निर्वाचन बहिष्कार सशक्त हुनेछ

–विक्रम थापा
सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति , कास्की

० गत मंसीर १६ र १७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चौथो पूर्ण बैठक सम्पन्न भएको जानकारी प्राप्त भयो, चौथो बैठकको मुख्य उद्देश्य के थियो ?
– गत मंसीर १६ र १७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चोथौ पूर्ण बैठक सम्पन्न भएको छ । सुशिला कार्की नेतृत्वको सरकारले गराउने भनिएको निर्वाचनको विषयमा आफ्नो धारणा स्पष्ट गर्नु यस बैठकको मुख्य उद्देश्य थियो ।
० सबै राजनीतक दलहरु फागुन २१ को निर्वाचन तर्फ केन्द्रित भइरहेको बेला निर्वाचन बहिष्कार गर्ने निर्णय गर्नु भएछ, निर्वाचन बहिष्कारको औचित्य पुष्टि गर्ने आधारहरु के के छन् ?
– हो । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते गर्ने भनिएको निर्वाचन सशक्त रुपले बहिष्कार गर्ने निर्णय गरेको छ । पहिलो कुरा त, यो सरकार अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारा र योजनामा बनेको सरकार हो । दर्जनांै आइएनजिओहरुमा आफ्नो संलग्नता रहेका मन्त्री परिषद्का सदस्यहरुको सहभागीताले पुष्टि गरेको छ । दोश्रो, जेनजीहरुको आन्दोलनको म्याण्डेट् विपरीतका कामहरु भएका छन । उनीहरुका माग अनुसार भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने कामबाट सरकार पछि हटेको छ । तेश्रो, कठपुतली र पराधीन सरकार भएकोले यसले गराउने निर्वाचन र निर्वाचनमा आउने नतिजाले हाम्रो राष्ट्रियता झनै कमजोर हुने र शक्ति राष्ट्रहरुको प्रभाव झनै बढेर जाने भएकोले एक जिम्मेवार र देशभक्त पार्टीले यो निर्वाचनलाई सशक्त रुपले बहिष्कार गर्ने निर्णय गर्दै आम जनताको साथ, समर्थन र ऐक्यवद्धताको लागि हार्दिक अपिल गर्दछ ।
०चुनाव प्रतिष्पर्धा गर्न नसकेर बहिस्कारको बहानामा चुनावबाट भागेको भनेर पनि तपाइहरुका आलोचकहरुले तपाइँहरुप्रति आलोचना गरेको सुनिन्छ, के त्यस्तै हो र ?
– विल्कुल त्यस्तो होइन । परिस्थितिको सही विश्लेषण गर्न नसक्दा आज देशले थुप्रै समस्या झेलिरहेको छ । जब जनतामा उच्च प्रकारको राजनैतिक चेतनाको विकास हुन्छ, त्यति बेला मात्रै हामीले गरेको निर्वाचनको वहिष्कारको पुष्टि हुनेछ । बरु त्यतिबेलासम्म राष्ट्रको परिस्थिति कुन तहसम्म बिग्रिसकेको हुने हो यो निकै चिन्ता र बहसको विषय बनेको छ ।
० निर्वाचन बहिष्कारको मोडेल कस्तो हुने छ ?
– मूलतः शान्तिपूर्ण र सशक्त हुन्छ । सरकारले हामीप्रति कस्तो रबैया अपनाउँछ त्यसमा निर्भर गर्दछ । लोकतन्त्रमा कुनै पनि राजनीतिक दलले आफ्नो नीति र कार्यक्रमलाई जनतासामु लाने र आफ्ना एजेन्डामा ऐक्यबद्धता गराउँदै जनताको साथ समर्थनको लागि जान पाउँछ र जान्छ । त्यो काम हामी वर्तमान बुर्जुवा व्यवस्थाले निश्चित गरेको परिधि भित्रै रहेर प्रभावकारी रुपले गर्छौं ।
० गत भाद्रको जेनजी विद्रोहको प्रभाव कास्कीमा कस्तो रह्यो ?
– सम्भवतः देशको राजधानी काठमाडांै पछि कास्की जिल्लामा जेनजी विद्रोहको असर राम्रैगरी प¥यो । प्रदेशकै राजधानी पोखरा भएकोले पनि बढी प्रभावित रह्यो । प्रदेश मातहतका मन्त्रालयहरु, नगरपालिका र वडा कार्यालयहरु, अदालत, प्रहरी कार्यालय, व्यावसायिक प्रतिस्ठान आदिमा ठूलो मात्रमा क्षति पुगेको थियो ।
० कास्की जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहासलाई फर्केर हेर्दा कसरी मूल्याङकन गर्नु हुन्छ ?
– कास्की जिल्ला शुरु देखि नै कम्युनिस्टहरुको प्रभाव रहेको जिल्ला हो । एतिहासिक पक्षलाई अध्ययन गर्दा विशेष गरि चौथो महाधिवेशनको प्रभाव राम्रो रहेको पाइन्छ र वर्तमानमा पनि कम्युनिस्ट आन्दोलनको भूमिका राष्ट्रियस्तरमा समेत प्रभावकारी देखिन्छ ।
० कास्की जिल्लाको वस्तुगत विवरण पनि जानकारी गराउनु न । त्यहाँका मजदुर र किसानहरुको अवस्था , पर्यटन व्यवसाय उद्योग कारखानाको स्थिति के छ ? कास्की जिल्लाको वर्गीय अन्तरविरोधहरुलाई केलाउनु पर्दा केभन्नु हुन्छ ?
– कास्कीको पोखरा पर्यटनको राजधानी पनि भएकोले पर्यटनको सम्भावना बोकेको जिल्ला हो । त्यस सँगसगै उत्पादनको तहमा औद्योगिक क्षेत्र समेत भएको शहर भएकोले सानै संख्यामा भए पनि औद्योगिक मजदुरहरु, पर्यटन मजदुर, निर्माण मजदुरहरुको राम्रै संख्या रहेको छ । स्थानीय किसानहरुका साथै अहिले युवाहरुको सहभागिता कृषि तथा पशुजन्य उत्पादनमा समेत उल्लेख्य मात्रामा रहेको छ र वर्गीय अन्तर्विरोध पनि पेचिलो रहेको छ । विभिन्न पार्टीहरु र त्यस अन्तर्गतका मोर्चाहरुको हित अनुकुलका र बिरोधका कार्यक्रम प्रायः भैरहने पोखरा क्षेत्रमा अन्यत्र भन्दा राजनैतिक संस्कारको नमुनाको राम्रै अनुभव गर्न पाइन्छ ।
० तपाइँ बाग्लुङ जिल्लाबाट आफ्नो अध्ययन तथा राजनीति प्रारम्भ गरी कास्की जिल्लालाई कार्यक्षेत्र बनाउनु भएको छ । राजनीतिक जीवनको प्रारम्भदेखि आजसम्मको स्थितिलाई सरसर्ती मूल्याङकन गर्दा के भन्नुहुन्छ ?
– २८÷३० वर्षको पोखरा बसाइ र राजनीतिक संलग्नतालाई मुल्यांकन गर्दा इमान्दार र निष्ठावान राजनीति गरे जस्तो लाग्छ । आफ्नो आलोचनात्मक चेतको आधारमा सहिलाई सहि र गलतलाई गलत भन्ने स्वभाव भएको कारण आफ्नै प्रकारको विशिष्टताले काम गरेको पाउँछु ।
० हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
– हाँक पत्रिकाको आफ्नै गरिमा, इतिहास र प्रभाव छ । मूलतः सर्वहारा वर्गीय आन्दोलन, राष्ट्र, राष्ट्रियता र जनजीविकाको क्षेत्रमा पत्रिकाले विगतदेखि
नै खेलेको भूमिकाप्रति विशेष धन्यवाद दिन चाहन्छु र पत्रिकाको निरन्तरता सँगै प्रगतिको शुभकामना दिन चाहन्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित