समग्र सिस्टममा अनुसन्धान हुनु पर्दछ

–डा. प्रमोद ढकाल, वैज्ञानिक, लेखक तथा अनुसन्धानकर्ता

डा. प्रमोद ढकाल वैज्ञानिक, लेखक तथा अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँ वि.सं. २०१९ सालमा बागलुङ जिल्लाको हालको जैमिनी नगरपालिका वडा नं. ४ मा जन्मनु भएको थियो । ढकालले कक्षा १० सम्मको अध्ययन बागलुङबाटै पूरा गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट आइ.एस.सी., रुड्की युनिभर्सिटी, उत्तराखण्ड भारतबाट आईटिमा वि.ई. पूरा गरेपछि छात्रवृत्तिमा स्नातकोत्तर र विद्यावारिधी अध्ययन गर्न क्यानडा जानुभयो । उहाँले इलेक्ट्रिकल इन्जिनियरिङमा क्यानडाको सस्कात्चेवन विश्वविद्यालयबाट एम.ई र पि.एच.डी. अध्ययन पूरा गर्नुभयो । नेपालमा खुला विश्वविद्यालय निर्माणका अभियन्ता, अनुसन्धानकर्ता ढकाल अहिले नेपालमै रहेर अनुसन्धानकै कार्यमा सक्रिय हुनुहुन्छ । यसपटक हाँक साप्ताहिकले उहाँसित कुराकानी गरेको छ ः

० यहाँले विद्यावारिध (पि.एच.डी) कुन शीर्षकमा गर्नुभएको हो ?
–क्यानडाको सस्कात्चेवन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा एम.ई. र पि.एच.डी. अध्ययन पूरा गरेको हुँ । मेरो पिएचडीको शोधपत्रको शीर्षक थियो –Computer Aided Design Of Substation Switching Schemes ।
०तपाईको त्यस अनुसन्धानबाट समाज वा मानव जातिले के प्राप्त ग¥यो ?
–कम्प्यूटरबाट नै “ Electricity Power  System Controle” गर्न सकिने योगदान मेरो अनुसन्धानले पु¥याएको हो । विद्युतको सिस्टममा केही गड्वडी भयो भने क्षतिलाई न्यूनीकरण गर्न कम्प्यूटरबाटै सकिन्छ । कम्प्यूटरबाट नै निर्णय लिन सकिन्छ । जस्तै २२० भोल्टेज पावर विद्युत सर्किटमा चाहिएको छ । तर कहिलेकांही २५० भोल्टेज पावर आयो भने त्यसलाई २२० भोल्टेज पावरमा राख्नु प¥यो भने कम्प्यूटरबाटै त्यो काम गर्न सकिन्छ । अहिले प्रविधिमा धेरै नयाँ नयाँ विकास आइसकेको छ र अहिले यो ठूलो कुरा होइन । तर जति बेला मैले त्यो अनुसन्धान गरें, त्यो त्यतिबेला महत्वपूर्ण कुरा थियो ।
० तपाई भारतमा रुड्की विश्वविद्यालयमा अध्ययन गर्ने बेलामा अखिल भारत नेपाली विद्यार्थी संघमा काम गर्नु भएको थियो । त्यस संघमा बसेर तपाईले के कस्ता काम गर्नुभयो ?
– अखिल भारत नेपाली विद्यार्थी संघले नेपालबाट भारतमा पढ्न गएका विद्यार्थीहरुको बीचमा समन्वयात्मक भूमिका खेलेको थियो । नेपालका राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुलाई भारतमा बोलाएर नेपालको प्रजातन्त्र, नेपालको विकास बारेमा महत्वपूर्ण अन्तरक्रियाका कार्यक्रम आयोजना गरिएका थिए । त्यसले नेपाल र प्रवासमा रहेका प्रजातन्त्र प्रेमीहरुलाई पंचायतकालमा वैचारिक खुराक प्रदान गरेको थियो ।

० तपाईले क्यानडाबाट फर्किएपछि काठमाडौं नजिकै कुलेखानी जलविद्युत परियोजना निर्माणमा प्रारम्भिक चरणमा एउटा इन्जिनियरको रुपमा काम गर्नु भयो । त्यसको अनुभव बताउनुहुन अनुरोध छ ?
–मैले केही समय कुलेखानीमा काम गरें । प्रारम्भिक चरणमा मैले त्यहाँ एक इन्जिनियरको रुपमा काम गरेको थिएँ । आफूले अध्ययन गरेको विषयलाई व्यवहारमा प्रयोग गर्न पाउँदा मलाई खुशी लागेको थियो । तर मैले लामो समयसम्म त्यहाँ काम गरेन ।

० तपाई त्रि.वि. अन्तर्गतको पोखरा इन्जिनियरिङ क्याम्पसको इलेक्ट्रिसिटी डिपार्टमेन्टको प्रमुख भएर पनि काम गर्नु भयो । किन त्यहाँको शिक्षण कार्य छाड्नु भयो ?
– हो, म पोखरा क्याम्पसमा केही वर्ष पढाएँ । मैले पढाएका विद्यार्थीहरुले देश विदेशमा इन्जिनियरिङ क्षेत्रबाट योगदान पु¥याइरहेका छन् । मेरो बानी एकै ठाउँमा बसिरहने छैन । म नयाँ नयाँ खोज अनुसन्धान गर्न रुचाउँछु । त्यसो भएर मैले क्याम्पसमा अध्यापन गर्न छाडेर अरु कामतिर लागें ।

० तपाई नेपालमा खुला विश्वविद्यालय स्थापनाको संस्थापक अभियन्ता हो । खुला विश्वविद्यालयको संचालकमा रहिरहन सक्नुभएन । नेपालमा खुला विश्वविद्यालयको सम्बन्धमा संक्षिप्तमा तपाई अवधारणा सुनौं न ?
–नेपालमा खुला विश्वविद्यालय हुनुपर्छ भनेर मैले अभियान चलाएँ । खुला विश्वविद्यालयमा सामान्य किसानको पनि पहुँच हुनुपर्दछ भन्ने मेरो धारणा हो । खुला विश्वविद्यालय स्थापना पनि भयो तर त्यो सामान्य जनताको पहुँच भन्दा टाढाको विषय बनाइयो र म त्यहाँ रहन नसक्ने स्थिति बन्यो । म त्यहाँ रहेन पनि ।
० वैज्ञानिक महावीर पुनले नेतृत्व गर्नुभएको आविष्कार केन्द्रको अहिले पनि बोर्ड सदस्य हुनुहुन्छ । यो ठीक ढंगले चलेको छ ?
– म बोर्ड सदस्य छु । मैले खुला विश्वविद्यालयको अभियान चलाइरहेका बेला उहाँले अमेरिकाबाट फर्किएर आविष्यकार केन्द्र खोल्ने अभियान चलाउनु भएको थियो । मलाई उहाँको अवधारणा मन प¥यो । त्यहाँ जोडिएको छु । कतिपय कुरामा मेरो बेग्लै विचार पनि छन् । तर नहुनु भन्दा उहाँले जे गर्नु भएको छ, त्यो ठीकै छ ।

० कतिपय आलोचकहरुले थोत्रा गाडी मर्मत गरेर पनि कही आविष्कार हुन्छ भनेर विरोध गरेको पाइन्छ । ठगी धन्दा समेत भनेको पनि पाइयो । यहाँको प्रतिक्रिया ?
– महावीरले गलत उद्देश्यले आविष्कार केन्द्र चलाउनु भएको छ भन्ने मलाई लाग्दैन । यदि मलाई त्यस्तो लाग्थ्यो भने म बोर्ड सदस्यबाट बाहिरी सक्ने थिएँ । अहिले पनि म बोर्ड मिटिङमा जान्छु । आवश्यक सल्लाह सुझाव दिन्छु ।

० यहाँले अनुसन्धान एउटा सिस्टमको अनुसन्धान र अर्को कम्पोनेन्टको अनुसन्धान भन्नुहुन्छ ? नेपालको समग्र कृषि प्रणाली (सिस्टम) माथि नै अनुसन्धान हुनुपर्दछ भन्नुहुन्छ किन ?
– हो हरेक चीजको सिस्टम हुन्छ र विभिन्न कम्पोनेन्ट मिलेर सिस्टम बनेको हुन्छ । जस्तै नेपालकै परम्परागत कृषि प्रणाली (सिस्टम) लाई हेर्नुस । त्यहाँ गाई हुन्छ, भकार हुन्छ, हलो हुन्छ । मल थुपार्ने ठाउँ हुन्छ, हलोको फाली हुन्छ, किसान हुन्छ, किसानले एउटा निश्चित मौसममा खनजोत गर्छ, विउ छर्छ । वालीको स्याहार गर्दछ । फसल उठाउँछ । यी सबै कम्पोनेन्टहरु हुन् । यी सबै कम्पोनेन्टहरु मिलेर सिस्टम बनेको हुन्छ । अहिले यहाँ कम्पोनेन्टहरुमाथि मात्र अनुसन्धान गरेर कृषि प्रणालीमा सुधान गर्न खोजिएको छ । गोरुको ठाउँमा हाते ट्याक्टर लिने भनिन्छ । गोठ सुधार कार्यक्रम चलाइन्छ । नेपाल जस्तो भिराला ठाउँहरुमा हाते टेक्टर कति उपयोगी हुन्छन् ? मेरो विचारमा कम्पोनेन्टमा मात्र हैन समग्र प्रणालीमा नै अनुसन्धान हुनुपर्दछ भन्ने विचार छ ।

० यहाँले “पूर्वीय दर्शनको पुनः व्याख्या” पुस्तक लेख्नु भयो । पूर्वीय दर्शनमा त अध्यात्मवाद मात्र नभएर भौतिकवादी दर्शन पनि छ । पूर्वीय दर्शन भित्रको भौतिकवादी दर्शनको पुनव्र्याख्या गर्नुपर्दा संक्षिप्तमा के भन्नुहुन्छ ?
–दर्शनमा तीनवटा मार्ग छन््–ज्ञान मार्ग, योग मार्ग र भक्ति मार्ग । ज्ञान मार्गले हरेक चीजको प्रमाण खोज्दछ । प्रमाण विनाको ज्ञान, धारणा, मान्यतालाई यसले अस्वीकार गर्दछ । यो दर्शनलाई सांख्यमार्गी पनि भन्दछन् । यसले मानव मुक्ति “Human Liberation ” मा जोड दिन्छ । यो मार्ग आधुनिक विज्ञानसँग नजिक छ । योगमार्ग अर्थात् योग दर्शनलाई ध्यानको रुपमा मात्र बुझिन्छ । ध्यान पनि हो तर त्यो मात्र हैन । योग मार्गको मुख्य पक्ष “जोड्ने” हो । गोरु खेतसँग जोडिएको हुन्छ, खेत विउ र उत्पादनसँग जोडिएको हुन्छ । मानिस खेतसँग जोडिएको हुन्छ । मान्छेको शरीरमा स्वास फोक्सोसँग जोडिएको हुन्छ, फोक्सोको स्वास रगतसँग जोडिएको हुन्छ । यसरी यस धर्तीमा विभिन्न चीज एक अर्कामा जोडिएर सिस्टम बनेको हुन्छ । भक्ति मार्गले स्वर्ग नर्कको कुरा गर्दछ । भक्ति मार्गले मेरा शरणमा पर म मुक्ति दिन्छु भन्छ । विभिन्न धार्मिक समूहहरु राजनीतिक दलहरु भक्ति मार्गमै हिंडे जस्तो लाग्छ मलाई । मेरो पार्टीमा लाग म मुक्ति दिन्छु भन्छ । मेरो धर्ममा लाग म मुक्ति दिन्छ भन्छ । मेरो विचारमा यो संसार चल्नका लागि तीनवटै मार्गको आवश्यकता छ ।

० अन्त्यमा, नेपालको उन्नति, प्रगतिका लागि यहाँको अवधारणालाई संक्षिप्तमा सम्प्रेषण गर्नुपर्दा के भन्नुहुन्छ ?
–मेरो विचारमा कम्पोनेन्टमा हैन समग्र सिस्टममा अनुसन्धान हुनुपर्दछ ।

० हाँक साप्ताहिक मार्फत् भन्नु पर्ने थप केही छ कि ?
– म अहिले गाउँका गाउँ खाली किन भइरहेका छन् । विश्वमा अन्य मुलुकका यति धेरै मानिसहरु गाउँ छाडेर हिंडेका छैनन् । गाउँ फर्कन, देश फर्कन के उपाय हुन सक्छ भनेर अध्ययन गरिरहेको छु ।
मेरो विचार प्रकाशित गरिदिएकोमा हाँक पत्रिकालाई धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित