काठमाडौं । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले लिएको संयुक्त मोर्चाको नीति अहिले पनि आवश्यक रहेको बताएका छन् । दलाल पुँजीवादका विरुद्धमा जुध्न त्यसप्रकारको मोर्चा अहिले आवश्यक रहेको संयोजक नेपालीको भनाई छ ।
“हिजो पुष्पलालका पालामा सामन्ती अधिनायकवाद विरुद्धको संघर्षको प्रश्न मुख्य थियो । त्यसैले कमरेड पुष्पलालले त्यो बेला सामन्ती अधिनायकवाद विरोधी सबै शक्तिहरुको संयुक्त मोर्चा निर्माणमा जोड दिनु भएको थियो ।” नेकपा माक्र्सवादी (पुष्पलाल) ले २०७९ साउन ७ गते काठमाडौंमा आयोजना गरेको पुष्पलाल स्मृति दिवश समारोहलाई सम्बोधन गर्दै संयोजक नेपालीले भने–“अहिलेको परिस्थिति बदलिएको छ । खासगरी २०६२÷६३ को जनआन्दोलनपछि दलाल पुँजीवादले सबैतिर प्रभाव पारिरहेको छ । दलाल पुँजीवादका विरुद्धमा जुध्न अहिले त्यसप्रकारको संयुक्त मोर्चा आवश्यक छ । त्यसैले पुष्पलालको संयुक्त मोर्चाको नीतिको महत्व अहिले झनै बढेर गएको छ ।” पुष्पलालले सामन्ती अधिनायकवादका विरुद्धमा सबै विरोधी शक्तिहरुलाई एक ठाउँमा ल्याउनु पर्छ भन्ने विचार राख्ने गरेको स्मरण गराउँदै नेता नेपालीले पुष्पलाललाई गद्दार भन्ने तत्कालिन मसालको विश्लेषण गलत रहेको प्रष्ट पारे । “पुष्पलाललाई मसालले पहिले गद्दार भनेको थियो । पाँचौं महाधिवेशन पछि पार्टीले त्यो गल्ती सच्चाओ ।”–संयोजक नेपालीले भने–“पुष्पलाललाई गद्दार भन्नु वास्तवमा सही थिएन । कम्युनिस्ट पार्टीको संस्थापक नेतालाई सामन्ती अधिनायकवाद विरुद्ध लड्न कांग्रेससँग समेत मिलेर संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने विचार राखेकै आधारमा गद्दार घोषित गरिनु किमार्थ सही मान्न सकिदैनथ्यो । पछि २०४६ सालको आन्दोलनले पुष्पलालको उक्त नीति सही भएको प्रमाणित ग¥यो ।” सम्बोधनका क्रममा नेता नेपालीले पाँच दलीय गठबन्धनको देउवा सरकारले देशमा जनघात र राष्ट्रघातका श्रृंखलाहरु बढाउँदै लगिरहेको चर्चा गर्दै एसपीपी फेरि नयाँ स्वरुपमा आउन सक्ने खतरा समेत औल्याएका थिए ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको सभाहलमा आयोजित उक्त सभासमारोहलाई क्रानितकारी संयुक्त मोर्चाका प्रतिनिधि नारायण शर्मा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारयाण सुवेदी, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, नेकपा माक्र्सवादी (पुष्पलाल) का वरिष्ठ नेता अच्यूतराज ज्ञवाली, वामपन्थी नेता एवं पूर्व मन्त्री ठाकुर शर्मा, पुष्पलाल विचार मञ्चका नेता एकलाल श्रेष्ठ, नेकपा (समाजवादी) का महासचिव मानबहादुर तामाङ, नेकपा (राष्ट्रवादी) का अध्यक्ष मिननाथ देवकोटा र वामपन्थी नेता उदयराज अधिकारी लगायतका अतिथिहरुले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता नेकपा माक्र्सवादी (पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङले गरेका थिए भने स्वागत मन्तव्य टिकमाया गुरुङले राखेकी थिइन । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको फोटोमा पुष्प अर्पण गर्दै अघि बढेको उक्त कार्यक्रमको संचालन दुर्गा नेपालले गरेकी थिइन ।