काठमाडौं । मई १, विश्वभरिका मजदुरहरुको अन्तर्राष्ट्रिय पर्व मई दिवस हो । सन् १८८६ मई १ मा अमेरिकाको शिकागो शहरमा मजदुरहरुले ८ घण्टा कार्य दिवसको माग गर्दै आन्दोलन गरेका थिए । तत्कालीन अमेरिकी सरकारले त्यो आन्दोलनमाथि चर्को दमन गरेको थियो । तर शिकागो शहरको त्यस मजदुर आन्दोलन बढ्दै गयो र अन्ततः अमेरिकी सरकारले मजदुरहरुको ८ घण्टा कार्य दिवसको मागलाई स्वीकार गर्न बाध्य भयो । मई दिवसको सन्दर्भमा सम्पूर्ण मजदुर र शोषित पीडित जनतालाई शुभकामना दिंदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ । प्रेस वक्तव्य यसप्रकार छ ः “न्यायप्रेमी जनसमुदाय
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मई डेको उपलक्ष्यमा देशभित्र र बाहिरका सम्पूर्ण शोषित पीडित जनसमुदाय किसान मजदुरहरु र देश बाहिरका सम्पूर्ण श्रमिक तथा उत्पीडित तथा क्रान्तिकारी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । भूमण्डलीकृत पुँजीवादी साम्राज्यवाद र उसका पाल्तु नोकरशाही दलाल पुँजीवादको कारण विश्वका सम्पूर्ण शोषित पीडित जनसमुदाय पुँजीवादी साम्राज्यवादको विरुद्ध संघर्षमा खडा भइरहेका छन् ।
नेपालमा पनि त्यसप्रकारको उत्पीडनका विरुद्ध सशक्त संघर्षहरु चल्दै आएका छन् । नेपाली जनताको मुक्तिका लागि नेपालमा क्रान्तिकारीहरुको एकीकरणको प्रक्रिया शुरु भएको छ । यही १३५ औं मई दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता भएको सन्देश दिन पाउँदा हामी हर्षित छौं । १३५ औं मई दिवसको अवसरमा सम्पूर्ण शोषित पीडित जनसमुदाय, नेपाली जनता उत्पीडनका विरुद्ध सशक्त संघर्षमा उत्रन पनि अपिल गर्दछौं ।”


