलो लगाव रहँदै आएको छ । हालका सम्पादक तथा प्रकाशक क. गोविन्द सिंह थापा पनि मेरो आदरणीय अभिभावक एउटै जिल्लावासी पुरानो एउटै पार्टी मसालका नेता कार्यकर्ता भएबाट पनि यो पत्रिका प्रति मेरो सम्मान रहँदै आएको छ । त्यस्तै यसले उठाउँदै आएको विभिन्न विचार र दृष्टिको पनि हामी सबैको एउटै सहमति रहँदै आएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित