प्रगतिशील सांस्कृतिक आन्दोलन समाज परिवर्तनको आन्दोलन हो

असल पाख्रिन, अध्यक्ष,सामना परिवार
० भदौ २० गते रक्तिम सामना वृहत जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस कार्यक्रमको जिम्मेवार कलाकार र नेतृत्व समेत भएको नाताले त्यस कार्यक्रमको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
– सांस्कृतिक कार्यक्रम भन्ने वित्तिकै लामो र व्यवस्थित ढङ्गले तयारी गर्नुपर्ने हुन्छ । यसको लागि दक्ष जनशाक्तिको पनि उत्तिकै आश्यकता हुन्छ तर हामीले यस कार्यक्रमलाई विभिन्न समस्या र जटिलताको बीचबाट हप्ता दशदिन लगाएर तयार गरी सम्पन्न पनि गरियो । यसलाई राजनीतिक, वैचारिक, सांस्कृतिक र आर्थिक सबै कोणबाट गहन ढङ्गले मूल्याङ्कन गरिनुपर्छ जस्तो लाग्छ । हामी छिट्टै नै समिक्षा बैठक बस्दैछौं र गहनपूर्वक मूल्याङ्कन हुनेछ । जे होस् कार्यक्रम सानदारपूर्वक सम्पन्न भएको छ । यसले राजनीनिक रुपमा हस्ताक्षेपकारी भूमिका निर्वाह गरेको छ भन्ने मलाई लाग्छ । पार्टीले लिएको लाइन र विचारलाई जनताको बीचमा पुनः गीत, संगीत र अभिनय मार्फत जागरण पैदा गराएकाछौं । पार्टी एकतापछि रक्तिम र सामना परिवारको संयुक्त प्रस्तुतिले एकखालको कलाकारहरुमा खुशी हुनुका साथै सकरात्मक तरङ्ग पैदा भएको छ । हामी कलाकारहरुमा पनि भावनात्मक एकता जागृत र उत्साह ल्याएको छ । लामो समयसम्म यस्तो कार्यक्रम नहुँदा मानिसहरुमा रक्तिम र सामना परिवारले केही गर्न सकिदैन भन्ने एकखालको भ्रम सृजनाहुन खोजिरहेको थियो । त्यसलाई हामीले चिरफार गरेका छौं भन्ने लाग्छ ।
० भदौ २० जस्तै कार्यक्रम देशको अन्य भागमा सञ्चालन गर्नेबारे पनि सोच्नुभएको छ कि ?
– ठ्याक्कै देशको अन्य भागमा अभियानकै रूपमा लैजाने भन्ने मिति त तयार भएको छैन । तर पनि यस विषयमा पार्टीको सम्बन्धित निकायमा कार्यक्रम के कसरी लैजाने र कुन रूपमा अगाडि बढाउने भन्ने कुरा पार्टी, जनसांस्कृतिक महासङ्घ र कलाकार बीचमा छलफल गर्नेछौँ । यसलाई सेलाउन दिन हुदैन । निरन्तर अभियानकै रुपमा सम्भावित ठाउँहरुमा लैजानुपर्ने आवश्यकता ठान्दछु ।
०अखिल नेपाल जनसांस्कृतिक महासङ्घ मातहतमा रक्तिम परिवार र सामना परिवार रहेको छ भन्ने सुनिन्छ । कतिपयले रक्तिम र सामनाको अझै पनि एकता किन नभएको होला भन्ने पनि सुनिन्छ । माथि उल्लेखित संगठन संस्थाहरु बीचको सम्बन्ध के हो ?
– हो, पार्टी एकतापछि पनि आ–आफ्नो पुरानो अवस्थामा नै यथावत रहेको भनेको सांस्कृतिक परिवार अथवा कलाकार मात्र हो । अन्य जबस मोर्चाहरू पार्टी एकतापछि मर्ज भइसकेको छ । तर हामी भएनौँ भएको भए राम्रो नै हुन्थ्यो । यसको बारे के कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी पटक–पटक छलफल बहस त भएकै हो तर यसलाई टुंग्याउन सकिएको छैन । किनभने रक्तिम र सामना परिवार भनेको नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो इतिहास बोकेको दुई सांस्कृतिक मोर्चाहरू हुन् । यसको आफ्नै छुट्टा छट्टुै महत्व र इतिहास छ । यस विषयलाई पार्टी नेतृत्वसँग र हामी कलाकारहरूबीच गहन ढंगले छलफल गरी छिटै नै टुंग्याउनु पर्छ जस्तो मलाई लाग्छ । जहाँसम्म सम्बन्धको सवाल हो । लामो प्रक्रिया र छलफल बहसद्वारा पार्टी नै एकता भएपछि त्यस पार्टी मातहतको सांस्कृतिक मोर्चाहरू राजनीतिक, वैचारिक र पार्टीले लिने कार्यदिशा लगायतको विषयमा समान धारणा नै हुने कुरा भइहाल्यो । त्यसैले हाम्रो सम्बन्ध भनेको कम्युनिष्ट पार्टीको सदस्यमा हुनुपर्ने कमरेडली सम्बन्ध नै छ ।
० सबैभन्दा पहिले सांस्कृतिक आन्दोलन वा सांस्कृतिक संगठनमा कहिले, कसरी आवद्ध हुनुभयो ?
–पूर्णकालीन भएपछि केही समय विद्यार्थी संगठनमा रही काम गरे । २०५८ सालतिरको कुरा हो जनयुद्ध एकपछि अर्को गर्दै तीव्र गतिमा अघि बढिरहेको थियो । आन्दोलनको आवश्यकताले गर्दा म सँगै पूर्णकालीन भएका केही साथीहरू सैन्य फर्मेसनतिर जिम्मेवारी लिएर जानुभयो । म नि जान्छु भने तर मलाई चाहिँ पार्टीले पठाएनन् किनभने सेनाको फर्मेसनमा जानुभन्दा कलाकारमा ठिक हुन्छ । नाच्न सुहाउने खालको शरीर पनि छ भनेपछि मलाई पार्टीले कलाकार तिरको जिम्मेवारी दिएको थियो । त्यसपछि म निरन्तर सांस्कृतिक संगठनमा नै छु ।
० तपाई काभ्रेमा जन्मनुभयो र त्यहीको राजनीतिक वातावरणमा हुर्कनुभएको व्यक्ति हुनुहुन्छ । अनेकोटका सांस्कृतिक सहिदहरुको बारेमा तपाईलाई के जानकारी छ ?
– उहाँहरूसँग भौतिक रुपमा भेटघाट र सहकार्य गर्न त पाएन तर पनि तत्कालीन फाँसीवादी राज्य सत्ताले २०५५ साल चैत्र ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा ७ जना सांस्कृतिककर्मीहरू जसले गीत, संगीत र अभिनय मार्फत जनचेतना जगाँउने काम गर्दथे । त्यस निर्दोष कलाकारको हातमा मादल, गितार र हार्मोनियम बाहेक केही थिएनन् । उहाँहरू कार्यक्रमका लागि अनेकोट पुुग्नुुभएको थियो । जहाँ त्यो कुरा पुलिसले थाहा पाएपछि सेल्टर लिइरहेको घर घेराहाली जिउँदै आगो लगाई जलाइदियो । यो इतिहासकै कालो दिन हो ।
यस घटनाले तत्कालीन राज्यको वास्तविक स्वरूप उजागर गरेको छ । यो राज्य सत्ता गीत, संगीत र अभिनय मार्फत समाज परिवर्तनका आवाज बुलन्द गर्ने सांस्कृतिककर्मी देखेर कति डराउँदा रहेछन् भन्ने कुरा त स्पष्ट नै छ । यस घटनामा सहादत प्राप्त गर्नुहुने च्याङ्बा लामा, निर्मला देवकोटा, सुभद्र सापकोटा, चिनीमाया लामा, गुम्बासिं तामाङ, डम्बर श्रेष्ठ र मञ्जु कुँवर लगायत आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सांस्कृतिक सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुले देखाउनुभएको बाटोलाई पच्छाइरहेको छु र रहिरहने छौं ।
० नेपालको वर्तमान प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनको अवस्था के छ ?
– यो एकदमै महत्वपूर्ण प्रश्न हो । नेपालको प्रगतिशील र जनवादी सांस्कृतिक आन्दोलनमा कम्युनिष्ट पार्टीहरू बीचको टुटफुट र विभाजनले गहिरो गरी प्रभाव पारेको छ । जसको कारणले कतिपय आफूलाई प्रगतिशील जनवादी सांस्कृतिककर्मी ठान्ने साथीहरु जानी वा नजानी संशोधनवादी र नवसंशोधनवादी कित्ताको सेवा गर्न पुगेका छन भने कति निराशा भएर आन्दोलनबाट टाढा रहेको देखिन्छ । जसको कारणले वर्तमान अवस्थामा अलि कमजोर नै देखिन्छ । सांस्कृतिक कर्मीहरू पनि कहिँ न कहिँ पार्टीको पछि लाग्नुपर्ने, त्यसलाई गहिरो ढंगले अध्ययन नगरिकन विभिन्न धारामा विभाजित भएकाछौं । यसले गर्दा सांस्कृतिक आन्दोलनलाई जुन गतिमा अगाडि बढाउनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।
० प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन के गर्नुपर्ने ठान्नुहुन्छ ?
– मूलतः नेपालमा कम्युनिष्ट आन्दोलन र विकासमा प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनको भूमिका, इतिहास र यसले पारेको प्रभाव निकै गहिरो र महत्त्वपूर्ण छ भन्ने कुरा माथि चर्चा गरिसकेको छु । आफूलाई साँच्चै प्रगतिशील सांस्कृतिककर्मीहरू र सर्वहारा वर्गको कित्तामा आफूलाई उभ्याउने हो भने पहिलो कुरा वैचारिक स्पष्टता हुन जरुरी छ । हामी जो जहाँ रहेपनि बृहत खालको छलफल, बहस र अन्तरक्रियाद्वारा आधारभूत रुपमा साझा सहमति हुने विषयलाई लिएर अगाडि बढ्नुपर्छ । राजनीतिक वैचारिक रुपमा मिल्नेहरूसँग एकता भई अन्यसँग साझा मुद्दालाई लिएर सहकार्य गर्नुपर्ने र मुद्दा मिल्नेहरुसंग संयुक्तरुपमा वृहत सांस्कृतिक कार्यक्रम र संयुक्त मोर्चाको आवश्यकता ठान्दछु ।
० प्रगतिशील सांस्कृतिक आन्दोलनमा आउँन चाहने नयाँ पुस्ताका साथीहरुलाई के सल्लाहा दिनुहुन्छ ?
– प्रगतिशील र जनपक्षीय सांस्कृतिक आन्दोलन केवल गीत, संगीत, कला र साहित्यमा सीमित छैन । यो एउटा समाज परिवर्तनको आन्दोलन पनि हो । समाजमा बजारमुखी संस्कृति, विकृति र विसंगति बढिरहेको छ । सस्तो लोकप्रियताको होडबाजी नै चलिरहेको छ उपभोक्तावादी संस्कृति मौलाइरहेको छ । सामाजिक सञ्जाल दुरुपयोग गरी भाइरल हुने नाममा उद्देश्यहीन, अश्लिल, नैतिकहीन र तुच्छ खालको सामग्री पोस्ट्याउने प्रवृत्ति दिनानुदिन बढिरहेको छ । अबको नयाँ पुस्ताले यी सबै खालको विकृति विसंगतिका विरुद्ध लड्दै समाजको रूपान्तरणका लागि र जनपक्षीय संस्कृति निर्माणमा लाग्नु आह्वान गर्न चाहन्छु ।
० सांस्कृतिक क्षेत्रमा तपाईको कार्यक्षेत्र वा विधा के हो ?
– मेरो मुख्य विधा भनेको नृत्य नै हो । आवश्यकता अनुसार वाद्यवादन र नाटक अभिनय पनि गर्छु ।
०  यहाँको श्रृजना केही छ कि ?
– सुरुसुरुमा आन्दोलनको आवश्यकताले त्यो बेलामा सिर्जना गर्ने मान्छे कम हुने हुन्थ्यो । त्यसबेला अलिअलि गीत र हाइकु लेख्ने कोसिस गर्थे तर निरन्तरता पाउन सकिएन सबै ध्यान नृत्य विधामा नै केन्द्रित भइयो । छुट्टै मेरो आफ्नो सिर्जना केही छैन ।
० भाद्र २३ र २४ गतेको हिंसात्मक घटनाबारे के भन्नुहुन्छ ?
–विद्यार्थीहरुमाथि गोली चलाउनु उनीहरुको हत्या गर्नु दुःखद हो, निन्दनीय हो । देशको महत्वपूर्ण संरचनाहरु जलाइनु पनि अत्यन्त गलत भएको छ । देशमा तरलताको स्थिति आएको छ । जनताका अधिकार गुम्न सक्छ । देशको राष्ट्रिय स्वाधीनता माथि आघात हुन सक्छ । जनता सतर्क बन्नु जरुरी छ ।
० अन्त्यमा केही छ कि?
–हाँक साप्ताहिकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित