– नारायण योगी
“आज संझाकलग तिना जिन निँधिस रि सुखलिक डाइ “ (साझ तरकारी नपकाएस है सुखलिकी आमा) भन्दै हातमा जाल लिएर नसाले लठ्ठीएका राता राता अाँखा बटार्दै बड्कालडिया (राप्ती नदी) तिर लामो डेग चाल्दै माछाको खोजिमा घरबाट निस्कियो परदेशीया । सधै झैं यस दिन पनि माछा समयमै ल्याइ पुर्याउनेमा बाटो हेर्दै बसिरहिन मनमति । साझ बाक्लिदै गएपछि बुढान, बडकान र छोटकान कोन्टिका केटाकेटीहरु भात खाएर सुत्न थालिसकेका थिए । मनमतिले भात मात्रै पकाएर परदेशियाले माछा ल्याइ पुर्याउने आशामा अरु तरकारीको जोहो पनि गरिनन । छोरी सुखलीले भोक लाग्यो भनेर हात खुट्टा फालेको पनि अलि बेर भैसकेको थियो । परदेशीयाले माछा ल्याइ पुर्याउने कुनै लक्षण देखिएन । त्यसैले उनले आफूलाई अझै केही समय भोकै राख्न सक्ने भए पनि छोरीलाई बड्कान कोन्टिबाट तरकारी ल्याएर भात खुवाइन । छोरीलाई खाना खुवाएर सुत्न पठाएर उनी आफू नयाँ बनाएको भन्साघरको एउटा कुना मा ठडिएको डेहरी (धान राख्ने माटोको वस्तु)मा अडेस लागेर अगेनामा बलिरहेको आगोलाई एकोहोरो हेरिरहिन ।
फिलिमको रिल घुमे जस्तै पुराना कुराहरू उनको मन मस्तिष्क मा फनफनी नाचे । आफू विवाह भएर यो घरमा आउँदापरदेशीया जिउडालले भाइ भनु भनु जस्तै लाग्थ्यो उनलाइ । तर व्यवहारमा त ऊ जिरे खुर्सानी जस्तै रहेछ । स्कुल पढ्न नपाए पनि बजार मा तरकारी बेच्न , घर व्यवहार मिलाउने काममा निकै सिपालु देखियो ऊ । पछी पछी उनको मनमा बाहिरी आकृतिहरु हेरेर बनेको ऊ प्रतिको आशङ्का दुई ÷चार दिन मै हट्यो ।बड्काले हाइस्कुल सम्म पढे पनि ससुरा बुढा र सासू ले माइलो छोरा कै भर गर्दथे । सायद उनले सानैबाट घरको काममा उनलाइ सघाएको हुँदा आत्मीयता बढ्दै गयो र परदेशीया प्रति मोह बढेको हुनु पर्छ । परदेशीया हेर्दा पनि काटिकुटी सासू रामप्यारीतर्फ गएको थियो । यसले पनि रामप्यारी को भावनामा परिवर्तन भएको हुन सक्छ । मैले पनि सासू ससुरा को मन दुख्ने गरि कहिले पो तितोपिरो बोले र ? आफुलाइ सधै काम को मात्र चिन्ता लागिरहने । सायद यी सबै कारणले सासुससुराले आफु प्रतिको व्यवहार राम्रो पाएको सुखद कल्पना गरिन उनले ।
समय बित्दै गयो । तीन भाइ छोरा, तिन बहिनी छोरी पनि भए। सरकारी नियम त मिचियो नै, तर घरको नियमले भने बाधेन उनलाई। पछील्ला दिनहरुमा परदेशीयाले धामीझाँक्री गर्दा गर्दै रक्सी धेरै खान सिक्यो । देउतालाई चढाउन ल्याएको रक्सी छाकि भनेर ल्याउदा धामी बसाल्ने गुरुवालाइ पनि पुग्ने गरि ल्याउथे ।। यस्तोमा परदेशीयाको बानी नराम्ररी बिग्रियो । कैयौं पटक दिनभरि घर घर चहारेर कुकुरले कलो टिपे झैं रक्सी धोक्ने गर्दथ्यो र घर आएर रडाको मच्चाएर आफू लाई सास्ती दिएको उनले झलझली सम्झिन । कति पटक त रातभरि कहिँ बाटो छेउ को रछ्यान मा पल्टिएर बिहान घोप्टे मुन्टो लगाएर दाइ सँग लड्न कम्मर कस्ने । कहिलेकाहीँ आफ्नै बा आमा सँग पाखुरा खैचेर बिजोग ! तर आज भोलि उसको स्वरमा लाचारी र निर्बलता मात्रै झल्किन्छ । सायद रक्सी ले उसलाई गलाएर खोक्रो बनाइसक्यो । कतै ख्याल ख्यालैमा पुक्लुक्क मर्ने त हैन ? उसको मृत्यु भएको आसङ्काले अनायासै उनको मुटु भुटभुट गर्न थाल्यो । लामो निस्वास लिएर उफ…. भनिन । म पनि त्यतिकै अनर्थका कुराहरू किन सोच्छु भन्दै निभ्न लागेको आगो ठोसेर बाहिर उभिइन उनी । बड्कालडिया (राप्ती नदी) मा १७ करोड रुपैयाँको लागतमा लामा कम्पनीले बनाउन थालेको पुलको आज धलाईको दिन थियो।त्यस दिन गाउँको दक्षिणतर्फ
बग्ने बड्कालडिया सुसाइरहेको थियो।कहिले काम गर्ने मजदुरहरुको कोकोहोलो सुनिन्थ्यो।कहिलेकाहीँ नदीको सुसाई मात्र ।एक छिन बाहिर उभिइन उनी।रातको निस्तब्धतालाइ चिर्दै गाउका कुकुरहरू घाँटीका नसा चुडिने गरि ह्वाङ ह्वाङ गर्दै गाउँ थर्किने गरि भुकिरहेका थिए । आकाशमा ताराहरु चन्द्रमाको अनुपस्थितिमा पिल पिल गर्दै चम्किरहेका थिए । आकास तिर यसो हेरेको त खटिया पनि माथि गइसकेको रहेछ । ओहो रात त छीप्पिसकेको रहेछ । “माहारात होगैल“ भन्दै मन मनै बुदबुदाइन मनमति ।
मंसिरको महिना भर्खर जाडो चढ्न थालेको थियो । आधा रात बितिसक्दा पनि परदेशीया घर नफर्केकाले गह्रौं मन लिएर जागर नलाइ नलाइ घर भित्र गइन् उनी । ससुरा बुढा नाकको पोरा बजाउदै घर थर्किने गरि घुरिरहेका थिए । माहिली बुहारीले आफ्नो घरको ढोका लगाउदा घर्याक्कको आवाज र घर मा बलिरहेको ढेब्री देखेर छोरा आयो कि भन्ने ठानेर नै रामप्यारी मनमतिको कोठामा गइन् । मनमतिआगो तापेर बसिरहेकि थिइन् । ढोका को आवाज सुनेर ढोकातिर हेरिन् ।
‘ओहो ! अतरा रात हो राखल् । तौन अभिन तह्लुक नैह आइल् हो मझ्ला ?’ (ओहो ! यति धेरै रात परिसक्यो, तर माइलो अझै आइ पुगेन ) मनमतिले प्रस्नसुचक दृष्टि लगाएर सासुलाइ हेरिन् र मुन्टो हल्लाएर नआएको संकेत गरिन् । यो कुराले रामप्यारी को मन आत्तियो । उनलाई रिंगटा लागेर आयो । उनको मुटु तेज गतिमा दौडिन थाल्यो । उनी आत्तिदै बाहिर गइन्। चुक पोखिएको अध्यारोमा हेरिन् । तर उनी धेरै बेर उभिरहन सकिनन् । उनका मनमा बग्रेल्ती प्रश्न उठे र हतार हतार गर्दै बुढा विरबाहादुरलाई घच्घचाएर उठाउन थालिन् –“अहोइ परदेशीयाक् बाबा छावा हे खोजे चोलो । आजकल समय फेन खराब वा अतरा रात हो राखल मच्छी नै मिल्लेसे घुमके चल अइना हो लवन्डा फेन केनिका करे । अतरा रात कैमारल् । अभिन तलुक कुछ थाहा नै हो उफ…. । महिहे टे कैसिन जुन लागता । “ (हेर्नुस् न परदेशीयाको बाबा, यति राति भैसकेको छ, तैपनि छोरा आएन खोज्न जाउ न । मलाई अर्कै लागिरहेको छ ।)
उनले बुढा विरबाहादुरलाई उठाउने कोशिस गरिन् । तर उनले हुँ हुँ गर्दै कोल्टे फेरेर पÞmेरि घुर्न थालिहाले । विरबाहादुरको यस्तो निष्क्रियता देखेर उनको मन भतभती पोल्यो । आफू दमको रोगी नभएको भए लौरो टेक्दै लालटिन बोकेर खोज्न गइहाल्ने थिए तर म आफै अशक्त छु । यो मध्य रातमा म कहाँ जाउ ? के गरौं ? ऊनी इन्तु न चिन्तु हुदै भगवान संग प्रार्थना गर्दै हतार हतार देहुरार तर्फ गइन् । आफ्ना कुल देवतालाई सम्झिन थालिन् । ’हे भगवान मोर छावाहे कौनो भुत, प्रेत, देवी, देउता, डायन, बोक्सीन जिन लागदेहो’ भन्दै हात जोडेर प्रार्थना गरिन् र पछी कोठामा सुत्न गइन् । तर निद्रा कहा लाग्थ्यो र ? कसैले खोसेको थियो उनको निद्रा । एक पटक छतलाइ हेर्दै ओछ्यान मा पल्टिरहिन् रामप्यारी ।

बाहिर कुकुरहरू पालैपालो रुन थालेका थिए । उनको मनमा आसन्का का बादल हरु झन् झन् बाक्लिदै थिए । सुरु सुरुका दिनमा रामप्यारीको माइलो छोरालेजाँड रक्सी त्यतिबढी खादैनथियोे । तर जब गुरुवा बन्यो , नसा पानीको अत्यधिक प्रयोग गर्न थाल्यो । परदेशीया रक्सीले मातेर नपल्टिएको दिन कमै रहन्थ्यो । कहिले गाउँ का गल्लीमा , कहिले कुन कुलोको मुहानमा , कहिले कसैको खेतबारी मा ऊ पल्टिएको हुन्थ्यो । एक पटक मनमतिले राम्रो मुखले सम्झाउदै “परदेशीयाक् बाबा आजकाल टे तुँ आउर धेर जाँड दारु पिये लग्लो । काकरे आपन शरीरके ख्याल नै कर्ठो“ ( आज भोलि त हजुरले झनै जाँड धेरै पिउन थाल्नु भयो । शरीरको ख्याल किन गर्नु हुन्न ?) भन्दै उसको सानिध्यमा गएर मनाउन खोजिन् ।
“तुँ कहठो दारु पिठुँ । लेकिन नहिँ, परदेशीयाक बाबा दारु तुहिनहे पियटा । जिउ सिट्ठाहस् ओ एकदम से खोखुर बाँसहस् होगइल् बा । मनैनके चोला आखिर एक दुई रोजके ते नै हौ ? तुहिनहे कुछ हो जाइटे । यि छोट–छोट लर्कापर्कानन् कमै कैसिक सहेरम” (रक्सीले हजुरको शरीर सुकेर बाँस जस्तै भैसकेको छ । रक्सी हजुरले होइन रक्सी ले हजुर लाई खाइसक्यो । तपाईंलाई तल –माथि पर्यो भने मैले केटाकेटी के गरेर पाल्ने ?) भन्दै अघरानको फुर्काले आँशु पुछ््दै रात बिताउथिन् तर उनको कुरालाई फिस्स फिका हाँसेर उडाइदिन्थ्यो उसले ।
उनले माघीमा घर छुट्टीए पछि एउटै घरमा खाना बनाउन असहजिलो भएर परदेशीयालाई धेरै अनुनय विनय गरेर एउटा भान्सा घर तयार भयो । भान्सा घर बनेको दुइ चार दिन पस्चात घर मा डेहेरी , कुठ्ली( खाद्य सामग्री राख्ने माटोको सानो वस्तु ) सार्नु पर्ने भयो । त्यस दिन पनि
परदेशीयाले बिहानको नास्तामा रक्सि धोकिसकेको थियो ।राता राता आखा पार्दै सामान मिलाउन थाल्दा ख्याल ख्यालै मा “मनमतिक् डाइ डेहेरी कुठ्लि सर्लेसे कहुँ लुकिक्साँधा खेल्ना साँकिर ते नै हुइ ?“ भन्दै छ्ड्के हान्यो । मनमतिलेले मनमनै रमाउँदै तर बाहिर रिसाएको अभिनय गर्दै “हाँ अभिन
तुहिन जवान हस् लागठ किका ? अत्राधेर लर्कापर्का होरलाँ तावन् , छिहलाइक् खोज्ना “( अँ यति ठुला केटाकेटी भैसके , तैपनि हजुरलाइ जिस्किरहन मन लाग्छ ) भन्दै जवाफ फर्काएकि थिइन् ।
रात छिप्पिँदै गएको थियो । मनमति लाई निद्रा ले च्याप्न थाल्यो । अगेनाको छेउमा डेहेरि को अडेस लागेर एक्छिन उँग्दा उँग्दा निद्रा ले झपककै पारे छ । उनि निदाएर सपना देख्न थालिन् ।
परदेशीयाले नदीबाट आधा डिलिया पहरु माछा मारेर ल्याएछ । मनमतीले प्रश्न गरिछन्,“काकरे अतरा रात कैलो मच्छी नै मिल्लिसे घरे आजैना हो ।” (यति धेरै रात किन पार्नु भएको त ? माछा नभेटिए फर्किहाल्नु पर्दथ्यो ) परदेशिया जाडो ले लगलगी काम्दै थियोे । मनमती ले हतार हतार आगो फुक्दै “मै कहले रहुजे आजकाल जाड बढ्राखल । मच्छी ओच्छी मारे जिन जाउ । अब पहिले हस् जिउफेनटे नै हो । एक ओर उमेर छिपट जाइटा दोसर ओर तुँ पेटक् रोगी बटो । अब टे मै रात के मच्छी मारे नै जाइ देम्” ( मैले भनेकै त हो , जाडो बढिसक्यो , माछा मार्न नजानुस् भनेर । अब त हजुर को शरीर पनि पहिले जस्तो छैन । एकातिर उमेर छिप्पिँदै गरेको छ , अर्को तिर हजुरको पेट को रोगी हुनुहुन्छ । अब त मैले हजुर लाई माछा मार्न जान दिँदैन ) भन्दै आफ्ना मनको असन्तुष्टि हरु लाई यसरी पोखिन् । अगेना को छेउमा बसेपछि जाडोले कठाङ्गृएको उसको शरीर आगो को राप ले तातो हुदै गयो । हस्याङ फस्याङ गर्दै उनले मसला पिनेर माछा को तरकारी बनाइन् । छोरी निदाएको धेरै बेर भैसकेको थियो ।
मनमती लाई परदेशीया नआउँदा को पिर परदेशीया आएपछि जिउ फुरुङ्ग भएको थियोे । माछा तरकारी र तातो तातो भात पेटभरी खाने कल्पना गर्दै भात पस्किन् उनले । परदेशिया को पनि पानीमा खेलेकाले रक्सी को नशा पनि हटिसकेको थियो । त्यसैले उसले तरकारी सङँ छिप्पेको जाँड को झोल तन्काउने सुर कस्यो । मनमतिलाइ भन्यो – “भात किल का खैनाहो सुखलिक डाइ ? थोर चे जाँडक झोर बा कहले एक खोरिया दे न” ( भात मात्रै निस्तै के खाने ? एक बटुका जाँड को झोल छ भने त्यो पनि दे न सुखलिकी आमा ) उनलाइ पनि बाहाना चाहिएको थियो । माने बटुकाका दुई बटुका झोल निकालेर दुवै जाना खान बसे । केही समय पश्चात् जाँड को झोल ले आफ्नो प्रभाव विस्तार गर्न थाल्यो । क्रमशः दुवै जाना मात्दै गए । केही बेर पछि दुवै नशा मा लठ्ठेर आफ्नो सुत्ने कोन्टितिर लागे । एकले अर्का लाई अँगालो मा बेरेर दुई जिउ एक भएछन् ।
राति को निरवता लाई चिर्दै कुकुरहरू ले जोड जोडले गाउँ को चारैतिर ह्वँह्वाँ गरेर रोइरहेका थिए । बाहीर कोहि मानिस ले जोडजोड ले ढोका हान्दै ‘माइ होइ माइ’ भन्दै बोलाइरहेको चर्को स्वर ले गर्दा उनको अाँखा एक्कासि खुल्यो । आँखा खुल्दा त आफू बसेको स्थान चिसो भएको अनुभुति भयो । लाजले रातो पिरो हुँदै आफुले आफैलाइ गाली गर्दै ’छि कैसिन – कैसिन सपना देख्लुँ’ भन्दै हतार हतार हातमा ढेब्री लिएर ढोका मा पुगिन् । बाहिरबाट आएको चिसो सिरेटो ले बत्तिलाइ निभाइदियो । उनी फेरि भित्र गएर ढेब्री सल्काएर ल्याइन् । कोन्टी का सासू ससुरा र बड्कन कोन्टी का जेठाजु पनि उठिसकेका थिए । ढोका हान्ने हरु लाई उनले सोधिन् – “का हो गैल् ? का करे ऐसिन ढ्वाक् ढ्वाक् दवार ठोकट् रहि ।” ढोका हान्ने हरु को वाक्य नै फुटेन ।तल मुन्टो लगएर सानो स्वर मा भने – “हम्रे पुलिम् काम करट् रहि । कानी के हो, परदेशिया हे कस दारु पिएदेहल् परदेशिया ठाह्रेटोंटा लगाले दारु पियल् । दारु पिकेसेकलटे छाटी बठाइ लागल् , कहटी पुलके तरे आके बेहोस ओ गइल् । उहे खबर हम्रे देहे आइल् बटि।” ( हामी राप्ती नदिको पुलमा काम गरिरहेका थियौँ । कुन्नी कसले परदेशियालाई लाग्ने रक्सी दिएछ । उसले त्यो रक्सी खाए । बेहोस भएछ । त्यही भन्न आएको )
मनमतीलाई यो कुरा आफ्नो पाउ तलको जमिन भासिँदै गए झैँ लाग्यो ।मुटु भुटभुट गर्न थाल्यो । नसा मा दौडिरहेका रगत एकै छिनमा रोकिए झैँ लाग्यो । उनी परदेशीया बेहोस भएर पल्टिएको दिशा तिर हावाको बेग सँङै दौडिन् । घरका अरु मानिस हरु पनि लालटिन बोकेर पछि–पछि दौडिँदै थिए । परदेशिया घोप्टो परेर घ्यार घ्यार गर्दै कठिनताका साथ सास लिएरहेको थियो । खुट्टाहरु चिसिँदै गएका थिए । शरीर भने तातै थियो । उनलाई लाग्यो सायद रक्सी को नशा धेरै भएर उ बेहोस भएको हुनुपर्छ । परदेशीयाको टाउको उनले काख मा राख्न खोजिन् । यसो हात लगएको त हातमा चिसो केही तरल पदार्थ लागेको अनुभुति भयो । अँध्यारो मा उनले ठम्याउन सकिनन् । सायद वान्ता गरेको होकि भन्ने लाग्यो। सासू ससुरा र परिवारका अन्य सदस्यहरु पनि आए। लालटिन को उज्यालोमा हेर्दा त परदेशीया रक्ताम्य पो भएको रहेछ । यो देखेर उनको तलको सास तल र माथी को सास माथिनै रोकियो। उनी अचानक छाती पिटेर रुन थालिन् । ’डाइरी का होइगल् ऐसिन् । सुखलिक् बाबा महि छोडके जिन जाउ । मै तोहर बिना कैसिक जिए सकेम् । मै लर्का पर्कान् कैसिक पालम् काकरे ऐसिन कैलो ’ ( सुखलिको बाबा यो हालत कसरी भयो ? कसले गरायो ? मलाई छोडेर हजुर कसरी जान सक्नु हुन्छ ? मैले केटाकेटी कसरी पालम्ला ?) भन्दै उसको शरीर माथी घोप्टो परेर रुन थालिन् ।
बुढा बिरबहादुरले छोरा को नाडी छामे । नाडी मन्द गति मा चलिरहेको थियो । बुढा ले भने –“जिनरो पतुहिया हिम्मत से काम लेना हो । छावाहे हलिहली उठाके अस्पताल लैजाइक् परल् ।“ मनमती पनि परदेशिया लाई जुरुक्क पिठ्युँ मा उचालेर दौडिँदै घरतिर आइन् । घर आएर अस्पताल लैजानका लागि बोक्ने खटोली तयार भयो सबैले हतार हतार मा अस्पताल लिएर गए । उनले बाटोमा हिँड्दा कहिले कहिले टाउको छाम्छिन्, कहिले चिसो हुँदै गएको पैताला छाम्छिन् । अघरानको फुर्कोले आशु पुछ्दै उसको चिसिदै गएको जिउ छाम्दै खटोलिको पछी पछी दौडिरहिन् उसको चिसिदै गएको शरीर छाम्दा उनको मन गरुङ्गो हुदै गएको थियो । उसको छातिको घ्यार घ्यार को आवाज पनि अस्पताल को नजिक पुग्दा सम्म कम हुँदै गएको थियो ।
अस्पताल पुगेर उनले त्यहाँ रहेको हेल्थ पोस्ट इन्चार्ज सँङ आफ्नो जीवन साथी लाई बचाइदिनका लागि रुँदै गोडा पक्रेर आग्रह गरिन् । इन्चार्ज ले पनि छिटो छिटो ग्लुकोज पानी चढायो । तर ग्लुकोज पानी चढाएको दश÷पन्ध्र मिनेट मै पानीका थोपा खस्न बन्द भयो । उसको घ्यार घ्यार पनि एक्कासी थामियो । अस्पताल मा सन्नटा छायो । उनी डाँको छोडेर रुन थालिन् । रक्ताम्य भएको उसको अनुहार हेर्दै बिलौना गरेर उनि रुन थालिन् । बुढा विरबहादुर पनि कुना मा उभिएर आँसु पुछ्दै सुक्क सुक्क गर्दै थिए । त्यहाँ भएका सबै का आँखा अनायास रसाए । रातिको निस्तब्धतालाइ चिर्दै उनी भन्दै थइन् – “माउ मै कैसिक जियम् । महि छोड्के काकरे चलगैलो सुखलिक बाबा । महि फेनसँग लैजाउ मोर जिले का सोरथ बा । अहँ हँ……… मै अब अपन जिउहे कैसिक भुझइम् । कस दारु देहुइया पापि देहल् हुइ ? कस दारु हो कहिके काकरे नै कहल् ? दारु देहुइया पापिहे केउ कुछ करिकी नैइ हुँ….। अब मै यी नाननान लर्कान कैसिक पालम् । कैसिक व्यवहार चलैम् ।“(सासू आमा ! सासू आमा ! म कसरी बाच्ने हो ? मलाइ एक्लै छोडेर सुखलिका बाबा किन जानू भयो? मलाइ पनि सँगै लिएर जानु पर्ने । अहँ ह…… मैले यो मन लाई कसरी थाम्ने हो? रक्सी दिने मान्छेलाई कसैले केही गर्ला कि नगर्ला ? हुँ…… हुँ…… ) उनी भक्कानो छोडेर अस्पताल थर्किने गरि भावविह्वल बनेर छाती पिटि पिटी रोइरहेकी थिइन् ।
चैत बैशाख को आगो झैँ बिहानिपख गाउँ भरि हल्ला फैलियो । परदेशीयाले कस रक्सी खाँदा खाँदै मुटु फुटेर म¥यो रे ! रक्सी खानेहरु स्तब्ध भए । केही दिन रक्सी भट्टी मा कोलाहल कम भएको थियोे । बड्कालडियाको पानी सुसाउदै आफ्नै गतिमा परदेशीया बेहोस भएर पल्टिएको स्थान बाट अविरल बगिरहेको थियो ।

