जनतामा प्रगतिशील चेतनाको विकास आवश्यक छ

– पुष्पलाल श्रेष्ठ, जिल्ला इन्चार्ज, नेकपा (मशाल) तनहुँ

पुष्पलाल श्रेष्ठ सानै उमेर देखि वामपन्थी आन्दोलनमा कृयाशील व्यक्ति हुनुहुन्छ । उहाँको जन्म २०३१ साल असोज ६ गते तत्कालीन साभुङ भगवतीपुर गाउँपन्चायत ,हाल घिरिङ गाउँपालिका वडा नम्बर ४ मा भएको थियो । बुबा निमकुमार श्रेष्ठ र आमा मिठु श्रेष्ठको कोखमा जन्मिएका उहाँ एक मात्र छोरा हुनुहुन्छ। उहाका ५ वटी दिदीबहिनीहरू छन् । उहाँको तुलकीमाया श्रेश्ठ सित विवाह भएको छ । उहाँहरुका दुई छोरी अरुणा र अन्जु छन् ।

विद्यार्थी जीवनमा अखिलको सम्पर्कमा आइ राजनीतिक जीवन आरम्भ गरेका श्रेष्ठले अखिल भारत नेपाली एकरा समाज र कतार नेपाली एकता समाजमा लामो सांगठनिक अनुभव लिनु भएकोछ । नेपाल आए देखि उहाँले नेपालको राजनीतिलाई नजिकबाट अनुभव गरिरह्नु भएकोछ । हाल नेकपा (मशाल) को तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका पुष्पलाल श्रेष्ठ शीत हाँक साप्ताहिकले भलाकुसारी गरेकोछ ।

० राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?
–हाईस्कूल पढ्ने बेलामा एक प्रकारको राजनीतिक माहोल थियो । भर्खर बहुदल आएको थियो । हाई स्कूल पढ्दा सामान्यतया अखिल (पाँचौं) मा रहेर काम गरेें । पुराना कम्युनिस्ट नेता तुलसी प्रसाद श्रेष्ठ हाम्रै छिमेकी हुनुहुन्थ्यो। कम्युनिस्ट के हो भन्ने कुरा हामी बच्चा हुँदै सिकाउनु हुन्थ्यो । ठूलो बाबाको छोरा नवराज श्रेष्ठ हामी भन्दा उमेरले पनिपाका हुनुहुन्थ्यो र कम्युनिस्ट राम्रो हो भनेर हामीलाई सिकाउनु हुन्थ्यो । गाउँमा कम्युनिस्ट विचारले प्रभाव पारेको थियो । त्यही प्रभावमा परियो । २०४८ को संसदीय निर्वाचन र २०४९ को स्थानीय निर्वाचनमा भोट हाल्ने उमेर नभएपनि एमालेलाई सहयोग गर्ने काम गरियो । व्याट्री, माइक बोकेर हिंडियो । सभामा जानुपर्छ भनेर प्रचारप्रसार गर्ने कामगरियो । जुलुस, सभामा सहभागी भइयो । ठूलो बाबा दुर्गा नारायण श्रेष्ठ २०४९ को स्थानीय चुनावमा एमालेबाट वडा नं. ७ मा अध्यक्ष जित्नु भएको थियो । ठूलो बाबालाई जिताउन महत्वपूर्ण भूमिका खेलियो । विद्यार्थी जीवनपछि रोजगारीको खोजी गर्नेतिर लागियो । भारतको राजस्थानको जयपुर सहरमा नोकरी गर्ने बेला नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता समाजको सम्पर्क भयो । अखिल भारत नेपाली एकता समाजले अन्याय, अत्याचारमा परेका नेपालीहरुको पक्षबाट संघर्ष गर्दोरहेछ । १९९५को जम्मु कस्मिर घटना र सुमित्रा हत्याकाण्ड,ती दुवै घटनामा मारिने नेपालीहरु तनहुँ जिल्लाका थिए । एकता समाजले उक्त घटनामा संघर्ष गरेर पीडितहरुको पक्षमा न्याय दिलाउने काम गरेको थियो । यस्ता न्यायपूर्ण संघर्षहरुले मलाई राजनीतिमा लाग्न उत्प्रेरित ग¥यो ।
० तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– तनहुँ जिल्ला कम्युनिस्ट आन्दोलनको उर्वर भूमि हो । तनहुँ जिल्लामा २००८ सालदेखि नै पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी केन्द्रबाट आएर यहाँको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन टेवा पु¥याएको इतिहास छ । तनहुँ जिल्लामा २०१०को दशकमा एकदेव आले लगायतका नेताहरुको नेतृत्वमा ठूला ठूला किसान आन्दोलनहरु भएका थिए । सामन्त जमिन्दारहरुबाट ठगिएका किसानहरुले न्याय पाएका थिए । २०१५ सालको संसदीय निर्वाचनमा तनहुँ जिल्लाबाट दुई जना उम्मेदवारहरु कम्युनिस्ट पार्टीका तर्फबाट खडा भएका थिए । चुनाव जित्न नसके पनि मिहेनतकश किसान,मजदुरका बीचमा कम्युनिस्ट पार्टीको प्रभाव राम्रै थियो । २०१९ सालको बनारसको तेस्रो महाधिवेशनपछि देशभरी नै कम्युनिस्ट पार्टी छिन्नभिन्नभयो । तैपनि पुष्पलाल समूह, मानन्धर समूह, रुपलाल समूह,चौथो महाधिवेशन समूह लगायतका विभाजित समूहहरुले तनहुँ जिल्लामा राजनीतिक र सांगठनिक गतिविधि गरेका थिए । २०३२ सालमा चौथो महाधिवेशन समूह अर्थात् मसाल समूहको कम्युनिस्ट पार्टी तनहुँमा स्थापना भएको थियो । २०३० को दशकदेखि २०४० को दशकको प्रारम्भसम्म चौथो महाधिवेशन अर्थात् मसाल धार नै कम्युनिस्ट समूहहरुमध्ये यहाँको सशक्त धार थियो । २०४२ मा मशालमा विभाजन हुँदा यहाँको नेतृत्व सबै मोटो मशालतिर लागे । पातलो मसाल त्यसपछि यहाँ कमजोर अवस्थामा पुग्यो । तैपनि यहाँ कुनै न कुनै रुपमा पार्टीका विभिन्न जनवर्गीय मोर्चाहरुका गतिविधि बेला बखतमा चल्दै रह्यो । २०६४ मा प्रवासबाट फर्किएर तनहुँको राष्ट्रिय जनमोर्चाको नेतृत्वमा आएँ । हामी यहाँ आउनु भन्दा पहिले पार्टी संगठनको अस्तित्व थियो र विभिन्न जनवर्गीय मोर्चाका गतिविधि पनि हुने गरेका थिए । तर पार्टी व्यवस्थित थिएन ।
२०६४ मा म प्रवासबाट फर्किएपछि जिल्लाभरि छरिएका साथीहरुलाई संगठित गर्ने काम गरियो । बागलुङका तिलक पुन शिक्षकको तालिममा तनहुँ आउनु भएको रहेछ । साढे दुई महिनासम्म तनहुँ बस्दा उहाँबाट धेरै राजनीतिक र व्यवहारिक कुरामा मद्दत भयो । राष्ट्रिय जनमोर्चाको जिल्ला संगठन संगठन समिति बनाएर अगाडि बढियो । भरत घर्ती म भन्दा पहिलै प्रवासबाट आउनुभएको थियो । म आएपछि श्रीकुमार श्रेष्ठ,नरबहादुर थापा,नरबहादुर विक, महेन्द्र सापकोटा, महादेव रानाभाट, तुलबहादुर सुनार, धनबहादुर परियार, क्रमशः स्वदेश फर्कनु भयो । प्रवासमा काम गरेका साथीहरु फर्किपछि सांगठनिक काम व्यवस्थित गर्न सजिलो भयो । २०७९ मा पार्टी विभाजन भएपछि हामीले तनहुँमा पनि नेकपा (मशाल) पुनर्गठन ग¥यौं ।

० तनहुँ जिल्लाका समस्याहरु के हुन् भन्ने लाग्छ ?
– नेपालमा अन्य ठाउँहरुमा जुन समस्याहरु छन् मूल रुपमा तनहुँ जिल्लाको समस्या पनि तिनै समस्याहरु नै हुन् । समाजमा ठूलो वर्गीय असमानता छ । गरिब, मिहिनेतकश, मजदुर, किसान,वर्गले राज्यबाट पाउनु पर्ने स्वतन्त्रता र समानताका अधिकार प्राप्त गर्न सकेका छैनन् । पैसा भएकाले शिक्षा, स्वास्थ्य र अन्य सामाजिक अवसर प्राप्त गर्दछन् । तर पैसा नहुनेहरुले संविधान र कानुनमा जतिसुकै स्वतन्त्रता र समानताका कुरा लेखिएको भए पनि ती नैसर्गिक अधिकारहरुबाट उनीहरु वञ्चित भइरहेका छन् । जातीय, लिंगीय र क्षेत्रीय विभेद पनि छँदैछ । बेरोजगारी समस्या डरलाग्दो छ । महंगी बढ्दो छ । यी तमाम समस्याहरु केवल तनहुँ जिल्लाको मात्र समस्या नभएर वर्तमान शोषक वर्गको राज्य सत्ताले सिर्जना गरेका समस्याहरु हुन् । भूमि समस्या समाधान आयोग तनहुँ जिल्ला समितिले तयार पारेको प्रतिवेदनले २४, १४९ अव्यवस्थित बसोबासहरुको घरधुरी संख्या १,९६१ भूमिहीन सुकुम्बासीहरुको घरधुरी संख्या, ५६६भूमिहीन दलितहरुको घरधुरी संख्या देखाएको छ । उनीहरुको समस्या पनि समाधान हुन सकेको छैन ।
० तनहुँ जिल्लामा विकासबारे तपाईहरुको धारणा के हो ?
तनहुँमा ठूला ठूला फाँट (टारहरु), पुट्टार, वनटार, गडौलीटार, नयाँटार, पिपलटार, देवघाट फाँट लगायत सिंचाई विहिन सुख्खा छन् । मादीका छेउछाउमा कुमालटारी, चिन्टुटार, कलेष्ठी, माझ फाँट लगायतका फाँटहरु सिंचाईविहिन छन् । जिल्लामा फराकचौर लगायतका अन्य फाँटहरु छन् । यदि फाँटहरुलाई सिंचाई गर्न सक्ने हो र आधुनिक ढंगले खेतीपाती गर्न सक्ने हो भने यी फाँटका उत्पादनले तनहुँ बाहेकका अन्य कैयौं जिल्लाहरुलाई खाद्यान्न पु¥याउन सकिन्छ । त्यतापट्टि राज्यको ठोस योजना छैन ।
तनहुँ जिल्ला ऐतिहासिक र धार्मिक दृष्टिकोणबाट पनि सुसम्पन्न जिल्ला हो । प्राचीन हिन्दु धर्म ग्रन्थ वेदका लेखक वेदव्यास, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म यही जिल्लामा भएको हो । यस्ता व्यक्तिहरुको नाममा तनहुँ जिल्लालाई ठूलो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । ऋषिङ, घिरिङ, तनहुँ मध्यकालीन भुरेटाकुरे राज्यका दरबारका भग्नावशेषहरुको उत्खनन गरेर प्रकाशमा ल्याउने र पुरातात्विक अन्वेषण गरी यी क्षेत्रहरुलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । घिरिङ गापाको कोटसाभुङ भन्ने ठाउँमा राजभुयरको मन्दिर छ । त्यहाँ धेरै ठाउँमा मानिसहरु दर्शन गर्न, पुजागर्न आउँछन् । राजभुयरमा पुराना खुडा खुकुरीहरु छन् । बुढापाकाहरुले बताए अनुसार पहिलेका राजाहरुले ती हतियार प्रयोग गर्थे । ती वस्तुहरुको पुरातात्विक अन्वेषण हुन जरुरी छ ।
स्थानीय प्राकृतिक स्रोत र साधनहरु प्रयोग गरेर कुटिर उद्योगहरुको स्थापना गरिनु पर्दछ । विकास भनेको केवल सडक बन्नु, कलकारखाना खोल्नु, पानी धाराको व्यवस्था हुनु मात्र हैन । आम जनताको जीवनस्तर माथि उठ्नु, जनतामा प्रगतिशील चेतनाका विकास हुनु पनि विकास हो ।
० भारत बाहेक अन्य देशमा पनि काम गर्नु भयो कि ?
– हो मैले कतारमा ६ वर्ष काम गरें । भारतमा जस्तै त्यहाँ पनि एकता समाज मार्फत् सामाजिक कामहरु गरियो । सिराहाका चन्द्रशेखर यादवलाई फासीको सजाय सुनाइएको थियो । अदालतमा मुद्दा लडेर उनको जीवन रक्षा गरियो । उनी निर्दोष थिए । कामगर्न गएका पागल भएका नेपालीहरुलाई दुतावास सित समन्वय गरी घर फर्काउने काम गरियो । भेंडा चराउन गएका नेपालीहरु मालिकले खर्च नपठाइदिए पछि भेंडाको दुध चुसेर बाँचिरहेका नेपालीलाई उद्धार गर्ने काम गरियो । यस्ता धेरै काम हामीले गरेका थियौं ।
– ० अहिले कुनै सामाजिक संघ÷संस्थामा काम गर्नु हुन्छ ?
–मैले तनहुँ दमौलीको पंचायन माविमा साढे तीन वर्ष व्यवस्थापन समिति अध्यक्ष भइ काम गरें । अहिले पनि मलाई मनोनित सदस्यमा राखेका छन् । दमौलीको देउराली नगरदेखि घाटसम्मको बाटो निर्माणमा अगुवाई गर्ने काम भयो । समाजसेवी छविचन्द्रसित मिलेर जिल्लाव्यापी रुपमा सामुदायिक विद्यालय सुधार अभियान चलाइयो । छविको केही वर्ष पहिले देहान्त भयो । यस्ता सामाजिक कामहरु धेरै गरियो ।
० पार्टी काम कसरी अगाडि बढ्दैछ ?
–केन्द्र र क्षेत्रले बनाएका कार्यक्रम र जिल्लामा हामीले बनाएका कार्यक्रम लागु गर्ने काम गरेका छौं ।
० हाँक साप्ताहिक मार्फत् थप केही छ कि ?
– हाँकको निरन्तरता र प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित