लेनिनवाद सम्बन्धी कार्यपत्र माथि संक्षिप्त टिप्पणी

–रामबहादुर बुढा

गत वैशाख १० गते लेनिन जयन्तीको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ललितपुर, कुपन्डोलस्थित आफ्नै कार्यालयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रमको शीर्षक थियो । साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व कार्यपत्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओलीले प्रस्तुत गर्नु भएको थियो। कार्यपत्र माथि नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा ( मशाल) का प्रवक्ता रामबहादुर बुढा ,नेकपा (मसाल )का प्रवक्ता रामप्रकाश पुरी, वाम वुद्धिजीबी गोपीरमण उपाध्याय समेतद्वारा टिप्पणी गरिएको थियो ।कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष मोहन बैद्ध किरण ,सन्चालन पार्टीका कार्यालय सदस्य रामसिंह श्रीस र स्वागत अर्का कार्यालय सदस्य हरिभक्त कँडेलले गर्नु भएको थियो । मैले टिप्पणी गर्दा राखेका कुराहरूलाई संक्षिप्त नोटकोरूपमा यहाँ दिएको छु ।

दर्शन
लेनिनको दर्शनमा योगदानकोकुरा गर्दा दर्शन सम्बन्धी लेनिनका दुई महत्वपूर्ण कृतिहरू हुन् १. भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद र २. दार्शनिक नोट बुक ।
१९०५ को रुसी क्रान्ति असफल भए पछि रुसमा ठूलो निराशा छायो । माखवादीहरूले र अरू कैयौं अवसरवादीहरूले मार्क्सवाद असफल भयो भनेर मार्क्सवादी दर्शनमाथि आक्रमण गरे । मार्क्सवाद असफल भएको छैन भनेर लेनिनलेभौतिकवाद र अनुभव सिद्ध आलोचना,शीर्षकमा पुस्तक लेख्नु भयो । नेपालमा विभिन्न कोणबाट मार्क्सवादी दर्शन माथि आक्रमण भैरहेको छ । बहुदलीय जनवादको नाममा मार्क्सवादी दर्शन माथि आक्रमण भएकोछ । मदनभण्डारीको बहुदलीय जनवादको दर्शन सम्बन्धी कुरा यो हो कि मार्क्सवादी दर्शन द्वन्द्ववादले द्वन्द्वलाई स्वीकार्दछ , द्वन्द्व भनेको प्रतिस्पर्धा हो ।
जब मार्क्सवादले द्वन्द्वलाई स्वीकार्दछ भने राजनीतिक दलको द्वन्द्व वा प्रतिस्पर्धालाई किन स्वीकर नगर्ने रु स्वीकार गर्नु पर्दछ । मदन भण्डारीको बहुदलीय जनवादको दर्शनको सारतत्व यही हो । त्यसो भए के सामन्त ,दलाल ,नोकरशाही पुँजीपति साम्राज्यवादका एजेण्टहरूको प्रतिनिधित्व गर्ने राजनीतिक दल सित दलीय प्रतिश्पर्धा गरिएन भने अद्वन्द्ववादी भइन्छ , गैर मार्क्सवादी भइन्छ। हामीले चिन्तन गर्नु पर्ने कुरा यो हो । व्यवहारिक जीवनका उदाहरण हेरौं । बक्सिङ खेलमा पनि समान तौलको बीचमा प्रतिस्पर्धा गराइन्छ । भण्डारीको बहुदलीय जनवादले निर्वाचनमा सम्पत्ति नभएको सर्बहारा र करोडपतिलाई सङ्गै प्रतिश्पर्धा गराएर सर्वहाराले श्रेष्ठता हासिल गर्नु पर्दछ भन्दछ ।

बहुदलीय जनवादको कमजोरी के हो भने यसले वहुदलीयता वा दलीय व्यवस्थालाई ऐतिहासिक भौतिकवादको आलोकमा बुझ्न सकेन । कम्युनिस्ट पार्टी स्थापनाको सन्दर्भ हेरौं। कम्युनिस्ट पार्टी स्थापना हुनु भन्दा पहिले सानातिना सहकारी संस्था, अस्पताल सहयोग संगठन ,असहाय संस्था जस्ता संगठनहरू थिए । युरोपमा औद्योगिक क्रान्ति भए पछि उद्योगहरूमा मजदुर संगठनर ट्रेड युनियनहरू गठन भए । ती ट्रेड युनियनहरूको पृष्ठभूमिमा कम्युनिस्ट पार्टीको जन्म भएको थियो । पुँजीवादी पार्टीहरूको स्थिति हेरौं। बेलायतमा औद्योगिक क्रान्ति हुँदाखेरि त्यहाँ पुँजीवादी घरानियाहरूको बीचमा पुँजी कमाउने होड चलिरहेको थियो । आधार अर्थात उत्पादन प्रणालीमा भएको पुँजीपति घरानियाहरूको त्यसप्रकारको प्रतिष्पर्धा राजनीतिक प्रणालीमा प्रतिबिम्बित भयो र राजनीतिक दलहरू जन्मिए र दलीय व्यवस्थाको उत्पत्ति भयो । खास ऐतिहासिक परिस्थितिले दलीयव्यवस्था जन्मिएको हो । अमेरिकामा राष्ट्रपतीय प्रणाली छ । त्यहाँ २,३ वटा राष्ट्रपति चुनावमा दलबिहीन चुनाब भएकोथियो किनभने त्यहाँ त्यतिबेला सम्म दलहरू नै जन्मिएका थिएनन् । नेपालमा साथीहरूले दलको चिन्ता गर्दछन। कम्युनिस्ट ब्यबस्था आयो भने यहाँ काङ्ग्रेस, एमाले, राप्रपा जस्ता पार्टीहरूको स्थिति के हुने हो भनेर चिन्ता गर्दछन। पार्टीको अस्तित्व त्यो पार्टीको भूमिका र जनता सितको उसको सम्बन्धले निर्धारण गर्ने हो । नेपालको पहिलो पार्टी प्रजापरिषद हो । नेपालमा उसले राणा हटाउन राम्रै भूमिका खेलेको हो । तर समय अनुसार आफ्नो भूमिका खेल्न सकेन अहिले हराएर गयो । २०१५ को चुनावमा १७ सिट ल्याई दोस्रो स्थान हासिल गर्ने गोर्खा राष्ट्रिय परिषद अहिले हराएर गयो । नेपाली काङ्ग्रेसले २०१५ को चुनावमा दुई तिहाई मत ल्याएको पार्टी अहिले एकतिहाई तिर चित्त बुझाउँदैछ । भविष्यमा परिवर्तनको आन्दोलमा उनीहरूको भूमिका के हुन्छ त्यसले उनीहरूको स्थितिको पनि निर्धारण गर्ने छ । जम्मामा यहाँ भन्न खोजिएको के हो भने बहुदलीयतालाई वर्गीय दृष्टिकोणको सापेक्षतामा बुझ्नु पर्दछ तर बहुदलीय जनवादको सिद्धान्तले वहुदलीयतालाई निरपेक्षरुपमा अंगिकार ग¥यो।

हाम्रा साथी मोहन तिमल्सिनाले मार्क्सवाद , भौतिकबाद असफल भयो भनेर जैविक दर्शन भन्ने एउटा पुस्तक नै लेख्नु भएको छ । आआफ्नो बुझाइको कुरा हो । हुन त उहाँ कम्युनिस्ट स्कूलिङ बाटै हुर्केको मान्छे हो । तर उहाँ अहिले मार्क्सवाद काम लाग्दैन भन्ने ठाउँमा पुग्नु भएको छ । लेनिनले आफ्नो पुस्तक भौतिकवाद र अनुभवसिद्ध आलोचनामा मार्क्सवाद काम लाग्दैन भन्ने मार्क्सवादविरोधीहरूको भनाइ उधृत गर्नु भएको रहेछ । मार्क्सवादी दर्शन भौतिकवादले पदार्थको अन्त्य हुँदैन रुपान्तरण मात्र हुन्छ भन्छ ।त्यतिबेलाका मार्क्सवाद विरोधीहरूले पदार्थको अन्त्य पनि हुन्छ भनेर आफ्ना धारणा ल्याएकाथिए । लेनिनले त्यसको खण्डन गर्नु भएको थियो । हाम्रा मित्र मोहन तिमल्सिनाजीले पनि पदार्थको अन्त्य हुन्छ भनेर आफ्नो पुस्तक जैविक दर्शनमा लेख्नु भएको छ ।उत्पादक शक्ति हुनका लागि मानव श्रम, मानव चेतना र उत्पादनको साधन चाहिन्छ । उत्पादक शक्तिका लागि उत्पादनको शाधन नै प्रमुख हो भन्ने विचार पनि आइरहेको छ । यी र यस्ता कैयौं छलफल गर्नु पर्ने विषय छन् । हामीले यी विषयहरूमा व्यापक छलफल गरी ठीक धारणा निर्माण गर्नु पर्दछ ।

धर्म ,
धर्म भनेको अफिम हो । धर्म सम्बन्धी मार्क्सवादको यो आधारभूत सिद्धान्त हो । लेनिनले धर्म सम्बन्धी मार्क्सवादी दृष्टिकोणलाई अरु समृद्ध बनाउनु भयो ।समाजवाद र धर्म शीर्षकको लेख लेनिनको धर्म सम्बन्धी महत्वपूर्ण रचना हो । लेनिनले धर्म मान्ने व्यक्तिलाई कम्युनिस्ट पार्टीमा ल्याउने कि नल्याउने बारेमा के भन्नू भएको छ भने धर्म मान्ने व्यक्तिलाई पनि पार्टीमा ल्याउनु पर्दछ तर वैज्ञानिक तथ्य र तर्कका आधारमा उनीहरूको धार्मिक चेतनालाई हटाई भौतिकवादी चेतना निर्माण गर्न मद्दत गर्नु पर्दछ । वल प्रयोग गरेर होइन । वैज्ञानिक चेतनाको प्रचार प्रसार गरेर , पुस्तक पत्र पत्रिका छपाएर,कलास, प्रशिक्षण गरेर धार्मिक अन्धबिश्वासलाई हटाउनु पर्ने लेनिनको विचार छ ।

राजनीतिक अर्थशास्त्र
ूसाम्राज्यवाद पुँजीवादको अन्तिम चरण ू शीर्षकको पुस्तक राजनीतिक अर्थशास्त्रमा लेनिनको सबै भन्दा ठूलो योगदान हो । त्यो पुस्तक लेनिनले प्रथम विश्व युद्धको बेलामा लेख्नु भएको थियो । आजको साम्राज्यवादी विश्व व्यवस्थाका नियम र तत्वहरूको निर्माण दोस्रो विश्व युद्धको अन्त्य तिर तय गरियो ।

खास गरी १९४४ मा अमेरिकाको बृटन उड्समा भएको सम्मेलनले आजको साम्राज्यवादी विश्व ब्यबस्थाको जग हालेको थियो । आजको साम्राज्यवादको मुख्य तत्वहरू ( बित्तिय संस्थाहरू)विश्व बैंक , अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैक लगायत , अन्तर्राष्ट्रिय संस्थाहरू( संयुक्त राष्ट्र संघ )लगायत बहुराष्ट्रिय कम्पनी , विश्वब्यापी एनजियो आइएनजियोको सन्जाल , मानव अधिकार संगठनहरू , ग्याट हुँदै डब्लूटीओको विकास, अमेरिकी डलरको प्रयोग । साम्राज्यवादका उल्लेखित तत्वहरू असफल हुँदै गएका छन् । ती मक्किदै जादैछन । विश्व बैंक लगायतको विकल्पमा चीनले इन्फ्रास्ट्र्क्चर डेभलप्मेन्ट बैंक अगाडि बढाइरहेको छ । संयुक्त राष्ट्र संघ पूरै असफल भएको छ । अहिले रुस (युक्रेन युद्ध, इजरायलद्वारा प्यालेस्टाइन माथि आक्रमणको घटनामा संयुक्त राष्ट्र संघ निकम्मा साबित भएको छ । अमेरिकी डलर कारोबार विभिन्न देशले छाड्दै छन् । डब्लूटीओको नियम स्वयं अमेरिका ,चीन ,रुसले मान्दैनन् । जेहोस वर्तमान विश्व व्यवस्था मक्किदै जाँदैछ । अहिलेको विश्व व्यवस्थालाई भूमण्डलीकृत साम्राज्यवाद, उत्तर साम्राज्यवाद पनि भनेको सुनिन्छ । तर लेनिनले भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग नै आजको युग हो ।

वैज्ञानिक समाजवाद
मार्क्स र एङ्गेल्सले व्याख्या गरेको बैज्ञानिक समाजवादलाई लेनिनले अरू समृद्ध बनाउनु भयो । वर्ग संघर्षलाई मानेर मात्र कम्युनिस्ट हुन सकिन्न कम्युनिस्ट हुनका लागि वर्ग संघर्षलाई मान्नुको साथै सर्वहारा अधिनायकवादलाई स्वीकार्न सक्नु पर्दछ लेनिनको भनाई थियो । मुख्य पुँजीवादी देशहरूमा एकै चोटी समाजवाद नआएर बेग्लाबेग्लै देशमा फरक फरक समयमा समाजवाद आउन सक्दछ भन्ने कुरालाई लेनिनको नेतृत्वमा व्यवहारिक रुपमा प्रयोग नै गरियो। बैज्ञानिक समाजवादका सन्दर्भमा राज्य र क्रान्ति लेनिनको महत्वपूर्ण कृति हो । रणनीति र कार्यनीतिलाई सिद्धान्तकोरूपमा विकास गर्ने काम पनि लेनिनको पालामा नै भएकोथियो ।

संगठनात्मक सिद्धान्त
जनवाद र केन्द्रीयता दुई बिपरीत पक्षलाई मिलाएर जनवादी केन्द्रियता शीर्षकमा संगठनात्मक सिद्धान्त बनाउन लेनिनले नै योगदान पु¥याउनु भयो । यो पनि द्वन्द्ववादको प्रयोग थियो । के हामीले नेपालमा जनवादी केन्द्रीयतालाई ठीक ढङ्गले प्रयोग गरेकाछौँ ? अध्ययन र प्रयोगलाई समीक्षा गर्दै अगाडि बढौँ ।

राष्ट्रको प्रश्न
युरोपमा लामो समय चलेको जातीय र धार्मिक युद्धलाई सन् १६४८को वेस्ट फालिया सन्धिले अन्त्य गरेको थियो । त्यो सन्धिले राष्ट्रको परिभाषा गरेको थियो । स्टालिनले एउटै भाषा ,एउटै संस्कृति, एउटै आर्थिक जीवन ,एउटै मनोबिज्ञान ,एउटै भूगोल भएका मानिसहरूको समूहलाई राष्ट्र भनेका छन । त्यो परिभाषा मात्र हो । राष्ट्रबारे स्टालिनको कोर चीज (मुख्य कुरा )के हो भने सामन्तवादको उन्मुलन हुँदै पुँजीवादको विकासका क्रममा फरक फरक जाति ,भाषा ,संस्कृतिको समिश्रण हुँदै बनेको नयाँ समुदाय नै राष्ट्र हो ।

कामरेड हेमन्त प्रकाश ओलीले लेनिनका मुख्य रचनाहरूलाई आधार बनाएर कार्यपत्र तयार गर्नु भएको छ । पठनीय सामग्री तयार गर्नु भएको छ । लेनिनवादका यी आधारभूत रचनाहरूको अध्ययन र ती अधारभूत प्रस्थापनाहरूमाथि आधारित भएर नै वर्तमानका चुनौतीहरूलाई सामना गर्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित