नयाँ जनवादी क्रान्ति सम्पन्न नभई देश र जनताको मुक्ति हुँदैन

  –विमल शर्मा, वामपन्थी नेता

२०३६ सालको आन्दोलनबाट राजनीतिप्रति आकर्षित भएका विमल शर्माले २०३८ सालमा पार्टीको आवेदन फारम भरेका थिए । २०४० मा पार्टी सदस्यता प्राप्त गरेको खबर शर्मा रोजगारीका सिलसिलामा भारतको पाण्डेचेरी केरलामा रहेका बेला बागलुङबाट पठाइएको थियो । शर्माले अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय अध्यक्ष रहेर काम गरेका थिए । पार्टीको सेल, नगर, जिल्ला हुँदै भारत शाखामा उनले काम गरे । २०५२ बैशाख १० गतेदेखि मसालको केन्द्रीय समितिमा आवद्ध भइ २०५८ देखि २०६८ सम्म ११ वर्ष शर्मा मसालको प्युठान जिल्ला सेक्रेटरी रही काम गरे । प्युठानबाट फर्किए पछि शर्माले मसालको केन्द्रीय प्रवक्ता र केन्द्रीय कार्यालय सचिव समेत रही काम गरेका थिए । सुदूर पश्चिममा अन्य पार्टीबाट आएका व्यक्तिहरूसित पार्टीको पी.वी. वा केन्द्रमा समेत सल्लाह नै नगरी पार्टी महामन्त्री मोहन विक्रम सिंहले पार्टी एकता गरेपछि शर्माले महामन्त्रीको स्वेच्छाचारीताको विरोध गरेका थिए । महाधिवेशनका बेलामा शर्मा अल्पमत पक्षमा रहे । महाधिवेशन पछि उनलाई राष्ट्रिय परिषदमा जिम्मा दिइयो र अन्य सबै जिम्मेवारीबाट हटाइयो । शर्माले आफूलाई लागेका विचार लगातार केन्द्रीय कार्यालयमा पठाइरहेका थिए । अन्त्यमा २०७७ साल कार्तिक २२ गते केन्द्रीय समितिको बैठकबाट उनलाई अनिश्चित कालका लागि पार्टीबाट निष्कासन गरिएको थियो ।

विमल शर्मा नेपालको कम्युनिस्ट आन्दोलनमा दशकौं व्यतित गेका व्यक्ति हुनुुहुन्छ । सच्चा कम्युनिस्ट आन्दोलनको संरक्षण र विकास कसरी गर्न सकिन्छ भनेर लगातार चिन्तनशील र क्रियाशील नेता हुनुहुन्छ । उहाँको जन्म हालको बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं. १ टार राम्चे भन्ने ठाउँमा भएको थियो ।। उहाँको बाबु भूमिश्वर पाध्या  आमा कैशिल्यादेवी हुनुहुन्थ्यो । उहाँको जन्म २०१० साल आश्विन ४ गते भएको थियो । ३ भाइ मध्ये उहाँ कान्छो हो । अर्की आमा खगेश्वरी तर्पm ३ दिदी, २ बहिनी जन्मिएका थिए ।  २० वर्षको उमेरमा २०३० साल फागुन ३० गते पर्वत जिल्ला कुर्घा तिप्लसेकी नैनकुमारी पाध्यसित विमल शर्माको विवाह भएको थियो । शर्मा २०४४ मा चितवनमा बसाई सर्नु भएको थियो । २०४७ सम्म गोरखपुर पार्टी कार्यालय, २०५९ मा बुटवल कार्यालय, २०५९ मा बुटवल बसाई र २०६७ देखि गैंडाकोट, नवलपुरमा बसाई गर्नु भएको छ । शर्माका २ छोरा मध्ये १ को मृत्यु भएको थियो । हाल एक छोरा गोविन्द शर्मा हुनुहुन्छ ।

यसपटक हाँक साप्ताहिकले वामपन्थी नेता विमल शर्मासित कुराकानी गरेको छ । प्रस्तुत छ शर्मासितको कुराकानी ः

० तपाईंले जीवनको लामो कालखण्ड ने.क.पा.(मसाल)मा होलटाइमर भएर बिताउनु भयो । मसाल नेतृत्वसित राजनीतिक तथा सङ्गठनात्मक अन्तर्विरोध भएपछि तपाईंलाई कारवाही गरियो । अहिले विशेष महाधिवेशनबाट नयाँ पार्टी नेकपा (मशाल) बनेको छ । कस्तो महसुस गर्नु भएको छ ? जीवनको कोर्स (बाटो) बदलिए जस्तो लागेको त छैन ?

– द्वन्द्वात्मक भौतिकवादले सबै चिज परिवर्तन हुन्छ भनेर मान्दछ । त्यसको सारतत्व द्वन्द्वात्मक हुन्छ । विपरित तत्वहरू बिच एकता र द्वन्द्व हुन्छ । जब विपरीत तत्वहरू आपसमा मिलेर अगाडि बढ्दछन् कुनैपनि चिजको विकास सही प्रकारले हुन्छ । विपरीत तत्वहरू एकापसमा नमिलाइकन विकास हुँदैन । त्यसैले विपरित तत्वको एकता सर्वेसर्वा कुरा हो ।

ने.क.पा. (मसाल)मा लामो समयसम्म काम गर्दा एकआपसमा मिलेर काम गरियो । नेतृत्वतहमा रहेर पनि काम गरियो । कैयौं जिल्ला, क्षेत्र, केन्द्रका जिम्मेवारी बहन गरियो । मूलतः सङ्गठनात्मक पक्षलाई बढी ध्यान दिएर काम गरियो । अहिले आएर स्वयंको क्षमता बृद्धि, सृजनात्मक काम भन्दा नेतृत्वले गराएको कामलाई बढी प्राथमिकतामा राखेर काम गरिएको रहेछ भन्ने महसुस भएको छ । विचारहरू छिपछिपेबाट अगाडि बढ्दै जान्छन् । सामान्यबाट विशेष हुँदै जान्छन् । नबुझ्ने अवस्थाबाट बुझ्ने हुँदै जान्छन् । मसालमा रहेर काम गर्दा जुन जिम्मेवारी साथ काम गरिएको थियो त्यसले व्यवहारिक, सङ्गठनात्मक तथा राजनीतिक जीवनबारे धेरै ज्ञान प्राप्त भएको छ । जीवनको बाटो नै परिवर्तन भएको छैन । अहिले पनि राजनीतिक बाटोमै सक्रिय छु । केही समय पहिले सम्पन्न भएको नेकपा (मशाल)को विशेष महाधिवेशनपछि जिम्मेवारी अरू बढेको महसुस गरेको छु ।

० भारतमा रहँदाको जागिरे जीवन र निजी जीवनभन्दा पार्टी जीवन रोजेर यहाँसम्म आउनु भयो । यस सम्बन्धमा एउटा कुरा बताइदिनुहोस न निजी जीवन र पार्टी जीवनमा के फरक रहेछ ?

– पार्टी जीवन र निजी जीवनमा धेरै फरक छ । पार्टी जीवनले समग्रलाई प्रतिनिधित्व गर्दछ । पार्टी जीवनले दुनियाँलाई हेर्न सिकाउँछ भने निजी जीवनले सीमित घेराभित्र व्यक्तिगत विषयमा कैद गर्दछ । पार्टी जीवन सर्वोत्कृष्ट जीवन हो भन्ने लाग्दछ । पार्टी जीवन र निजी जीवन अलगअलग भएपनि ती दुवै एक आपसमा जोडिएका हुन्छन् । पार्टी जीवनले सामुहिकतामा जोड दिन्छ । समाज बदल्ने विषयमा जोड दिएको हुन्छ । अहिले भएकोभन्दा उन्नत बनाउन छलफल गराउँछ । उचनिचका विरुद्ध समानताको पाठ सिकाउँछ । मानवताको वास्तविक अर्थ सिकाउँछ । एक मानवले अर्को मानवलाई सम्मान गर्न सिकाउँछ । मानवले मानवलाई सभ्य सुसंस्कृत बनाउने पाठ सिकाउँछ । मानवताको विरुद्धमा हुने षड्यन्त्र, जालझेल, शोषणका विरुद्ध सामुहिक रूपमा सङ्घर्ष नगरिकन आफ्नो हक अधिकारको संरक्षण गर्न सकिंदैन भन्ने कुरा सिकाउँछ । क्रान्तिको बाटोमा अगाडि बढ्न सिकाउँछ ।

० तपाईं लामो समय भारतमा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको नेतृत्व गर्नुभयो । नेपालमा सङ्गठनमा काम गर्नु र भारतमा सङ्गठनमा काम गर्नुमा के फरक छ ?

– मैले भारतमा रहँदा २०४३ देखि २०५२ सम्म युवक मोर्चाको नेतृत्वतह र नेतृत्वमा रहेर काम गरेको थिएँ । विदेशमा रहेर सङ्गठनको काम गर्नु र देशभित्र रहेर सङ्गठनको काम गर्नु होलटाइमर कार्यकर्ताका लागि मूल रूपमा एउटै हो । विदेशमा मालिक र कम्पनिहरुको दमनसंग प्रत्यक्ष संघर्ष हुन्छ । नेपाली मजदुरहरुलाई कडा परिश्रम र अन्य विभिन्न झुटटा आरोपहरुका समस्याहरु पर्दछन् । नेपालमा कामको समस्या, जनविरोधि सङ्गठनहरूसित तीव्र सङ्घर्षको स्थितिको सामना गर्नुपर्दछ भने विदेशमा त्यस्तो स्थिति सामान्यतः कम हुन्छ । पार्टटाइमर र सामान्य समर्थकहरूका लागि व्यवहारिक रूपमा फरक छ ।  भारतमा रहेर काम गर्दा आफ्नो काम पूरा गरेर बचेको समय सङ्गठनलाई दिने हो । कसैकोमा मेहनत गरे वापत केही पारिश्रमिक मिल्दछ । त्यसको आधारमा खर्च गर्ने अवस्था रहन्छ । केही खर्च सङ्गठनमा गर्ने र केही रकम घरपरिवारलाई पठाउनुले आर्थिकको समस्या कम पर्ने हुन्छ ।

नेपालमा सङ्गठनमा काम गर्नु विदेशमा काम गर्नुभन्दा कठिन हुन्छ । राजनीतिक टकराव, जनतासितको सम्बन्ध, पारिवारिक अवरोध आदि कैयौँ समस्याहरू भारतमा रहनुभन्दा बढी हुन्छन् । नेपालमा आर्थिक समस्या बढी हुन्छ । भारतका कार्यकर्ताले एउटा होलटाइमर कार्यकर्ता वा सङ्गठनकर्तालाई हेर्ने दृष्टिकोण र नेपालका जनता तथा कार्यकर्ताले हेर्ने दृष्टिकोणमा फरक हुन्छ । हाम्रो समाज शोषणले जकडिएको समाज हो । वास्तवमा बढी परिश्रम गरेर मात्र होइन प्रतिकृयावादी व्यवस्था बदलेर मात्र शोषणको अन्त्य गर्न सकिन्छ ।

० भारतबाट नेपाल आएपछि तपाईं ११ वर्ष प्युठानमा ने.क.पा. (मसाल)को सेक्रेटरी भएर काम गर्नुभयो । सङ्क्षिप्तमा राजनीतिक रूपमा प्युठानका साथीहरूलाई कसरी स्मरण गर्नु हुन्छ ?

– २०५७ सालमा पार्टीले देशभित्र काम गर्न जिम्मा दियो र प्युठानमा सेक्रेटरी बनाएर पठायो । मैले विदेशमा रहेर काम गरेको र देशभित्र कम काम गरेकोले केही समय त्यहाँको अवस्था बुझ्न समय लाग्यो । मैलेमाथि नै बताइसकेको छु विदेशमा काम गर्नु र देशभित्र काम गर्दा केही समस्याहरू अवश्य छन् । ती समस्याहरूबाट त्यहाँका साथीहरू पनि अछुतो छैनन् । प्युठानमा पार्टीको काम गर्दा व्यवहारिक अनुभवहरूबाट धेरै शिक्षा प्राप्त गरें । किसानहरूले सङ्गठनमा काम गर्दा पर्ने समस्याहरू, विरोधीहरूसँग सङ्घर्ष, आफ्नै सङ्गठनभित्र पनि भएका अन्तर्विरोधहरू कसरी समाधान गर्ने विषयमा अनुभवहरू प्राप्त भए । मलाई जिम्मा दिने बेलामा प्युठान जिल्लामा गुटबन्दीको अवस्था थियो । गुटबन्दीले प्रश्रय पाइरहेको रहेछ । गुटबन्दीलाई न्यूनीकरण गर्नु पहिलो जिम्मेवारी थियो । म बाहिरबाट गएकोले मलाई दुवैथरी साथीहरूले आफ्नो पक्षमा बनाउन कोशिश गरिरहेका थिए । म ती दुवै पक्षतिर नलागेर पार्टी सङ्गठनलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत भएँ । केही साथीहरू उनीहरूले भनेको नमानेपछि मसँग असन्तुष्ट हुने र मेरा बिरुद्ध गुटबन्दी गर्ने काम समेत गरे । पछिल्लो कालमा त्यस प्रकारको गुटबन्दी केन्द्रीय नेतृत्वबाट समेत भयो । मैले पार्टीको निर्णयलाई दृढतापूर्वक लागू गर्नको लागि पहल गर्दा त्यस्तो अवस्था सिर्जना भएको थियो ।

म प्युठान जाँदा प्युठानको पार्टी सङ्गठनमा गलत तत्वहरूको घूसपैठ भएको हुनसक्ने कुरा केन्द्रीय नेतृत्वले बताएको थियो । केन्द्रीय नेतृत्वले भनेको कुरा वास्तविकता थियो वा थिएन त्यसको छानबिन गर्ने र बुझ्ने काम भयो । नेतृत्वले भनेका विषयमा केही प्रमाणहरू भेटिए । त्यसलाई न्यूनिकरण गर्ने काममा लाग्दा केही साथीहरू मसँग अत्यधिक असन्तुष्ट भए । कैयौँ साथीहरूको राजनीतिक स्तर संसदीय पद, प्रतिष्ठासम्म मात्र बढेको देखियो । त्यस भन्दामाथि उठाएर वर्गसङ्घर्षमा सामेल गराउन कठिन रहेछ । त्यस्तो कार्य एकदुईजनाले मात्र गरेर हुने कुरा भएन । पार्टीको नीतिको परिणाम पनि त्यस्तो भइरहेको रहेछ । वर्गसङ्घर्षलाई माथि उठाउने नाममा गलत प्रकारले सङ्घर्ष गरेको पनि पाइयो । यहाँसम्म कि माओवादी सशस्त्र द्वन्द्वको बेलामा हाम्रै साथीहरूले माओवादीको लेटरप्याड र रसीदमा रकम उठाउने गरेको समेत भेटियो । हामीले त्यस्तो कार्य गर्ने व्यक्तिलाई पत्ता लगाएर कारवाही गरेका व्यक्तिहरू अहिले त्यहाँको सङ्गठनमा हावी भएको देखिन्छ । प्युठानमा राजनीतिक धरातल कमजोर छ । चुनावमा भोट खरिदविक्री हुने गर्दछन् । व्यक्तिवाद हावी छ । व्यक्तिवादले सङ्गठनलाई बलियो बनाउँदैन त्यो प्रस्ट भइसकेको छ ।

प्युठानका कैयौँ नेतृत्वमा भएका साथीहरूले इमानदारीपूर्वक काम गरेका थिए र अहिले पनि छन् । उनीहरूको उद्देश्य पार्टीलाई व्यवस्थित बनाउने थियो । अहिले पार्टी संसदीय दलदलमा फसेकाले समस्या परेको छ । केही साथीहरू मसाललाई छाडेर नयाँ बनेको मशाललाई समर्थन गरेर अगाडि आएका छन् । उनीहरूले वास्तविकतालाई बुझेका छन् । एक समय प्युठान जिल्ला विकास समिति, प्युठानका दुईवटै संसदीय क्षेत्र आफ्नो पकडमा रहेको मसाल अहिले सीमित हुँदै जानु र मसालका नेता कार्यकर्ताहरू कमजोर हुनु संसदीय व्यक्तिवादको परिणाम हो । मसालको केन्द्रीय नेतृत्वको गुटबन्दीले त्यहाँको जिल्लालाई असर पारेको छ । केन्द्रीय नेतृत्वलाई समर्थन गर्नेहरूलाई काखा च्याप्ने र आफ्ना विचारहरू प्रस्ट राख्नेहरूलाई किनारा लगाउने पद्धति छ । काखा र पाखाको संस्कृतिले प्युठानलाई नराम्रोगरी गाजेको छ ।

० नेपालको कम्युनिस्ट आन्दोलनमा मसाल र मोहनबिक्रम सिंहलाई जान्ने मान्छेहरूले प्रायः के भनेको सुनिन्छ भने मोहनविक्रमको सङ्गत गर्नेहरू असाध्य नजिक हुन्छन् । केही समयपछि उनीहरू विरोधी बनेर निस्कन्छन् । आखिर तपाईंको जीवनमा पनि त्यस्तै भएको हो वा हैन ?

– त्यस विषयमा केही सत्यता छ, पूर्ण रूपमा होइन । मोहनविक्रम सिंहसित असाध्य नजिक नभएका कैयौँ मान्छेहरूले पनि पार्टी छाडेका छन्, उनका विरोधी भएका छन् । जहाँसम्म मेरो प्रश्न छ म मोहनविक्रम सिंहसित सङ्गत गरेर असाध्य नजिक भएको भन्दा पनि राजनीतिक जिम्मेवारीका कारणले नजिक भएको हुँ । मैले पहिले नेतृत्वलाई बढी नै विश्वास गर्ने गरेको रहेछु । नेतृत्वलाई आलोचनात्मक दृष्टिकोणले पनि हेर्नुपर्ने रहेछ । सुरुमा त्यसरी नहेर्नु कमजोरी रहन गयो । मसालमा एउटा गलत पद्धतिले ठाउँ लिएको छ । कसैको गल्ती देखियो भने उसलाई सामुहिक रूपमा आलोचना नगरेर उसलाई सुधार गर्न व्यक्तिगत रूपमा सम्झाउने । त्यस प्रकारको व्यवहार हामीले पनि ग¥यौँ । त्यसो गर्दा नेतृत्वले आफूलाई सुधार गर्ने भन्दा पनि झुठ्ठा तर्क वा कुराहरू गरेर प्रभावमा पार्ने गर्दा रहेछन् । नेतृत्वप्रति बढी विश्वास गर्नाले उनीहरूको नियत र व्यवहार बुझ्न समय लाग्दो रहेछ । एउटा उदाहरणले त्यो अझ प्रस्ट होला । मोहनविक्रम सिंहको जलजलासितको अनैतिक सम्बन्धका बारेमा कार्यालयमा बस्ने सहयोगीले कुरा उठाएपछि आफ्नो गल्ती ढाकछोप गर्न माओको उदाहरण प्रस्तुत गरेर कार्यालयका साथीलाई कसरी भ्रम पारिदोरहेछ त्यो कुरा भक्तबहादुरको संस्मरणात्मक पुस्तक पढेपछि थाहा हुन्छ ।

मसँग मोहनविक्रम सिंहको अन्तर्विरोध प्युठानमा एनजीओ गठन गर्ने विषयबाट सुरु भएको थियो । एमवी सिंहले मलाई र जिल्ला पार्टीलाई पूर्णरूपमा त्यसैमा काम गराउने योजना बनाएका रहेछन् । मैले त्यसको विरोध गरे । ०६२÷६३ को आन्दोलनपछि देशमा गणतन्त्र स्थापना भयो । गणतन्त्र आएपछि – हामीले छिटै महाधिवेशन गर्नुपर्दछ । सङ्घर्षको दिशा तय गर्नुपर्दछ । सत्ता चलाउनेहरूमा परिवर्तन भयो वा भएन छलफल चलाउनुपर्दछ । सङ्गठनलाई क्रान्तिकारी वनाउनेबारे उपेक्षा गर्नुहुँदैन भनेर भन्यौ । तर पार्टीको महामन्त्रीको हैसियतले एमबी सिंहले ती विषयहरूमा ध्यान दिएनन् । उनको ध्यान त्यतिबेला अन्तै रहेछ । आफ्नो श्रीमती र पार्टीका पीवीएमलाई प्रयोग गरेर कैयौँ व्यक्तिहरूलाई विदेश पठाउने नाममा आर्थिक सङ्कलन गर्ने । हामीले त्यसको पनि विरोध ग¥यौ । उनले त्यसलाई सही ठहराउने प्रयत्न गरे । तर पोखरामा भएको २०६६ को चौथो राष्ट्रिय परिषद्को बैठकले त्यसलाई गलत ठहर ग¥यो । मोहनविक्रम सिंहको तलैसम्म आलोचना भयो । त्यसका साथै जब प्युठानमा गुटबन्दी गरेका व्यक्तिहरूलाई मैले तलसम्म आलोचनात्मक कारवाही गर्नुपर्दछ भन्दा एमवी सिंहले उनको संरक्षण गरे । मैले प्युठान जिल्लाको जिम्मेवारी छाडेपछि पार्टीले मलाई केन्द्रीय कार्यालयको जिम्मेवारी दियो । कार्यालयमा आएपछि मैले एमवी सिंहका गलत राजनीति, गलत कार्यप्रणाली र गलत व्यवहार प्रत्यक्ष रूपमा देख्न थाले । तिनीहरूबारे पार्टीमा लिखित रूपमा पत्रहरू राख्न थालेपछि एमवी सिंहसित मेरो दुरी बढ्दै गयो । मैले एउटा आलोचना तथा आत्मालोचनाको बैठकमा उनका विरुद्ध आरोपपत्र नै पेश गरेको छु । आठौँ महाधिवेशनसम्म आइपुग्दा उनले प्रस्तुत गरेको राजनीतिसित असहमति राख्दै अलग्गै दस्तावेज प्रस्तुत गरिएको थियो । पार्टीको आठौँ महाधिवेशनमा उनले मलाई केन्द्रीय समितिमा नपार्नका लागि नेतृत्व गरेको कुरा उनले जारी गरेको एउटा सर्कुलरबाट प्रस्ट भयो । महाधिवेशनको केही समय पछि मलाई गुटबन्दी गरेको आरोप लगाएर पार्टीबाट निष्कासित गरियो । त्यसरी मोहनविक्रम सिंहसित मेरो राजनीतिक सम्बन्ध टाढा हुँदै गएको हो । मैले उनका गलत चिजहरूको सप्रमाण विरोध गरेका पत्रहरू केन्द्रीय कार्यालयमा दर्ता गराएको छु । यो विषय राजनीतिसित सम्बन्धित छ व्यक्तिसित होइन भन्ने मलाई लाग्दछ ।

० मसालबाट छिटो लखेट्न पाए हुन्थ्यो भन्ने एउटा मनोविज्ञान, विद्रोह नगरी मसाल भित्रै अन्तर्संघर्ष गरेको भए हुने, बरु कार्वाही सहेर बसेको भए हुने भन्ने अर्को मनोविज्ञान फरक फरक मनोविज्ञान बोकेका मान्छेहरू मसालभित्र थिए र छन् भन्ने सुनिन्छ । के लाग्छ तपाईंलाई ? के सत्य हो ?

– प्रश्नमा उठाइएको विषय सत्य हो । नेतृत्वका व्यक्तिहरूलाई त्यस्तो लाग्दथ्यो । त्यसका कैयौँ तथ्यहरू छन् । नेतृत्वका केही व्यक्तिहरूलाई के समस्या थियो भने विमल शर्माले उनका गलत चिजहरूलाई लिखित रूपमा राख्न थाल्यो । उनीहरूले ती गल्तीलाई ढाक्नु थियो । नेतृत्वका त्यस्ता व्यक्तिहरूलाई यिनीहरूलाई छिटो लखेट्न पाए हुन्थ्यो भन्ने थियो । केही व्यक्तिहरूलाई पदको लोभ थियो । नेतृत्वमै भएका चित्रबहादुर केसीले आफ्नो नातिको नागरिकताबारे जुन अनैतिक काम गरे त्यसको विरोध गरेपछि उनी हामीसित धेरै नै क्रुद्ध थिए । उनले एउटा बैठकमा त ‘‘यस्ताले पार्टी छाडेर गए हुन्छ’सम्म भने । हामीले राजनीतिक, सङ्गठन र आर्थिक विषयमा पार्टीभित्र भएका भ्रष्टाचारयुक्त कार्यलाई रोक्न लिखित प्रस्तावहरू केन्द्रीय समितिमा राखेपछि नेतृत्व धेरै नै रिसायो । जसका कारणले नेतृत्व र नेतृत्वतहले हामीलाई छिटो हटाउन चाहन्थ्यो ।

अर्काथरी साथीहरूले हामीलाई अन्तरसङ्घर्ष चलाएर भित्र बसुन् भन्ने चाहन्थे । उनीहरूले पार्टीभित्रको वास्तविकता थाहा नै पाएका छैनन् । कैयौँ तथ्यहरू त अझै पनि बाहिर आएकै छैनन् । राजनीतिक, सङ्गठनात्मक र आर्थिक रूपमा भएको भ्रष्टाचारबारे पार्टीभित्र अन्तरसङ्घर्ष चलाउनु एउटा कम्युनिस्ट पार्टीको सदस्यको अधिकार हो । तर दक्षिणपन्थी नोकरशाही नेतृत्वले त्यसो गर्न दिने कुरा भएन । उनले आफ्ना गल्तीहरूलाई ढाकछोप गर्न चाहन्थे । पार्टीभित्र अन्तरसङ्घर्ष चलाउन नेतृत्वले रोकेको कुरा तल्ला समिति वा कार्यकर्ताले थाहा नै पाएनन् । पार्टीभित्र रहेको यस प्रकारको परिस्थितिमा नेतृत्वले विभिन्न आरोपहरू लगाएर भटाभट कारवाही गरेर सयौँ कार्यकर्ताहरूलाई पार्टीबाट फालेपछिको परिस्थितिमा त्यही बसिरहेर कसरी काम गर्न सकिन्थ्यो ? यी सबै विषयहरूभित्र गहिरो मनोविज्ञान छ । जसलाई बुझ्नका लागि सत्यको खोजी गर्नुपर्दछ र तथ्यमा पुग्नुपर्दछ । मसालभित्र जुन मूल नेतृत्व छ त्यसको कसैले पनि लिखित आलोचना वा विरोध ग¥यो भने उसलाई यो वा त्यो बहानामा पार्टीबाट निकालिने पद्धतिबारे जुन व्यक्तिहरूलाई ज्ञान छैन उहाँहरूको मनोविज्ञानले कारवाही सहेर बसेको भए हुन्थ्यो भन्छन् । सामान्य व्यक्तिहरूले आफुलाई कम्युनिस्ट बताउने एमवी सिंहको दक्षिणपन्थी बाटो रहस्यमय व्यवहार र चित्रबहादुर केसीको पराश्रित षडयन्त्रात्मक व्यवहारबारे गहिरो गरी अध्ययन गर्नुपर्दछ । ती विषयहरूको तथ्यगत अध्ययन गरेपछि नै माथिको प्रश्नमा उठाइएका विषयहरूको वास्तविकता थाहा हुन्छ ।

० नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)का बिचमा पार्टी एकता संयोजन समिति बनेको सुनियो । यो एकता टुङ्गो लाग्ला कि नलाग्ला ? नेपालमा क्रान्तिकारी आन्दोलन चाहने त तीन पार्टी बाहेक अरू पनि छन् । किन तीनवटाको बिचमा मात्र एकता संयोजन समिति ?

– देशमा रहेका वामपन्थी क्रान्तिकारीहरू बिच सिद्धान्त, नीति र कार्यक्रम मिल्यो भने पार्टी एकता गर्न सकिन्छ । माक्र्सवादी लेनिनवादीहरू सिद्धान्तनिष्ट एकताको पक्षमा हुन्छन् । वामपन्थी क्रान्तिकारीहरूसँग कार्यगत एकता र संयुक्त मोर्चा हुँदै सङ्घर्षमा सँगै हिंडेपछि विकास भएर एकताको छलफल गर्ने र समान प्रकारका धारणा भएपछि आवश्यकताले एकतामा पु¥याउने हो ।

माथि उल्लेखित तीन पार्टीहरूले केही समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा सहकार्य गर्दै आएका थिए । केही समयदेखि राष्ट्रघाती एमसीसी र नागरिता विधेयकका विरुद्धमा सँगै सङ्घर्षमा सामेल थिए र छन् । देशको बुर्जुवा संसदीय प्रतिकृयावादी व्यवस्थाका विरुद्धमा र नयाँ जनवादी व्यवस्थाको पक्षमा समान धारणा राख्दछन् । गत निर्वाचनमा सँगै बहिस्कारको पक्षमा थिए । नयाँ जनवादी व्यवस्थाका शत्रुहरूबारे समान धारणा छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई स्वीकार गर्दछन् । यति हुँदाहुँदै पनि अन्य कतिपय विषयमा मतभेद रहेकोले छलफल गर्न र एकतामा सामेल हुन सकिन्छ वा सकिंदैन भनेर संयोजन समिति गठन गरिएको हो ।

ने.क.पा. (मसाल)ले पनि देशमा रहेका वामपन्थीहरूसँग एकता गर्ने निर्णय गरेको थियो तर पहल गरेन । व्यक्तिवादी पार्टी एकताको पहल गरियो । मैले व्यक्तिवादी एकता किन भनेको छु भने एमवि सिंहले पार्टीको निर्णय विना अन्य समूहमा रहेका पार्टीको रूपमा विकास नगरेका व्यक्तिहरूलाई मसालमा समावेश गराउनुलाई पनि ‘पार्टी एकता’को नाम दिने गरेका छन् । हिमलाल पुरी र सुदूर पश्चिमका केही व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउँदा पार्टीमा कुनै निर्णय पनि भएन । उनीहरूले पार्टीको रूपमा विकास पनि गरिसकेका थिएनन् । त्यस्ता व्यक्तिहरूलाई राखेर पार्टी एकता भन्ने तर नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी एकताको लागि भनेर लेखेको पत्रलाई केन्द्रीय समितिमा समेत प्रस्तुत नगर्ने पद्धतिलाई व्यक्तिवादी एकता भनिएको हो ।

नेकपा (मशाल)को विषेश महाधिवेशनले देशभर छरिएर रहेका वामपन्थी क्रान्तिकारी समूह वा व्यक्तिहरूसँग कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकताको लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको लागि प्रयास भएको छ । ती ३ समूह बाहेक अरूसँग पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका विषयमा संयुक्त कार्यक्रम हुने गरेका छन् । एकताको पक्षमा कसरी जान सकिन्छ भनेर प्रयत्न हुने छ ।

० तपाईंहरूले वर्गसङ्घर्षबाट सर्वहारा सत्ता स्थापना गर्ने कुरा गर्नु हुन्छ ? समय र परिस्थिति बदलिदै गएको छ । वर्गसङ्घर्ष कसरी सन्चालन गर्ने सम्बन्धमा योजना, खाका वा दृष्टिकोण के छ ?

– हो तपाईंले ठिक भन्नुभएको छ हामीले वर्गसङ्घर्षको माध्यमबाट सर्वहारा सत्ता स्थापना गर्ने कुरा गर्दछौँ । जहाँसम्म परिस्थिति बदलिएको कुरा गर्नुभएको छ, जुनसुकै परिस्थिति आएपनि मानवले मानवलाई शोषण गर्ने व्यवस्थाको अन्त नहुने समयसम्म एक वर्गले अर्को वर्गलाई शोषण गरिरहने व्यवस्था अन्त्य हुँदैन । त्यसकारण एउटा वर्गले अर्को वर्गलाई शासन गर्ने व्यवस्थाका बिरुद्ध बल प्रयोगको सिद्धान्तलाई छाड्न हुँदैन । वल प्रयोगको सिद्धान्त कम्युनिस्ट क्रान्तिकारीले मात्र होइन । बुर्जुवा वर्गले समेत प्रयोग गरेका छन् । सर्वहारावर्गको सत्ता स्थापनाको लागि बलप्रयोगको सिद्धान्त छाडेर सत्ता स्थापित हुन सक्दैन । वर्ग समन्वयबाट सत्ता प्राप्त हुन्छ र गर्न सकिन्छ भन्ने कुरा दक्षिणपन्थी नारा हो । त्यसैले हामीले बल प्रयोगको सिद्धान्तलाई स्वीकार गरेका छौँ । बलप्रयोग कहिले गर्ने त्यो कुरा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका साथै पार्टीको आत्मगत स्थिति मजबुत भएपछि अगाडि बढाउन सकिन्छ । केन्द्रीय सत्ता प्राप्त गर्नु पूर्व स्थानीय स्तरमा सत्ता प्राप्त गर्न कुनै संरचना निर्माण गर्नुपर्दछ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालकै कम्युनिस्ट आन्दोलनका अनुभवहरूबाट हामीले स्थानीय सत्ता निर्माण र सञ्चालनको लागि पाठ सिक्न सक्दछौँ । स्थानीय सत्ता जनआधारित भएर जनताको पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कम्युनिस्ट पार्टीको नेतृत्वमा हुनुपर्दछ । स्थानीय सत्ताले जनताको जीवनस्तर सुधार्ने बारेमा कार्यक्रम बनाउन सक्छ । स्थानीय शोषण, दमन र अन्यायका विरुद्धमा सङ्घर्ष सञ्चालन गर्न सक्दछ । विकास निर्माणका कामहरूको अगुवाई गर्न सक्दछ । समाजमा भए गरेका रुढिगत र गलत परम्पराहरूको विकल्पमा जनवादी र प्रगतिशील संस्कृति निर्माणतिर ध्यान पु¥याउने कैयौँ सामाजिक सुधारका काम गर्न सक्दछ । स्थानीयरूपमा सामुहिक उत्पादन र वितरण प्रणालीको विकास गर्न सक्दछ । बचत तथा सहकारी अभियानलाई अगाडि बढाउन योगदान पु¥याउन सक्दछ । युवाहरूको सीप, श्रम र श्रृजनशीलतालाई प्रयोग गर्न सक्दछ । स्वयं जनताकै छलफलका बिचबाट न्याय निसाफ हेर्ने काम गर्न सक्दछ । त्यसरी स्थानीय सत्तालाई भविष्यको सर्वहारा वर्गको सत्ताको भु्रणहरूको रूपमा विकास गरेर जान सकिन्छ ।

० संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिकालाई अनिवार्य मानिन्छ । संसदीय व्यवस्थाको यो आधारभूत पक्ष हो भनिन्छ । तर गत पौष २६ गते प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस सहित लाइन लागेर प्रचण्डलाई विश्वासको मत दिए । के भएको होला यस्तो ?

– संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुन्छ । प्रतिपक्षले सरकारका गलत नीति तथा कार्यहरूको विरोध गर्दै जनतासित बढी भन्दा बढी नजिक हुन चाहन्छ । तर पौष २६ गते साना दुईवटा दलले बाहेक नेपाली काङ्ग्रेसले समेत प्रचण्डलाई प्रधानमन्त्रीमा विस्वासको मत दिएको छ । सायद विश्वको इतिहासमा प्रतिपक्षले प्रधानमन्त्रीमा विश्वासको मत दिएका यस्ता घटनाहरू विरलै पाइन्छ । अहिले सरकारमा गएका विभिन्न पार्टीहरू र नेपाली काङ्ग्रेस जसले आफूलाई प्रतिपक्षमा रहेको बताएको छ यी सबै पार्टीहरूले आम शोषित पीडित जनताको प्रतिनिधित्व गर्दैनन् । प्रतिक्रियावादी र दलालहरूलाई बिदेशी शक्तिहरूले सञ्चालन गरेको हुनाले यो सरकारलाई कसले समर्थन गर्दछन् वा विरोध त्यो बाÞय शक्तिमाथि निर्भर गर्दछ । सत्ता स्वार्थमा लेनदेन मिलाउनका लागि नेपाली काङ्ग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको हुन सक्दछ । सत्ता स्वार्थको प्रतिस्पर्धा अन्तर्गत कसलाई प्रतिपक्षी बनाउने वा नबनाउने खेल बाÞय शक्तिले जोख तौल गर्ने गरिरहेका हुन्छन् । अहिले नेपालमा पनि त्यही भएको हो ।

हामीले भन्दै आएका छौँ शोषित पीडित जनताको लागि संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो । कतिपय आफुलाई कम्युनिस्ट बताउने समूह वा व्यक्तिहरूले संसदीय व्यवस्थालाई नै सर्वश्रेष्ठ व्यवस्था मान्दछन् । यो उनीहरूको दक्षिणपन्थी दिशा हो । कसैले यसलाई प्रगतिशील व्यवस्था भनेर पनि मान्दछन् । सामन्ती अधिनायकवादी व्यवस्थामा बुर्जुवा गणतन्त्र प्रगतिशील हुन्छ । तर बुर्जुवा गणतन्त्रवादी व्यवस्था परम्परावादी विचार राख्ने अनुदार उच्च कुलीन वर्गको वा पुँजीपति वर्गले नेतृत्व गरेको छ भने त्यो जनताको पक्षमा नहुने भएकोले यसविरुद्ध सङ्गठित हुने र त्यसलाई उखेलेर फाल्नुपर्छ ।

अहिले हाम्रो देशमा बुर्जुवा गणतन्त्र स्थापित भएको छ । ०६२÷६३ को जनआन्दोलनले स्थापित गरेको हो । यसले बुर्जुवा संविधान निर्माण गर्ने र दुई पटक आम चुनाव गरेर गणतन्त्रलाई संस्थागत गरिसकेको छ । सच्चा कम्युनिस्टहरूले यसको संरक्षण गर्ने होइन यसलाई कमजोर बनाउने र नयाँ जनवादी व्यवस्थाको प्रचार प्रसार गर्दै नयाँ जनवादी व्यवस्थाको आधार तयार गर्नुपर्ने आवश्यकता छ ।

० दुईमत विपक्षमा प¥यो । चित्रबहादुर केसी र प्रेम सुवालको । नेपाली काङ्ग्रेसलाई विश्वासको मत दिउँला भनेर साँचेर राखेको मत काङ्ग्रेसलाई दिन नपाएर राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा बसेको हो भन्ने एकाथरिको मत छ । अर्काथरिको मत चित्रबहादुर केसीले प्रचण्डलाई नै मत दिन खुट्टा उचालेका थिए । मोहन बिक्रमले नमानेपछि बाध्य भएर केसी प्रतिपक्षमा बसे भन्ने पनि सुन्नमा आएको छ । त्यो जेसुकै होस् । तर संसद बाहिरका दलहरूको पनि कम्युनिस्ट आन्दोलनको पक्षमा सृजनात्मक भूमिका भएन भन्ने गुनासो छ नि ?

– राष्ट्रिय जनमोर्चाले पछिल्लो समयमा काङ्ग्रेसपरस्त नीति लिइरहेको छ । उसले त्यो नीतिलाई ‘कार्यगत एकता वा सहकार्य’को नीति भनेर भ्रामक व्याख्या गरेको छ । तर वास्तविकता यो हो कि उनीहरूले सत्ता स्वार्थको लागि नै त्यो नीति अवलम्बन गरिरहेका छन् । काङ्ग्रेसजस्तो प्रतिक्रियावादी शक्तिसित एकसिट प्राप्त गर्न चुनावी तालमेल गर्नु र चीनमा बाÞय आक्रमणका बेला माओले च्याङकाइसेकसित सहकार्य गर्नुलाई एकै ठाउँमा राखेर कार्यगत एकताको अपव्याख्या गरिएको छ । मसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो । किनभने गत निर्वाचनमा उनीहरूको आशीर्वादद्वारा नै एउटा सिट प्राप्त गरेका थिए । त्यो उनीहरूको प्रधानमन्त्रीलाई समर्थन गर्ने सम्झौता अनुसार त भएको थिएन ? तथ्यहरूले त्यस्तै देखाउँछन् । राष्ट्रिय जनमोर्चाले आफुले मित्रशक्ति बताउँदै आएकाहरूलाई टाढा र प्रतिक्रियावादी शक्ति बताउँदै आएकालाई नजिक गराउदैं आएको छ । प्रतिक्रियावादीहरू र विखण्डनवादीलाई नजिक बनाउँदै आएको अलि वर्ष भएको छ । चित्रबहादुर केसीहरूले त्यसैलाई क्रान्तिकारिता बताउँदै आएका छन् । त्यो उनीहरूको दक्षिणपन्थी राजनीति हो । त्यो कुनै कार्यगत एकताको नीतिसित मेल खाँदैन ।

मसालले मधेशवादी सङ्गठनहरूको गठन नेपालमा भारतीय साम्राज्यवादी उद्देश्य पूरा गर्न गरिएको हो भनेर आफ्ना दस्तावेजहरूमा उल्लेख गरेको छ । उनीहरूले सर्वप्रथम तराईलाई नेपालबाट पृथक गराउन चाहन्छन् । उनीहरूको मुख्यउद्देश्य राष्ट्रिय विखण्डन हो भनेर बताएको छ । तर मधेशवादीहरूले सरकारले ल्याएको एउटा प्रस्तावलाई समर्थन गरेकाले उनको ‘भारतीय साम्राज्यवाद’ प्रतिको नीतिमा परिवर्तन भएर मधेशवादीहरूलाई “राष्ट्रियता प्रतिको प्रतिबद्धता” भएको भनेर व्याख्या गर्दछन् । यसले मसालको भारतपरस्त नीतिलाई दर्शाउँछ । मसालका विगत केही समयदेखिका विश्लेषणहरूको अध्ययन गर्ने हो भने मसालको नेतृत्वले प्रतिगमनको विरोध गरेको देखाउँदै प्रतिगमनलाई निम्ताउने योजनामा त लागि रहेको छैन ? शङ्का गर्ने प्रसस्त ठाउँहरू छ ।

तपाईंले प्रश्नमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा चित्रबहादुर र मोहनविक्रम सिंहका अलगअलग विचार थिए । आखिरमा चित्रबहादुर केसीले मोहनविक्रम सिंहको विचारमा बाध्य भएर समर्थन गर्नु प¥यो भन्ने विषयमा मलाई आधिकारिक रूपमा केही जानकारी छैन । तर लामो समयसम्म ती दुवै नेताहरूसित सँगै रहेर काम गरेकाले यति भन्न सकिन्छ चित्रबहादुर केसी अधिकांश विषयमा आफ्नो प्रस्तावमा अडिग रहन सक्दैनन् र आखिरमा मोहनविक्रम सिंहको प्रस्तावमा झुक्दछन् ।

संसद बाहिर रहेका कम्युनिस्ट पार्टीहरूको कम्युनिस्ट आन्दोलनमा सृजनात्मक भूमिका भएन भन्ने जुन प्रश्न छ संसद बाहिर रहेका कम्युनिस्ट दलहरू अरू दलहरूका तुलनामा कमजोर छन् । उनीहरूका नीति, कार्यक्रमहरूको प्रचारप्रसार कम हुने गरेको छ । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कार्यहरूबारे जनतामा जुन रूपमा पुग्नु पर्ने हो त्यो स्तरसम्म पुग्न नसकिएको सत्य हो । जनवादी क्रान्तिका लागि प्रचारप्रसार तथा आधारहरू तयार पार्ने कामहरू उल्लेख्यरूपमा हुन सकिरहेका छैनन् । विश्वस्तरमा जस्तै नेपालमा पनि संशोधनवादीहरू हावी छन् । दक्षिणपन्थी संशोधनवादीहरूले आफुलाई कम्युनिस्ट बताएर भ्रम सिर्जना गरिरहेका छन् । संसद भन्दा बाहिर रहेका वामपन्थी क्रान्तिकारीहरूमा पनि टुटफुटले धेरै असर गरेको छ । विचार मिल्ने सङ्गठनहरू आपसमा मिलेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन, सृजनात्मक कामहरू गर्न आपसमा मिल्न सक्ने शक्तिहरू मिलेर सिद्धान्त, नीति र व्यवहारलाई आ–आफ्ना बिचमा छलफल गरेर नजिक हुने प्रकृयाको सुरु भइरहेको छ । त्यसले सार्थकता पाउने छ भन्ने आशा गर्न सकिन्छ ।

० तपाइको उमेर समूहका धेरै मानिसले कम्युनिस्ट आन्दोलनमा समय बिताए । नया“ युवा पुस्ताले कम्युनिस्ट आन्दोलन वा राजनीतिप्रति नै कम ध्यान दिने गरेका छन् । नया“ पुस्तालाई राजनीतिमा र कम्युनिस्ट आन्दोलनमा किन आउनु पर्छ भन्नु हुन्छ ?

– संसारका युवकहरूको तुलनात्मक अध्यययन गर्ने हो भने युवा शक्तिले नै संसारको परिवर्तनमा अहँ भूमिका खेलेका छन् । चाहे त्यो सकारात्मक होस् वा नकारात्मक । युवा शक्तिले घर परिवार, विकास, नयाँ नयाँ विकासको खोजी र विज्ञानको खोजी गरेर पत्ता लगाएका छन् । उनीहरूलाई त्यो कार्य गर्न समाजले सहयोग पुराउँछ । मुख्य गरेर राज्य व्यवस्थाले युवाहरूलाई सकारात्मक सहयोग पुराउन सकेन भने उनीहरूको उपयोगिताको फाइदा अन्य देशले लिने गर्दछन् जस्तो नेपालमा भइरहेको छ । हाम्रो देशका युवा शक्तिहरूको श्रमलाई सस्तोमा खरिद गरेर विदेशी वा दलालहरूले फाइदा लुटिरहेका छन् । अहिले आएर युवा शक्तिको बौद्धिक विकासलाई समेत शोषण गरेर विदेशी बजारमा उनीहरूलाई घुमाइ रहेका छन् । यस कार्यमा विदेशी प्रतिकृयावादीहरू र हाम्रै देशका सत्तामा रहेका शक्तिको ठुलो हात रहेको छ । देशमा युवाशक्तिलाई दिने शिक्षा र कामगर्ने वातारवण नबनाएपछि बाध्यताले युवा विदेशिनु पर्ने हुन्छ । विदेशमा काममा व्यस्त भएर सङ्गठित हुन नपाए पछि गलत चिजको विरोधगर्ने शक्ति कमजोर हुन्छ ।

खास गरेर युवकहरू शारीरिक दृष्टिले बलिया, सुन्दर, मानसिकरूपले नयाँ विषय जान्नमा उत्सुक, कुनै विषय गलत भन्नेलागेमा त्यसका विरुद्ध लडाकु, उत्पादनको दृष्टिले पनि बढी मेहनत गरेर उत्पादन गर्न सक्ने, साङ्गठनिक दृष्टिले पनि बढी सम्पर्क गर्न सक्ने, गलत कुरालाई भण्डाफोर गर्न सक्ने हुन्छन् । जसरी बलिया, सुन्दर, उत्सुक, लडाकु, बढी काम गर्न सक्ने हुन्छन्, त्यसरी नै आफ्नो मार्गमा ठक्कर लाग्यो भने र असफल भएभने पुनः निरास, शङ्कालु र विपरीत दिशातर्फ फर्कने पनि हुन्छन् । जति समयसम्म स्पष्ट दृष्टिकोण रहँदैन र आफ्नो कर्तव्य र जिम्मेवारीको निम्ति स्पष्ट दृष्टिकोण नहुँदासम्म अगाडि र पछाडि हुने हुँदा सर्वप्रथम त युवाहरूले देश, समाज र जनताको निम्ति सही किसिमको दृष्टिकोण अपनाउनुपर्दछ । पुरानो समाज, संस्कृति र राजनैतिक पक्षलाई राम्रोसँग केलाएर अन्धविश्वास र गलत राजनीति र व्यवहारबाट सतर्क रहनु अनिवार्य छ ।

युवाहरूले आफ्नो पहिचान गर्न सक्नुपर्दछ । नेपाली युवाहरूको काँधमा कति ठुलो जिम्मेवारी आइलागेको छ त्यो सहजै अनुमान गर्न सकिन्छ । युवा शक्ति अरू बाल वा बृद्ध भन्दा जनसङ्ख्यामा बढी छन् । नेपालमा नयाँ राज्य व्यवस्थाको लागि युवा शक्तिको नै भूमिका रहन्छ र रहँदै आएको छ । सही किसिमको दृष्टिकोण र सही राजनीतिमा सङ्गठित छैन भने त्यो युवक जहाँ हुन्छ त्यहाँ अन्याय छ, अत्याचार छ, त्यसैमा सहभागी हुन्छ । उनीहरूले नेपालमा के गर्ने वास्तवमा युवाहरूले त्यही बुझ्न जरुरी छ । नेपालमा किन यस्तो भइरहेको छ ? उद्योगधन्दा किन छैन ? काम किन पाईदैन ? नेपाली जनता किन गरिब छन् ? संसारमा यति विकास हुँदा नेपालमा किन हुँदैन ? यहाँ शोषण, भ्रष्टाचार छ । के शोषणबाट उम्किने बाटो छैन इत्यादि । यी प्रश्नबारे युवाशक्तिले सङ्गठित रूपमा सिक्ने छन् तब जबाफतर्फ लाग्ने छन् । उत्तर मिल्छ शोषणबाट उम्किने बाटो छ । त्यो हो निडर साहसी हुनु, अन्धविश्वासबाट मुक्त हुनु, व्यक्तिलाई देवता मान्न छाड्नु, अध्ययन गर्नु, सङ्गठित हुनु, माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको पथ प्रदर्शनमा हिंड्नु । देशलाई उन्नत बनाउन र नेपालीलाई मुक्ति दिलाउन कम्युनिस्ट आन्दोलनमा लाग्नुपर्दछ । कुनै कसैले कम्युनिस्टको नाममा गलत ग¥यो भनेर निरासहुने र गलत बाटोतर्फ लाग्नु हुँदैन । युवा शक्तिले समयमा सहीबाटो नसमाते देशको विकास कैयौं वर्ष वा सताव्दी पनि पछाडि पर्न सक्दछ ।

० सङ्क्षिप्तमा अहिलेको नेपालको राजनीतिक परिस्थितिको कसरी मूल्याङ्कन गर्नु हुन्छ ।

– नेपालको अहिलेको राज्य व्यवस्था मूलरूपमा प्रतिक्रियावादी नै छ । संसारमा सामन्तवादलाई पराजित गरेर पुँजीवादी व्यवस्था स्थापना गरेको धेरै समय भइसकेको छ । तर नेपालमा अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था कायमै छ । ०६२÷६३ को आन्दोलनले गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गरेकोले पहिलेको तुलनामा सही नै भएको छ । राष्ट्रिय पुँजीवादको प्रभाव बढेको भए देशको राजनीति अरू सही नै हुन्थ्यो । सामन्तवादलाई कमजोर बनाउने आन्दोलनमा दलाल नोकरशाहीहरूको बाहुल्यता रहेको भएर अहिले उनीहरूनै हावी भएका छन् । अहिलेको व्यवस्था पनि जनताको पक्षमा नभएकोले यसविरुद्ध जनमत तयार गर्नुपर्ने आवश्यकता छ । अहिले नेपालमा कम्युनिस्ट पार्टीहरू शक्तिशाली रूपमा छैनन् । कम्युनिस्ट पार्टीहरू सही र बलिया हुन्थे भने प्रतिक्रियावादी व्यवस्थालाई फाल्न सकिन्थ्यो । नेपालमा प्रतिकृयावादी व्यवस्था बलियो छ कम्युनिस्टहरू कमजोर छन् । त्यसकारण यो अवस्थामा दलालहरू खेलिरहेका छन् ।

लामो समयपछि जनताको सङ्घर्षले नेपालमा गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापना भएको पनि करिब १६ वर्ष पूरा भएको छ । प्रतिकृयावादी राज्य व्यवस्थामा आफ्नो सत्ता गुमेकाहरूले बारम्बार यसलाई उल्टाउने प्रयत्न गरिरहेका हुन्छन् । नेपालमा ०४६ साल भन्दा अगाडि निरंकुश राजतन्त्रात्मक व्यवस्था थियो । ०६२ सम्म संबैधानिक बताइएको राजतन्त्र थियो । ०६३ सालमा यो व्यवस्थाले हार खायो र पुँजीवादी गणतन्त्र स्थापना भएको हो । राजालाई सर्वोपरी मानेर सत्ता चलाएकाले पुनः राजतन्त्र फर्काउने प्रयास गरिरहन्छन् । सत्ता गुमेकाहरूले सत्ता प्राप्त गर्न प्रयत्न गरिरहन्छन् । पुँजीवादी शासन चलाउनेहरूले उनीहरूको सत्ता पराजित भएपछि पनि पुनः आफ्नो सत्ता स्थापना गर्न प्रयास गरिरहन्छन् । यस्तै वर्गसङ्घर्षको बाटोबाट नै समाज अगाडि बढ्दछ ।

अहिले हाम्रो देशमा राजनीतिमा पुँजीवादी गणतन्त्र संस्थागत भएको छ । सत्ता दलाल नोकरशाही पुँजीपति र सामन्तहरूको हातमा रहेको छ । दलाल पुँजीवाद हावी भएको छ । यो जनताको पक्षमा नभएकोले यसको अन्त्य गर्नुपर्छ ।

कतिपय आफूलाई कम्युनिस्ट बताउने, जनताका पक्षमा बताउने सङ्गठनले वर्तमान व्यवस्थालाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिन्छन् । आफूलाई कम्युनिस्ट भन्दछन् तर अहिलेको भन्दा अगाडि जाने कुनै योजना, नीति वा कार्यक्रम बनाउँदैनन् । वर्तमान व्यवस्थाभन्दा अगाडि नयाँ जनवादी व्यवस्थाको प्रचारप्रसार, नीति वा योजना बनाउने सङ्गठनहरूलाई विभिन्न आक्षेप लगाएर कमजोर बनाउने काम गर्दछन् । उनीहरू वर्तमान व्यवस्था अन्तर्गतका सुविधाहरू लिन र त्यसैमा रमाउन चाहन्छन् । त्यस प्रकारका विचारले दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्दछ । दलाल र नोकरशाहीहरूले नेतृत्व गरेको गणतन्त्रले आम गरिब किसान र मजदुरहरूको पक्षमा काम गर्दैन । जनताको पक्षमा बनाउनको लागि पुँजीवादी गणतन्त्रलाई समाप्त गरेर नयाँ जनवादी क्रान्तिको स्थापना गर्नुपर्दछ । जतिबेलासम्म नयाँ जनवादी क्रान्तिको स्थापना हुँदैन जनताको पक्षमा काम हुन सक्दैन । यस्ता विषयमा, सत्ता परिवर्तनको विषयमा चीनमा माओत्सेतुङले नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि समाजवादमा जाने कुरा गर्ने तर त्यतातिर पाइलोसम्म नचाल्नेहरूलाई दक्षिणपन्थी भनेर बताउनुभएको थियो । त्यस्तै नेपालमा पनि गणतन्त्रलाई संस्थागत गर्ने नाममा दक्षिणपन्थीहरूले जनताको पक्षमा कामगर्ने, अगाडि बढ्न चाहने शक्तिलाई विभिन्न बाधा अडचन गर्ने गरेका छन् ।

० अहिलेको परिस्थितिमा कम्युनिस्ट पार्टीको भूमिका कस्तो हुनुपर्दछ ?

– अहिलेको विश्वपरिस्थिति भनेको साम्राज्यवादले प्रभुत्व कायम गरेको अवस्था हो । सबै देशका कम्युनिस्टहरूले सर्वप्रथम विश्वस्तरमा साम्राज्यवादको विरुद्धमा एकजुट भएर सङ्घर्ष चलाउनुपर्दछ । साम्राज्यवादले आफ्नो योजनालाई भूमण्डलीकृत गर्दै गइरहेको छ । यसको नेतृत्व अमेरिकाले गरेको छ । अमेरिकी साम्राज्यवादका विरुद्धमा अन्य साम्राज्यवादी शक्तिले पनि आफ्नो प्रभुत्व कायम गर्न चाहिरहेका छन् । यो अवस्थामा सबै साम्राज्यवादी शक्तिहरूको विरुद्धमा आन्दोलनलाई उठाउनुपर्छ । साम्राज्यवाद विरुद्धको आन्दोलनलाइ अगाडि बढाउँदै आफ्नै देशका प्रक्रियावादीहरू र साम्राज्यवादका दलालहरूका साथै विस्तारवादका विरुद्ध पनि सङ्घर्षलाई जारी राख्नुपर्दछ । साम्राज्यवाद, विस्तारवाद र तिनका दलालहरूका विरुद्ध सङ्घर्ष गर्नु र उनीहरूले विश्वका शोषित पीडित जनतामा पारेको असरबारे जनतालाई सचेत बनाउँदै लैजानुपर्दछ । विश्व स्तरमा साम्राज्यवाद र विस्तारवादका विरुद्ध सङ्घर्षलाई अगाडि बढाउन कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय संगठन आवश्यकता पर्दछ । आफ्नै देशका प्रतिक्रियावादीहरूका विरुद्ध सङ्घर्षलाई अगाडि बढाउन पनि राष्ट्रिय स्तरमा प्रतिकृयावाद विरोधी मोर्चाको आवश्यकता छ । विश्व स्तरमा र आप्mनै देशहरूमा साम्राज्यवाद, प्रतिकृवादीहरू र तीनका दलालहरूका विरुद्ध सङ्घर्ष गर्नलाई कम्युनिस्टहरूले मात्र होइन साम्राज्यवाद विरोधी देशभक्तहरूको समेत मोर्चा बनाउन आवश्यक हुन्छ ।

अहिलेको निर्वाचनबाट देशमा खिचडी सरकार बनेको छ । यसले जनताको पक्षमा कामगर्ने सम्भावना छैन । सामान्यत सुधारका कामहरूलाइ देखाएर आप्mनो अस्तित्व कायम गर्ने प्रयत्न हुने छ । विभिन्न विचार र आस्था देखिएका समूहले खिचातानीलाई प्राथमिकता दिएर सरकार बनाउने र ढाल्ने प्रयत्न जारी राख्ने छन् । यस्तो अवस्थामा कम्युष्टिहरूले उनीहरूको कुकृत्यलाई जनता सामु प्रष्टाउने र उनीहरूका विरुद्ध जनताले उठाउने सङ्घर्षको नेतृत्वगर्न सक्षम बन्नुपर्दछ ।

कम्युष्टिहरूले आप्mनो सङ्गठनलाई अनुशासित र व्यवस्थित नगरिकन बलियो बनिदैन । आफु बलियो बन्ने र शक्ति आर्जन गर्न मिल्नसक्ने सिद्धान्त, विचार र व्यवहारलाई लागु गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाको लागि देशभक्त, वामपन्थी क्रान्तिकारीहरूले सङ्घर्षलाई अगाडि बढाउनुपर्दछ ।

० हाँक साप्ताहिकलाई केही सुझाव छ कि ?

हाँक साप्ताहिकले ४० वर्ष पूरा गर्दैछ । एउटा साप्ताहिकले अविरल रूपमा ४० वर्ष पूरा गर्ने भनेको सामान्य कुरा होइन । पञ्चायती कालरात्रिमा यसले धेरै दुख र कष्ट व्यहोर्नु प¥यो । हाँक साप्ताहिकका सम्पादक क. शोभाखर धनञ्जयलाई प्रतिक्रियावादी सरकारले हत्या ग¥यो । हाँकले देश र जनताको पक्षमा निरन्तर काम गरिरहेको छ । यसले आफ्नो स्थापनाकालदेखि नै जनतालाई सुसुचित गराउँदै आइरहेको छ । हाँक साप्ताहिकले आफ्नो रफ्तारलाई अगाडि बढाइ रहेको छ ।

बहुदलको आगमनपछि हाँकलाई आधार बनाएर कतिपय व्यक्तिले आफ्नो स्वार्थ पूर्तिगर्ने काम गरे । जनतालाई सुसूचित गर्ने र देशको अवस्था उजागर गर्ने हाँक साप्ताहिकलाई बन्द गराउने धेरै प्रयत्नहरू भए । देशमा गणतन्त्र स्थापना भएपछि सही सुचना बाहिर लैजानुको सट्टा व्यक्तिगत रूपमा त्यसलाई प्रयोग गर्ने र आफ्नो इतिहास निर्माण गर्न लेख र समाचारहरू प्रशारण गर्नेसम्मका कामहरू भएको देखिन्छ । नयाँ जनवादी क्रान्तिको उद्देश्य स्थापित गर्न विभिन्न विचारहरूलाई प्रसारित गरिरहेको हाँकलाई विभिन्न बहानामा बन्द गर्ने निर्णय समेत गरेका छन् । हाँक साप्ताहिकमा समाचार पठाउने, सम्पादन गर्ने, वितरण गर्ने, लेखहरू लेख्ने र पढ्ने पाठकहरूलाई समेत विभिन्न आरोप लगाउने, कारवाही गर्ने, निष्कासित गर्ने काम भएका छन् । हाँक साप्ताहिकका सम्पादकले हाँक साप्ताहिक मेरो व्यक्तिगत सम्पत्ति होइन, पार्टीको सम्पत्ति हो, पत्रिका आजसम्म जसरी चलिरहेको छ त्यसरी नै चल्नुपर्दछ, पत्रिका कुनै प्रालिलाई हस्तान्तरण गर्दिन भनेका कारण उनलाई विभिन्न निम्नस्तरका आक्षेपहरू लगाउने गरिएको छ ।

माथि उल्लेखित कैयौँ बाधा, व्यवधानहरूका बाबजुद हाँक अहिले पनि प्रकाशित र प्रसारित भइरहेको छ । हाँक साप्ताहिकलाई बन्द गर्ने निर्णय भएपछि पनि जसरी हाँक निरन्तर रूपमा चलिरहेको छ त्यसरी नै अगाडि बढ्दै जानुपर्दछ । कुनै एकाध व्यक्तिको स्वार्थ वा गलत नियतका कारणले हाँकलाई बन्द हुन दिनु हुँदैन । यस पत्रिकाले देश र जनतामा चेतना बढाउन, कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउन, नयाँ जनवादी क्रान्तिको लागि आधार तयार पार्न जुन महत्वपूर्ण भूमिका खेलिरहेको छ त्यसलाई निरन्तरता दिंदै विभिन्न अडचनलाई चिर्दै अगाडि जानुपर्दछ भन्ने मेरो सुझाव रहेको छ ।

० अन्त्यमा भन्नु पर्ने थप केही छ कि ?

अन्त्यमा, हाँक साप्ताहिकको वर्ष ४०, अङ्क ९ मा प्रकाशित समाचार “कम्युनिस्ट सङ्ग्रहालय, नेपालको तेस्रो साधारण सभा” भन्ने शीर्षकले ध्यान आकर्षिक गरेको छ । केही वर्ष पहिले कम्युनिस्ट सङ्ग्रहालय, नेपालको सल्लाहकार समितिमा म पनि रहेकोले मेरो त्यतातिर ध्यान गयो । अहिले सम्पन्न भएको भनिएको कम्युनिस्ट सङ्ग्रहालयको साधारण सभामा त्यो सङ्ग्रहालयका आजीवन सदस्य रहेका कैयौँ सदस्यहरूलाई कुनै सुचना वा जानकारी नगराइकन त्यसको तेस्रो साधारण सभा सम्पन्न गरिएको छ । नेतृत्व परिवर्तन गरिएको छ । समितिमा फेरबदल गरिएको छ । आजीवन सदस्य रहेका सदस्यहरूलाई कुनै जानकारी नदिइकन कुनै संस्थाको साधारण सभा गर्नु अवैधानिक, नीति, नियम र कानुन विरुद्ध हुन जान्छ । त्यो साधारण सभाका प्रमुख अतिथि ने.क.पा. (मसाल)का महामन्त्री मोहनविक्रम सिंह थिए । मोहनविक्रम सिंहले पार्टीका विभिन्न सम्पत्तिलाई जसरी व्यक्तिगत बनाउने गरेका छन्, त्यसरी नै कम्युनिस्ट सङ्ग्राहलय, नेपाललाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्न प्रयत्न गरेको देखिन्छ । पछिल्लो समयमा त्यो संस्थाका कोषाध्यक्षले सङ्ग्राहलयमा हुने भ्रष्टाचारबारे केही उल्लेख गरेका छन् । हाँक साप्ताहिकले त्यस विषयमा अरू खोजविन गरेर सार्वजनिक सम्पत्तिलाई कसरी कुनै व्यक्ति वा गुटको सम्पत्ति बनाउन प्रयत्न गरिएको छ ? त्यसबारे सत्यतथ्य बाहिर ल्याउने छ भन्ने आशा व्यक्त गर्दै मसँग केही प्रश्नहरू सोधेर मेरा विचारहरू प्रसारित गरेकोमा हाँक साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु ।

मिति ः २०७९ माघ ८

Comments