–पवन मान श्रेष्ठ
पि.वि.एम., क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तथा केन्द्रीय अध्यक्ष, अखिल नेपाल आदिवासी जनजाति महासंघ
१. वामपन्थी आन्दोलनमा लाग्नका लागि यहाँको जीवनमा प्रेरणाको श्रोत के थियो ?
— मेरो जीवनमा आकस्मिक घटना जस्ता त्यस्ता कुनै स्रोत थिएन । मेरो बुवा आफै वामपन्थी विचारको हुनुहुन्थ्यो । ललितपुर, महापाल हाम्रो टोलमा बुवाका साथीहरु चौथो महाधिवेशनमा आवद्ध साथीहरु हुनुहुन्थ्यो । बुवा जागिरे हुनुहुन्थ्यो र पंचायत कालमा खुल्ला राजनीति सम्भव पनि थिएन । बुवाले घरमा म सानो छँदा चिनियाँ सचित्र पुस्तक ल्याउनु हुन्थ्यो र त्यसको कथा हाल्नु हुन्थ्यो । बुवाले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई माया गर्नु हुन्थ्यो र कम्युनिस्ट पार्टीको उद्देश्य बारे बताउनु हुन्थ्यो । वामपक्षका पत्रपत्रिका पनि उहाँले घरमा ल्याइरहनु हुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर थियो र दैनिक जीवनमा घरमा त्यसको प्रत्यक्ष प्रभाव परिरहेकै हुन्थ्यो । बुवाको धैर्यता र उत्कृष्ट कम्युनिस्ट आचरणले मलाई भित्र गहिराइसम्म छोएको थियो । बुवा मेरो आदर्शकै रुपमा रहनु भएको छ । पार्टीभित्र लामो जीवनकालमा जसरी मैले बुवामा कम्युनिस्ट आचरण पाएको छु, त्यो स्तरको मैले संगत गरेका ठुलै नेतामा पनि विरलै पाएको छु । वामपन्थी आन्दोलनमा मात्र होइन, जनयुद्धमा आबद्ध हुन बुवाको सहयोग रह्यो, यद्यपि घरमा आमालगायत परिवारका अरु सदस्यहरुले मन पराएको थिएन । त्यसैले वामपन्थी आन्दोलनमा सहभागी हुनका लागि मेरो प्रेरणाको स्रोत बुबा नै हुनुभयो ।
२. ललितपुर जिल्ला जस्तो कम्युनिस्ट आन्दोलनको लामो इतिहास बोकेको ठाउँमा जन्मनु, हुर्कनुभयो, पुराना वामपन्थी नेताहरुबारे तपाईका कस्ता सम्झनाहरु छन् ?
— वामपंथी विचारमा समाहित र खासखास आन्दोलनमा सहभागी भएता पनि सांगठनिक रुपमा जोडिएको ०४६ सालको जनआन्दोलन र बहुदलको पुर्नस्थापना भएपछि नै थियो । ०४१ मा पाँच वामपन्थीहरुको संयुक्त आन्दोलनमा ललितपुरको गाबहालबाट पहिलो पटक गिरफ्तारीमा परेँ । क. तुल्सीलालसँग प्रत्यक्ष भेटघाट हिरासतमा नै भयो । ०४६ सालमा भएको जनआन्दोलनमा दोस्रो पटक गिरफ्तारीमा परेँ । यस बीचमा विद्यार्थी आन्दोलन तथा स्ववियु चुनावमा सहभागी भइन्थ्यो । नेताहरुसँग बाटोमा देख्ने गरिए तापनि प्रत्यक्ष भेटघाट थिएन । बुवाले ल्याउनु भएका पत्रपत्रिकामा नेताहरुको फोटाहरु पनि हुन्थे । पंचायत कालमा विशेषत ललितपुरमा रहेका वामपन्थी नेताहरु देखे, चिनिने भयो । बुवाले पनि ललितपुरमा रहेका तथा अरु नेताहरु बारे बताउनुहुन्थ्यो । त्यसले गर्दा उहाँहरुका बारे बढी सम्झना हुने गथ्र्यो । बुवाले ललितपुरका क.नरवहादुर कर्माचार्य, क.तुल्सीलाल, क.सिद्धिलाल, क.काइलाबा, क. दिलबहादुरको पनि कुरा गर्नुहुन्थ्यो । वहाँहरुलाई पंचायतकालमा नै देखभेटमा चिनिने भयो । यस बाहेक बुवाले ठुलो क्रान्तिकारी नेताको रुपमा क. निर्मल लामाको कुरा गर्नुहुन्थ्यो भने क. मोहनविक्रम र क. भक्तबहादुरको बारेमा पनि कुरा गर्नुहुन्थ्यो । रातो युगधारा पत्रिका क.कृष्णदासले निकाल्ने गर्नुहुन्थ्यो, यस पत्रिकासहित उहाँका अनुवादित तथा मौलिक पुस्तकहरु बुवाले ल्याउनु हुन्थ्यो । उहाँलाई पत्रिका र पुस्तकहरुबाटै चिनियो । बहुदलको पुर्नस्थापनापछि नै संगठनमा आवद्ध भएपछि नेताहरुसँग भेटघाट सहज र बारम्वार हुन थाल्यो । यसमा पनि तात्कालीन एकताकेन्द्रका नेताहसँग सहकार्य भयो । यसमा क.काइलाबासँग सबैभन्दा बढी र बारम्बार भेटघाट तथा कुराकानी क. नरबहादुरसँग हुने गथ्र्यो । उहाँहरुको इमान्दारिता, प्रतिवद्धता, सरलता र कम्युनिस्ट आन्दोलनमा समर्पित जीवनले म अत्यन्त प्रभावित पनि छु । तर उहाँहरुमा सैद्धान्तिक रुपमा निखरता र आवश्यक छलाङ मार्ने कुरामा अभाव जस्तो पनि पाएँ । क. निर्मल लामा ०४६ चैत्रका अन्तिममा पहिलो चोटि ललितपुर मंगलबजारमा भएको कार्यक्रममा प्रत्यक्ष देखियो । उहाँको विषय वस्तु र शैली मन प¥यो । उहाँ बढी रक्सी खाने कुरा सुनिएको थियो । एकता केन्द्रमा विवाद उत्कर्षमा पुगेको वेला उहाँ पार्टीमा कार्वाहीमा पर्नु भएको थियो । एक दिन उहाँ दिउँसो रक्सीले धुन्मुनिदै हिँड्नु भएको थियो । मैले अभिवादन गरेँ र हात समाएर उहाँलाई जाने ठाउँमा पु¥याइदिन्छु भन्दा उहाँले ठाडै अस्वीकार गर्नुभयो र आफै जान सक्ने बताउनुभयो । त्यस वेलाको इमान्दार, सरल र नैतिकवान तथा कम्युनिस्ट आन्दोलनका एक महारथीको त्यस्तो अवस्थाले मलाई गहिरो चोट पु¥यायो । वास्तवमा उहाँ कम्युनिस्ट आन्दोलनभित्रका पीडित नेताकै रुपमा रहनुभयो र उहाँको जीवनको अवसान पनि त्यसरी नै भयो ।
३. विद्यार्थी संगठनमा काम गरेको पनि तपाईँसित अनुभव छ । विद्यार्थी संगठन र आन्दोलनको अनुभव बारे सुनाउनुस् ।
— म पुल्चोक इन्जीनियरिङ कलेजमा बिई सिभिल पढ्दै थिएँ । मेरो पार्टीसँगको आबद्धता र विशेष गरी त्यस बेलाको एकता केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को एकता राष्ट्रिय सम्मेलन ताका त्यसको तयारीमा आर्थिक, संगठानिक र राजनीतिक रुपमा जसरी खटियो, उक्त सम्मेलनपछि ०४९ मा भएको ललितपुरको जिल्ला सम्मेलनमा मलाई सर्वसम्मतले अध्यक्ष चुन्यो । यद्यपि मलाई अध्यक्षमा नराखियोस् भन्ने मेरो प्रस्ताव थियो । मलाई ०५० मा विद्यार्थी संगठनमा केन्द्रमा लाने आएको प्रस्ताव अस्वीकार गरेपछि अर्को साथीलाई त्यसमा लगियो । त्यस वेलाका विद्यार्थी आन्दोलन पंचायतकालको पार्टीहरु प्रतिवन्धित रहेको वेला जस्तो थिएन । भरखर भरखर बहुदल आएको र पार्टीहरु आफै खुल्ला रुपमा आएको वेला शिक्षण संस्थामा विद्यार्थीका मुद्दासहित पार्टीकै नीति विद्यार्थी माझमा लाने काम नै हुन्थ्यो । त्यसै गरी व्यवहारिक, वैज्ञानिक जनवादी शिक्षा, निशुल्क शिक्षा, शिक्षामा निजीकरणको अन्त्य र शिक्षाको सर्वसुलभता विद्यार्थी संगठनको मुद्दा हुन्थ्यो र संगठन विस्तारमा यो एउटा महत्वपूर्ण हतियार हुने गर्दथ्यो । यस बाहेक देश र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु पनि विद्यार्थी आन्दोलनको महत्वपूर्ण मुद्दा हुन्थ्यो । अर्को स्ववियू कब्जा गरेर विद्यार्थी संगठन र पार्टीको नीति विद्यार्थी बीचमा लाने कोशिस हुने गथ्र्यो । यसले गर्दा नेवि संघ र अखिल (पाँचौँ)सँग वेला वेलामा ठुलै झडप र भिडन्त हुने गथ्र्यो । पार्टीले आयोजना गरिएका बन्द, हडताल, घेराउ, धर्ना लगायतको प्रचार प्रसार तथा आन्दोलनलाई सशक्त र सफल बनाउन विद्यार्थीको ठूलो भूमिका हुने गर्दथ्यो । ललितपुर जिल्लामा म विद्यार्थी संगठनको अध्यक्षको हैसियतले सक्दो महत्वपूर्ण भूमिका खेल्न पाएँ ।
४. अहिले तपाईँले तेतृत्व गरिरहेको अखिल नेपाल आदिवासी जनजाति महासंघको संक्षिप्त इतिहास जानकारी गराउनु हुन अनुरोध छ ।
— म तात्कालीन नेकपा (माओवादी)बाट आएँ । जनयुद्ध शुरुका ताका अखिल नेपाल आदिवासी जनजाति संघको केन्द्रीय सदस्य थिएँ । जनयुद्धकै शुरुवातको वेला यसको सम्मेलन पोखरामा भएको थियो । ०५४ सालमा पार्टीले जातीय मोर्चा निर्माण गर्ने नीति ल्याएपछि अखिल नेपाल आदिवासी जनजाति संघ निष्क्रिय भयो । ०५५ जेठ ९ गते नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल गठन भयो, म यसको संस्थापक अध्यक्ष भएँ । जनयुद्धको समापनपछि आदिवासी जातीय क्षेत्रीय महासंघ गठन भएपछि म यसको केन्द्रीय सदस्य भएँ । पछि ०७३ कार्तिकमा अखिल नेपाल जनजाति राष्ट्रिय सम्मेलनसँग एकता भएपछि अखिल नेपाल आदिवासी जनजाति महासंघ बन्यो । यसको म उपाध्यक्ष भएँ । पछि म यसको अध्यक्ष भएँ । हाल पुनः अर्को अखिल नेपाल जनजाति सम्मेलनसँग एकतापछि पनि अध्यक्षमा छु । महासंघको इतिहासलाई पनि यसै रुपमा बुझ्न सकिन्छ ।
५. आदिवासी र जनजाति सम्बन्धी आइएलओ महासन्धि १६९ लाई नेपालले २०६४ मा संदबाट अनुमोदन गरेको थियो । आदिवासी सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणा पत्र २००७ लाई पनि नेपालले पक्ष राष्ट्र भई स्वीकारेको छ । नेपालमा उक्त दुई अन्तर्राष्ट्रिय दस्तावेज कार्यान्वयनको अवस्था कस्तो पाउनु भएको छ ?
— आइएलओ १६९ र घोषणा पत्रहरु सोभियत संघ विघटनपछि ल्याइएको देखिन्छ । सोभियत संघको विघटनपछि पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन आदिवासी जनजातिहरुलाई आधार बनाएर विश्वमा फैलिदै गएपछि संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको अधिकारको रुपमा यी दस्तावेजहरु आए । यसको मूल उद्देश्य आदिवासी जनजातिहरु क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा सहभागी नहुन् भन्ने नै देखिन्छ । तर जहाँ यस्ता आन्दोलनहरु उठेका छैनन्, त्यस्ता देशहरुका आदिवासी जनजातिहरुका अधिकार स्थापित गर्न यसलाई व्यवहारमा ल्याउन सक्दा सकरात्मक नै हुने देखिन्छ । तर प्रायः जसो हस्ताक्षर कर्ता देशहरुले यसलाई लागू गरेको देखिँदैन । जनयुद्धको समापनपछि नेपालको अहिलेको अवस्थामा यसलाई लागू गर्न सक्दा राम्रो हुन्थ्यो तर लागू हुन सकेको छैन । यी दस्तावेजलाई लागू गर्ने र लागू भए नभएको अनुगमन गर्ने कुनै निकाय पनि छैन । काठमाडौँका आदिवासी नेवाःहरुबाट आउटर रिङरोड र फास्ट ट्राय्कको विरोध हुँदा हुँदै पनि जबरजस्ती लागू गरिँदैछ भने हालसालै पनि मुकुम्लुङ (पाथीभारा)मा त्यहाँका आदिवासी जनजाति लिम्बूहरुले केवलकार निर्माणको विरोध गर्दागर्दै पनि दमन गरेर लागू गर्ने प्रयत्न भइरहेको छ ।
६. नेवाः भित्रै नेवाःलाई जनजाति भन्नु हुन्छ र भन्नु हुन्न भन्ने फरक मत छन् । यस बारे तपाईँको धारणा के छ ?
— आदिवासी जनजाति उत्थान प्रतिस्थानले नेवाः जातिलाई जनजातिमा सुचिकृत गर्ने वा नगर्ने भन्ने प्रश्न उठेपछि यो विवाद सतहमा आएको देखिन्छ । यो विवाद आउनुको पछाडि वृहत्त नेपाली शब्दकोषमा जनजाति भनेको जमिन खनी खोस्री गिठ्ठा भ्याकुर खाने जातिको रुपमा व्याख्या गरिनु पनि विवादको महत्वपूर्ण कारण बनेको थियो । नेपाल कै सबैभन्दा विकसित जाति कसरी जनजाति हुन सक्छ भनेर नेवाःहरुले उठाएको पाइन्छ । तर प्राध्यापक माणिकलाल श्रेष्ठ, पद्मरत्न तुलाधरले नेवाःको त्यस बेलाको स्थिति र नेवाःलाई जनजातिमा सुचिकृत गर्दा जनजातिको आन्दोलन उठाउन नेवाः जातिको महत्वपूर्ण योगदान हुन सक्ने आँकलन पनि गरिएको कुरा स्पष्ट पारिएपछि अहिले यसमा विवाद छैन । जनजाति शब्द मानव समाजको विकासको स्थितिलाई दर्शाउने पदावली हो । माक्र्सवादी अवधारणा अनुसार समाज सामन्तवादबाट पूँजीवादमा विकास हुने चरणमा आर्थिक गतिविधिले मानव समाजको अन्तरघुलनबाट जनजातिबाट जाति बन्दछ । यसरी हेर्दा नेपालमा कुनै पनि जाति जनजातिबाट विकास भएर जाति वा नेशन बनेको देखिँदैन । विकसित जाति भनिएकाहरु पनि जनजातिकै अवस्थामा छन् ।
७. नेपाली कम्युनिस्ट आन्दोलनमा जनयुद्धको योगदानलाई समीक्षा गर्नु पर्दा के भन्नु हुन्छ ?
— नेपाली जनयुद्ध नेपालकै इतिहासमा सबैभन्दा ठुलो परिघटना मध्ये एक हो । जनताले आफ्नो अधिकार स्थापित गर्न १० वर्षसम्म प्रतिक्रियावादी संसदीय व्यवस्थाको विरुद्ध चलाएको यो जनताको महान् युद्ध हो । यद्यपि यसमा कतिपय व्यवहारिक कमीकमजोरीहरु र सीमा पनि रहेका छन् । तर यसको अवसान यसकै प्रमुख नेतृत्वको राष्ट्रिय तथा वर्गीय आत्मसमर्पण र धोकाधडीबाट हुन पुग्यो । यसको उत्कर्षको रुपमा नयाँ जनवादी व्यवस्था स्थापित गर्ने हदसम्म पुग्न सफल भएन । तर जनयुद्धको दौरानमा आधार इलाका, स्थानीय सत्ता, र सात डिभिजनको जनमुक्ति सेनाको निर्माण, ८० प्रतिशत भूगोल जनसत्ता अन्र्तगत आउनु जनयुद्धको महत्वपूर्ण उपलब्धि थियो । यसका साथै देशका सबै पक्षका जनतालाई आफ्नो अधिकार प्रतिको सचेतना जगाउन सक्नु र जनताको ठुलो हिस्सालाई परिचालिन गर्न सक्नु अर्को महत्वपूर्ण उपलब्धि हो । नेतृत्वको गद्दारी र आत्मसमर्पणका बाबजुद सीमित उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक र समावेशी जस्ता अधिकार जुन नामका मात्र छन्, पनि जनयुद्ध कै उपलब्धिहरु हुन् । सारमा भन्दा जनयुद्ध महान् रहेको छ ।
८. जनयुद्ध कालको कुनै अविस्मरणीय घटना ?
— जनयुद्ध प्रतिको शुरुमा बुझाई फौजी युद्ध भन्ने नै लाग्थ्यो । ०५२ फागुण १ गते ललितपुरका विभिन्न ठाउँमा राति जनयुद्धको पोस्टर टास्ने काम भयो । पोस्टर टास्न जाँदा एक प्रकारका रोमाञ्चकता थियो । त्यसै बीचमा पूर्व पंचमन्त्रीको घरमा मेरै नेतृत्वमा पेट्रोल बम हान्ने काम भयो । अर्को महत्वपूर्ण क्षण अछामको मंगलसेन व्यारेकमा भएको सफल आक्रमण थियो, यद्यपि म त्यस वेला काठमाडौमा थिएँ । तर संकटकाल घोषणापछि राज्यबाट लगातार भइरहेको दमन र त्यसलाई चिर्न सफल उक्त फौजी कारवाहीले ममा ठुलै रोमाञ्चकता र उत्साह पैदा गरेको थियो । जनयुद्धकालमा काठमाडौमा बम र पेस्तोल बोकेर बाटोमा हिँड्दा कहिले काहीँ शाही सेनाका टोलीसँग जम्काभेट हुने वेलामा निडर र सामान्य भएर शाही सेनासँगसँगै पनि हिडिने गरिन्थ्यो । यी अरु रोमाञ्चक र अविस्मरणीय घटनाहरु हुन् । कतिपय वेला दुश्मनको गिरफ्तारीमा परेको जस्तो भएर पनि फुट्किएको अवस्था पनि अविस्मरणीय घटनाका रुपमा रहेका छन् । संकटकालभन्दा अगाडिका जेल र हिरासत पनि अविस्मरणीय घटनाहरु हुन् ।
९. मुकुम्लुङमा केवलकार निर्माणको विषयलाई लिएर चलिरहेको आन्दोलनमा फरक फरक धारणा आइरहेका छन् । केवलकार निर्माणलाई रोक्नुभन्दा बरु स्थानीय जनताको शेयर सुनिश्चित गरेर, स्थानीय क्षेत्रको विकासमा केवलकार कम्पनीको योगदान पनि सुनिश्चित गरेर केवलकार बन्न दिनु पर्दछ भन्ने अर्को मत रहेको छ । यसो गर्दा पर्यटकको संख्यामा वृद्धि हुने र त्यस क्षेत्रका जनताको आय बढ्ने भनाई छ । केवलकार नै बनाउनु हुन्न भन्नु विकास विरोधी कुरा हो भन्ने मत छ । यस बारेमा तपाईँको भनाइ ?
— पहिलो कुरो केवलकार बनाउने योजना निर्माण गर्नु अगाडि नै मुकुम्लुङका स्थानीय जनता र लिम्बू जातिको धार्मिक आस्थाको स्थल भएकोले सम्बन्धित पक्षसँग राय, सल्लाह र सुझाव लिनु पर्दथ्यो । दोस्रो, उक्त योजना बनाउँदा लिम्बू जातिको पहिचान र आस्थामा पर्ने प्रभावबारे मसिनो तरीकाले अध्ययन गर्नु पर्दथ्यो । तेस्रो त्यहाँका जनताको आर्थिक क्रियाकलाप र अवस्थामा पर्ने प्रभावको मुल्याङकन गरिनु पर्दथ्यो । त्यहाँ त्यसो गरिएन । केवलकार निर्माणको कुराको जब थालनी भयो, त्यही वेलादेखि त्यहाँका स्थानीय जनता र लिम्बू जातिको लगातार विरोध हुँदै आएको भएतापनि व्यापारी चन्द्र ढकाल र उनको अघोषित पार्टनर ब्राम्हणवादी कथित जनप्रतिनिधिको साथ र समर्थनमा उक्त निर्माण प्रक्रिया अगाडि बढाइयो । यो प्रक्रिया विगत पंचायतकालीन प्रक्रियासँग हुबहु मिल्न पुगेको छ । नियम कानून सम्मत ढंगबाट व्यापारीले उक्त योजना पाएकोले दमनै गरेर पनि निर्माण कार्य सम्पन्न गरिने कुरा सरकार र चन्द्र ढकालले बोल्दै आएका छन् । सोही अनुसार अगाडि बढ्दा त्यहाँ स्थानीय जनताको सशक्त विरोध र पुलिस दमन तथा जनताको पनि ठूलो प्रतिरोध भएको छ । लिम्बू जाति र त्यहाँका जनताको भनाईमा लिम्बू जातिको पहिचान तथा आस्थामा केवलकार निर्माणले नकरात्मक असर पर्ने र सँगै त्यहाँका स्थानीय जनताका आर्थिक गतिविधिमा पनि प्रत्यक्ष असर पर्ने भन्ने रहेको छ भने यसको समग्र फाइदा व्यापारी र उसका पार्टनरले मात्र पाउने भन्ने रहेको छ । यत्रो विवाद र आन्दोलनको विषय बनिसकेपछि सो आयोजनालाई खारेज गरेर त्यहाँका जनता र लिम्बू जातिको पनि प्रतिनिधि राखेर नयाँ शिराबाट अध्ययन गर्नु पर्दछ । यस अध्ययनबाट आएको निष्कर्ष अनुसार केवलकार बनाउने वा नबनाउने टुंगो लगाउनु पर्दछ ।
१०. क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान संचालन गरिरहेको छ । यस्ता अभियान अन्य पार्टीहरुले पनि चलाएका छन् । तपाईँहरुको अभियान र अरुका अभियानका बीचमा फरक के हो ?
— क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनसम्बन्ध विस्तार अभियान चलाउनुको मुख्य उद्देश्य पार्टी र यसका नेता तथा कार्यकर्तालाई जनताको भूईँ तहसम्म पु¥याउनु, जनताका पीरमर्का, गुनासो र सुझाव सल्लाह सुन्नु, पार्टीको एकता महाधिवेशनले पारित गरेको कार्यदिशा तथा विभिन्न नीतिहरुबारे जनतालाई जानकारी दिई नयाँ जनवादी क्रान्ति र समाजवादको अपरिहार्यताको बोध गराई जनतासँग सम्बन्ध विस्तार गर्नु रहेका छन् । यो अभियानले क्रान्तिकारी संगठन निर्माणमा सहयोग पु¥याउने छ । अरु पार्टीका अभियान भनेको यही संसदीय व्यवस्थाभित्र आगामी ०८४ मा हुने चुनावमा ठूलो पार्टी बनेर सरकार बनाउने निहित उद्देश्यमा केन्द्रीत छ । सोझो भाषामा भन्दा फेरि जनतालाई संसद र सरकारमा जाने भ¥याङ बनाउनका लागि ती अभियान केन्द्रित छन् । हाम्रो अभियान संसदीय व्यवस्थालाई ध्वंस गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यमा केन्द्रित छ ।
११. कम्युनिस्ट पार्टी नाम गरेका थुपै्र पार्टीहरुका बीचमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई जनताका बीचमा अरु भन्दा यो फरक हो भन्ने आधार के के छन् ?
— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालमा आफूलाई कम्युनिस्ट पार्टी भनिएकालाई चार प्रकारमा विभाजन गरेको छ ः
क. क्रान्तिकारी कम्युनिस्ट पार्टी ः क्रान्तिमा बल प्रयोगको स्वीकार, सही विचार, नीति र व्यवहारसहितको सर्वहारा वर्गको अग्रदस्ता, यसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पर्दछ ।
ख. वाम राजनीतिक पार्टी ः बल प्रयोग र क्रान्तिका कुरा गर्दागर्दै पनि कतिपय विचार र नीतिमा सही र प्रष्ट नभएका, यसमा क. क्रृषि कट्टेल, क. लोकनारायण सुवेदी, क. आहुति, क. धर्मेन्द्र नेतृत्वका पार्टीहरु रहेका छन् ।
ग. दक्षिणपन्थी राजनीतिक पार्टीहरु ः बल प्रयोग र क्रान्तिका कुरा पनि गर्ने, कतिपय विचार र नीतिमा सही र प्रष्ट नभएको मात्र होइन, यस अन्र्तगतका पार्टीहरुमा संसदवाद, पुनरुत्थानवादप्रतिको आकर्षण र त्यसै अनुसारको व्यवहार भएका, यसमा नेकपा (मसाल), नेकपा (माले), नेमकिपा, नेकपा विप्लव समुह रहेका छन् ।
घ. दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टी ः समाजवाद र समाजवादी क्रान्तिको कुरा गरे पनि बल प्रयोगलाई अस्वीकार गर्ने, संसदीय व्यवस्थाबाटै समाजवाद आउने भन्दै संसदवादको रक्षाकवच बन्ने, यसमा नेकपा (एमाले), नेकपा (माके) र नेकपा (एस) रहेका छन् ।
१२. अन्त्यमा हाँक साप्ताहिक मार्फत थप भन्नू केही छ कि ?
— नेपालमा गणतन्त्र स्थापना भएको सत्र वर्ष भएको छ । जनयुद्ध र जनआन्दोलनको आंशिक उपलब्धिको रुपमा रहेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक र समावेशी जुन मुलतः नाम मात्रका छन्, तर पनि विगतको संवैधानिक राजतन्त्रात्मक व्यवस्थाभन्दा यो एक कदम अगाडि छ । यी उपलब्धिहरु उल्टाउन प्रतिगामी तथा पश्चागामीहरुले टाउको उठाउन थालेका छन् । यसको पछाडि संसदीय पार्टी, संसदीय व्यवस्थाको असफलता अनि तिनका नेता तथा कार्यकर्ताहरुका कुकर्मले गर्दा देश र जनता गंभीर संकटमा पर्दै गएको, जनता आजित र निराश भएको अवस्था रहेका छन् । यति वेला पहलकदमी लिनु पर्ने क्रान्तिकारीहरु कमजोर अवस्थामा रहेका छन् । यस्ता अवस्थामा मौका छोप्न प्रतिगामी शक्तिहरु सल्बलाई रहेका छन् । तर प्रतिगामी शक्तिका विरुद्ध सबैतिरबाट प्रतिवाद गरिनुपर्दछ ।
अन्तमा हाँक साप्ताहिकले विगतमा जस्तै देश र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दालाई सशक्त रुपमा उठाएर सर्वहारा वर्गीय आन्दोलनलाई मद्दत गरिरहन सकोस्, शुभकामना !
०८१÷१२÷१०
स्थानीय जनता र लिम्वु जातिको समेत प्रतिनिधि राखेर मुकुम्लुङको बारेमा नया“ शिराबाट अध्ययन गर्नुपर्दछ
Comments

