जीतपुरदेखि पर्साको भाठा मेला सम्म

– रामबहादुर बुढा
२०८० साउन २० गते ।
विहान ब्युँझदा ४ बज्नै आँटेको छ । जेनेटर प्रयोग गरी बालेको बिजुली बत्ती बलिरहेकोछ । लामो पक्की टहरामा लमतन्न मान्छेहरु सुतिरहेका छन् । नयाँ दुई तले टहरा । यो पर्सा राष्ट्रिय निकुन्ज भित्रको भाठा गाउँको धर्मशाला हो । माथिल्लो तलामा २÷४ वटा प्लाष्टिकका कुर्ची राखिएको छ । म ओछ्यान छोडेर कुर्चीमा बसे । डायरीमा दैनिकीका शब्दहरु लेख्न खोजे । माथिल्लो तलामा ६२ जना मान्छेहरु सुतेका छन् । करीव त्यत्तिकै संख्यामा तल्लो तलामा पनि सुतिरहेका छन। त्यसकै छेउँमा टायलले छाएको अर्को पुरानो एक तले धर्मशाला पनि छ । त्यहाँ पनि केही मान्छे सुतेकाछन । यो धर्मशाला बन्ने क्रम चलिरहेकोछ । डाँडाँको भित्ता सटाएर(जोडेर) धर्मशालाको भवन बनाइएकोछ । धर्मशालाको पर्खाल छैन । ठूला पिल्लरहरुछन । धर्मशालाको माथिल्लो तलाको तीन भागको एक भाग छट र पिल्लर पनि बनेकोछैन । म सुतेको धर्मशालाको तलाबाट हेर्दा पूर्ब तिर सुनसान जंगलछ । पश्चिम तिर नजिकैबाट पहाडको फेदीबाट निस्किएको सानो खोला भलुवई खोला रातिमा कुलकुलाउँदै भारतको बिहारतिर बहन्छ । यतिबेला म पर्साको भाटा गाउँको दुग्धेश्वर मन्दिरको धर्माशालामा छु ।भाटा गाउँलाई भाठा पनि लेख्दा रहेछन । गाउँ त भन्ने मात्र हो ,यथार्थमा अहिले त्यहाँ एउटा पनि घर छैन । घर नभए पछि गाउँ हुने कुरा भएन । मेला लाग्दा पसलका छाप्राहरू बन्छन । अघि पछि खाली चौर मात्र हुन्छ । दुग्धेश्वर मन्दिर दक्षिणतिर फर्किएर लमतन्न सुतेको एउटा होचो डाँडामा अबस्थित छ । त्यही डाँडाको फेदीमा कुनै बेला भाठा गाउँ थियो जङ्गलको बीचमा । जम्मा १५ घर जति थारुहरुको घर थियो । पर्सा राष्ट्रिय निकुन्जको नजिकै गाउँ ,जङ्गलैजङ्गलको बीचमा उनीहरु जंगली जनावरको त्रासै त्रासमा बाँचिरहेका थिए । पर्सा राष्ट्रिय निकुन्ज बिस्तार गर्ने बेला २०६२ तिर भाठा गाउँ नै बिस्थापित गरिएछ । कुरा बुझ्दा पश्चिम कन्चनपुरको शुक्लाफाँटा वन्य जन्तु आरक्ष बिस्तार गर्ने बेला नै यहाँको गाउँ पनि बिस्थापित गरिएकोरहेछ ।
पर्साको जीतपुरबाट पश्चिम बौनियाँ गाउँमा पुगेर म साउन १८ गते बेलुकी कमरेड खगेश्वर शर्माको घरमा बास बसेँ। शर्माजीले मशाल समर्थक साथीहरु जम्मा गर्ने पहल गर्नु भयो । देशको अवस्था ,पार्टीको राजनीति र विभिन्न विषयमा छलफल गरियो। साउन १९ गते मलाई तपसी चौधरीले रङपुर आउनु म तपाईलाई भाटा मेला लैजान्छु भन्नू भयो। त्यहाँ जङ्गलको बीचमा डाँडामा महादेवको मन्दिर छ । ठूलो मेला लाग्छ भन्नू भयो। त्यो ठाउँमा मन्दिर वा धर्म सित सामाजिक जीवन कसरी जोडिएकोछ भन्ने कुरा बुझ्न मन लाग्यो ।अर्को कुरा साथीहरु सितको भेट दुइटै कुरा मनमा राखेर म हिडे । अटो चढेर मौनुवा सम्म पुगे ।मौनुवाबाट रङ्गपुर पुगे ।
रङ्गपुर एउटा सानो बजार हो । प्रहरी चौकी अगाडि दुईटा प्रहरी अटोमा के लिएकाछन भनेर चेक गर्न बसेकाथिए । यो पुरानो थारु गाउँ हो । तपसी चौधरी मलाई रिसिभ गर्न आइपुग्नु भयो ।
पर्साको रङ्गपुर क्षेत्रको कुरा गर्दा त्यो पुरानो थारु बस्ती रहेछ । पछि पहाडियाहरु पनि त्यो क्षेत्रमा बसाई सरेर आएका रहेछन् । अहिले पनि पहाडीयाहरुछन् । तर पहाडबाट झरेका मान्छेहरु वस्तीबाट हट्दै गैरहेका र विहारबाट आएकाहरुको जनघनत्व बढ्दै रहेछ ।

 

भाठा गाउँको पुरानो धर्मशाला

बाइकमा चढेर हामी लाग्यौँ भाटाको मेलातिर । मेलामा पुर्याउने तपसीजीको चाउचाउको दुई पकेट बोकेर म बाइकको पछि बसे । तपसीजीले मलाई पुरानो थारु गाउँ र पहाडी बस्तीहरुको परिचय दिदै जानू भयो । पर्सा राष्ट्रिय निकुन्ज विस्तार गर्दा उठाइएको भाटा गाउँलाई रङ्गपुर नजिकै ल्याइएकोरहेछ ।त्यो नयाँ बस्तीको नाम पनि भाटा नै राखिएकोरहेछ । “ यो वर पिपल सहितको चौपारी शिव तिवारीको बाले बनाएको हो । हो, त्यहाँ नेर शिव तिवारीको घर थियो।“ स्मरणीय छ शिव तिवारी २०५० को दशकको मध्य तिर हाँक साप्ताहिकका सम्पादक हुनुहुन्थ्यो । तपसीले मलाई जानकारी गराउँदै जानू भयो । भाटा मेला पुग्न पर्सा राष्ट्रिय निकुन्ज हुँदै जानू पर्ने रहेछ । अहिले सेनाको सुबिज गणको जिम्मा रहेछ । सेनाहरुले चेक गरेर अगाडि बढ्न दिदा रहेछन । निकुन्जा भित्र हात्ती र बाघको डर हुने भएकाले एउटा बाइक मात्र जान दिने रहेनछ । सडकका छेउछाउमा मृगका हुलहरु चर्दै गरेका ,मृगहरु दौडदै गरेक दृष्य देखिएका थिए ।

जब हामी भाटा पुग्यौ त्यहाँ पाल टाँगिएका पसलहरुको रमझम थियो । त्यहाँ धेरै मान्छेहरु विहारबाट पसल गर्न आएकारहेछन।
परम्परा के हो ? विश्वास के हो ? मलाई बुझ्न मन लाग्यो । दुग्धेश्वर नाथ महादेव मन्दिर र भाठा मेलाको कथा स्थानीयहरुबाट यस्तो सुनियो– कुनै बेला यहाँ गोठालाहरु गाई चराउँदथे । एक पटक एक किसानको गाईले बाच्छो जन्माएछ । त्यो गाईले गएर दूध एउटा ढुङ्गोमा झार्दो रहेछ । मान्छे र बाच्छोलाई दूध नदिने तर बारम्बार त्यही ढुङ्गामा गएर दूध झार्दो रहेछ । त्यो गाईको चालामाला देखेर गोठालालाई रिस उठेछ र बन्चरोले हानेर त्यो ढुङ्गा फ्याकिदिएछ । ढुंगाको शिर केही फुटेछ । फेरि पनि त्यो ढुङ्गा सोही ठाउँमा भेटिएछ । यो ढुङ्गा नभएर दुग्धेश्वर नाथ महादेव हुन् भनेर पूजा गर्न थालिएछ । यो कथा सुने पछि मलाई लाग्यो कि कुनै एक गोठालाको गाई थियो होला । त्यो गाईले गोठाला र बाच्छोलाई दूध दिएन होला । दूध नदिए पछि गाईको थूनमा दूध भरियो होला र थूनबाट दूध झर्यो होला ।दूध झर्दा कुनै ढुङ्गामा झर्यो होला ।गोठालाहरूले त्यसलाई दूग्धेस्वर महादेव भने र पूजा गर्दै जाँदा त्यो धार्मिक पर्यटनको क्षेत्र बन्यो होला भन्ने मेरो बुझाइ रह्यो ।दुग्धेश्वर मन्दिरको फेदीमा नेपाली सेनाको क्याम्प छ । सेनाको क्याम्पबाट उकालो लागेर ३५२ वटा सिँढी चढे पछि दुग्धेश्वरनाथ महादेवको मन्दिर आउँदो रहेछ ।
राष्ट्रिय निकुन्जका वाडेन बाबुराम यादवको पाला देखि धर्मशाला बनाउन थालिएकोरहेछ।
दुग्धेश्वरनाथ महादेबको मन्दिर नजिक नजिक पार्वती,गणेश कार्तिका,हनुमान ,दुर्गा,घोडे मसानका मुर्तिहरु सहितका साना मन्दिर पनि रहेछन् ।
२०८० साउन २० गते ।
म साउन २० गते विहानको कुरा गर्दै छु । विहान उज्यालो नहुँदै ४ बजे तिरै प्लास्टिकको कुर्चीमा बसिरहेको बेला एक जना व्यक्ति लाईट बालेर पस्चिमबाट एक जना कोही आएको सुने तपाईं हो भन्दै आए । उहाँ दुग्धेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण समितिको सहसचिब राजेन्द्र कुमार बिष्ट हुनुहुँदो रहेछ । बिष्टजी बिरगन्ज नगरपालिकाको कर्मचारी जागीरबाट रिटायर भएर सामाजिक कार्यमा लाग्नु भएको रहेछ । उहाँले दुग्धेश्वर मन्दिरमा भक्तजनहरूले चढाउने सुन ,पैसा लगायतका सामग्रीको संकलन गर्ने स्टोर इन्चार्जको जिम्मा लिनु भएकोरहेछ । मेला ब्यबस्थापनका मान्छेहरू मेलामा पालो पालो गरेर रातिमा ड्युटी गर्नु हुँदो रहेछ ।त्यतिबेला राजेन्द्र कुमार बिष्टको पालो परेकोरहेछ । बिष्टले मलाई त्यहाँको बारेमा सुनाउँदै जानू भयो ,,“ यहाँको हिसाब वर्षेनी अडिटिङ हुन्छ । यो हिसाब जिल्ला प्रशासन कार्यालय पर्सा र आन्तरिक राजश्व कार्याललाई देखाइन्छ । दुग्धेश्वर महादेव मन्दिरको निर्माण तथा संरक्षण समितिजिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गरिएकोछ । समितिमा ५ महिला सहित २१ जनाको समिति बनेकोछ । यस सँस्थाको सदस्य बन्नलाई ६÷६ महिनामा स्दस्य बन्न आह्वान गरिन्छ । बीरगन्जमा कुम्हाल टोलमा यसको शाखा कार्यालय बनाइएकोछ । भाठा गाउँ भन्दा ५ किलोमिटर पस्चिम तिर शिकारी बास भन्ने ठाउँछ । जङ्गल पारी ब्रह्म नगर ,निर्मल बस्ती भन्ने गाउँमा पहाडीयाहरूको बस्ती छ । राजा महेन्द्रको पालामा बोर्डरमा पहाडीयाहरूलाई लगेर बस्ती बसाउने सिलसिलामा ती बस्ती बसालिएकाथिए । २०२१ साल सम्म ब्रह्मनगर, निर्मल बस्ती ,शिकारीबास सबै चितवन जिल्लामा पर्दथे ।२१ सालमा यहाँ नापी आयो र ती बस्तीहरू पर्सा जिल्ला अन्तरगत परे ।अहिले अमुवाबासा देखि पश्चिम चितवन पर्दछ । अमुवाबास भाठा गाउँबाट २२ किलोमिटर पस्चिममा पर्दछ । जङगलै जङगलको बाटो जानू पर्ने भएकाले जङ्गली जनावरको डरले एक्लै मान्छे हिड्दैनन । हिड्न परे हुल बाँधेर मात्र मान्छे हिंड्दछन । पर्सा राष्ट्रिय निकुन्जको चार भैया भन्ने ठाउँमा आर्मीको चेकिङ पोष्ट छ । कुनै बेला त्यहाँ ठूला ठूला चार वटा रूख थिएरे ।त्यसैले त्यो ठाउँलाई चार भैया भनिएकोरहेछ ।राष्ट्रिय निकुन्ज भित्र प्रबेश गरेर दुग्धेश्वर मेला तिर आउँदा एक मोटर बाइकलाई रू ३०० ÷– र प्रति व्यक्ति रू. १०० ÷– , चार चक्के गाडीलाई रू २५००÷– पर्सा राष्ट्रिय निकुन्जले शुल्क लिन्छ । तर ती यात्री भारतीय रहेछ भने बाइकलाई रू ५००÷– र चार चक्के गाडीलाई ३५००÷– रूपैयाँ शुल्क लिइन्छ । तर मेला लागेको बेलामा शुल्क लिन नपाउने गरी पर्सा राष्ट्रिय निकुन्ज सित मेला समितिले सहमति गरेकोछ । गाउँलेहरूले मन्दिरमा इच्छादान ,श्रमदान पनि गर्ने गरेकाछन । अहिले निर्माण तथा संरक्षण समितिका सदस्य बन्नेहरू ८०० जना पुगेका छन् । आजीवन सदस्य बन्नका लागि १०६१ रुपैयाँ तिर्नु पर्दछ । तर वाराको गढीमाई मन्दिर समितिको आजीवन सदस्य बन्न ५१०० ÷– रुपैयाँ तिर्नु पर्दछ । गढीमाईको तुलनामा यहाँ सस्तो छ । यो दुग्धेश्वर महादेव मन्दिर पर्सा जिल्लाको पटेरवा सुगौली गाउँ पालिकाको वडा नम्बर १ अन्तर्गत पर्दछ । “ राजेन्द्र कुमार बिष्टका यी कुरा सुन्दा सुन्दै फु¥र उज्यालो हुन थाल्यो । पर्सा राष्ट्रिय निकुन्जको घना जङ्गलको पूर्व तिरबाट विहानीको लाली चियाउन थाल्यो । बिष्ट जी आफ्नो काममा लाग्नु भयो । म धर्म शालाबाट उठेर तपसी चौधरीजीको पसल तिर लागे ।

खासमा म हिजो साउन १९ गते दिउसै भाठा मेला आएकोथिएँ तपसी चौधरीजीको बाइकबाट । दिन भरी मेलाको रमझम हेर्ने , तपसीजीको सहयोगमा दुग्धेश्वर महादेव मन्दिर निर्माण समितिका अध्यक्ष अलखदेव थारू र मन्दिरका मूल पुजारी सित भेटघाट गर्नमै दिन व्यतित भयो ।
टाढाबाट आएको पाहुना भनेर अध्यक्षले मलाई आज हाम्रो मेसमा खाना खानु पर्दछ भनेर अनुरोध गरिरहनु भएको थियो । तर साथी तपसीको पसलमै खाना पाक्छ भने किन मन्दिरको मेशमा खानु भनेर मेशको भात खाइएन । अध्यक्षको चिया सम्म नकार्न सकिएन । अध्यक्ष अखलदेब थारू रिटायर शिक्षक हुनु हुन्छ । रिटायर भए पछि उहाँ यही मन्दिर निर्माण र सन्चालनको होलटाइमर जस्तै हुनुहुन्छ । उहाँको टिममा बिष्ट जस्ता सामाजिक भावना भएका थुप्रै मान्छेहरू जोडिएकाछन ।
दुग्धेश्वर महादेव मन्दिर निर्माण तथा संरक्षण समितिमा २०७० साल देखि अलखदेवजीले समितिको नेतृत्व गर्दै आउनु भएकोछ ।
विगतमा वैशाखमा १ दिनको मेला लाग्दथ्यो । तर २०६२ साल देखि यस ठाउँमा बैशाखमा ७ दिन र स्रावण महिना भरी मेला लाग्ने चलन सुरू भयो । बिगतमा यहाँ मेलामा पहिले रक्सी र मासुको व्यापार हुन्थ्यो । त्यति मात्र होइन मेलामा लडाईभिडाई बेस्मारी चल्थ्यो । तपसीजीले त कति सम्म सुनाउनु भयो भने गाईले दूध चढाएको भनेर विश्वास गरिएको र किसानले बन्चरोले हानेको भनेर विश्वास गरिएको ढुङ्गालाई समाएर यादव केटाहरू बस्थे । भक्तजनहरू त्यही पैसा चढाउँथे । अर्को हुल केटाहरूले त्यो ढुङ्गा खोसेर अर्को ठाउँमा बस्थे। भक्तजनहरू त्यही पैसा चढाउन जान्थे । अहिले मन्दिरमा एक ठाउँमा मात्र त्यो ढुङ्गा गाडेर सुरक्षितरूपमा राखियो । मन्दिर संरक्षण समितिले भेटी संकलनको जिम्मा लिए पछि कुनै पनि प्रकारको हुलले दुग्धेश्वरनाथ महादेवको प्रतिकको रूपमा रहेको ढुङ्गालाई पैसा कमाउने चीज बनाउन पाएका छैनन् । अहिले मन्दिर निर्माण संरक्षण समितिको अध्यक्ष अलखदेव थारू भए पनि मेला समितिको अध्यक्ष ज्ञानालाल पटेल हुनु हुँदो रहेछ ।
त्यहाँ बैशाखमा १ दिन मेला लाग्छ । एक दिन भने पनि एक हप्ता सम्म त्यो मेला चल्दो रहेछ । माथि नै मैले स्पष्ट गरे कि
२०६२ देखि माघमा ७ दिन र श्रावणमा महिनाभरी मेला लाग्दछ ।
भाठा गाउँ सँगै जोडिएर पश्चिम पट्टिबाट बगेको भलुवइ खोलाबाट भक्तजनहरूले पानी बोकेर दुग्धेश्वर महादेवको प्रतिकको रूपमा रहेको मन्दिरमा गाडिएको फुटेको ढुङ्गामा चढाउन जाँदा रहेछन् ।
पानी लैजाने माटोका साना भाँडाहरू मेलामा बेच्न राखेका हुँदा रहेछन् । त्यही मन्दिरमा लगेको माटोको भाँडो भक्तजनले फर्काएर ल्याउँदा रहेछन् । मेलाका पसलेहरूले भाँडो धोएर फेरि बेच्दा रहेछन । आँटेको ,चिताएको पुग्छ भन्ने विश्वासले मानिसहरू दुग्धेश्वर महादेवको दर्शन गर्न जाँदा रहेछन् । म २०८० सावनको १९ र २० गते शुक्रबार र शनिबारको दिन त्यहाँ रहेको थिएँ। त्यहाँ सीमित मान्छे मात्र मेलामा थिए । मान्छे आउने जाने चलिरहेकोथियो ।तपसी चौधरीजीले सोमबार ,मङ्गलबार यहाँ खुट्टा राख्न नसकिने गरी मान्छेको भीड हुन्छ । आइतवारबाटै मान्छे आउन सुरु गर्छन् ।तपाई एक दुई दिन बस्नुस भन्नू हुन्थ्यो । म सित समय अभाव भएकाले थप त्यहाँ बस्न सम्भव भएन । नेपालबाट मान्छेहरू आउँदछन । तर बिहारबाट धेरै मान्छे आउँदा रहेछन । मैले बिहारबाट आएका १० जना लक्का जवान युवाहरू भेटेको थिएँ । साँझ पख आएर भेली ,चिउरा र पानी खाएर रात कटाउँदै थिए। धर्म प्रतिको मान्छेको आशक्ति पनि अचम्म लाग्दोछ । भर्खर ९÷१० कक्षामा पढ्दै गरेका बिरगन्जबाट साइकलमा आएका ६ जना केटाहरू ६ दिन देखि यतै हराएकाथिए । पसलेलाई पैसा कमाउने रङ्गले यहाँ बसिरहेका छन् तर तिमीहरू किन समय खेर फालेको भन्दा अहिले स्कूलमा पढाई छैन रमाईलो हेर्न आएको भन्थे । एक जना पसल राख्न आएका बिहारीले भावुक तरिकाले आफ्नो कुरा सुनाए ,“ म यहाँ जीवनको बाजी लगाएर पसल राख्न आएकोछु । यस्तो जङ्गलको माझमा एक महिना सम्म घर परिवार छोडेर ,दुई पैसा आम्दानी हुन्छ कि भनेर आएकोछु । जिउँदै फर्किने नफर्किने ठेगान हुँदैन । बाघ ,भालु ,हाथीले कुनै पनि बेला मार्न सक्छ । आफ्नो परिवार पाल्नु पर्ने ,छोराछोरीको स्कुल खर्च जुटाउन सकिन्छ कि भनेर यहाँ आएकोछु । “ उनको उराठलाग्दो कुरा सुनेर मलाई टिठ पनि लाग्यो ।हाँसो पनि लाग्यो । किन चिन्ता गर्नु हुन्छ र यति धेरै तपाईं जस्तै मान्छे यहाँ पसल गर्न बसेकै छन् भनेर सहानुभूति दर्शाएँ । जङ्गली जनावर आउने भयले मानिसहरू पसलको टोल टोलमा राती गस्ती गर्ने पालो लगाएकाथिए । पसलेहरूको एक तहको सुरक्षा टोली , मन्दिर र मेला समितिको अर्को स्वयंसेवक टोली र प्रहरीहरूको अर्को सुरक्षा टोलीले मेलाको सुरक्षा गर्ने ब्यबस्था गरिएकोरहेछ । त्यसप्रकारको सुरक्षा ब्यबस्थाले जङ्गली जनावर मात्र नभएर चोरी चकारीबाट बच्न सकिने पनि उद्देश्य राखिएको छ ।

केही वर्ष पहिले एक जोगी खोलाको वगरमा हिड्दै गर्दा हात्तीले लखेटी लखेटी किल्चेर मारेको कथा मान्छेहरुले सुनाएकाथिए । पर्सा राष्ट्रिय निकुन्जका मृगहरू रातिमा वगरमा आएर बस्न मन पराउँदा रहेछन् । जङ्गलमा बस्दा बिभिन्न किराले टोक्ने सताउने हुँदा रातिमा बगरमा आएर बस्दा रहेछन् । वगरभरी वास बसेका मृगहरू ! मैले पश्चिम तिरका कोही मान्छे आएको छैन भनेर जान्न चाहेँ । जम्मा एक जना दाङबाट त्यहाँ घडी मोबाइलको पसल गर्न पुगेका रहेछन् । दाङ भने पनि उनको पुर्ख्यौली घर प्यूठान मच्छी रहेछ । मच्छीका ती युवाले काठमाडौंमा मोबाइल पसल गर्दा रहेछन् । यतै पर्सातिरका साथीको सङ्गतमा लागेर उनी त्यहाँ पुगेको भेटियो । जीवन शर्मा ,रक्तिम सित परिचित र दोहोरी साँझमा काम गरेको अनुभव सम्म भएका ती युवाले खास व्यापार भएन भनेर मन अमिलो बनाइरहेकाथिए । त्यहाँ मिठाई पसल ,खुद्रा पसल र पूजा सामग्रीको पसल राम्रै चलेको देखियो । मन्दिरमा गाईको दूध ,मिठाई , जल , फलफूल ,पैसा ,बेलपत्र , फूल चढाउँदा रहेछन् ।

सुरुमा त्यहाँ मन्दिर थिएन । एक पटक पर्सा जिल्ला,सखुनिया गाउँका महादेव दहित ( थारू) ले जङ्गलमा सिकार गर्न पसेको बेला सेनाको गैडा गस्तीले पकृएर खुट्टामा नेल हालेर सजाय दिएको थियो । त्यही बेला उनले दुग्धेश्वर महादेवको मन्दिर बनाउने छु भनी भाकल गरेकारहेछन र त्यहाँ उनले एउटा काठको मन्दिर बनाएकाथिए । पछि मन्दिर समिति ,मेला समिति बन्न थाले पछि काठको मन्दिर हटाएर अहिलेको आधुनिक मन्दिर बनाइएको जानकारी भयो । मेला समितिले एक पटक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल भएको बेला त्यहाँ उनलाई बोलाउन काठमाडौ सम्म निम्तो गर्न आएकोरहेछ । मन्त्री थापाले आउँछु भनेर वचन दिए पनि नाअएको स्थानीयले सुनाए । मन्दिर निर्माण समितिले सानीमा बैंकमा खाता सन्चालन गरेकोछ । समितिका अध्यक्ष थारूले बताए अनुसार परेरवा सुगौली गाउँपालिकाले २०७४ देखि ०७९ सम्म मन्दिर निर्माणका लागि ४० लाख उपलब्ध गराएको र २०७९ को निर्बाचन पछि १८ लाख छुट्टाएको थियो ।
उमेश पर्वत त्यहाँको मुख्य पुजारी हुन् । उनलाई नेपाली बोल्न खासै आउँदैन ।उनी भोजपुरी भाषी हुन ।।
अब गर्नु पर्ने काम –
१) निर्माण समितिले विशाल धर्मशाला बनाउने उद्देश्य राखेकोछ । धर्मशाला निर्माण कार्य अधकल्चो भएको छ । धर्माशालालाई पूर्णता दिन स्थानीय पालिका , केन्द्र , प्रदेश तह र स्थानीय राजनीतिकर्मी ,वुद्धिजीबी र जनताले ध्यान दिनु पर्ने देखिन्छ ।
पुरानो सानो झिङ्गटीले छाएको टहरा वाला धर्माशालालाई भत्काउनु हुँदैन बरू मर्मत गर्नु पर्दछ । किनभने त्यसले पुरानो चीजको आगामी पुस्तालाई जानकारी दिइरहनेछ ।
२) मन्दिर निर्माण भएकोछ । त्यसलाई पूर्णता दिनु पर्दछ ।
३) बिजुली ः बिजुलीको ब्यबस्था छैन ।चार वटा हाई पावरको जेनेरेटर चलाइरहेको अबस्था छ । विजुली ल्याउने बारे पनि छलफल भएकोछ तर रङपुरबाट त्यहाँ बिजुली पुर्याउन धेरै गाह्रो छ । किनकि धेरै जङ्गल फडानी गर्नु पर्ने हुन्छ । त्यसैले जमिन मुनिबाट बिजुली लान सकिन्छ कि भन्ने पनि छलफल चलेकोछ । गाह्रो भए पनि बिजुली पुर्याउनु नै राम्रो हुन्छ ।
४) ट्वाइलेट ः त्यती ठूलो मेला लाग्ने ठाउँमा एउटा पनि ट्वाइलेट छैन । खास मेला लाग्दाकादिन हजारौँलाई त समस्या नै हुने भयो । अघि पछि पनि ट्वाइलेट नहुँदा मान्छेहरू खोला तिर जानू पर्ने बाध्यता छ । ट्वाइलेट नभए पछि भाठा गाउँ वरपर दुर्गन्ध फैलिने खतरा हुन्छ । तत्काल केही दर्जन ट्वाईलेट बनाउनु पर्ने देखिन्छ । जङ्गली जनावरको डरले मान्छेहरू सकभर जङ्गलमा ट्वाइलेट जाँदैनन । प्रायः मानिस खोलामा जान्छन् । पानी पर्दा बित्तिकै चुरे बाट झरेको खोलाले दुर्गन्ध बगाउँछ भन्छन् । तर ट्वाइलेटको ब्यबस्था हुनै पर्ने देखिन्छ ।
५ ) पानी धारा ः अहिले सम्म भाठा गाउँमा पानी धारा छैन ।सबैले भलुवइ खोलाको पानी धारा चलाउंछन । डाँडाको मन्दिरमा मोटर जडान गरेर तल भलुवइ खोलाको मूलको पानी लगिएकोछ । ठाउँठाउँमा पानी धारा जोड्न जरुरी छ ।
६) होर्डिङ बोर्ड ः यो मन्दिरको बारेमा जानकारी दिने होर्डिङ बोर्ड एउटा पनि देखिएन । यस ठाउँको परिचय दिने गरी कमसेकम ४÷५ ठाउँमा होर्डिङ बोर्ड राख्न जरुरी छ ।
७) ब्रोसर ः यस बारेमा जानकारी दिने ब्रोसर बनाउन जरुरी छ । पर्सा राष्ट्रिय निकुन्जले पनि त्यस कार्यमा सहकार्य गर्दा हुन्छ किनभने राष्ट्रिय निकुन्ज र मन्दिरको आय स्रोत अन्तर्सम्बन्धित छ ।
८) सडक ः बिरगन्जबाट रङ्गपुर हुँदै भाठा गाउँ आउने सडकको स्तर उन्नति गर्न जरुरी छ । रङपुरदेखि भाठा गाउँसम्मको ११ किलोमीटर सडक अहिले सम्म पीच गरिएकोछैन । बिहारको सोनबर्षा बजारबाट भाठा गाउँ करीब १० किलो मिटर टाढा पर्दछ । बिहारबाट आउने यात्रीहरू धेरै हुने भएकाले सडकलाई बिकसित गर्नु पर्दछ ।
९) फोन ÷ नेट – जङ्गलको बीचमा भएर होला फोन ,मोबाइल ,नेट यहाँ चल्न मुस्किल छ । यी आधुनिक सन्चार सुबिधा प्रयोग गरेको राम्रो। यो क्षेत्रमा चोरी शिकारी र जङ्गलको बाटो तस्करीको कार्य बढ्न सक्ने खतरालाई ध्यान दिएर नेट ÷ मोबाइल फोनको पहुँच नहुनु नै राम्रो भनेको पनि सुनियो । चोरी शिकारी र तस्करी रोक्ने उपायलाई ब्यबस्थित बनाउँदै आधुनिक सन्चार सुबिधाको पहुँच बढाउनु नै उपयुक्त हुनेछ ।
साउन १९ र २० गते भाठा मेलाको चहल पहल हेरियो । २० गते दिउसोतिर पर्सा राष्ट्रिय निकुन्जको जङ्गल कटाएर मलाई तपसीजीले रङ्गपुर सम्म बाइकमा छाडिदिनुभयो। गर्मिलो मौसममा नेपालका पूर्बी तराईका जिल्लाहरू भ्रमण गर्दै झापा हुँदै भारतको शिलगुडी पुग्ने लामो यात्रामा अगाडि बढ्ने गरी म रङ्गपुरबाट तपसीजी सित विदा भएँ । बाई बाई !

 

दुग्धेश्वरनाथ महादेवको प्रतिकको रूपमा सुरक्षित गरिएको ढुङ्गा
निर्माणाधीन दुघ्धेश्वर महादेवको मन्दिर
मन्दिर निर्माण समितिका अध्यक्ष अलखदेव थारू र स्थानीय तपसी चौधरी सहित

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित