काठमाडौं । भरतपुर । नेकपा (मसाल) भित्रको क्रान्तिकारी विचारधारालाई समर्थन गर्दै चितवन जिल्लामा नेकपा (मसाल) जिल्ला समन्वय समितिको भेला सम्पन्न गरिएको छ । मसालभित्र विगत लामो समयदेखि दक्षिणपन्थी विचार र क्रान्तिकारी धारका बीचमा तीब्र अन्तरसंघर्ष चल्दै आइरहेको छ । मोहनविक्रम सिंहले दक्षिणपन्थी विचारको नेतृतव गरेका छन् भने क्रान्तिकारीहरुले सन्तबहादुर नेपालीको संयोजकत्वमा समन्वय समिति नै निर्माण गरी गतिविधि अगाडि बढाइरहेका छन् ।
मसालको उक्त समन्वय समितिले क्रान्तिकारी विचारधाराको रक्षाका लागि विशेष महाधिवेशन गरेर जाने उद्घोष गरिसकेको छ । चितवनमा २०७९ साउन १२ गते सम्पन्न मसाल समन्वयको जिल्ला भेलाले विशेष महाधिवेशनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेकपा (मसाल) जिल्ला समन्वय समिति चितवनको उक्त भेलाले पार्टी जिल्ला प्रवक्ताको जिम्मेवारी कमल गिरीलाई दिएको छ । प्रवक्ता गिरीले २०७९ साउन १४ गते एक प्रेस वक्तव्य जारी गर्दै भेलाले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् । जारी वक्तव्यमा अगाडि भनिएको छ–“नेकपा (मसाल) केन्द्रीय समन्वय समितिले आयोजना गर्न लागेको विशेष महाधिवेशन लाई समर्थन गर्दैे जिल्ला समन्वय समिति चितवनले २०७९ श्रावण १२ गते जिल्ला भेला सम्पन्न गरेको छ । भेलाले गरेका निर्णयहरुलाई सार्वजनिक गर्न यो वक्तव्य जारिगरिएको छ ।
आठौं महाधिवेशनको तयारीको समय देखि पार्टी भित्र दुईलाइनको संघर्ष तीब्ररुपमा चलिरहेको थियो । आठौं महाधिवेशनमा पार्टीले दक्षिणपन्थी नीतिलाई पारित गरेपछि पनि त्यसलाई सच्याउन सकिन्छ कि भनेर करिब ३ बर्ष देखि अन्तरपार्टी संघर्ष संचालन गर्दै आएका थियौं । तर एम वि नेतृत्वले मतभेद राख्ने कार्यकर्ताहरुलाई जिम्मेवारी विहिन बनाउने, घटुवा गर्ने, एकलीकरण गर्ने, विभिन्न बहानामा समितिहरु भंग गर्ने र निस्काशन सम्मका कार्वाहीहरु गर्ने जस्ता कामहरु हुँदै आएपछि क्रान्तिकारी पार्टी निर्माणकोलागि भेलाको आयोजना गर्नु पर्ने र कमिटि गठन गर्नु पर्ने आवश्यकता अनुसार चितवन जिल्लामा कार्यरत पार्टी सदस्यहरुको भेला सम्पन्न गरिएको छ । उक्त भेलाले नेकपा (मसाल) जिल्ला समन्वय समिति गठन गरि जिल्ला प्रवक्तामा का. कमल गिरीलाई चयन गरेको छ । जिल्ला समन्यय समितिले संगठनात्ककाम लाइ अगाडि बढाउँदै विशेष महाधिवेशनलाई सफल गर्न सहयोग पुराउने निर्णय गरेको छ । साथै भेलामा विभिन्न कारणले उपस्थित हुन नसकेका कामरेड हरुलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।
देशमा पाँच दलिय गठबन्धन सरकारले राष्ट्रघाति नागरिकता विधेयक, एम सी सी लाई पारित गरेर देशलाई असफल बनाउँदै साम्राज्यवादको छातामुनी लैजाने र भारतीय विस्तारवादको योजना अनुसार नेपाललाई भारतीय संघमा मिलाउने योजनामा काम गरेको, महंगाइले जनताको ढाड सेकेकोले त्यसका विरुद्धमा एकल वा संयुक्त रुपमा संघर्षलाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।”
