अहिले देशमा वर्षा भइरहेको छ । लगातारको वर्षाले सबैतिर जनधनको क्षति गरिरहेको छ । देशव्यापी वर्षाले ठाउँ ठाउँमा बाढी, पहिरो, डुबान, कटान जस्ता समस्याहरू देखिएका छन् । असारको पहिलो हप्तादेखि नै बाढी पहिरो गएर जनजीवन प्रभावित हुँदै आइरहेको छ । पूर्वका पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, सङखुवासभामा बाढीले वर्षा यामको शुरुवाती देखि नै जन धनको क्षति पुर्यायो । भारी वर्षातको पानीले नदी किनारमा बसेकाहरू, जोखिम युक्त स्थानमा बसोबास गरेकाहरू, तराईमा नदी किनारमा र डुबानहुने ठाउँमा बसोबास गरेका गरिब दु:खीहरूको बिचल्ली भएकोछ । कैयौँको घरमा बाढी पसेर घर छोड्न बाध्य भएका छन् । पहाडमा कैयौँ घर परिवारको पहिरोका कारण विचिल्ली भएको छ । कैयौँ घरपरिवार विस्थापित भएका छन् । पीडितहरू त्रिपाल मुनी बस्न बाध्य छन् ।
तराईमा डुवानका कारण गास, बास, कपासको समस्याले पीडित भएका छन् । खाद्यान्न,लत्ता कपडा जीविकोपार्जनको आधार गुमेको छ । बर्दियामा मात्रै दुई सय घर डुबानमा परेका छन् । डुबानले गर्दा विस्थापित घर फर्किन सकेका छैनन् । कैलालीको भजनीमा छ दिन देखि विस्थापित घर फर्किन सकेका छैनन् । घर बाढी पसेर कैयौँ घर भत्किएका छन् । गृह मन्त्रालय आपतकालीन कार्य संचालन केन्द्रको तथ्याÍ अनुसार जेठ ३१ देखि २८ साउन सम्म बाढी पहिरोका ६१४ घट्ना भएका छन् । ५ हजार ६सय ६८ घर परिवार, बाढी, पहिरो, हिमाली भाग देखि तराई सम्म पहिरो, बाढी, डुवानबाट प्रभावित भएका छन् । अहिले पनि खतराको अवस्था उत्तिकै रहेको छ । वर्षाले गर्दा नदीको बहाब बढिरहेको छ । डुबान, कटान, पहिरोबाट किसानको जमिनमा लगाएको अन्न बालीमा नस्ट भएका छन् । हिमाली जिल्ला मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका ४ कागबेनीमा बाढी पसेर बगर बनेको छ । भौतिक संरचना ध्वस्त भएका छन् । २९ घर र ९ गोठ बगाएको छ । बाढी पीडित आफन्तको घरमा आश्रित भएका छन् ।
अहिलेको विकासको तौर तरिकाका, अव्यवस्थित शहरीकरण, मानिसको अनियन्त्रित नदी छेउ किनारामा बसोबास, नदीका प्राकृतिक बहाबलाई रोक्ने किसिमका भौतिक संरचना निर्माण, नदीको बहाब परिवर्तन गर्ने कुचेष्टा, जमिनको अत्यधिक दोहन, रुख बोटविरुवाको कटानी, जमिनमा कंक्रिट विछ्याउने काम, पानी सोस्ने खुल्ला स्थानको अभाव, सबै पानी ढलको माध्यमद्वारा नदीमा पुर्याउने बिकासे मोडेल, अनियन्त्रित तरिकाले पहाडहरू खोल्ने कामले गर्दा जमिन अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । ठूला ठूला डोजरहरूको प्रयोगबाट जमिन निकै कमजोर हुन पुगेका छन् । यसले अलिकता पनि पानी पर्नासाथै पिहिरो जाने, बाढी आउने स्थिति रहेको छ । हुन त यी सबै प्राकृतिक प्रकोप हुन ।
तर प्राकृतिक प्रकोपलाई मलजल गर्ने काम मानवीय गतिविधि पनि बनेका छन् । प्रकृतिलाई कमजोर ठानेर वा आवश्यकताले नदीका छेउछाउ बस्ने धार हरू परिवर्तन गर्ने जस्ता कार्य जान वा अनजानमा भइरहेको छ । मानवीय गतिविधिले गर्दा विपद निम्तिएको छ । पहिले पहिले नदी, धारा, कुवा, खहरे जस्ता जलधारा प्रवाहित हुने ठाउँहरूमा मानिसले बस्ती नबसाउने गर्दथे । अलि टाढा सुरक्षित स्थानमा बसोबास बसाउने गर्दथे । यसले गर्दा अहिलेको तुलनामा मानवीय सुरक्षा हुने गर्दथ्यो तर अहिले यो विषयलाई खासै वास्ता नगरिकनै बस्ती बसाउने गरिन्छ । मान्छेको निजी स्वार्थ बढे पछि विपदको आँकलन गरिँदैन । सरकारको यस सम्बन्धी कुनै नीति नियम बन्न सक्दैन । जसले गर्दा मान्छे तत्कालको फाईदालाई ध्यान दिएर काम गर्दा दीर्घकालमा अनेक खालका प्रकोप को सामना गर्नु परेको छ ।
नेपालको भौगोलिक संरचना पहाडमा बाढी र पहिरो तराईमा बाढी, डुबान हुने खालको छ । हिमाली र पहाडी क्षेत्रमा परेको पानी भिरालो भूभागका कारण छिट्टै तराई पुग्न सक्दछ । यसले, बाढी, डुवान निम्तिन समय पनि लाग्दैन । पानीसँग हेलचक्राई गर्नु हुन्न । हामीले सतर्कता अपनाउनु पर्दछ । सतर्कता अपनाउँदा अपनाउँदै पनि कैयौँ प्रकोपको सामना गर्नु पर्ने हुन्छ । बाढी, पहिरो, डुवान जस्ता विपद देशव्यापी छन् । त्यसबाट प्रभावित पीडितहरूको जीउ धनको सुरक्षा गर्नु सरकार, स्थानीय तह, सङ्घ संस्था सबैको कर्तव्य हो ।
अहिले पीडितहरूको मानवीय अधिकारको रक्षा गर्नु सरकारको दायित्व हो । सरकारी संयन्त्र केन्द्रीय विपद व्यवस्थापन कोष, प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष, प्रदेश विपद व्यवस्थापन कोष, जिल्ला स्तरीय विपद व्यवस्थापन कोष जस्ता विपद व्यवस्थापनका लागि भनेर स्थापित संस्थाहरूको सक्रियता हुनु पर्दछ । परिचालन गर्ने निकायले यिनीहरूको तत्काल समन्वय गरी परिचालन गर्नु पर्दछ । उद्धार राहतका लागि छुट्याइएको स्रोत विपद पीडित कहाँ पुग्नु पर्दछ । हिमाल, पहाड, तराई जहाँ जहा पीडित बनेका छन् सबैको राहत र उद्धारमा सरकारले ध्यान दिनु पर्दछ । विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनस्थापनाको लागि ढिलाई गर्नु हुदैन । विपदको बेला कसैले पनि पर्ख र हेर भनेर बस्नु हुँदैन तत्काल राहत र उद्धारमा लाग्नु पर्छ । विपद पछि आउन सक्ने जोखिमहरू महामारी अनेक किसिमका रोगहरू फैलन सक्छ त्यसको लागि सतर्कता अपनाउनु पर्छ ।
वास्तविक विपद पीडितले राहत नपाउने र नक्कली बिपद पीडितहरूले राहत माथि रजाई गर्ने, सम्बम्धित संयन्त्रहरूबाटै राहत माथि भ्रष्टाचार हुने जस्ता समस्याहरू पनि आउन सक्छन् । राहत माथि अनियमितता वा भ्रष्टाचार हुन नदिन सरोकारवाला सबै चनाखो हुन जरुरी छ ।

