काठमाडौँ, ३ असोज । नवौँ संविधान दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि (फाइल ट्रान्सफर प्रोेटोकल) एफटिपी प्रणालीबाट श्रव्यदृश्य सामग्री सम्प्रेषण गर्न शुरु गरेको छ ।
लामा भिडियो क्लिपहरू अहिलेको अनलाइन सफ्टवेयरबाट सहज सम्प्रेषणमा बेलाबखत प्राविधिक समस्याहरू देखापर्ने गरेको र क्लिपहरू छोटा भए भन्ने सेवाग्राहीहरूको गुनासालाई ध्यानमा राखेर राससले यो प्रणाली अबलम्वन गरेको हो ।
हाललाई सेवाग्राहीहरूले एफटिपी प्रणाली सँगसँगै पुरानै सफ्टवेयरबाट समेत श्रव्यदृश्य सामग्रीहरू प्राप्त गर्न सक्नेछन् ।
आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले यो प्रणालीको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले कुनै बेला राससले एफटिपी प्रणालीबाटै समाचार सम्प्रेषण गर्ने गरेको स्मरण गरे र भने – “श्रव्यदृश्य सामग्रीको वितरणमा यो प्रणालीले सहजता र प्रभावकारिता ल्याउने छ ।”
राससले २०७९ साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको हो । यस नयाँ प्रणालीबाट श्रव्यदृश्य सेवा प्राप्त गर्नका लागि सेवाग्राहीहरूले आ–आफ्नो आधिकारिक इमेलबाट rssvideosewa@gmail.com मा ‘रिक्वेस्ट’ पठाउन सक्नेछन् ।

