पीडा भुल्दै छमछमी नाचे नेपाली मजदुरहरु
–विक्रम विवश
चेन्नै, भारत । गरिखाने श्रमजीवी वर्गका मुक्तिका आवाजहरु घन्काउँदै हिंड्ने रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माले भारतको चेन्नैमा रोजगाररत नेपाली मजदुरहरुका बीचमा जनसंगीतको बेजोड प्रस्तुति दिएका छन् । आफ्ना प्रिय जनगायकलाई देख्न, भेट्न र सुन्न पाउँदा चेन्नै निवासी प्रवासी नेपालीहरुमा हर्षको सिमा नै रहेन । आफ्ना दुःख, पीडा र व्यथाहरुलाइ एकातर्फ पन्छाएर चेन्नैमा रोजगाररत नेपाली मजदुरहरु जनगायक जीवन शर्माका प्रस्तुतिहरुमा छमछमी नाँच्न पुगे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले २४ जुलाई २०२२ अर्थात् २०७९ साउन ८ गते चेन्नैको अमिर्थावली हलमा आयोजना गरेको संयुक्त एरिया सम्मेलनमा जनगायक जीवन शर्माको प्रस्तुति साँच्चै नै ऐतिहासिक र अविस्मरणीय रह्यो । कार्यक्रमका मुख्य आकर्षक रहेका शर्माले उपस्थित दर्शकहरुलाई पूर्ण सन्तुष्टि मिल्ने गरी सांगीतिक कोशेलीहरु प्रस्तुत गरे ।
देश छाडेर परदेशीने रहर कसलाई हुन्छ र ? आफ्ना जहान, लालाबाला र प्यारो मातृभूमिलाई चटक्कै छाडेर विरानो मुलुकमा गइ पसिना बगाउने रहर पक्कै पनि कसैलाई हुँदैन । तर देशभित्र रोजगारीको अवसर नपाए पछि तिनै जहानलालाबालाको छाक टार्नका लागि परदेशीन बाध्य छन् नेपालीहरु । बाध्यता र विवशताको भुमरीमा परेर विदेशको जुनसुकै ठाउँमा पुगे पनि आफ्नो देश र गाउँघर प्रतिको अटल माया हरेक नेपालीको मनमा सजिइरहनु पर्दछ । नेपालको हिमाल, पहाड, तराई जुनसुकै भेगमा बस्ने मानिस, संसारको जुनसुकै कुनामा पुगेर रोजगाररत रहे पनि सबैभन्दा पहिले उसले बुझ्नु पर्दछ –उ एक नेपाली हो । जनगायक जीवन शर्माले आफ्नो प्रस्तुतिको शुरवात नै देशप्रतिको अगाध आस्था र माया जागृत गराउने “मधेशी पहाडी” बोलको गीतबाट गरे ः–
नहोस कोही उँचो निचो
नहोस् काखा पाखा
नयाँ युगले गाओस् सधै
समानताको भाखा
आपसमा खिचातानी
लडाई खेल्नु भन्दा
अखण्ड यो नेपालको
समाऔं एउटै झण्डा……………
यसरी यो गीत मार्फत् जनगायक शर्माले नेपाली नेपाली बीचको एकतामा जोड दिएका थिए । हामी आपसमा जात, धर्म र क्षेत्र क्षेत्रमा विभक्त भएर होइन जो, जहाँ, जे भए पनि आखिर हामी सबै नेपाली हौं भन्ने भावलाई आत्मसाथ गरेर हामी अगाडि बढ्नु पर्छ । नेपाल देश बच्न सक्यो भने मात्र हामी सबै नेपाली बनेर बाँच्न र संसारभर चिनिन पाउने छौं । त्यसैले हामी सबैको पहिलो प्राथमिकता देश हुनुपर्दछ । “मधेशी पहाडी” बोलको गीतमार्फत् जनगायक जीवन शर्माले त्यही सन्देश प्रवाह गरेका थिए –चेन्नैमा बस्ने नेपाली मजदुरहरुका बीचमा ।
देशमा आज जनताले चाहे जस्तो शासन स्थापित हुन सकिरहेको छैन । देशमा राजनीति एउटा कमाइखाने भाँडो जस्तो भएको छ । जनताको मुक्ति अभियानको नेतृत्व गर्नेहरु नै आदर्शच्यूत हुँदै गैरहेका छन् । भ्रष्टाचार अनियमितता मौलाउँदै गैरहेको छ । कालो धन थुपार्नेहरु बढ्दै गैरहेका छन् । राजनैतिक नेतृत्वमा देखिएको नैतिक ह्रासताका कारण जनतामा यो व्यवस्थाप्रतिकै असन्तुष्टि चुलिंदै गैरहेको छ । भ्रष्टाचारको आहालमा डुबुल्की मारिरहेका देशका राजनैतिक नेतृत्वहरु प्रति तिखो व्यंग्य प्रहार गर्दै कार्यक्रममा जनगायक जीवन शर्माले “चाहिंदैन मलाई सिसाको महल” बोलको गीत प्रस्तुत गरे ः–
जता हे¥यो त्यतै देख्छु
असत्यको खेती
सच्चाइलाई रोक्न खोज्छन्
बाटो छेकी छेकी
कहिलेसम्म यो संसारमा
झुठले शासन गर्ने
सच्चाई र सौन्दर्यलाई
अप्ठारोमै पार्ने
चाहिंदैन मलाई…………………..
यो गीत मार्फत् जनगायक जीवन शर्माले सच्चाइको मार्गमा निरन्तर अघि बढ्न अपिल गरेका थिए । सत्य तितो लाग्न सक्छ । दलाल पुँजीवादले आक्रान्त बनाएको समाजमा सच्चाइको मार्गमा हिंड्ने कार्य निकै जटिल त अवश्य पनि हुन्छ, तर त्यो सच्चाइको मार्गमा हिंड्दा जुन आत्म सन्तुष्टि र खुशी मिल्छ त्यो कालो धनको पछि दर्गुदा मिल्न सक्दैन ।
कालो धन थुपार्नेहरु बाहिर हासीखुशी जस्तो देखिए पनि भित्रभित्र उनीहरुको मन डर त्रासको भुंग्रोमा जलिरहेको हुन्छ । उनीहरुका काला कर्तुतको एक दिन पटाक्षेप भएरै छाड्छ । कालो धन थुपारेर रमाइरहेकाहरुको त्यो खुशी क्षणिक हो । त्यस्ता मान्छेहरुलाई जनताले भित्री मन देखि नै घृणा गरिरहेका हुन्छन् । यसरी यो गीत मार्फत् जनगायक शर्माले जतिसुकै अप्ठारो भए पनि सच्चाइको बाटोमा निरन्तर लागिरहन भ्रष्टाचार र अनियमितताको कुचक्रमा नफस्न प्रवासी नेपालीहरुलाई अभिप्रेरित गरे ।
शर्माले कार्यक्रममा बाध्यता र विवशताको भुमरीमा परेर विदेशी सेनामा भर्ति हुन पुगेका नेपाली युवाहरुको मर्मस्पर्शी भाव समेटिएको “फोकल्याण्डको टापुबाट” बोलको गीत समेत प्रस्तुत गरेका थिए । मणि थापाको शब्द र जीवन शर्मा स्वयं कै संगीत रहेको रक्तिमको उक्त गीत शर्माले कार्यक्रममा प्रस्तुत गरिरहँदा धेरैका आँखाहरु रसाइरहेको प्रष्ट देख्न सकिन्थ्यो । मानिसको जीवनयात्रामा अनेक प्रकारका अप्ठ्याराहरु आउन सक्छन् तर पनि हामी बिचलित नभई अगाडि बढ्नुपर्छ ।
सुख र दुःख जीवनका दुई पाटा हुन । महासमरका यात्रीहरुको बाटो त झनै अप्ठ्यारो र कहालीलाग्दो खालको हुन्छ । चुनौतीका पहाडहरुसँग पौठीजोरी खेल्दै मानिस अघि बढ्नु पछृ । दुःख प¥यो, समस्या आयो भनेर आत्तिने होइन बरु आफ्नो मनलाई दरिलो पारेर चुनौतीहरुको सामना गर्दै मानिस अघि बढ्नु पर्छ । अनि मात्र मानिसले सुखको सागर भेटाउन सक्नेछ । यस्तै भावना समेटिएको “उडि हिंड्ने बादल जस्तै मेरो जीवन कथा”बोलको गीत पनि शर्माले कार्यक्रममा प्रस्तुत गरे ।
अर्कैको भारी बोकेर जीविकोपार्जन गर्ने असी वर्षीय भरियाको बेदना समेटिएको रक्तिमको कालजयी गीत –“सिमली छायाँमा बसी” जनगायक जीवन शर्माले प्रस्तुत गरिरहँदा एक बृद्ध आमा मंचमै पुगेर छमछमी नाचेकी थिइन । मञ्चमा मात्र होइन दर्शक दिर्घामा समेत नाँच्नेहरुको लहर चलेको थियो ।
परदेशको विरानो भुमीमा पसिना बगाउनेहरुका आफ्नै व्यथा र कथाहरु छन् । मालिकको हप्कीदप्की, समयमा तलव नपाउने, श्रम शोषणमा पर्नुपर्ने, चाडपर्वका बेला आफ्नो घर फर्किन विदा समेत नपाइने–यस्तै अनेकौं कारुणिक व्यथा बोकेर बसिरहेका छन् प्रवासी नेपालीहरु । चाडपर्वका बेला छुट्टि नपाएपछि नेपालमा रहेका आफ्ना घर परिवारलाई “यसपाली त यस्तै भयो अर्को साल अवश्य आउने छु” भन्दै ढाँट्नु पर्ने बाध्यता छ उनीहरुलाई । परदेशी नेपालीका ती पीडालाई नजिकबाट बुझेका जनगायक शर्माले कार्यक्रममा सोही भावना समेटिएको “यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा ” बोलको चर्चित गीत पनि प्रस्तुत गरे । नौमती बाजाको तालमा जनगायक शर्माले यो गीत गाइरहँदा आफ्ना पीर व्यथाहरु भुलेर दर्शकदीर्घा पूरै नाँच्न पुगेको थियो ।
नेपाल आमाको अस्तित्व यतिबेला संकटमा पर्दै गैरहेको छ । देशमा राष्ट्रघात र जनघातका श्रृंखलाहरु बढ्दै गैरहेका छन् । नेपाल आमाको छातीमा विस्तारवाद र साम्राज्यवादका खुनी नंग्राहरु गडिरहेका छन् । आफ्नो अस्तित्व रक्षाका लागि नेपाल आमाले आफ्ना सन्तानहरुसँग गुहार मागिरहेकी छिन् । यस्तो बेला देशको मुहार फेर्ने सामथ्र्य बोकेका नेपाल आमाका धेरै सन्तान परदेशी भूमिमा रगत र पसिना बेच्न बाध्य छन् ।
देशको युवा शक्तिलाई परदेशिन बाध्य पारेर देशका शासकहरुले राज्यको ढुकुटीमालुटको आतंक मच्चाइरहेका छन् । देशको मुहार फेर्नका लागि नेपाल आमाको मुहारमा खुशी ल्याउनका निम्ति, नेपाल आमाको आँशु पुछ्नका निम्ति, नेपाल आमाका सबै सन्तान मिलेर मात्र सम्भव हुनेछ । त्यसका लागि परदेशिन बाध्य पारिएका नेपालीहरु पनि अब स्वदेश फर्कनु पर्छ । आफूलाई परदेशिन बाध्य पार्ने को हो ? उनीहरुलाई चिन्नुपर्छ र सधैभरी परदेशीन बाध्य पार्ने देशको थिति बदल्ने अभियानमा लाग्नु पर्दछः–
नेपाल आमा नेपाली माटो
पर्खिरहेछन् हेर्दै तिम्रो बाटो
देशका सन्तान मिलेर सारा
पुछ्नु छ भन्दैछन् आँशुका धारा
परदेशी तिमी फर्कि आऊ है
परदेशी सारा फर्कि आऊ है……….
जनगायक जीवन शर्माले यसरी नेपाल आमा र नेपाली माटोको सन्देश कार्यक्रममा प्रस्तुत गर्दा हल पूरा भावुक बन्न पुगेको थियो । यो गीत मार्फत् जनगायक शर्माले विदेशी भूमिमा रगत र पसिना बेच्न बाध्य बनाइएका सारा परदेशी नेपालीहरुलाई स्वदेश फर्किन आह्वान गरे । नेपाल आमाको पुकार सुन्न अपिल गरे । देशको अस्तित्वको रक्षाका निम्ति देशभक्तिपूर्ण आन्दोलनको मार्गमा अघि बढ्न प्रवासी नेपालीहरुलाई अभिप्रेरित गरे । शर्माका प्रत्येक प्रस्तुतिहरु निकै आकर्षक र प्रभावकारी रहेका थिए ।
यसरी आफ्ना जनसंगीतका माध्यमबाट जनगायक जीवन शर्माले भारतको चेन्नैमा रोजगाररत रहेका प्रवासी नेपालीहरुका आँसु पुछ्ने काम गरे ।
चेन्नैमा रोजगाररत नेपाली मजदुरहरुका निम्ति जनगायक शर्माले प्रस्तुत गरेका गीत संगीत राहतको सितलो सांगीतिक मल्हम बन्न पुगेका छन् । शर्माको सांगीतिक प्रस्तुति हेर्नैका लागि चेन्नैको कुना कुनाबाट प्रवासी नेपालीहरु अमिर्थावली हल आइपुगेका थिए । हलभित्र नअटेपछि हल बाहिर सडकमा लामबद्ध रहेर समेत दर्शकले कार्यक्रम हेरेका थिए ।
जनगायक जीवन शर्माको प्रस्तुतिबाट चेन्नैमा रोजगाररत नेपाली मजदुरहरु पूर्णरुपमा सन्तुष्ट देखिएका छन् । “जीवनजीलाई चेन्नै ल्याएर मजदुरहरुकै बीचमा मजदुरका गीत सुन्ने ठूलो धोको थियो, त्यो पुरा भएको छ । उहाँका प्रस्तुतिबाट हामी सबै अति खुशी भएका छौं ।” कार्यक्रममा सहभागी उमानन्द शर्माले भने “कार्यक्रम हामीले सोचे भन्दा पनि धेरै राम्रो किसिमले सम्पन्न भयो ।
जनगायक जीवन शर्माको उपस्थितिनै हाम्रा लागि उर्जाको विषय थियो । उहाँका सांगीतिक कोशेलीहरु हामी प्रवासी नेपाली मजदुरहरुका लागि राहतको सितल मल्हम बन्न पुगेका छन् ।” यस्तै सन्तुष्टि सम्मेलनमा सहभागी माया हमालले समेत व्यक्त गरिन । “दुःखी गरिबका मुक्तिका गीतहरु गाउँदै हिंड्ने जनगायक जीवन शर्मा हाम्रा निम्ति एक आर्दश व्यक्तित्व हुनुहुन्छ । उहाँलाई प्रत्यक्ष देख्न, भेट्न र सुन्न हामी निकै आतुर थियौं ।” –सहभागी हमालले भनिन– “मूल प्रवाहको संयुक्त एरिया सम्मेलनले जनगायक जीवन शर्मालाई नजिकबाट देख्ने, भेट्ने र सुन्ने अवसर जुटाईदियो । उहाँबाट धेरै कुराहरु सिक्न पाइयो । उहाँका प्रस्तुतिले हामीलाई ठूलो उर्जा र शिक्षा मिलेको छ । हामी सबै अति खुशी छौं ।”
यतिबेला जनगायक जीवन शर्मा कार्यक्रम सम्पन्न गरेर स्वदेश फर्किसक्नु भएको छ । तर चेन्नैमा रोजगाररत रहेका प्रवासी नेपालीहरुको मानसपटलमा अहिले पनि जनगायक शर्माको त्यही उर्जाशलि प्रस्तुति झलझली नाँचिरहेको छ ।