काठमाडौं । राष्ट्रियता र जनजीविकाका विषयहरुमा संयुक्त संघर्ष अगाडि बढाइरहेका ६ वाम दलहरुले २०७९ असार २५ गते विषयविज्ञहरु सहित काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
‘राष्ट्रिय स्वाधिनता रक्षाको लागि नागरिकता बितरण सम्बन्धी राष्ट्रिय दृष्टिकोण’ विषयक उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीले गरेका थिए । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य परी थापाको समिक्षात्मक मन्तव्य रहेको सो अन्तरक्रिया कार्यक्रम नेकपा (बहुमत) का नेता कृष्ण धिमालको संचालन र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीको स्वागत मन्तव्यमा अघि बढेको थियो । अन्तरक्रिया कार्यक्रममा आयोजक ६ वाम दलका तर्फबाट संयुक्त क्रान्तिकारी मोर्चाका प्रतिनिधि नारायण शर्माले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
पुर्व राजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अन्तरक्रियालाई सम्बोधन गर्दै राष्ट्रियताका लागि सबै भन्दा बढी खतरा जनसाङ्खिक अतिक्रमण भएको बताए । ‘यो विधेयक तराईवासीको पनि हित विपरीत छ । यो खारेज गरिनु पर्छ ।’ –परराष्ट्रविद श्रेष्ठले भने –‘ रैथाने नेपालिले पाउने तर बिदेशीले नेपाली नागरिकता लिनै नसक्ने खालको कठोर नागरिकता नीति ल्याउनु पर्दछ ।’
पुर्व उपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सिपि मैनालीले अन्तरक्रियामा बोल्दै प्रस्तुत अवधारणापत्र महत्वपूर्ण रहेको बताए ।
नागरिकता अध्ययन कार्यदलका संयोजक साध्य बहादुर भण्डारीले अन्तरक्रियालाई सम्बोधन गर्दै अहिले अगाडि बढाउन खोजिएको नागरिकता विधेयक गम्भीर प्रकारको राष्ट्रघाती रहेको बताए । ‘केपि ओलीको पालामा ल्याइएको नागरिकता विधेयक भन्दा अहिले देउवाको पालामा अघि बढाउन खोजिएको विधेयक गम्भीर राष्ट्रघाती प्रकृतिको छ ।’ –नागरिकताबिज्ञ भण्डारीको भनाई थियो ।
अन्तरक्रियालाई सम्बोधन गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारीले राष्ट्रियताका सवालमा नेपाल गम्भीर मोडमा उभिएको बताए । बरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो –‘नेपालमा भएका देशभक्त सहि वामपन्थी शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रघाती नागरिकता विधेयक खारेज गराउन लाग्नु पर्छ । म आफू पनि त्यही ठाउँमा उभिनेछु ।’
अन्तरक्रिया कार्यक्रममा आफ्नो बिचार राख्दै पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले देउवा, प्रचण्ड र केपिले कट्टु लाएर अमेरिकाको दलाली गरेको भन्दै तिनलाई अब एउटै पार्टी बनाउन सुझाब दिए ।
अन्तरक्रिया कार्यक्रममा फ्लोरबाट राम बहादुर बुढा, नारायण सापकोटा, प्रकाशचन्द्र ढकाल र नारायण प्रसाद धिमाल लगायतले बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिताराम तामाङ्ग र हाँक साप्ताहिकका प्रधान सम्पादक र प्रकाशक गोबिन्द सिंह थापा लगायतको आतिथ्यता रहेको थियो ।
इच्छुक प्रतिष्ठानको सभाहलमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा धन्यवाद मन्तव्य माओवादी कम्युनिस्ट पार्टी नेपालका नेता पासाङ्ग मोक्ताङले राखेका थिए ।