सीमा नेपाली
नेपालको नक्सामा हेर्दा सुदुर पश्चिम प्रदेश भौगोलिक हिसाबले हिमाल, पहाड र तराई मिलेर बनेको जानकारी भए पनि म त्यहाँका पहाडी क्षेत्रमा गएकी थिइनँ । सुदुरपश्चिम पहाडका बारेमा पत्रपत्रिका, युट्युब, टीभी, रेडियो र त्यहाँबाट काठमाडौं आएका साथीहरुमार्फत् कैयौं जानकारी भने लिएकी थिएँ । विकासको हिसाबले एकदम पछाडि परेको छ भन्ने सुनेकी थिएँ । मेरो दिमागमा सुदुरपश्चिम पहाडको एक खालको अभौतिक चित्र खिचिएको थियो ।
कामको शिलशिलामा २०८० पुषको महिनामा सुदुर पश्चिम जाने मौका मिल्यो । यात्राले धेरै कुरा सिकाउँछ भन्छन् र हो पनि । यात्राले त्यहाको वातावरण, भाषा, संस्कृति, सस्कार, रहनसहन, त्यहाँ बस्ने मान्छेको विचार धेरै कुराको सिकाउछ । यात्रा गर्न रमाइलो पनि हुन्छ । आफ्नो पैसा खर्च गरेर सबै ठाउँ घुम्न सकिदैन तर मौका परेको बेला छुटाउनु हुन्न भनेर म र मेरो साथी सालु गुरुङ्ग सुदुर पश्चिमको पहाडी जिल्ला जाने निधो गरेका थियौं । हाम्रो काम समसामयिक राजनीति र नेपालको अन्य देशहरुसँगको सम्बन्धको बारेमा केही स्थानीय व्यक्तिहरुसँग भेटेर जानकारी लिनुपर्ने थियो ।
सुदुरपश्चिम गन्तव्य बनाएर हाम्रो यात्रा काठमाडौंबाट सुरु भयो । २०८० पुष ६ गते काठमाडौंबाट चितवनको लागि हिड्यौं । यात्रामा म, साल गुरुङ्ग, प्रतिज्ञा ठकुराठी, तुलसा कार्की र समिरा बस्नेत थियौ । केही दिन हाम्रो काम चितवनमा थियो । त्यहाँ काम सकेपछि सुदुर पश्चिमको पहाडी जिल्लाहरुमा जानुपर्ने थियो । चितवनमा हामी पाँच जनाले काम गर्नुपर्ने थियो । चितवन पछि तुलसा, प्रतिज्ञा र समिरा कैलाली लगायत तराइको अरु जिल्लामा काम थियो भने म र सालुकोे सुदुर पश्चिमको बझाङ, बैतडी, डडेधुरा, अछाम र डोटीमा काम थियो । चितवनमा दुई दिनमा काम सक्यौ । चितवनमा काम गर्न त्यति गाह्रो भएन । हामीले चितवनको केही ठाउँको केही स्थानीय व्यक्तिलाई भेट्यौ । उहाँहरुले राम्रो हार्दिकता व्यक्त गर्नुभयो ।
तीन दिनपछि हामी कैलाली जानको लागि टिकट काउन्टर गयौ । कैलालीसम्म पाँच जना सँगै जाने कुरा भयो । चितवनबाट सिधै कैलाली जाने बस थिएन । त्यसैले हामी कोहलपुरको लागि टिकट काट्यौं । कोहलपुर गएपछि धनगढी जाने भन्ने योजना भयो । चितवनबाट विहान ६ बजे गाडी चढेको साझ ६ बजे कोहलपुर पुग्यौ । चितवन देखि बुटवलसम्मको बाटो समयमा बन्न नसक्दा यात्रुले धेरै समस्या भोग्नु परेको छ । जसले गर्दा पुग्न केही समय ढिलो भयो । कोहलपुर पुग्दा बसपार्क बाहिर हाइस गाडी लागिरहेको थियो । धनगढी जाने भनेपछि हामी त्यही हाइसमा चढियो । बर्दिया राष्ट्रिय निकुञ्ज काटेर कर्णाली पुल पुग्दा ७ बजेको थियो होला । गाडी कर्णाली नदी पुल पारी पुगेपछि ड्राइभरले यो गाडी जादैन अर्को गाडीमा जानु भन्न थाले । हामी पहिला जाँदा पनि कर्णालीमा त्यस्तै समस्या भोग्नु परेको थियो । त्यो रुटमा चल्ने गाडीको भरोसा नै हुँदैन । मान्छे चढाउने बेला एक ठाउँ भन्ने, अनि विच बाटोमा गएर झार्ने, फेरी अर्को गाडी चढ्नु पर्ने हुन्छ । गाडी पाए त ठीकै छ गाडी पाएन भने विजोक हुने गर्दछ । पुष महिनाको जाडोमा लामो यात्रा गर्न सजिलो पनि हुदैन । त्यस माथि गाडी चढ्ने झर्ने गर्दा गाह्रो हुने नै भयो । यात्रामा यस्तो समस्या आइ नै रहन्छ भनेर सहज रुपमै लियौ । हामी कर्णालीमा खाना खायौं र फेरी अर्को गाडीमा चढ्यौं । अत्तरिया पुग्दा रातीको १० बज्न लागेको थियो । त्यो दिन त्यहीं होटलमा बास बस्यौ । अर्को दिन विहान ७ बजेतिर म र सालु बझाङतिर लाग्यौ । तुलसा, प्रतिज्ञा र समिरा महेन्द्रनगर लागे ।
हामी धनगढीबाट सिधै बझाङ पुग्नुपर्ने थियो । त्यसपछि अरु जिल्लामा । सालु डढेलधुरासम्म पहिला पनि गएकी थिइन् । तर म अत्तरियादेखि माथि उक्लेको थिएन । मेरो लागि यो यात्रा पहिलो पटक थियो । पहाडको बाटोमा उकालो, साँघुरो अनि घुम्ती हुने नै भयो । खानीडाँडा तल सहजपुर नपुग्दासम्म बाटो अफ्ठ्यारो नै छ । सहजपुरबाट डडेलधुरा पुग्दासम्म बाटो ठीकै छ । हामी ११ बजे डडेलधुरा नजिकै खाना खाने होटलमा पुग्यौ । हामी पनि झरेर खाना खायाँै । खाना सादा, मिठो थियो । होटल सञ्चालकको कुरा सुन्दा एउटै परिवारको सदस्यहरु मिलेर होटल चलाएको जस्तो बुझेका थियौं । अरुको काम गर्नु भन्दा परिवार मिलेर काम गर्दा राम्रो भयो, सबैलाई रोजगार पनि भयो भन्ने भावमा खुशी नै थिए ।
सबैले खाना खाएपछि बस हिड्यो । डडेलधुरा हँुदै बैतडीको खोड्पे पुग्दासम्म बाटो ठीकै छ, खोड्पे ठाउँ रमाइलो छ । खोड्पे बजार पुगेपछि बझाङ र दाचुर््ला जाने बाटो छुटिन्छ । दायाँको बाटो हुदै बझाङ्ग र बायाँको बाटो हुदै दार्चुला पुगिन्छ । जब बैतडी सकेर बझाङ लागियो तब बाटो घुम्ती अनि साँघुरो छ । त्यस्तो बाटोमा ठूलाठूला बसहरु चल्ने रहेछन् । हामी पनि ठूलो बसमा गएका थियौं । जब बझाङ लागेपछि अग्ला अग्ला पहाड, पातलो बोट विरुवा, उराठ लाग्दो ठाउँ देखियो । हिँउ पर्ने ठाउँ भएर होला माथि माथि रुख विरुवा पातलो हुने । अनि मैले घरी घरी सालुलाई भन्थे, कस्तो डाँडाहरु हरियाली नै छैन । माथि माथि लेकमा रुखहरु पातलो हुने रहेछ । सालु र म यस्तै कुरा गर्दै गयौं । पहिलो पटक गएको भएर होला हामीलाई धेरै टाढा आयौँ भन्ने लाग्थ्यो । हामी पुग्नुपर्ने थियो भाडे बजार । बैतडीको खोड्पेबाट करिब चार–पाँच घण्टापछि हामी भाडे बजारमा पुग्यौ । त्यहा पुग्दा दिउँसोको ४ बजेको थियो । हामी त्यहाँबाट पनि माथि छविस पाथिभरा गाउँपालिकाको बुडखोरी जानु थियो । छविस पाथिभरा गाउँपालिकाको बुडखोरी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै रहेछ । त्यहाँ ताल, मन्दिर छ भने त्यही ठाउँमा हिमाली जडीबुटी यार्सागुम्बा पनि पाइने रहेछ ।
बुडखोरी जाने गाडी कतिबेला पाउँछ टुंगो नहुने रहेछ । गाउँबाट बजार आउने मान्छे भए गाडी आउछ अनि त्यहि गाडी गाउँ फर्कने हो, नत्र गाडी आउदैन भनेर भन्न थाले स्थानीयहरुले । त्यो दिन हामीले गाडी नै पाएनौ । गाडी नपाइएपछि हामी भाडे बजार बस्ने निधो ग¥यौं । वारीवारी अग्लो पहाड र बिचमा सेती नदी बगेको छ । भाडे बजार सेती नदीको छेउमै रहेको छ । सानो बजार छ । बास बस्ने ब्यवस्था त्यस्तो राम्रो थिएन । जेनतेन एकजना सुरेस कठायत दाइको होटलमा खाना बनाइदिने अनि सुत्नको लागि आफ्नो घरमा व्यवस्था मिलाइदिए ।
अर्को दिन विहान हामी बुडखोरी जानु थियो । विहान ७ बजे उठेर तयार भएर होटल गयौं । चिया पिएर गाडी बुझ्न थाल्यौं । तर गाडीको केही टुंगो छैन । टिकट काउन्टरमा सोध्यो कहिले ८ बजे कहिले ९ बजे जान्छ भन्न थाले । हामी त्यही दिन बुडखोरी पुगेर काम सकेर अर्को दिन फर्कनु थियो । बल्ल बल्ल ९ बजे एउटा गाडी गाउँबाट आयो अब त जान पाइने भयो भनेर खु्शी लाग्यो । हामी खाना खाएर १० बजे गाडी चढ्यौं । त्यो ठाउँमा गाडी कति बेला बजार आउँछ, फेरि गाउँ फर्कन्छ टुंगो नहुने रहेछ । नियम छैन गाडी छुट्ने निश्चित समय छैन । त्यसकारणले पनि हामीलाई धेरै गाह्रो भयो ।
हामी जब भाडे बजार माथि डाडामा निस्कियौं बाटो देखेर मुटुले ठाउँ छोड्ने भन्छन् त्यस्तै भयो । मोटरसाइकल हिड्न पनि गाह्रो हुने बाटो छ । मोटरबाटो नाम मात्रको छ । उकालो अनि घुम्ती बाटो छ । त्यता धेरै बोलेरो गाडी चल्ने रहेछ । सानो गाडी भएपनि बाटो देख्दा कति बेला के हुन्छ भनेर डर लाग्यो । म त कतिबेला पुगिन्छ भनेर सोध्न थालें ड्राइभर दाइले २–३ घण्टा लाग्छ होला भन्दै थिए । जति माथि गयो त्यति सानो बाटो, अग्लो अग्लो पहाड, घरिघरि किन कामको लागि यहाँसम्म आएँ हुँला भन्ने लाथ्यो । सालु पनि डराएकी थिइन् तर केही भनिनन् । मैले केही भिडियो फोटो लिएँ । अलि माथि पुगेपछि एउटा पहाडको टुप्पोमा घर देखियो । ड्राइभर दाइले भने, ‘त्यो बझाङी राजाको दरबार हो । पहिला बाइसे चौविसे राजाको पालामा यहा राजा बस्थे ।’ लडाई गर्न सजिलोको लागि त्यतिबेला राजाहरु त्यस्तै अग्लो ठाउँमा बस्थे भन्ने सुनेको थिए मैले । सानो मोटरबाटो लगेको रहेछ त्यहाँ पुग्नको लागि । समय अभावको कारण त्यहाँसम्म पुग्न पाएनौ । टाढाबाट हेर्ने मौका पायौं । अहिले त्यहाँ एक जना बाबा बस्ने रहेछन् । राजाले प्रयोग गरेको सामानहरु रहेछन् । संग्रालय जस्तो बनाइएको रहेछ । ड्राइभर दाइले त्यहाँको सबै कुरा बताए । विहान ११ बजे हामी व्यासी पुग्यौ । व्यासी गाउँपालिकाको मुख्य केन्द्रको रुपमा रहेको सानो बजार छ । व्यासी, राजा बस्ने कोटको नजिकै पर्दोरहेछ । हामी चढेको गाडीले एक घण्टा त्यहा गाडी रोकेर सामान राख्यो गाडीमा अनि फेरी त्यस्तै घुम्ती सानो बाटो हुदै गाडी ओरालो झ¥यौ । हामीलाई कति बेला पुगेर काम गर्ने भन्ने तनाव पनि थियो । विहान १० बजे हिडेको लगभग २ बजे खोरी पुगियो । पहाडको खोचमा गाउँ छ । गाउँमाथि वारीपारी डर लाग्दो भीर छ भने तल खोला छ । हाम्रोमा जस्तो ठूलो बारी त्यहा नहुने रहेछ । भिरालो जमिन भएर होला सानो सानो गह्रा (खेत जस्तो) बनाएर खेती गरिने रहेछ । अहिले बारीमा गहुँ थियो । त्यहाँ गहुँ, कोदो, सिमी, अचार खाने भाङको खेती राम्रो हुने रहेछ । त्यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नको लागि त्यहाका स्थानीय व्यवसायी गोरख धामीले गाउँबाट कोदो, सिमी, सिन्की, अचार खाने भाङ लिएर भाडे बजारमा भण्डार गरेर त्यहाँबाट धनगढी पठाउने गरेको बताए ।
हामीलाई पुगेपछि कति बेला काम सक्ने अनि भोलि फर्कने भन्ने तनाव थियो । भोलि गाडी पाइन्छ कि पाइँदैन भन्ने चिन्ता, अर्को त्यो बाटो सम्झेर चिन्ता । साँझसम्म स्थानीयलाई भेट्यौं, कुरा गर्यौ । अहिलेको देशको समसामयिक विषय र राजनीतिक विषयमा कुराकानी गर्नुपर्ने थियो । साँझ ड्राइभर दाइको घरमा बस्ने योजना थियो । काम सकेर दाइको घरमा गयौ । हिउँ पर्ने ठाउँ एकदम चिसो थियो । हातखुटा धोएर आगो ताप्दै रोटी र सिस्नु खायौ । भोक पनि लागेको थियो दिनमा खाजा खाने ठाउँ पनि थिएन । सुदुरपश्चिमको पहाडमा गहुँको रोटी एकदम मिठो बनाउने रहेछन् । त्यहाँको रोटी अहिले पनि सम्झिएकी छु । अनि ड्राइभर दाइसँग भोलि विहान ६ बजे नै हामीलाई भाडे बजार पुराइदिने कुरा पक्का भयो ।
अर्को दिन विहान ६ तयार भएर दाइलाई बोलायौं । गाडी राख्ने ठाउँ घरभन्दा अलि माथि थियो । गाडी भएको ठाउँमा गएर गाडीभित्र बस्याँै । गाउँको गाडी कसैले कुर्नु भनेपछि एक घण्टा पनि कुर्ने रहेछन् । दाइले मान्छे आउदै छन् भनेर एक घण्टा पर्खिए । अब ढिला भयो भने भाडे बजारबाट गाडी छुट्छ कि भन्ने तनाव थियो । के गर्नु मान्छे कुर्नु बाहेक उपाय थिएन । विहान ७ बजे गाउँका मान्छे आए अनि बल्ल त्यहाँबाट हिडियो । भाडे बजार झर्दा ९ बजिसकेको थियो । सामान निकाल्यौं हतार हतार होटल पुग्दा काठमाडौ जाने गाडी त गयो भन्छन् सुरेस दाईले । त्यो दिन हामी काठमाडौ जाने बसमा खोड्पे जाने कुरा थियो । गाउँमा सीमित गाडी हुन्छन् त्यो छुटेपछि अर्को पाउन गाह्रो हुने रहेछ । अनि सुरेस दाईलाई भन्यौ,‘दाई जुन गाडी आउँछ त्यही रोकिदिनु’, दाइले हुन्छ म रोकिदिन्छु भने । लगभग आधा घण्टापछि कुखुरा लिन धनगढी जाँदै गरेको एउटा गाडी आयो । सुरेस दाईले अनुरोध गर्दै भने ‘दुई जना बहिनीलाई खोड्पेसम्म पुराइदिनु, अरु गाडी पाइएन’ गाडीवाला दाईले हुन्छ भने । कुखुरा बोक्ने गाडी चढ्यौ । हामी अगाडी बस्यौ झोला पछाडि कुखुरा राख्नेमा राख्यौ । कुखुरा बोक्ने गाडी जति सफा गरेपनि गनाउने रहेछ । गाडी नपाएको बेला बरु गनाएर केही हुदैन भन्ने लाग्यो । कही रोक्दैन छिटो पुग्छ अनि त्यो बाटोमा सानो गाडीमा डर पनि नहुने भयो । गाडी भाडा भने अलि महंगो थियो ।
हामी लगभग १ बजे खोड्पे बजारमा पुग्यौ । त्यहाँ बाटो हामी बैतडीको मेलौली नगरपालिकाको लामालेक जानु थियो । त्यो दिन त्यहाँ पुगेर बास बस्ने अर्को दिन नजिकै गाउँमा काम गर्ने योजना थियो । गाडी कति बेला जान्छ सोध्न थाल्यौं । पाटन जानु त्यसपछि फेरी अर्को गाडी चढ्नु होला भनेर स्थानीयले भने । धनगढीबाट दार्चुला जाने गाडी आयो त्यो गाडी पाटन हुदै दार्चुला जाने रहेछ । अनि पाटनसम्म जाने भनेर चढ्यौ । एक घण्टामा पाटन पुगियो । मेलौली जाने गाडी सोध्यौं, पाइएन । अटो, ट्याक्सी महंगो भएकोले सार्वजनिक गाडीमा नै जानु पर्यो । करिब २ घण्टा जति भएको थियो गाडी पर्खेर बसेको, भोक लाग्न थाल्यो, खाजा खायौं र घाम तापेर बस्यौ । दिउँसो ४ बजेतिर गाडी आयो । गाडीवालासँग हामी जाने ठाउँ र कहाँ झर्दा सजिलो हुन्छ भनेर बुझ्यो, लामालेक झर्नु भने पछि गाडी चढ्यौ । लगभग ६ बजेको थियो होला लामालेक पुग्दा । गाडीबाट झेरर बास बस्ने व्यवस्था मिलायाँै ।
अर्को दिन लामालेकबाट खलीगाडमा जानु थियो । विहान उठेर तयार भएर खाजा खाएर हिड्यौ । दिन भरीमा केही स्थानीयलाई भेटेर कुराकानी ग¥यौं । चार बजेतिर हाम्रो काम सकियो । गाउँमा जाँदा त्यहाको मानिसहरुले गर्ने एकदमै राम्रो सहयोग गर्नु हुन्छ । आफ्नो गाउँको समस्याहरु सुनाउनु हुन्छ । हामी काम सकेर साँझ त्यही लामालेक फर्केर बास बस्र्यौ । मेलौली ठाउँ राम्रो छ भन्ने सुनेका थियौ तर घुम्न समय मिलेन । त्यहाँको मान्छेसँग प्रत्यक्ष भेट्ने कुरा गर्ने मौका चाहिँ मिल्याँै । हामी त्यहाँबाट अर्को दिन विहान डडेलधुराको अमरगढी जानु थियो । विहान ७ बजे गाडी चढेको ११ बजे डडेलधुरा पुगियो । बैतडीबाट डडेलधुरा त्यति टाढा छैन । त्यो दिनको यात्रा छोटो र सजिलो भयो । त्यो दिन हाम्रो अर्को साथी समिरा महेन्द्रनगरबाट आउदै थिइन् । हामी त्यहाँ पुग्दा समिराले हामीलाई बसपार्कमा कुरिरहेकी थिइन् । हामी पुगेपछि ३ जना भएर बस्ने व्यवस्था मिलायौ । त्यो दिन हाम्रो अरु काम भएन, साझतिर अमरगढीको प्रख्यात उग्रतारा मन्दिर घुम्यौ । उग्रतारा मन्दिर सुदुरपश्चिमको प्रख्यात मन्दिर पर्दछ । त्यहाँ धेरै मान्छेहरु घुम्न आउने गर्दछन् । मन्दिर फराकिलो र सफा छ भने मन्दिरमा लगाएको रंगले टाढाबाटै चिटिक्क देखिन्छ ।
अर्को दिन हाम्रो काम अमरगढी नगरपालिकाको वडा नं. १ मा थियो । हामी स्याउले नजिकै गाउँमा जानुपर्ने थियो । विहान उठेर तयार भएर स्याउले जाने अटो खोजियो, पाइएन । नजिक भए पनि भनेको बेला न अटो पाउने, न ठुलो गाडीले चढ्न दिने । लामो दुरीको गाडीले रोक्न नमान्ने रहेछन् । यस्तो समस्या धेरै ठाउँमा छ । धेरै समयपछि गाडी पायौ स्याउले पुगेर खाजा खाएर गाउँ गयौ । त्यहाँको केही स्थानीय व्यक्तिलाई भेट्यौ कुरा गर्यौ । पुषको महिनामा डडेलधुरामा सुन्तला धेरै पाउने रहेछ । हरेकको घरमा सुन्तलाको बोट तर किन्न दिनुहोस् भन्दा पनि किन्न पाइएन । किन भनेर सोधेको पुष १५ मा हरियो बोटबाट कुनै पनि फल टिप्नु हुन्न यदि टिपेमा फेरी फल फल्दैन भन्ने मान्यता रहेछ । यस्तो कुरा मैले कहिले सुनेको थिइन । बोटको सुन्तला हेरेर चित्त बुझायौ अनि फर्केयौं । अर्को दिन बेलापुर जानुपर्ने थियो । टिकट काउन्टरमा सोधेको भोलि दिउँसो २ बजे जान्छ एक पटक भोलि विहान आउनु भनियो । त्यो दिन त्यहाँको काम सकियो । त्यो दिन पनि त्यही बसियो ।
अर्को दिन विहान उठेर तयार भएर टिकेट काउन्टर गयौँ । गाडी ११ बजे आउछ अनि २ बजे जान्छ होला भनियो । त्यो दिन हामी बेलापुर पुगेपनि काम गर्न सकिँदैन भन्ने लाग्यो । गाडी ११ बजे आयो । हामीले छिटो जानु छ भनेपछि गाडीवालाले ल गाडी चढ्नु हिडिहाल्छ भनेर भने । खाना खाएर गाडीमा बस्यौ । गाडीमा बसेको २ घण्टा भयो गाडी हिंडेन । हामी त गएर काम गर्नुछ भनेपछि बल्ल गाडी हिडायो । अहिले गाउँगाउँमा मोटर बाटो गएको छ । गाडी पनि पाइन्छ तर गाडी हिड्ने निश्चित समय छैन । बाटोको हालत त्यस्तै छ सानो बाटो धुलोको कुरा नगर्रौ । भाडा त्यतिकै महंगो छ । साँझ ५ बज्न लागेको थियो, हामी बेलापुर पुग्यौ । बेलापुर समथर ठाउँ र ठूलो गाउँ रहेछ । बेलापुर वडा नंं ४ को कार्यालय नजिकै भएकोले वडा कार्यालय गयौ । हामी यो यो कामले आएका हौ जानकारी पनि गरायौ । वडा सचिवसँग भेट भयो । उहाँले हामीलाई एक दिनमा गाउँको के कुरा लैजानु हुन्छ । कम्तीमा ३–४ दिन बस्नु अध्ययन गर्नु भन्नुभएको थियो । तर हामी एक दिनको लागि मात्र आएको हो । केही स्थानीय व्यक्तिहरुसँग कुरा गर्छौ भनेर स्वीकृति लिर्यौ अनि केही स्थानीय व्यक्तिलाई भेट्यौ । त्यो दिन सबै काम सकिएन । त्यही एक जना स्थानीयको घरमा बास बस्यौँ । त्यहाँ बाहिरबाट आउने मान्छेलाई बस्ने खाना खुवाउने राम्रो व्यवस्था थियो ।
अर्को दिन विहान उठेर चिया पिएर केही स्थानीयको घरमा भेटघाट र कुराकानी भयो । अनि विहान ९ बजे गाडी अमरगढी जान्छ भनेका थिए छिटो छिटो काम सकियो तर ११ बजे मात्र गाडी आयो । दिउसो १ बजे अमरगढी पुग्यौ । डडेलधुरा पछि हामी अछाम जानु थियो तर अछामको लागि गाडी अर्को दिन विहान ८ मात्र जाने रहेछ । त्यो दिन अमरगढी मै बास बस्यौ । अर्को दिन विहान ७ बजे टिकट काउन्टरमा जादा आज गाडी छैन खेलाडी लिएर धनगढी गयो रिजर्भमा भन्यो । हामी जसरी पनि अछाम पुग्नुपर्ने थियो । हामी डोटीको दिपायलसम्म जाने त्यसपछि अर्को गाडीमा अछामको साफेबगर जाने योजना भयो । डोटीको दिपायलसम्म गाडी छिनछिनमा जाने रहेछ । गाडी चढेको २ घण्टामा दिपायल पुगियो । त्यहाँ झरेपछि साफेबगर जाने गाडी सोधेको पाइएन । खाजा खायौ अनि त्यहाबाट सिलगढी जाने गाडीमा चढ्यौ । १ घण्टामा सिलगढी पुगियो । त्यहाबाट पनि सिधै साफेबगर जाने गाडी पाएन । धनगढीबाट आउने गाडी आउछ भनेर सुनेपछि त्यही बस्यौ । एक घण्टा बस्दा गाडी आएन, त्यसको पनि ठेगान छैन भन्ने लाग्यो । साफेबगर माथि डोटी र अछामको सिमानासम्म जाने एउटा गाडी आयो । त्यसैमा गयौ आधा बाटो पुगेपछि धनगढीको बस आयो अनि रोकेर त्यसैमा साफेबगरसम्म गयौ । डडेलधुराबाट अछामको यात्रामा एकदम दुःख पायौ । सिधै गाडी नपाएपछि दुःख हुन्छ । साफेबगर झरेर बस्ने व्यवस्था मिलायौ अनि अर्को दिन रामारोशन गाउँपालिका जानु थियो । रामारोशन जाने गाडी अर्को दिन ५ बजे आउछ भनेपछि त्यो दिन त्यही बसियो । अर्को दिन विहान ५ बजे गाडी लाग्ने ठाउँमा जाँदा गाडी आइसकेको थियो । गाडी टिकापुरबाट सिधै रामारोशन गाउँपालिका जाने रहेछ । हामी रामारेशनको वडा नं. १ मा जानुथियो । बस चढ्ने ठाउँसम्म म, सालु र समिरा तीन जना गयाँै तर समिराले सन्चो भएन भनेपछि म र सालु मात्र गयौं । पहाडको बाटोको अवस्था जहाँ पनि उस्तै हो, बाइकमा हिड्न डर लाग्ने बाटोमा बसमा हिड्नुपर्छ । करिब तिन घण्टामा रामारोशनको गजड भन्ने ठाउँमा पु¥यायो तर हामी जानुपर्ने ठाउँ त्यो ठाउँभन्दा माथि ताली भन्नेमा रहेछ । अब हामी अर्को गाडी चढेर जान सक्ने अवस्था थिएन । यदि गाडीमा गएको भए हामी फर्केर साफेबगरबाट मंगलसेन अनि अर्को गाडीमा जानुपर्ने थियो तर त्यो संभव थिएन । हामी गएको गाडी अर्को दिन मात्र फर्कन्थ्यो । अब हामी हिडेर जानु बाहेक विकल्प भएन । अफिसमा कुरा गर्यौ ठाउँ यस्तो छ के गर्ने ? अफिसबाट जसरी पनि तालीमा पुग्नु भनेपछि त्यहाँबाट उकालो लागियो । ताली पुग्न कति समय लाग्छ भनेर स्थानीयलाई सोधेको हामीलाई दुई घण्टा जति लाग्छ भने । त्यसो भए हामीलाई ३।४ घण्टा लाग्छ भन्ने पक्का भयो । हामीसँग सानो व्यागमात्र थियो । बाटो सिधै उकालो रहेछ । विहान चिया मात्र पिएर हिडेको भोक लाग्न थाल्यो । २ घण्टा हिडेपछि वडा कार्यालय अनि स्कुल आयो । स्कुल नजिकै सानो पसल रहेछ । पसलमा चाउचाउ बनाउन लगायाँै अनि खायौँ । उकालो निस्कदा एकदम थाकियो, पुग्ने कसरी भन्ने भयो । विहान १० बजे हिडेको हामी लगभग दिउँसो ३ बजे तालीमा पुग्याँै । त्यहाँको मान्छेले २ घण्टा लाग्छ होला भनेको हामीलाइ ५ घण्टा लाग्यो । जाँदा सिधै उकालो माथि पुगेर तल हेर्दा खुट्टा सिरिङ्ग गर्ने, कसरी मान्छे तलमाथि गर्छन् होला जस्तो लाग्ने ठाउँ । ताली गाउँ पुगेपछि बाक्लो गाउँ, समथर मिलेको ठाउँ रहेछ । रामारोशन गाउँपालिका पनि पर्यटकीय हिसाबले विकास गर्दै रहेछ । तर मोटर बाटोको राम्रो व्यवस्था छैन ।
हामी ताली पुगेर काम गनुपर्ने थियो नत्र अर्को दिन काम सकेर गाडी पाउदैन । अर्को दिन मंगलसेनसम्म विहान ७ बजे एउटा गाडी जाने रहेछ । हामीले त्यो दिन काम सक्नुपर्ने भयो । हामी एक जना पवित्रा साउद (शिक्षिका) को घरमा बस्ने व्यवस्था मिलायौ अनि केही गाउँको व्यक्तिहरुलाई भेट्यौँ । लगभग ७ बजेतिर काम सकियो । बस्ने ठाउँमा आएर बास बस्यौ । अर्को दिन ७ बजे जाने भनेको गाडी त ६ बजे नै जाने भएछ । पवित्रा म्याडमले उठ्नु गाडी हिड्न लाग्यो भनिन् । हामी हतार हतार उठेर तयार भयौ । म्याडमले भनिन्, ‘त्यो गाडी टिकापुर रिजर्भमा जाने भएछ । आधाबाटोसम्म यही गाडीमा जानु अनि त्यहाँबाट मंगलनसेन जानुहोला ।’ त्यहा गाडीको टुंगो छैन भन्ने त हामीलाई थाहा भैसकेको थियो । कतिबेला गाडी कहाँ जान्छ, जादैन ठेगान हुँदैन । त्यो गाडीमा पनि हामीलाई छोडेको भए त्यो दिन त्यही बस्नुपर्ने थियो । अरु गाडी जाने थिएन । हामी त्यही गाडीमा हिड्यौ । त्यो बाटो मंगलसेन जानको लागि सजिलो रहेछ । हामी मंगलसेनदेखि सुर्खेत जाने बाटो पुगेपछि झ¥यौं । त्यो गाडी सुर्खेत हुँदै टिकापुर जाने रहेछ । हामी त्यहाँबाट मंगलसेन अटोमा गयाँै । मंगलसेनबाट जिपमा साफेबगर पुग्यौ । अर्को दिन साँफेबगरमा काम थियो । त्यहाँ नजिकै बजारमा काम भएकोले गाह्रो भएन । गाडी चढ्नु परेन । काम गर्न सजिलो भयो । त्यो दिन काम सकेर साफेबगरमा बसियो ।
अर्को दिन विहान त्यहाँबाट धनगढी जाने गाडी चढ्यौँ । म र सालु जोरायल गाउँपालिकाको वडा नं.४ मा पुग्नुपर्ने थियो । अर्को साथी समिरा काठमाडौं फकर्दै थिइन् । अछामबाट बुडरसम्म सँगै गयाँै त्यसपछि समिरा धनगढी हुँदै काठमाडौ गइन् । म र सालु बुडर झरेर एउटा होटलमा गयौं । एक जना दिदी थिइन्, उनले जोरायल जाने गाडी अब पाउँदैन भोली जानुहोला आज यही बस्नु भनिन् । अनि एकछिन कुराकानी भयो त्यही बस्ने भयौ । अर्को दिन विहान ११ बजेमात्र गाडी आउने रहेछ । अर्को दिन ११ बजेतिर जोरायल जाने गाडीमा चढ्यौ । बुडरको पुर्वतिर जंगलको बाटो हुदै करिब २ घण्टामा हामी जोरायल पुग्यौ । त्यो दिन काम सकेर अर्को दिन फर्कनु पर्ने थियो, दुइ जनाले आफ्नो आफ्नो काम सक्यौं अनि बस्नको लागि व्यवस्था पनि भयो । एक जना तिलक खड्का भन्ने दाई थिए, उनको सानो होटल थियो त्यही होटलमा खाना खाने र उनकै घरमा बस्ने कुरा भयो । दाइले हाम्रो कामको बारेमा केही कुरा सोधे ‘तपाईहरुले हामीसँग कुराकानी गरेर के हुन्छ र यहाँको समस्या १० वर्ष अघि जस्तो थियो त्यस्तै छ । बाटो राम्रो छैन । अस्पताल राम्रो छैन । देशको अवस्था तपाई थाहा छ, नेताहरुले देशमा केही काम नगर्ने भए । तर हामी नेताले केही गर्छन् भनेर जहिले भोट हाल्छौ सधै उस्तै हाम्रो दुःख ।’ हामी सुनि राख्यौ । दाईले भन्दै थिए, यो सबै समस्या तपाईलाई भनेर केही हुन्छ र केही हुदैन भने । अनि मैले भने, हो हामीलाई भनेर केही हुँदैन तर तपाईको स्थानीय तह छ त्यहा आफ्नो कुरा राख्नु, तपाई एक्लै होइन गाउँको सबै भएर आफ्नो समस्या भन्नु होला । देशको समस्या त छदैछ तर कम्तिमा तपाईले भोट हालेर जिताएको स्थानीय नेतालाई भन्नसक्नुहुन्छ होइन भने फेरी भोट नहाल्नु । अनि दाईले भने, “भोट नहाले के गर्ने आफ्नो अधिकार हो केही गर्छन् कि भनेर भोट दिने हो मैले नहाले पनि एउटा भोटले उही नराम्रो व्यक्तिले जित्ने हो जे गर्दा नि हुँदैन ।” देशको अवस्थाको बारेमा धेरै कुरा गरे, हामीले सुनिरह्यौ । राजनीति बुझेका रहेछन् । दाई भारतमा १५।२० बर्ष बसेर आएका रहेछन् । अहिले घरमै मिल अनि सानो होटल गरेर बसेका छन् । भोक लाग्यो हामी खाना खायौ सुत्यौ । अर्को दिन विहान १० बजे तिर बुडर जाने गाडी आयो हामी गाडी चढ्यौ । गाडीमा एक जना शिक्षिका थिइन् । उनको छोराको नागरिकता बनाउन सिलगढी जाँदै रहिछन् । त्यहाको समस्याको बारेमा कुरा भयो । जोरायल डोटी जिल्लाको सदरमुकाम दिपायलबाट टाढा पर्ने रहेछ । दिपायल जानको लागि पनि बुडर हुदै डडेलधुरा अनि दिपायल जानुपर्ने रहेछ । जोरायलबाट सिधै दिपायल जाने बाटो नहुँदा त्यहाँका मानिसहरुले धेरै समस्या भोगेका रहेछन् । उनले भनिन् ‘नेताहरुलाई चुनावमा भोट दियो जितेपछि गाउँ फर्कदैन । मैले त गएका स्थानीय र संघीय चुनावमा भोट माग्न आउनेलाई पनि केही नेतालाई गाली गरेर फर्कादिएको हु, अब म भोट दिदैन मेरो घरमा भोट माग्न नआउनु भनेको छु ।’ हामीले स्थानीय बासिन्दाको गुनासो सुन्ने अनि दुःख महशुस गर्ने मात्र त हो अरु के गर्न सकिन्छ र ? हामी बुडर आएर त्यो दिन साझ धनगढीबाट काठमाडौको लागि हिड्यौ ।
यात्राले ठाउँ त देखिन्छ नै त्यो बाहेक त्यहाँको मान्छेको विचार, भाषा, संस्कृति, त्यो ठाउँको समस्या के के छन् ? त्यहा बस्ने जनताको गुनासो के छ ? धेरै कुरा बुझ्न पाइन्छ । मैले पनि सुदुरपश्चिमका बारेमा धेरै बुझ्ने मौका पाएँ । त्यहाँ फरक फरक स्थानीय भाषा बोल्दा रहेछन् । बझाङमा बझाङ्गी, बैतडीमा बैतडेली, अछाममा अछामी , डडेलधुरा र डोटीमा डोटेली भाषा बोल्दा रहेछन् । त्यहाँको भाषा बुझ्न केही गाह्रो भयो तर स्थानीय भाषा, संस्कृति, भूगोल, रहनसहन आदिका बारेमा जान्ने मौका पाए । सुदुर पश्चिम धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण छ तर त्यहाँको पर्यटकीय स्थलहरुको अझै प्रबद्र्धन हुन सकेको छैन । सुदुर पश्चिम भौगालिक हिसाबले साँच्चिकै राम्रो छ । त्यहाँको विकासको क्षेत्रमा अझै धेरै काम गर्नुपर्छ ।

