अध्यक्ष माओसँगको विदाइ

छन छाङ फङ ••

जापानी आक्रमण विरोधी युद्धको सफलता पश्चात् ती नयाँ मुक्तक्षेत्रमा, जहाँ नयाँ किसिमबाट काम गर्नको लागि जनताले हाम्रो प्रतीक्षा गरिरहेका थिए, पार्टीले ठूलो संख्यामा कार्यकर्ताहरू पठाउन लागि रहेको थियो । त्यस समयमा म येनानमा सार्वजनिक सुरक्षा विभागको तुङक्वान उप-कार्यालय प्रमुख थिएँ । एकदिन पार्टीको केन्द्रीय संगठन विभागले मेरो नयाँ कामको बारेमा छलफल गर्न मलाई बोलायो । जब म त्यहाँ पुगें, तब त्यस विभागको एकजना कमरेडले मलाई भन्नुभयो कि पार्टीले मलाई मोर्चामा पठाउने बारेमा सोचेको छ । तब मलाई शानतुङ र उत्तरपूर्व मध्ये कुनै एक ठाउँ रोज्न भनियो ।

कम्युनिष्ट पार्टीको सदस्यहरूबाट जुन महत्वपूर्ण कुराहरूको आशा गरिन्छ, तिनीहरूमध्ये एक पार्टीको आदेश पालना गर्नु हो । पार्टीलाई मेरो आवश्यकता जुन ठाउँमा थियो, म त्यहाँ जान तैयार थिएँ । त्यसैले यो निर्णय गर्ने जिम्मा मैले पार्टीलाई नै छाडिदिएँ ।

पार्टीले मलाई शानतुङमा काम गर्न पठाउने निधो गर्यो । मेरो काम धेरैपटक फेरबदल भइसकेको थियो तर यसपटक मेरो मन ज्यादै अशान्त थियो । यसपटक म येनान छोडेर ज्यादै टाढा युद्ध मोर्चामा जाँदै थिएँ र शायद धेरै दिनसम्म अध्यक्ष माओलाई देख्न सकिंदैन होला । जब म घर पुगें, तब सबैभन्दा पहिले अध्यक्ष माओसँग बिदा लिनुपर्ने कुरा मेरो दिमागमा आयो । त्यसैले मैले अध्यक्षको अंगरक्षक हो छिन-ह्वालाई फोन गरेर बताएँ कि म युद्ध मोर्चामा जाँदैछु । त्यसैले अध्यक्ष माओलाई भेट्न चाहन्छु । केही क्षण पछि हो छिङ – हवाले मलाई बताए कि अध्यक्षले भोलि बिहान समय मिलाउनुभएको छ ।

त्यस रात मलाई पटक्कै निद्रा लागेन । त्यस रात मैले आफ्नो पत्नीलाई अध्यक्षको बारेमा धेरै कुराहरू बताएँ । अध्यक्षले हामीलाई कसरी शिक्षा दिनुहुन्थ्यो, कसरी हाम्रो हेरविचार गर्नुहुन्थ्यो अध्यक्षको जीवन कति साधारण छ र उहाँ पार्टी र जनताप्रति कति बफादार हुनुहुन्छ… यसरी हामी मिरिरि हुन्जेलसम्म कुरा गरिरह्यौं ।

भोलिपल्ट बिहान नास्ता गर्नासाथ म आफ्नो पत्नी र एक बर्षको छोरीलाई लिएर हिडें । जब हामीहरू च्याफिङ पुग्यौं जहाँ वहाँ बस्नुहुन्थ्यो, तब वहाँका अंगरक्षक हो छिड-ह्वाले भने, “अध्यक्ष माओ बिहानैदेखि अफिसमा तपाईंहरूको प्रतीक्षा गरिरहनुभएको छ ।”

हामीहरू उसको पछि-पछि आँगनमा गयौं । अध्यक्ष माओकी पत्नी कमरेड चियाङ चिङ हाम्रो स्वागत गर्न बाहिर निस्कनुभयो । उहाँले हामीसँग हात मिलाउनुभयो र मेरी छोरीलाई काखमा लिनुभयो । अध्यक्ष माओ हामीलाई भेट्न आउनुभयो । उहाँले खुकुलो कपडा लगाउनुभएको थियो । उहाँ पहिले भन्दा ज्यादै हृष्ट पुष्ट देखिनुभएको थियो । मैले उहाँलाई सलाम गरें । उहाँले हामीलाई आफ्नो बैठक कोठामा लैजानुभयो । जब हामी बस्यौं, तब उहाँले सोध्नुभयो- “कहाँ जाँदै छौ ?” भन्ने कुरा उहाँलाई भनें । म शानतुङ जाँदै छु “त्यसो भए तिमी उत्तरी शेनशी छाडेर जाँदै छौ ! के.. तिमीलाई कुनै कठिनाई छ ?”

मैल जवाफ दिएँ, “छैन ।” उहाँले फेरि सोध्नुभयो कि मैले श्रीमती र छोरीलाई साथमा लैजाँदै छ कि छैन र हामीलाई बाटोमा कुनै कठिनाइ त हुँदैन ? जब मैले उहाँको प्रश्नको जवाफ दिएँ तब उहाँले ती दुवैको राम्रोसँग हेरविचार गर्ने सल्लाह दिनुभयो ।

त्यसपछि उहाँ मेरो पत्नीसँग कुरा गर्न थाल्नुभयो । हाम्रो दाम्पत्य जीवन अत्यन्त सुखमय भएको थाहा पाएर उहाँ ज्यादै खुशी हुनुभयो ।

उहाँ मेरी छोरीसँग खेल्दै उसको बारेमा पनि सोधिरहनुभयो । यसपछि उहाँ मेरो सरुवाको बारेमा कुरा गर्न लाग्नुभयो । उहाँले भन्नुभयो, “जब कुनै व्यक्ति नयाँ ठाउँमा जान्छ, तब उसले अनिवार्य रूपमा अप्ठेराहरूको सामना गर्नु पर्दछ । यी अप्ठेराहरूको समाधान निकाल्ने काम त तिमी माथि हुन्छ ।” उहाँले हामीसँग यो पनि भन्नुभयो, “जनतासँग घनिष्ट सम्बन्ध कायम राख्नु पर्छ ।” कुराकानी गर्दा गर्दै उहाँले हो छिङ -ह्वालाई बोलाउनुभयो । उनले दुई प्याकेट बिस्कुट र केही मासु लिएर आए । यी सामानहरू मलाई दिँदै उहाँले भन्नुभयो “ तिमी अब जाँदै छौ । तिमीलाई दिन मसँग कुनै राम्रो बस्तु छैन, तर पनि यात्रामा बच्चाको लागि यी केही चीज लैजाऊ।” मैले एउटा सानो नोटबुक निकालें र उहाँलाई भनें, “अध्यक्ष माओ, म तपाईंसँग विछोड हुँदै छु के तपाईंले मेरो लागि नोटबुकमा केही लेखिदिनुहुन्छ ?” उहाँले तुरुन्त मेरो नोटबुक लिनुभयो र निम्न लिखित वाक्य लेख्नुभयो-
कमरेड, छन छाड-फड,
मेहनतपूर्वक काम गर पार्टी तथा जनताप्रति वफादार होऊ, म तिम्रो सफलताको कामना गर्दछु ।
१७ मे, १९४६, माओ त्से तुङ

मलाई उहाँले आफ्नो एउटा फोटो पनि दिनुभयो । उहाँ साढे दशबजे बैठकमा भाग लिन जाने कुरा हो छिङ -वाबाट थाहा पाएँ त्यसैले हामीहरू त्यहाँबाट हिंड्ने तयारी गयौं ।

“कुनै हतार छैन ।” अध्यक्षले भन्नुभयो “म अहिले बैठकमा जाँदैछु । तिमीहरू दिउँस खाजा खाएर जानु ।” उहाँले हो छिड़ हवालाई खाना बनाउन भन्नुभयो र मलाई मन पर्ने खाने कुराहरूको नाम बताउन भन्नुभयो ।

हामीले यात्राको तैयारी गर्नुपर्ने भएकोले दिउसको खाजा खान बस्न नसक्ने कुरा भन्यौं ।

अध्यक्ष हामीसँगै बाहिर निस्कनुभयो । उहाँले हामीसँग बारम्बार यही कुरा भन्नुभयो कि राम्रोसँग काम गर्नू र आफ्नो स्वास्थ्यको ख्याल राख्नू । जब उहाँले आफ्नो हात अगाडि बढाउनुभयो तब मैले दह्रोसँग समातें । मैले मुखबाट एक शब्द पनि निकाल्न सकिन ।

१८ मे, १९४६ मा म येनानबाट रवाना भएँ । त्यसपछि कतिबर्ष बितिसक्यो तर यसबीच चाहे म मोर्चामा लडेको होऊँ वा शान्तिपूर्ण निर्माण कार्यमा लागेको होऊँ, म हर हमेशा यही सोच्दछु कि म अहिले पनि अध्यक्ष माओको साथमै छु । जब म उहाँको बारेमा सोच्दछु मेरो शक्ति एवम् आत्मविश्वास बढ्छ । उहाँको फोटो र उहाँले बिदाइ संदेश लेख्नुभएको नोटबुक आज पनि मसँगै थियो । म आफ्नो काम मेहनतपूर्वक गर्नेछु र पार्टी एवम् जनताप्रति राखेको छु । म सँधै त्यसरी नै काम गर्नेछु जसरी उहाँले भन्नुभएको सँधै बफादार रहनेछु । (लामो अभियानमा अध्यक्ष माओका साथबाट । अनुवाद – देवेन्द्र तिम्ला)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित