श्यामप्रसाद शर्मा
समालोचना सम्बन्धी मेरा धारणा – १
लेखक जीवन आरम्भ भएको सङ्गसङ्गै भने जसो मेरो समपादक जीवनको पनि शुरु भएको हो । सम्पादक जीवनको सङ्गसङ्गै समालोचक जीवन पनि थालिहाल्नुपर्ने अवस्थामा परें । २००१-०२ सालदेखि मेरा रचनाहरू प्रकाशनमा आउन थालेका हुन् । संदेशु कविता उदय मासिकमा २००२मा प्रकाशित भएको थियो । त्यसपछि वर्षेनी भनेझैं मेरो कुनै न कुनै रचना प्रकाशित हुने गरेका हुन् ।
मेरो सम्पादक जीवन चाहिं २००५-०६ तिर हस्तलिखित मासिक ‘संदेश’को सम्पादन कार्य थोलेपछि शुरु भएको हुनु पर्छ । त्यो पत्रिका फणिन्द्र राजखेताला, रमेश विकल र केही अरु साथीहरू समेत भई काठमाडौँको चावहिलमा चलाउने गरिएको थियो । त्यसपछि २००६ सालमा नै रमेश विकल समेत केही अरु साथीहरू सङ्ग मिलेर राजधानीका कारागारहरूमा रहेका राजवन्दीहरूको निम्ति गुप्त रुपबाट पठाउने गरिएको थियो । हस्त लिखित साप्ताहिक ‘कोसेली’ को सम्पादन गरेको थिएँ । २००७ सालमा नख्खु जेलमा छँदा गुनासो (दैनिक) ज्वाला (साप्ताहिक) र तरुण (साप्ताहिक) आदि स्लेट पत्रिकाको सम्पादन कार्यसङ्ग सम्बद्ध रहें । २००८ सालमा वीरगंजबाट सेवा मासिकको सम्पादन र प्रकाशन गरेको थिए । त्यसपछि त धेरै वर्षसम्म निकै थरी पत्रपत्रिकाहरूमा सक्पादकीय कार्य गरेँ । यसरी सम्पादक भएर काम गर्दा रचनाहरू जाँचेर स्वीकृत र अस्वीकृत र विचाराधीन गरी तीन भाग लाउने गरेको थिएँ । रचनाहरूको गुण र दोष छुट्याएर तिनको राम्ररी पारख गरेर मात्र स्वीकृत वा अस्वीकृत गर्नुपर्दथ्यो । सम्पादकीय कार्यालयमा आउने र अरु ठाउँमा भेट हुने कवि लेखकहरसङ्ग लेख रचनाहरू कसरी जाँच्नुपर्दछ भन्ने विषयमा समेत छलफल हुन पाउँथ्यो । यी कुराहरूले नै ममा समालोचनात्मक दृष्टिकोणको विकासका लागि सघाउ पुर्याएको होलान ।
‘सेवा’ पत्रिकाको प्रकाशन प्रारम्भ गरेपछि विभिन्न पुस्तक पुस्तिकाहरू परिचयार्थ आउन थाले । प्राप्त सामग्रीहरूको परिचय कसलाई लेखाउने ? त्यसबेला वीरगंजमा लेखहरू लेख्ने मानिस त्यति थिएनन् । पत्रिकासित सम्बन्धित सबै जसो परिआउने काम आफैले गर्नुपर्दथ्यो । त्यसैले पुस्तक परिचय वा समीक्षा पनि लेख्न करै लाग्यो । मेरो समालोचक जीवन यसरी शुरु हुन्छ । हुनत त्यसभन्दा पहिले पनि २००७ सालमा नख्खु जेलमा केही स्लेट पत्रिकाको परिचय लेख्ने काम गरिसकेको थिएँ । तिनताक मैले समालोचनालाई दुई भागमा बाँड्ने गरेको थिएँ । बहिरङ्ग परीक्षा र अन्तरग परीक्षा । बाहिरी पक्षमा पुस्तकको आकार, पाता र छपाई, कागतको किसिम र पृष्ठ सङ्ख्या, मूल्य इत्यादि लाई जाँच्ने गरेको थिएँ भने भित्री पक्षमा भाषा, शैली विषय वस्तु, चरित्र चित्रण, घट्नाक्रम इत्यादि शिल्प पक्ष र मुख्यत: भाव वा विचार पक्षलाई हेर्ने गरेको थिएँ । सेवाको दोस्रो अङ्कमा पूर्णप्रसाद ब्राहमणका ‘म लोग्ने हुँु र ‘झिल्का’ गरी दुई कथा सङ्ग्रहको समालोचना लेखेको छु ।
मेरो धारणा यस्तो छ । समालोचना लेख्दा समय सापेक्षता र तुलनात्मकतामा ध्यान दिनु पर्दछ । जुन कृतिको समिक्षा गरिन्छ त्यो तयार गरिएको बेला अवस्था कस्तो थियो र त्यस विधा वा विषयका अरुका रचनाहरूसङ्ग तुलनामा त्यस कुतिका मुख्य विषेशताहरू केके हुनु् भनी छुट्याउन खोज्नु पर्दछ । जुन उद्देश्यबाट रचना तयार पारिएको हो त्यसमा रचनाकार कतिसम्म सफल हुन सकेका छन् भनेर पनि विचार पुर्याउनु पर्दछ । भाषशैली कतिसम्म स्वाभाविक र आकर्षक छन् भनेर पारख गर्न पनि बिर्सनु हुन्न । रचनाकार समाजको वास्तविक जीवनको चित्र प्रसतुत गर्न कतिसम्म सफल बाटोतिर आफ्ना पाठकहरूलाई डोर्याउन समेत खोजेका छन्, छैनन् भनेर पनि जाँच्नु पर्दछ । जनतालाई निराशा र पलायनको बाटोतिर लैजान खोज्ने रचनाहरू हुन् अथवा आशावादी रहन र प्रयत्नशील वा सङ्घर्षशील हुन प्रेरणा दिने कृतिहरू हुन् भनी राम्ररी छुट्याउनु पर्दछ ।
वर्तमान समाज व्यवस्था र राज्यसत्ताका विषयमा, मुलुकमा भएका विभिन्न वर्गहरूको हालको स्थितिबारे लेखकलाई कतिसम्म गहिरो ज्ञान रहेछ, उनले श्रमिक तथा शोषकहरू मध्ये कुन चाँहिँ वर्गको दुष्टिकोण लिएर समस्याहरू हेर्ने गरेका रहेछन् भन्ने कुरा समालोचकले बुझ्न पर्दछ दार्शनिक दृष्टिबाट विचार गर्दा सम्बन्धित साहित्यकार भौतिकवादी भित्र पर्छन् वा आध्यत्मवादी भित्र भनेर पनि चिन्नुपर्दछ । कृतिकारका भनाईहरू कहाँसम्म विज्ञानसम्मत छन् र उनका आफ्नै मान्यताहरू पनि आपसमा बाँझिउका छन् छैनन् भनेर पनि जाँच्नु पर्दछ । रचनाकारमा पाईने राष्ट्रवाद वा देशभक्ति सङ्कुचित किसिमको छ वा विश्वबन्धुत्वको विशाल भावनालाई समेत सघाउ पुरर्याउने खालको फराकिलो छ भनेर बुझ्न सक्नुपर्दछ । जनादेश (साप्ताहिक ) २०४९ आश्विन १३
समालोचना सम्बन्धी मेरा धारणा – २
आफूले समालोचनाबाट समालोचना गरिएका रचनाकारहरूलाई पनि सकेसम्म बढी मात्रामा चित्त बुझ्न सकोस् भन्ने धारणा भएको हुँदा मैले आफूबाट लेखिएका समालोचनाहरू सामान्यतया सम्बन्धित व्यक्तिलाई देखाएरमात्र प्रकाशित गरेको छु । २०११ सालमा प्रगति द्वैमासिकमा ह्रृदयचन्द्र सिंह प्रधानको जुँगा निवन्ध सङ्ग्रहबारे मैले गरेको मूल्याङ्कन प्रकाशित भएको छ । त्यसबेला ह्रृदयसिंह प्रधान काठमाडौँमा हुनुहुन्थ्यो र मचाहिँ वीरगञ्जमा थिएँ ।
मैले वीरगञ्जबाट उक्त समालोचना उहाँलाई नै पठाएको थिएँ र त्यसमा चित्त नबुझेका अंशहरू नराखिकन नै प्रकाशित गर्नु भएपनि हुन्छ भनेर चिठी समेत लेखेको थिएँ, उहाँले मैल गरेको मुल्याङ्कन कतिपनि काँटछाँट नगरी जस्ताको त्यस्तै प्रकाशित गराउनु भएको थियो । काठमाडौँमा आएका बेलामा मैले उहाँँकै घरमा गएर भेट गरें र सोेधेँ तपाईलाई मैले लेखेका कुराहरू सबै चित्त बुझ्यो र ? उहाँले दुइटा कुरामा त्यति चित्त बुझेन भनी बताउनु भयो । एउटा मैले विचार पक्षको निम्ति भने त्यति राम्ररी ध्यान दिन सकेको थिएन अर्को व्याकरण सम्बन्धी मैले देखाएका त्रुटहिरूबारे पनि उहाँ सहमत हुनुहँुदो रहेनछ । उहाँले देखाउनु भएको मेरो पहिलो कमजोरीलाई मैले उत्तिखेरै खुशीसाथ स्वीकारेँ, तर दोस्रो विषयमा भने विचार गरुँला मात्र भनेँ । त्यस बेलादेखि समालोचना लेख्दा मैले शिल्पपक्ष बारे समेत पहिलेको भन्दा बढी सजग भएर लेख्ने गरेको छु ।
असहमतिका बुँदाहरू नराख्ने स्वतन्त्रता समालोचकबाट पाउँदापाउँदै पनि त्यस मूल्याङ्कनलाई सहर्ष प्रकाशित गराउनु भएकोमा हृदयचन्द्रको महानता ठानेको छु । समालोचनामा मैले उहाँ प्रति प्रयोग गरेको जनवादी विषेशणबाट भने उहाँ विशेष रुपबाट प्रभावित हुनु भएको रहेछ । र भन्नुभयो मलाई जनवादी भनेर लेख्ने पहिलो व्यक्ति तपाइँ नै हो ।
मेरो धारणा छ हामीले लेख्ने समालोचना प्रभावकारी पनि हुनुपर्दछ । त्यसले पाठकहरूलाई मात्र होईन समालोचना गरिएको रचनाकारलाई समेत प्रभावित पार्न सक्नुपर्दछ । अर्को कुरा समालोचकले मात्र सिकाउनु पर्छ भन्ने भ्रममा पनि पर्नु हुन्न । आफूले जुन रचनाको समीक्षा गर्ने हो त्यसका सिर्जनाकारबाट स्वयम् समालोचकले समेत सिक्न खोज्नु पर्छ । यसरी दोहोरो प्रयत्न भएमा सम्बन्धित रचनाको मर्मलाई झन् गहिरिएर बुझन सकिन्छ र समालोचनाको स्तर अझ माथि उठ्न पाउँछ । हाम्रा कवि लेखकहरूका रचनामा स्तरीयताको मात्रा बढ्दै जावोस् भनेर हामी चिताउँछौँ । आफूले लेख्ने समालोचनाहरूको स्तर पनि बढ्दै जान सकोस् भन्ने चाहना चाहिन्छ र चाहे अनुसार प्रयत्न पनि गर्दै जानु पर्दछ ।
कुनै पनि कृतिकारको मूल्याङ्कन गर्दा हामीले परिश्रम र कृतिको छुट्टा छुट्टै गर्नुपर्दछ । किनभने धेरै परिश्रम परेको छ भन्दैमा कुनै कम महत्त्वपूर्ण कृतिलाई हामीले बढी महत्त्व दिन मिल्दैन । मिहेनतको मिहेनतसङ्गै र रचनाको रचनासङ्गै तुलना गर्ने गर्दा मात्र वैज्ञानिक प्रणाली हुन पाउँछ ।
रचना तयार पार्दा कसैले सामाजिक विषय रोजेको हुन्छन् कसैले प्राकृतिक । यसरी रोज्ने स्वतन्त्रता रचनाकारलाई अवश्य रहनुपर्दछ । सामाजिक विषय रोज्दैमा प्रगतिशील होईने र प्राकृतिक विषय रोज्नेहरू पछौटे ठहरिने कुरा साँचो होईन । सामाजिक विषयमा लेखे पनि समाजकै अहित हुने कुरा लेख्ने हो भने कसरी प्रगतिशील लेखक हुन सकिएला ? प्राकृतिक विषय रोजेपनि समाजको कल्याण हुने कुराहरू लेख्नेलाई प्रगतिशील किन नमान्ने ? त्यसैले प्रगतिशीलतालाई जाँच्ने मुख्य कसी लेखकहरूले गर्ने विषय चयन नभएर त्यसबाट उनीहरूले समाजको प्रगतिमा पुर्याएको योगदानको मात्रा र किसिम नै हुनुपर्दछ ।
कुनै कृतिकारका रचनाको तुलना गर्दा अरुका रचनासँग मात्र होईन स्वयम् रचनाकारका अरु रचनासँग समेत गर्ने गर्नु पर्दछ । वैचारिक पक्षमा पनि र कलात्मक पक्षमा पनि । रचनाकारका विचार र शिल्प झन् झन् माझिँदै खारिँदै गईरहेका छन् अथवा पहिले कै स्तरमा मात्र सीमित छन् वा त्यति पनि परिष्कृत हुन सकेका छैनन् भनेर जाँच्नु पर्दछ । विचार पक्ष र कलापक्ष मध्ये दुवै वा कुनै एउटाको स्तर उक्सेको अथवा खस्केको छ भनेर पनि ध्यान दिनु पर्छ ।
प्रत्येक रचना बलिया र निर्धा दुवै पक्ष हुन्छन् । त्रुटि रहित रचना फेला पार्नु गाह्रो भए जस्तै नराम्रा कुराले मात्र भरिएका रचना पनि प्राय : हुँदैनन् । अझ नराम्रो नियतले लेखिएका कतिपय कृतिमा राम्रा राम्रा कुराहरू समेत छ्यासमिस पारेर पाठकहरूलाई भ्रममा राख्ने दाउ गरिएको हुन सक्छ । तसर्थ हामीले दुवै पक्षलाई जोखेर कुन चाहिँ गह्रौ छ भनी छुट्याउनु पर्छ । जुन पक्ष प्रमुख हुन पुगेको पाईन्छ त्यसै आधारमा त्यो कृति कति सम्म प्रशंसनीय वा आलोच्य हो भन्ने निधो गर्नु पर्छ । सबल पक्षको पारख गर्दा साना साना विषेशताहरूलाई पनि गन्नुपर्छ । भने दुर्वल पक्षको पनि परिक्षा गर्दा चाँहि साना तिना कमजोरी बारे त्यतिसारो कडाई गरिरहनु आवश्यक छैन । छाड्नै नसकिने वा माफि दिन नमिल्ने किसिमका ठूला कमजोरीलाई मात्र समाउनुपर्छ । असल समालोचकको न्याय प्रणाली यस्तो हुन्छ ।
साहित्यमा अनुकरण्ीय आदर्श पात्रहरू तयार पार्नु भनेको साह्रै कठीन काम हो । त्यसकारण प्रतिकूल परिस्थितिसँग जुक्ति बुद्धि पुर्याएर जुध्दै अदम्य उत्साह लिई समाजको विकास र प्रगतिमा साँच्ची नै सघाउ पुग्ने काममा लागि परेका नमुना पात्रहरूको समेत सिर्जना गरिएका रचनाहरलाई पनि हामीले विशेष महत्त्व दिन बिर्सनु हुँदैन ।
समालोचना सम्बन्धी मेरा केही धारणाहरू –३
आफूले पाएका कृतिहरू र तिनका कृतिकारहरका विषयमा असल समालोचकले राय गर्न अवश्य अघि सर्ने गर्नु पर्छ यस्तो मत हुँदाहुँदै पनि म आफूले भने आफै अघि सरेर एउटासम्म रचनाको पनि मूल्याङ्कन लेखेको छैन भने हुन्छ । हुनत म बाट लेखिएका एकबीसभन्दा बढी नै कृतिहरूको समीक्षा प्रकाशित भइसकेका छ् । तर ती सबैजसो अरुले मलाई लेख्न भनी आग्रह गरेपछि मात्र लखिएका हुन् ।
सबल पक्ष प्रमुख भएका रचनाहरू र तिनका रचनाकारहरूको हामीले मन फुकाएर प्रशस्त प्रशंसा गर्नैपर्छ । तैपनि अत्युक्ति चाहिँ हुन नपावुस भनी होस राख्नुपर्छ । जनताको कुभलो हुने खालका विचारले भरिएका कृतिहरू तथा तिनका कृतिकारहरूको कडा आलोचना पनि हामीले निर्धक्कसँग अवश्य गर्नुपर्छ । तर ती प्रति कति अन्याय हुन नपाओस भनेर सावधान समेत हुनैपर्छ । अर्थात प्रशंसा वा निन्दा जे गर्नु पर्दा पनि मात्रा मिलाएर गर्न जान्नुपर्छ, अलिकति पनि घटिबढि गर्न पुग्नु हुँदैन । चर्को आलोचना चरिँदो नमिठो हुन्छ । भने अपुग आलोचना पनि खल्लो भई दिन्छ ।
कुनै रचनाकारका सबै कृतिहरूको समालोचना लेख्न पनि सकिन्छ । र निजका कुनै एक दुई रचनाको मात्र समालोचना लेखे पनि हुन्छ । तर एउटा मात्र रचनाको समीक्षा गर्दा पनि रचनाकार कस्तो किसिमको हो र उसका कृतिहरूको के कस्तो महत्त्व रहि आएको छ भन्ने बुँदालाई चाहिँ बिर्सनु हँुदैन । यसरी निजको जीवनी र कृतित्त्वको सम्पूर्णताको आधारमा नै कुनै अंशको एकदुई रचनाको मूल्याङ्कन हुनुपर्दछ । सम्पूर्णताबाट छुट्याएर एकाङ्की रुपमा होईन ।
कुनै कृतिको तुलना गर्दा विचार पक्षको र विधा तथा शिल्प पक्ष सङ्गै गर्नु पर्छ जस्तै कविता र कथाको कविता र कथासँग नाटक र निबन्धको नाटक र निबन्ध सङ्गै भाषा र शैलीको भाषा र शैली सङ्गै तुलना हुनुपर्दछ । आर्थिक, राजनैतिक र साँस्कृतिक आदि विचारलार्ई तत् सम्बन्धी विचारहरूसङ्गै दाँजेर हेर्ने गर्नु पर्छ कुन लेखकले अरुले नदिएको नयाँकुरा दिएको छ भनेर जाँच्नु पर्दछ । जस्तै कुनै नयाँ विधा र विषयमा हात हालेको छ कि ? अरुले कलम चलाएकै विधा, विषय भएपनि तिनमा कुनै नौलो विषेशता थपेको छकि ? भाषा शैली सम्बन्धी अरुमा नपाईने विशिष्टता पाईन्छकि ? स्वयं लेखकले पहिले प्रश्तुत गरेको भन्दा नौलो कुरा केही दिएको छ कि ? …इत्यादि ।
हामीले आत्मकथा, र संस्मरण र दैनिकी आदि सामग्रीहरूलाई विशेष महत्त्व दिनु पर्छ । यस्ता रचनाहरूबाट लेखकको वास्तविक स्वरूप चिन्न पाईन्छ भने लेखकसित सम्बन्धित अरु व्यक्तित्वहरूका विषयमा र त्यसबेलाको सामाजिक अवस्थाबारे बुझ्न पनि सघाउ पाईन्छ । लेखकको जीवन र कृतिलाई हामीले मुलुकको ऐतिहाँसिक अवधिको पृष्ठभूमिमा समेत हेर्ने गर्नुपर्छ । जस्तै १९९७ देख २००७ सालसम्मको समय, त्यसपछि २००७ देखि २०१७, २०१७देखि २०३६ साल र २०३६ देखि २०४६ सम्मको अवधि । अनि २०४६ भन्दा यताको बेला ।
हामीले धेरै महत्त्व दिनुपर्ने विषयमा आत्मालोचना गर्नु पनि पर्छ आफ्ना गल्ती र कमजोरीहरूलाई आफ्नै राजीखुशीले सबैका अगाडि राख्नु भनेको सारै ठूलो आँटको कुरा हो । इमानदारीसाथ स्वआलोचना गर्नेहरू महान हुन् । तिनको यस्तो गुन धेरैमा सार्न खोज्नुपर्छ र क्रमश: फिँजाउँदै जानु पर्दछ । त्यसकारण, स्वआलोचनाको प्रवृतिलाई प्रोत्साहन दिने गरौँ, यसको महत्त्व राम्ररी बुझौँ र बुझाअौँ ।
हामीले महत्त्व दिनुपर्ने विषय अनुदित रचनाहरू पनि हुन् । एक भाषाबाट अर्को भाषामा मूल कृतिकारको भावना र शैलीलाई धेरैभन्दा धेरै राम्ररी प्रतिनिधित्व हुने गरी उतार्नु भनेको ठूलो योग्यता र सीपको काम हो । त्यसैले समालोचक साथीहरूले ध्यान अनुदित रचनाहरूको समीक्षा गर्नतिर पनि तानिने गर्नुपर्छ । यस्तो मूल्याङ्कन विदेशका भाषाबाट विदेशका भाषाहरूमा भएका अनुवादहरूको साथै नेपालकै एक भाषाबाट अर्को भाषामा भएका अनुवादहरूको समेत हुने गर्नुपर्दछ ।
मैले प्रकाशित गर्ने उद्देश्यबाट मात्र समालोचना लेख्ने गरेको छैन । कतिपय मित्रहरूको माग अनुसार उहाँहरूका रचनाबारे चिठीबाट पनि आफ्नो राय प्रकट गरेको छु । यस्ता सामग्रीपनि पछि उहाँहरूले समालोचनाकै रुपमा प्रकाशित गराएर मैले लेखेका समालोचनाहरूको सङ्ख्या थपिदिनु भएको छ ।
गरिमा (मासिक ) २०४९मार्ग साहित्यिक फाँटका मेरा केही धारणा पुस्तिकाबाट

