वर्तमान दलाल पुँजीवादी सत्ताले अग्रगमनलाई रोक्न प्रतिगामीहरुसित साँठगाँठ गर्न थालेको छ

– लक्ष्मण उप्रेती
महासचिव, नेकपा (रातो तारा)
लक्ष्मण उप्रेती नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुनुहुन्छ । बुबा गणेश उप्रेती र आमा ज्ञानदेवी उप्रेतीबाट २०३१ सालमा माघ १० गते लक्ष्मण उप्रेतीको सिन्धुपाल्चोकको लिशंखुमा जन्म भएको यिो । दुई दिदीका एक भाई मात्र उहाँ सक्लो छोरा हुनुहुन्छ । उप्रेतीले पर्सा जिल्लाको श्री ज्ञानवाटिका माविबाट अध्ययन सुरु गर्नु भएको थियो । उहाँले बाघ भैरव मावि थोकर्पा, सिन्धुपाल्चोकबाट एसएलसी उत्तिर्ण गर्नु भएको थियो । प्राइभेटबाट वि.ए. सम्मको अध्ययन पूरा गर्नु भएको थियो ।२०४४ नेकपा (मशाल) निटक अखिलबाट राजनीतिमा आबद्ध हुनुभयो । २०४६ को राजनीतिक परिवर्तन पछि उहाँ अखिल (छैठौं) मा क्रियाशील हुन थाल्नु भएको उप्रेती अखिल (छैठौं) को २०५५ मा चौधौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कोषाध्यक्ष हुनुभयो । उहाँ अनेराजमोको केन्द्रीय सदस्य, हाँक साप्ताहिकको व्यवस्था लगायतका जिम्मेवारी पूरा गर्दै कम्युनिस्ट आन्दोलनका विभिन्न अनुभव संगाल्दै अहिले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणको आवश्यकतामा जोड दिंदै आउनु भएको छ । प्रस्तुत छ लक्ष्मण उप्रेतीसित हाँक साप्ताहिकको कुराकानी ः

  •  अहिले राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
    – अहिले देशको राजनीतिक परिस्थिति जटिल र गम्भीर परिस्थितिबाट अगाडि बढिरहेको छ । देशको स्वतन्त्रता र सार्वभौमिकता खतरामा परेको छ । इतिहासमा सबैभन्दा बढी देशको राष्ट्रिय स्वाधीनता अहिले संकटमा परेको छ । राष्ट्रघाती एमसीसी सम्झौता पछि देश नव औपनिवेशिकरण तर्फ तीव्ररुपले अगाडि बढिरहेको छ ।
    इतिहासमा जसले सबैभन्दा बढी राष्ट्रिय स्वाधीनताको कुरा गर्दथ्यो । ती शक्तिहरु नै अहिले राष्ट्रघातमा लागेकाले जनतामा अविश्वास बढेर गएको छ ।
    जनता र राष्ट्रकै कुरा गर्दै आएकाहरुले नै ती कुराहरु माथि घात गर्दै आएकाले स्थिति गम्भीर भएको छ । जनताहरु भ्रममा परिरहेका छन् ।
    अहिलेको देशको विकराल स्थितिबाट अगाडि बढ्ने भन्दा पनि यो परिस्थितिलाई बहाना बनाएर प्रतिगामी शक्तिहरु देशलाई राजतन्त्र, हिन्दु राष्ट्रतिर फर्काउन खोजेका छन् । वर्तमान दलाल सत्ता अग्रगामी संघर्षलाई रोक्ने पक्षमा छ । वर्तमान दलाल पुँजीवादी सत्ता अग्रगमनलाई रोक्न प्रतिगामी शक्तिसित मिलेर जान सक्ने सम्भावना पनि बढेर गएको छ । यो स्थितिमा क्रान्तिकारीहरुको एउटा बलियो शक्ति निर्माण हुन सकिरहेको छैन । त्यसप्रति ध्यान दिनु पर्ने ऐतिहासिक आवश्यकता बनेको छ ।
    ० अहिले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको अवसर पारेर हिरक वर्ष पनि मनाइँदैछ । संक्षिप्तमा नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दा के भन्नु हुन्छ ?
    –कम्युनिस्ट आन्दोलनको गम्भीर ढंगले समीक्षा गर्न जरुरी छ । रुसी क्रान्ति, चिनियाँ क्रान्ति, भारतको कम्युनिस्ट आन्दोलन यी विभिन्न अन्तर्राष्ट्रिय कम्युनिस्ट अन्दोलनको प्रभावले नेपालमा कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालमा नेपालमा नयाँ जनवाद, समाजवाद स्थापना गर्ने लक्ष्य राखेको थियो । ७५ वर्षमा पनि त्यो मूल उद्देश्यमा कम्युनिस्ट पार्टी पुग्न सकेको छैन । कम्युनिस्ट आन्दोलनमा देखा पर्ने विभिन्न संशोधनवाद र गलत भड्कावहरुका कारण लक्ष्यमा पुग्न सम्भव भएको छैन । क्रान्तिकारी कम्युनिस्टहरुमा पनि विभिन्न निम्न पुँजीवादी चिन्तन, संकीर्ण र गुटगत मानसिकताका समस्याहरु छन् । त्यसले गर्दा पनि सच्चा कम्युनिस्ट आन्दोलन जनताको शक्ति आर्जन गर्दै अगाडि बढ्न सकिरहेको छैन । सिद्धान्त, विचार, दस्तावेजीकरणमा त्यति धेरै समस्या देखिंदैन । तर व्यवहारमा पद, नेतृत्व, आफ्नो अनुकूलता हेर्ने, पूर्वाग्रह जस्ता संकीर्ण चिन्तनले गर्दा एउटा शक्ति निर्माण गर्न सम्भव भएको छैन । प्रतिक्रियावादी सत्ताले नै कम्युनिस्ट आन्दोलनलाई प्रयोग गर्ने जस्ता समस्या छन् ।
    कम्युनिस्ट आन्दोलनका उल्लेखित दक्षिणपन्थी पलायनता जस्ता नकारात्मक पक्ष हुँदा हुँदै पनि सकारात्मक पक्ष पनि छन् । आम जनतामा अहिले पनि कम्युनिस्ट आन्दोलन प्रतिको समर्थन हराएको छैन । घर घरमा माक्र्सवाद लेनिनवाद, कम्युनिस्ट पार्टीको प्रचार अहिले पनि ताजै छ । साना–साना क्रान्तिकारी कम्युनिस्ट पार्टी समूह, व्यक्ति व्यक्तिहरुले क्रान्तिकारी विचारलाई बचाएर राखेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको यो एउटा निकै सकारात्मक पक्ष हो । नयाँ जनवादी क्रान्ति वा समाजवादी क्रान्ति नभइ देशको समस्या हल हुन्न भन्ने विचारहरु अहिले पनि जीवितै छन् । यस्ता क्रान्तिकारी विचारहरुलाई कसरी सुदृढ गर्दै जाने बारेमा छलफल भइरहेको छ । यसलाई पनि सकारात्मक रुपमा लिनु पर्दछ । कम्युनिस्ट आन्दोलनको नकारात्मक पक्ष छाडेर सकारात्मक पक्षलाई समाउँदै अगाडि बढ्नु पर्दछ ।
    ० तपाईले वाम एकताको कुरा गर्नु भयो । उता समाजवादी मोर्चा बनेको छ । यता राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल पनि बनेको छ । एकताको प्रयास पनि चल्दै आएको छ नि ?
    – चाहे प्रतिक्रियावादी पार्टीहरु हुन् वा कम्युनिस्ट पार्टी होउन् । ती सबै पार्टीहरु निश्चित उद्देश्य राखेर गठन भएका हुन्छन् । कम्युनिस्ट पार्टी सर्वहारा वर्ग र किसान, मजदुर वर्गको सत्ता स्थापना गर्ने उद्देश्यले गठन भएको हुन्छ । कम्युनिस्ट पार्टीको दीर्घकालीन उद्देश्यहरु छन् । सत्तासित जोडिएको उद्देश्य छ । आमूल परिवर्तन अहिले भर्खरै सम्पन्न हुने कुरा त भएन । मात्रात्मक रुपमा संघर्षको विकास गर्दै गुणात्मक लक्ष्यमा अर्थात् रणनीतिक उद्देश्यमा पुग्नु पर्दछ । त्यो ठाउँमा पुग्ने बाटो तय गर्नु प¥यो । क्रमशः खुड्किला पार गर्दै जानु पर्ने हुन्छ । अहिले क्रान्तिकारी शक्तिहरुका बीचमा दीर्घकालीन उद्देश्यका सम्बन्धमा खासै विवाद छैन । तर त्यो रणनीतिक उद्देश्यमा पुग्नका लागि कार्यनीति तय गर्ने विषयमा अस्पष्टताहरु छन् । क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा बसेर छलफल गर्दै जाँदा कार्यनीतिमा स्पष्टता हुँदै जान्छ ।
    अहिले विद्रोहका लागि परिस्थिति तयार हुँदै गएको छ । जनताका तमाम शोषण, उत्पीडन, अन्यायका मुद्दाहरुलाई उठाएर संघर्षमा जानु पर्ने आवश्यकता छ । त्यसको निम्ति भरपर्दो नेतृत्व भरपर्दो शक्ति आवश्यक छ । परिस्थिति विद्रोहात्मक छ तर क्रान्तिकारी शक्तिलाई अझै जनताले भर पर्न सकिरहेको छैन । विद्रोहात्मक चेत भएका व्यक्ति, व्यक्तित्वहरुको मनस्थिति अझै कमजोर छ । यस्तो स्थितिमा क्रान्तिकारी आन्दोलन फसिरहेको छ । यो स्थितिबाट क्रान्तिकारी आन्दोलनलाई माथि उठाउन मिहनेत गर्नु परेको छ । र, त्यही सन्दर्भमा राष्ट्रिय क्रान्तिकारी मोर्चा गठन भएको छ ।
    प्रतिक्रियावादी, दलालहरु मिलेर चुनाव लडिरहेका छन् र राष्ट्रघाती र देशभक्त भन्नेहरु पनि मिलेर चुनाव लडेका छन् । यसले जनतामा भ्रम सिर्जना गरेको छ । जनताले कसलाई भोट दिने ? निर्वाचनमै जनतालाई अलमलमा पारेका छन् । समानुपातिक निर्वाचनमा समावेशीको मर्म विपरीत गएर आफ्ना नाता, कुटुम्ब पैसावालालाई टिकट दिने जस्ता चरम लापरवाही संसदवादी दलहरुले गरिरहेका छन् । देश लुट्न बनाइएका यस्ता गठबन्धनहरुलाई नतोडिकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन । भर्खरै ठूलो आन्दोलन उठ्न नसकेको अवस्थामा अहिले नै जनगणतन्त्र स्थापना हुन सक्दैन । यस स्थितिमा हामीले क्रान्तिकारी शक्तिहरु एक गठ भएर प्रगतिशील, देशभक्त शक्तिहरुको प्रगतिशील राष्ट्रिय सरकार निर्माण गर्ने गरी आन्दोलनलाई अगाडि बढाउन पर्दछ ।
    ० संशोधनवादका विरुद्ध कसरी लड्ने हो ? क्रान्तिकारी शक्तिहरुको जनमत पनि कमजोर हुँदै गएको छ ?
    – संशोधनवाद भनेको सैद्धान्तिक र वैचारिक समस्या हो । संशोधनवाद कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्न आएको योजनाबद्ध कम्युनिस्ट विचार विरोधी धारा हो । संशोधनवाद जसरी जन्मियो, त्यसरी नै त्यसको प्रतिकार गर्नुपर्छ । संशोधनवादले कम्युनिस्टको खोल ओढेर कम्युनिस्टलाई सिध्याउने कार्यमा लागेको हुन्छ । भन्दाखेरी माक्र्सवाद लेनिनवाद भन्छ, हँसिया हथौडाको झण्डा पनि बोकेको हुन्छ तर काम गर्दा शोषित पीडित वर्गको हैन प्रतिक्रियावाद र साम्राज्यवादलाई सेवा गरिरहेको हुन्छ । संशोधनवादलाई परास्त गर्न माक्र्सवाद–लेनिनवादका आधारभूत कुराहरु कार्यकर्ता र जनताका बीचमा पु¥याएर जागरण ल्याउनु पर्दछ । वर्गसंघर्ष पुरानो भयो । माक्र्सवाद पुरानो भयो भनेर जनतामा संशोधनवादले भ्रम फैलाइरहेको हुन्छ । तर वर्गसंघर्ष यत्रतत्र हुन्छ । त्यो कुरा जनतालाई बुझाएर, त्यो विचारको आलोकमा जनतालाई संगठित गरेर संशोधनवादविरुद्ध संघर्ष गर्नुपर्दछ । विप्लवकै कुरा गरौं । देश सुहाउँदो समाजवाद स्थापना गर्ने भनेका छन् । समाजवाद त वैज्ञानिक नै हुनुप¥यो नि । नयाँ जनवादी क्रान्ति हैन, समाजवादी क्रान्ति हैन, एकीकृत जनक्रान्ति, यो के हो त ? यो त संशोधनवाद हो नि । आफूलाई सबभन्दा क्रान्तिकारी देखाउने पनि संशोधनवादी भासमा गिर्न सक्छ ।
    क्रान्तिकारी व्यक्ति व्यक्तित्वहरु र क्रान्तिकारी पार्टीहरुको एकता, जनताका व्यवहारिक समस्याहरुलाई उठाएर संघर्ष गर्ने, माक्र्सवाद माथि भएका हमलाहरुलाई चिरफार गर्ने गरेर संघर्षको मैदानबाट नै संशोधनवादलाई परास्त गर्नुपर्दछ । या त संशोधनवाद विरुद्ध लडेर परास्त गर्नु प¥यो, या त संशोधनवादको दास हुनुप¥यो । यो चुनौती हाम्रो सामु छ ।
    ० कम्युनिस्टहरुलाई एउटा आरोप छ नि, यिनीहरु हावामा हिंड्छन् । ठोस योजना हुनुप¥यो भन्ने गरिन्छ नि ?
    –मुख्य कुरा राजनीतिक कार्य दिशा हो । आर्थिक, उत्पादनका कुरा पनि कम्युनिस्ट आन्दोलनमा योजना बन्नु पर्दछ । तर राजनीतिलाई माथि राख्नु पर्दछ । आर्थिक कुरा, उत्पादनका कुरा मात्र गर्दा त्यो अर्थवादमा फस्ने खतरा हुन्छ । अर्थवाद प्रकारान्तरले संशोधनवाद हो । उत्पादन कार्यलाई वर्गसंघर्ष र सर्वहारा वर्गको राजनीति सित जोड्नु पर्दछ ।
    ० अहिलेको नेपाली समाजका वर्गीय मुद्दाहरु के हुन सक्दछन् ?
    –थुप्रै वर्गीय मुद्दा छन् । प्रत्यक्ष जनतासित जोडिएका थुप्रै मुद्दा छन् । बैंक, लघुवित्त, सहकारीहरुले कानुनी पाटा मिलाएरै ठगिरहेका छन् । जस्तै कुनै व्यक्तिलाई वित्तिय संस्थाले ठग्यो भने उसले मुद्दा मामला गर्न लाग्यो भने ठगिने वालाले नै मुद्दा हार्दछ । शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा त्यही स्थिति देख्नुहुन्छ ।
    कुनै एउटा कम्पनीले भन्सार तिरेर एउटा बाइक किन्छ । कुनै व्यक्तिले त्यही वाइक कम्पनीसित किन्दा पनि त्यो व्यक्तिले कर तिर्नुपर्दछ । राज्यलाई भन्सार तिरेरै माल लिएको हुन्छ । त्यो माल अर्थात् कम्पनीसित किनेको बाइकलाई यातायात कार्यालयमा गएर उपभोक्ताले फेरि कर तिर्छ । बाइक बेच्दा त भन्सार कर तिरेको मूल्य समेत जोडेको हुन्छ । त्यसरी उपभोक्ता पटकपटक एउटै सामानलाई कर तिर्नुपर्दछ ।
    विद्यार्थी, मजदुर, किसान आन्दोलन सबैलाई अहिले पार्टीहरुले सत्ता जोगाउने कवज बनाएका छन् । पेट्रोलमा त्यसरी नै कर जोडिरहेको हुन्छ । त्यो कुरा जनताले बुझ्दैन । ठगी भएका यस्ता तमाम शोषणका रुपहरुबारे जनतालाई बताउनु पर्दछ । क्रान्तिकारीहरुले शक्ति संचय गर्दै हस्तक्षेपकारी भूमिका खेल्नु पर्दछ ।
    ० हस्तक्षेपकारी भूमिका कसरी खेल्ने ?
    – वैधानिक प्रकारका सिर्जनात्मक आन्दोलन अगाडि बढाउनु पर्दछ । हाम्रो नीति, सिद्धान्त अनुसारको संगठनको स्वरुप बनाउनु पर्दछ । नीति सिद्धान्त क्रान्तिकारी छ तर संगठन क्रान्तिकारी छैन । हाम्रा यी समस्या छ ।
    ०राष्ट्रिय क्रान्तिकारी मोर्चामा पनि तपाईले नेतृत्व गरेको पार्टी आबद्ध छ । यो मोर्चा अव कसरी अगाडि बढ्छ ?
    –यो संघर्षको मोर्चा हो । यसको घोषणा पत्र वितरण भइरहेको छ । प्रदेशस्तरका संरचना बनेका छन् । भर्खरै मधेश प्रदेशको संरचना बन्यो । जनताको संघर्षलाई संगठित गर्न यो मोर्चा बनाएको हो ।
    ० क्रान्तिकारी पार्टीहरुका बीच पार्टी एकताको कुरा पनि भइरहेका छन् ।
    –पार्टी एकता सम्बन्धी जड मानसिकताले पनि अप्ठ्यारो पारेको हुन्छ । कस्तो पनि हुन्छ भने पूर्व स्कूलिङले पनि बाधा सिर्जना गरेको हुन्छ । कतिपय व्यक्ति यस्ता हुन्छन् जसले एकताको कुरामा जोड दिइरहेको हुन्छ तर उसले नै भित्रभित्रै एकता विरोधी काम पनि गरिरहेको हुन्छ ।
    ० एकतालाई कार्यनीतिको विवादले नै समस्या पारेको हुन्छ, हैन र ?
    –कार्यनीति एउटा परिस्थितिमा सही हुन्छ । त्यही कार्यनीति अर्को परिस्थितिमा बेठिक हुन्छ । कार्यनीति भनेको प्रयोग हो । प्रयोग गलतसिद्ध भए पुनर्विचार गरी एकपछि अर्को कार्यनीति अगाडि सार्न सकिन्छ ।
    ०अव एउटा कुरा गरौं, अहिलेको गठबन्धन परिवर्तन पछाडि कसको भूमिका ?
    –यो अहिलेको परिवर्तनमा एम.सी.सी. वालाहरुकै भूमिकाले भन्न सकिन्छ । भारत र चीनका आफ्ना स्वार्थ छन् तर यो गठबन्धनमा उनीहरुको भन्दा पनि पश्चिमा शक्तिहरुको हात छ ।
    ० हाँक मार्फत् भन्नु केही छ कि?
    –मैले २०५६–०५७ मा हाँक साप्ताहिक व्यवस्थापक भएर काम गरेको थिएँ । यसलाई थुप्रै व्यवधानका बाबजुद अगाडि बढाइरहनु भएको छ । म यसको निरन्तरताको कामना गर्दछु । हाँक संचालन सन्दर्भमा पछिल्लो प्रविधिहरुलाई अधिकतम प्रयोग गर्नुपर्दछ भन्ने मेरो सल्लाह छ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित