काठमाण्डौ । गत चैत्र १३ गते गठन भएको बालेन साह नेतृत्वको सरकारले विभिन संगठनहरुमाथि प्रतिबन्ध घोषणा गरेको कार्यलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले सरकार तानाशाह बन्दै जाने संकेत बताउनु भएको छ ।
३७ औं जनआन्दोलन दिवसको अवसरमा पार्टी कार्यालय कुपोण्डोलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव गजुरेलले सो कुरा बताउनु भएको हो । सरकार गठन भए लगत्तै वर्तमान सरकारले शिक्षण संस्थाहरुबाट विद्यार्थी संगठनहरु हटाउने, सरकारी कार्यालयका कर्मचारीहरुको ट्रेड युनियन हटाउने घोषणा गरेको थियो । गजुरेलले जनताले संघर्ष गरेर प्राप्त गरेको संगठन खोल्न पाउने अधिकार सम्पूर्ण संगठनहरु भित्रको अधिकार हो भन्दै सम्पूर्ण संगठनहरु वालेन सरकारको निरंकुश रवैया विरुद्ध एकजुट भएर संघर्ष गर्नु पर्ने आवश्यकतामा जोड दिनु भयो ।
महासचिव गजुरेलले जनताको हरेक आन्दोलनलाई दमन गर्न षडयन्त्र भएको स्पष्ट गर्दै जनताको संघर्षले नै परिवर्तन हुँदै आएको हुँदा फेरि पनि जनताको संघर्षले विजय प्राप्त गर्ने निश्चित छ भन्नु भयो । अर्को सन्दर्भमा महासचिव गजुरेलले गत आम निर्वाचनमा बहिस्कारको कार्यक्रमबाट आफ्नो पार्टी कमजोर नभएको दावी गर्नु भयो ।
गजुरेलले २०४६ सालको जनआन्दोलनमा चैत्र २६ गते सम्झौता र धोकाको दिन हो चैत्र २४ उत्साह र जनताको विजयको प्रतिनिधित्व गर्ने दिन हो भन्दै चैत्र २४ को क्रान्तिकारी स्पिरिटलाई पक्रिएर मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढाउन संकिने बताउनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले परिवर्तनका पक्षधरहरुले मात्र चैत्र २४ लाई जनआन्दोल दिवसको रुपमा मनाउँदै आएको बताउनु भयो ।
कंडेलले जेनजी आन्दोलबाट उदाएको शक्तिले देशमा गुण्डागर्दी मच्चाउन थालेको बताउनु भयो । उहाँले यस शक्तिले पश्चिमा शक्तिको सेवा गर्छ भन्नु भयो ।
कार्यक्रममा क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य शोभा सेन्चुरीले यो सरकारले इस्टन्टबाजी बाहेक जनताको काम नगर्ने बताउनु भयो ।
अखिल क्रान्तिकारीका अध्यक्ष महेश श्रेष्ठले देशको परिवर्तनकालागि विद्यार्थीहरु फेरि एकजुट भई संघर्षमा डट्नु पर्ने आवश्यकता औंल्याउनु भयो , क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिनाले वालेन सरकार विदेशबाट सन्चालित सरकार हो भन्नुभयो । कार्यक्रमको अध्यक्षता पार्टीका स्थायी समिति सदस्य हरिभक्त कंडेल र संचालन पिविएम चिन्तामणि पौडेलले गर्नुभएको थियो।
सरकार तानाशाह बन्दै जाने संकेत – महासचिव
Comments

