–कृष्णप्रसाद भण्डारी, वरिष्ठतम् वरिष्ठ अधिवक्ता
कृष्णप्रसाद भण्डारी नेपालको न्याय क्षेत्र र कम्युनिस्ट आन्दोलनमा सुप्रसिद्ध नाम हो । बुबा पशुपति भण्डारी र आमा चन्द्रकुमारी भण्डारीको कोखबाट वि.सं. १९८४ मा कृष्णप्रसाद भण्डारीको जन्म भएको थियो ।
नेपालमा अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने व्यक्ति मध्ये उहाँ ९ औं नम्बरमा र वरिष्ठ अधिवक्ता हुने मध्ये उहाँ ८ औं नम्बरमा हुनुहुन्थ्यो । उहाँले २०१४ सालदेखि कानुन व्यवसायीको रुपमा काम थाल्नुभयो । उहाँ भन्दा पहिलेका ७ जना सबै वरिष्ठ अधिवक्ताहरुको निधन भइसक्यो उहाँ अहिले नेपालका वरिष्ठ अधिवक्ताहरु मध्ये सबैभन्दा जेष्ठ वरिष्ठ अधिवक्ता हुनुहुन्छ । ९८ वर्षको उमेरमा पनि उहाँ अदालत जानु हुन्छ र बहसमा भाग लिनुहुन्छ ।
२००७ सालको राणा विरोधी सशस्त्र आन्दोलनमा प्रत्यक्ष सहभागी बनेका भण्डारीले वकालत र राजनीतिकर्मलाई सँगसँगै अगाडि बढाउनु भयो ।
० यहाँ त २००७ सालको राणाविरोधी आन्दोलनमा हिंड्नु भएको व्यक्ति हुनुहुन्छ । तपाई कसरी त्यो आन्दोलनमासहभागी हुनुभयो ?
–मेरो बुबा रौतहटको जमिन्दार हुनुहुन्थ्यो । मेरो दाजु मणिराज भण्डारी नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । म भारतको बनारसमा पढेको हुनाले गान्धीवादी चिन्तनबाट प्रभावित थिएँ । तर म घर आएको बेला रौतहटका गाउँमा घुम्ने गर्थे । राणा शासनको बारेमा पनि अध्ययन गरिरहेको थिएँ । म के निश्कर्षमा पुगें भने यो गान्धीवादी आन्दोलनबाट हुन्न, राणा शासन फाल्न बन्दुक उठाउनु पर्दछ ।
२००७ सालमा रौतहटको गौरमा ठूलो जुलुश प्रदर्शन भयो । त्यो प्रदर्शनमा राणा सरकारका सेनाले गोली चलाए । ११ जनाको मृत्यु भयो । जसमा ४ जना नेपाली थिए भने ७ जना भारतीय थिए । भारतीयहरु हुलचालमा लुटपाट गर्न आएका थिए । गोली लागेर मरे ।
मेरो दाजु मणिराज भण्डारीले पटना गएर विश्वेश्वर प्रसाद कोइरालासित कुरा गरेर राइफल लिएर आउनु भयो । २००७ सालको बन्दुकधारी सबै मरेर सकिए । ००७ सालको जीवित बन्दुकधारी हुँ म ।
० २००९ साल देखि ०१३ सालसम्म नेपालमा चलेको किसान आन्दोलनमा रौतहट जिल्ला निकै चर्चित रह्यो । त्यसबारे केही सुनाउनु न ।
–रौतहटको दक्षिणतर्फ घ्यूरखाप भन्ने गाउँ छ । त्यो गाउँमा मुसलमानहरु छन् । ती मुसलमानहरुको पारीपट्टि भारतमा नाता सम्बन्ध रहेछन् । नेपाली कांग्रेसका गणेशमान सिंह, नेपाल कम्युनिस्ट पार्टीका तुल्सीलाल अमात्य लगायत त्यो ठाउँमा (घ्यूरखापमा) धेरै बस्ने गर्दथे । उनीहरु आन्दोलनकारीहरुलाई सहयोग गर्ने गर्दथे ।
००९ सालपछिको किसान आन्दोलनमा घ्यु्रखापका मुसलमानहरुले हामीलाई धेरै मद्दत गरेका थिए ।
००९ सालमा हामीले प्रजापरिषद्का नेता रामहरी शर्मालाई किसान संघको नेता बनाएका थियौं । रौतहटमा तुङ्ग शम्सेर राणा, कम्युनिस्ट नेता विष्णु बहादुर मानन्धरका बुबा मानबहादुर मानन्धर र मेरो बुवा पशुपति भण्डारी ठूला जमिन्दार थिए । हामीले किसान आन्दोलनका तर्फबाट तमसुक फट्टा आन्दोलन चलायौं । जमिन्दारका छोराहरु नै तमसुक च्यात्ने आन्दोलनमा लागेपछि सानातिना जमिन्दारहरु डराए । किसान आन्दोलनले जनतामा चेतना ल्यायो । किसान आन्दोलनसँगै हामीले शैक्षिक चेतनाको प्रचार ग¥यौं । समाजमा शैक्षिक जागरण आयो । वच्चालाई विद्यालय पढ्न पठाउने लहर आयो ।
० २०१५ सालमा नेकपाले ४ वटा सांसद जित्दा रौतहटबाट २ जना सांसदहरु शेख फरमान र हरदयाल महतोले चुनाव जितेका थिए । त्यो जनआधार कसरी सम्भव भयो ?
–जनतासित, किसानसित, कम्युनिस्ट पार्टीको घनिष्ठ सम्बन्ध भएका कारणले त्यो जनआधार तयार भयो । किसान आन्दोलन जुन रौतहटमा चल्यो । त्यसले २०१५ को चुनावमा जित्ने आधार तयार पारेको थियो । रौतहटमा ३ वटा निर्वाचन क्षेत्र थियो । नेकपाले दुई क्षेत्रमा जित्न सम्भव भयो ।
० २०१७ सालपछि ती दुई जना सांसदहरुको स्थिति के रह्यो ?
–फरमान पहिले पनि हली नै थिए । ०१७ सालको राजाको कदम पछि फरमान घर बसेर हलो जोते, राजाको शासन समर्थन गरे । हरदयाल महतोका आफन्तहरु भारतमा थिए । उनी भारततिरै बस्न थाले । राजनीतिबाट टाढिए ।
० यहाँले नेकपाको दरभंगा प्लेनमको बेलाबखतमा स्मरण गर्नुहुन्छ । त्यो प्लेनमको बारेमा यहाँको के स्मरण छ ?
–०१७ पौष १ गते राजा महेन्द्रको कदमपछि आयोजना गरिएको प्लेनम थियो त्यो दरभंगा प्लेनम । ०१७ को राजाको कदमपछि जताततै राजनीतिक अन्यौलता थियो । जनतामा निराशा थियो । दरभंगा प्लेनममा केशरजंग रायमाझीको देशभित्रै फर्किएर राजा मान्नुपर्छ भन्ने मत थियो । पुष्पलालको कांग्रेससित मिलेर राजासँग लड्नु पर्दछ भन्ने मत थियो र तुलसीलालको हामी कांग्रेससित मिलेर होइन कम्युनिस्ट पार्टीले आफ्नै बलबुतामा, आप्mनै शक्तिले राजाका विरुद्ध लड्नु पर्दछ भन्ने मत थियो । त्यतिबेलाका काठमाडौंका जिल्ला सेक्रेटरी कृष्णदास श्रेष्ठले राजा महेन्द्रलाई काटेर टाउको बोकेर हिंड्नु पर्दछ भन्ने उग्र कुरा गरेका थिए ।
० विश्व कम्युनिस्ट आन्दोलनमा रुसी धार र चिनियाँ धारका बीचमा भएको अन्तरसंघर्षले विश्व कम्युनिस्ट आन्दोलन विभाजित भयो । नेपालमा पनि त्यसको प्रभाव प¥यो । तपाई किन रुसी धारमा लाग्नु भयो ?
–नेपालमा पनि रुसी धार र चिनियाँधारको प्रभाव आयो । म सधै रुसी धारको पक्षमा लागें । मलाई रुसीहरुले धेरै विश्वास पनि गरेका थिए ।
नेपालमा रुसी धार कमजोर भयो, चिनियाँ धारले नै धेरै प्रभाव पा¥यो । पुष्पलाल, मशाल, चौम, सबै माओ र चिनियाँ धारतिर लागे । म किन रुसी धारतिर लागे भने रुसी धार बढी व्यवहारिक र चिनियाँ धार तथा माओको लाइन यूटोपिया (काल्पनिक) लाग्यो । म सन् १९६० मा एउटा सांस्कृतिक टोलीको नेतृत्व गरेर चीन गएको थिएँ । म २२ दिन चीनमा बसें । माओले तिम्रो देशमा राजा आवश्यक छ भनेका थिए । माओ जस्तो विश्व नेताले त्यतिकै राजा आवश्यक छ भनेर भनेको होइन होला भन्ने मलाई लाग्यो । म १९६५ मा रुस गएँ । जम्माजम्मी म १३ पटक रुस गएँ । रुसले नेपालमा राजा चाहिन्छ भनेर बोलेन तर व्यवहारमा रुसले नेपालमा राजाको आवश्यकतालाई स्वीकार गरेको देखियो । रुस र अमेरिकाबीचमा शीत युद्ध चलिरहेका बेला राजा महेन्द्र रुस गएका बेला महेन्द्रलाई रुसले भव्य स्वागत ग¥यो । नेपालको विकास निर्माणमा पनि मद्दत ग¥यो । पूर्व पश्चिम राजमार्ग निर्माणमा सहयोग ग¥यो । उद्योगहरु खोल्न सहयोग ग¥यो । सन् १९५६ मा टंकप्रसाद जी प्रधानमन्त्री हुँदा चीन र रुससित दौत्य सम्बन्ध स्थापना भयो । म चीन जाँदा ह्वाङ हो नदीले वितण्डा मच्चाइरहेको देखे । त्यहाँ किसानहरुले ढुंगा बोक्दै थिए । उता रुस जाँदा रुसीहरुले अत्याधुनिक मेशिनहरुको विकास भएको देखें । हामीलाई एउटा विद्युत गृह निर्माण स्थल लगिएको थियो । छोटै समयमा मेसिनले पहाडमा सुरुङ बनाउने, सुरुङ बनाउँदा निस्किएका ढुंगाहरु एकै क्षणमा ट्रकले लिएर जाने गरेको देखियो । म त भौतिकवादी हुँ । पिछडिएको चीनको पछि लाग्नु भन्दा रुसलाई नै समर्थन गर्नु उपयुक्त ठाने । ती सबै परिस्थितिले मलाई रुसी धारमा रहने बनायो ।
० तपाई त स्नातकहरुको तर्फबाट राष्ट्रिय पञ्चायत सदस्य पनि बन्नुभयो । जेल पनि जानुभयो । त्यसको कथा पनि सुनौ न ।
–२०२८ सालको राष्ट्रिय पञ्चायत चुनावमा मलाई स्नातकहरुको तर्फबाट उम्मेदवार बनाइयो । बेलायतमा हवीग र टोरी दलको कथा हामीले पढेकै थियौं । मेरो चाहनाले भन्दा पनि अरुको आवश्यकताले म राष्ट्रिय पञ्चायत सदस्य भएको हुँ । राष्ट्रिय पञ्चायतको चुनावमा नेपाली कांग्रेसका सूर्य प्रसाद उपाध्याय, पञ्चायतका सूर्यबहादुर थापा र नेकपाका केशरजंग रायमाझीका बीचमा गठबन्धन थियो । उनीहरुलाई राष्ट्रिय पञ्चायतमा कानुन जानेको व्यक्ति चाहिएकाले पनि मलाई तीनै जनाले अनुरोध गरे र स्नातकहरुको तर्फबाट उम्मेदवार बने २०२८ को वर्षायाममा चुनाव भयो । २०२८ कै हिउँद तिर काठमाडौंको इटुम्वहालमा हामीले पंचायती व्यवस्थाका विरोधमा जनताका बीचमा कार्यक्रम ग¥यौं । डा. के. आई.सिंहको अध्यक्षतामा धेरै जनताको उपस्थितिमा कार्यक्रम भयो । त्यो कार्यक्रममा पंचायतको विरोध गरेको आरोपमा म, रामराजा प्रसाद सिंह,सूर्यबहादुर थापा लगायत जेल गयौं । म १७ महिना जेल बसें । ४ वर्षको कार्यकाल थियो २८ देखि ३२ सम्म । त्यसपछि राष्ट्रिय पंचायतमा स्नातकको प्रतिनिधिको प्रचलन हरायो ।
० केशरजंगको पार्टीले रुस पढ्न जाने सिफारिस गर्दथ्यो । कति विद्यार्थी गए रुस त्यतिबेला ?
–पञ्चायतकालमा ३० वर्षमा ६ हजार विद्यार्थी रुस पढ्न गए । धेरै जसो डाक्टर र इञ्जिनियर पढ्नका लागि सिफारिस गरिन्थ्यो । नेकपा र शोभियत–नेपाल मैत्री संघले सिफारिस गरेका विद्यार्थीहरुलाई रुसमा पढ्ने अनुमति थियो । सोभियत सरकारले नेपाल सरकारलाई विद्यार्थी अध्ययन कोटा पठाउँथ्यो । प्रधानमन्त्री कीर्तिनिधि विष्टका पालादेखि हामीले यस्तो व्यवस्था मिलाएका थियौं कि सरकारलाई आएका कोटा हामीसित पठाइदिन्थ्यो । कम्युनिस्ट पार्टीले वा शोभियत नेपाल मैत्री संघले विद्यार्थीहरुको सिफारिस गर्दथ्यो ।
रुस पढ्न गएका विद्यार्थीहरुले फर्केर आइ नेपालमा ठूलो ठूलो योगदान पु¥याएका छन् । उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले लगायतका उद्योगी व्यवसायी बने । मैले परराष्ट्रमन्त्री पदम प्रसाद विष्टलाई अनुरोध गरेर मनमोहन अधिकारीलाई पनि रुस उपचार गराउन पठाउने व्यवस्था मिलाएको थिएँ । रुसमा नेकपाको केन्द्रीय सदस्यलाई निःशुल्क उपचारको व्यवस्था थियो । म पनि एक पटक निकै विमार भएँ । म त केन्द्रीय सदस्य थिइन तर पार्टीको केन्द्रीय समितिले निर्णय गरेर मलाई उपचार गर्न सिफारिस गरेपछि मलाई निःशुल्क उपचार गरें । मलाई सन्चो पनि भयो ।
० नेपाल ल फर्मको योगदान के हो ?
–यो संस्थाले नेपालमा निकै ठूलो योगदान पु¥याएको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द कुनै बेला नेपाल ल फर्ममै आबद्ध थिए । यसबाट निस्किएका वकिलहरु ४ जना प्रधान न्यायधीश बने । नेपाल ल फर्मले विश्वविद्यालयकै काम गरेको छ । कैयौं सक्षम वकिलहरु यस संस्थाबाट जन्मिएका छन् ।
० संविधानसभाबाट संविधान निर्माण भएको आगामी साढे दुई महिनामा १० वर्ष पूरा हुँदैछ । गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समानुपातिक तथा समावेशी प्रणाली, समाजवाद उन्मुख राज्य प्रणाली संविधानका मूल मर्म हुन् । के यो देश संविधानको मूल मर्म अनुसार चले जस्तो लाग्छ ?
–अहिले संसारभरी माफिया गिरीको शासन छ । नेपालमा पनि माफिया गिरी कै शासन चलिरहेको छ । माफियाहरुले भ्रष्टाचार गर्छन् । यहाँ गणतन्त्रको छायाँमा लुटतन्त्र चलिरहेको छ । सरकारमा बस्नेहरु जनताका सेवक नभएर भ्रष्टाचारी र माफियाका सेवक बनेका छन् ।
० सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगले काम गर्न थालेको छ भनिन्छ । यी दुवै आयोगले बेलैमा आफ्ना काम टुंगाउलान ?
–बेलैमा काम पार लाउलान् भन्ने लाग्दैन । मेरो विचारमा मेलमिलाप नै सबैभन्दा उत्तम उपाय हो । यहाँ कसले कसलाई कार्वाही गर्ने ?
० संविधान संशोधनको चर्चा छ । संविधान संशोधन होला ?
–यो हल्ला संविधान संशोधन गर्नका लागि चलाइएको हल्ला नै हैन । म संविधान नै मान्दैन÷ मलाई त्यसप्रति खास चासो पनि छैन ।
० अन्त्यमा
मेरा सल्लाह के छ भने मोहन विक्रम, मोहन वैद्य, चन्द्रदेव जोशी र विप्लवको बीचमा एउटा संघ बनाउनु पर्दछ । पार्टी आ–आफ्नो भए हुन्छ । कुरा मिल्ने पार्टीहरुका बीचमा संघीय प्रकारको एउटा साझा संयन्त्र बनाउनु पर्दछ । पार्टी आ–आफ्नै होस् । तर साझा विषय र विकासका कार्यमा मिलेर जाने संयन्त्र बनाउनुपर्छ भन्ने मेरो सल्लाह छ ।

