कृष्णराज पौडेल, नेकपा ( मशाल) ,पोलिटब्युरो सदस्य
कृष्णराज पौडेल नेपालको कम्युनिस्ट आन्दोलनमा लामो यात्रा तय गरिसकेका व्यक्तित्व हुनुहुन्छ । २०२८ सालमा बागलुङमा धवलागिरी विद्यार्थी परिषदमा आबद्ध भए सँगै पौडेलको राजनीतिक जीवनको सुरुवात भएको थियो । बागलुङमा शिक्षण पेशा गर्दा शिक्षकहरूको आन्दोलनको अनुभव बोकेका पौडेलले २०३२ सालमा पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । २०३४ देखि २०४२ सम्म बागलुङमा नेकपा (मशाल) को जिल्ला सदस्य र २०४७ मा नवलपरासीमा नेकपा (मसाल) को जिल्ला सेक्रेटरी रहनु भएकोथियो । २०४८ देखि बागलुङमा पार्टीको ईन्चार्ज,२०४९ देखि नेकपा ( मसाल) को केन्द्रीय सदस्य ,२०६३ को सातौं महाधिवेशनबाट नेकपा (मसाल) को पोलिटब्युरो सदस्य रहेका पौडेल २०७८ मा नेकपा (मसाल) बाट अनिश्चितकालका लागि निस्कासित हुनु भएको थियो । २०७८ सालमा पुनर्गठित राष्ट्रिय जनमोर्चा समन्वय समितिको केन्द्रिय अध्यक्ष बन्नु भएका पौडेल २०७९ असोजमा सम्पन्न नेकपा (मशाल) को विशेष महाधिवेशनबाट पोलिटब्युरो सदस्य बन्नु भयो ।
२०१० साल मंसिर १० गते बागलुङको मौलाछ (हाल जैमिनी– ४) मा जन्मिएका पौडेलकि आमा पम्फादेवी र बुबा त्रिलोचन पौडेल हुनुहुन्थ्यो । कृष्णराज पौडेल अहिले नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बीचको पार्टी एकतालाई निष्कर्षमा पुर्याउने कार्यमा लाग्नु भएकोछ । यसपटक यहाँ हाँक साप्ताहिकले कृष्ण पौडेल सित गरेको कुराकानी प्रस्तुत गरिएकोछ ।
१) वैशाख १९ गते मई दिबसको अवसर पारेर नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका बीचमा पार्टी एकता हुँदैछ भन्ने कुरा दुई पार्टीका प्रमुखको संयुक्त बक्तब्यबाट जानकारी भयो । नयाँ पार्टीको नाम के राख्दै हुनुहुन्छ ?
–२०७९ कार्तिक २२ गते देखि चैत्र २१ गतेसम्म नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी र नेकपा बहुमतका बीच पार्टी एकताका लागि छलफल र वार्ताहरु भएका थिए । त्यतिबेला एकता भयो भने नयाँ पार्टीको नाम के राख्ने भन्ने विषयमा पनि छलफल भएको थियो । त्यो छलफलमा हामीले हामी सबै साथीहरु नेकपा (मशाल)को पृष्ठभूमिबाट आएका हौं । २०४१ सालको पाँचौं महाधिवेशन पछि २०४२ मा हामीहरुमा फुट भयो । अहिले फेरि एकताको लागि प्रयास भएको छ । अब बन्ने पार्टीको नाम नेकपा (मशाल) राख्नु ऐतिहासिक रुपले पनि राम्रो हुन्छ भन्ने हाम्रो प्रस्ताव थियो । त्यो प्रस्तावमा सहमति होला होला जस्तो पनि भएको थियो । तर पछि सहमति भएन । अहिले प्रयोग भएका नामहरुभन्दा भिन्दै नाम राखौं नयाँ नाम चयन गरौं भन्ने कुरा भयो । नेकपा ( मशाल) को विशेष महाधिवेशनमा पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राख्नुपर्छ भन्ने प्रस्ताव आएको थियो । त्यो नाम नयाँ पनि हुन्छ त्यही राखौं भन्ने प्रस्ताब राख्यौं । त्यो नाममा सहमति भयो । पछि कतिपय मतभेदहरूमा सहमति नभएपछि हामीहरु एकता प्रक्रियाबाट बाहिरियौं । तर नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)को बीचमा पार्टी एकता भयो । उहाँहरुले तीन पार्टीको बीचमा भएका सहमतिको जगमा टेकेर पछि दुई पार्टीको बीचमा एकता गर्नुभयो । त्यही आधारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नामाकरण भएको हो । अहिले पनि त्यो आधार कायम नै छ । त्यसैले पनि पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै रहन्छ ।
२) यो पार्टी एकता होइन मशालको माओवादीमा बिलय हो भन्ने एकाथरी मान्छेहरूको भनाइ छ नि । के भन्नू हुन्छ यसबारे ?
– यो सम्मानजनक पार्टी एकता हो । यसमा सैद्धान्तिक प्रश्न, राजनीतिक कार्यदिशा र संगठनात्मक प्रणालीको बीचमा पर्याप्त छलफल गरेर नै पार्टी एकता गर्ने निष्कर्षमा पुगिएको हो । यति हुँदाहुँदै पनि हामीहरुको बीचमा केही मतभेदहरु छन् । तिनीहरुको पनि व्यवस्थापन भएको छ । तर एक थरीले मशालले जातीय राज्य ,संघीयता ,माओवाद मान्यो भनेर हल्ला गरेका छन् । अर्को थरीले जनयुद्धलाई अपमान गर्ने,संघीयता बिरोधी,जातीय अधिकारका विरोधीहरू सित बैद्ध नेतृत्वको पार्टीले गलत सम्झौता गर्यो भनेर हल्ला गरेकाछन् । ती दुवै खाले हल्लामा सत्यता छैन । खासगरेर हाम्रो माओवाद र माओ विचारधाराको प्रश्न ,आत्मनिर्णय र जातीय पहिचान सहितको संघीयता र माओवादीले चलाएको दश वर्षे जनयुद्धको मूल्यांकन यी तीनवटा विषयमा अहिले पनि मतभेद कायमै छन् । ती मतभेद सहितको पार्टी एकता हो । यसमा कसैले विषयलाई नबुझेर र कसैले बुझिबुझि बुझ पचाएर पनि विलय हो भनेका हुन सक्छन् । खासगरी पार्टी एकता विरोधीहरले यो हल्ला चलाएका हुन सक्छन् ।
३) पथप्रदर्शक सिद्धान्त, जनयुद्धको मूल्याङ्कन र सँघीयता,जातीय प्रश्नको विवाद हल नहुँदै पार्टी एकता गरेर असैद्धान्तिक एकता, अराजनीतिक एकता गर्दैछन् भन्ने आलोचना आयो तपाईहरू माथि ।
– हेर्नुस् ! नेकपा (मशाल) ले मार्क्सवाद–लेनिनवाद–माओ विचारधारा पथ प्रदर्शक सिद्धान्त मान्दै आएको र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मार्क्सवाद–लेनिनवाद–माओवाद पथ प्रदर्शक सिद्धान्त मानेको कुरा त स्पष्ट नै छ । माओ विचारधारा वा माओवाद भन्ने विषयमा मतभेद छ । यसमा नेपाल र विश्वभरीका कम्युनिस्ट पार्टीहरुको बीचमा नै मतभेद छ । हामी दुवै पक्षको बीचमा माओ–त्सेतुङका योगदानहरुलाई सार्वभौम मान्ने विषयमा सहमति छ । हामीले त्यो सहमतिमा टेकेर पार्टी एकता गर्दैछौं । माओ विचाराधारा र माओवाद बीचको विवाद रिमको गठन पछि शुरु भएको हो । आर.सी.पी. अमेरिका, पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) हरुले माक्र्सवाद–लेनिनवाद माओवाद मान्ने र पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) ले त माक्र्सवाद लेनिनवाद माओवाद गोन्जालो विचारधारा भन्न थाल्यो । नेपालमा पनि तत्कालीन नेकपा (मशाल) र पछि नेकपा (माओवादी) ले माओवादलाई पथपर्दर्शक सिद्धान्तमा राख्यो र जनयुद्धको क्रममा मार्क्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथसम्म भन्न पुग्यो । व्यक्तिलाई देवत्वकरण गर्ने तरिका माक्र्सवाद लेनिनवादसँग मेल नखाने कुरा हो । अहिले उहाँहरु प्रचण्डपथ भन्नु गल्ती भएको स्वीकार्नु भएको छ । माओविचारा वा वादको विवाद कायमै छ । यसलाई दस्तावेजमा मार्क्सवाद – लेनिनवाद–माओवाद÷विचारधारा लेख्ने र खुला बहसमा लैजाने सहमति भएको छ । एक रुप बुझाइ नहुँदासम्म बहस छलफलमा लैजाने सहमति भएको छ । जनयुद्धको मूल्यांकनको विषयमा माओवादी ऐतिहासिक जनयुद्ध भन्ने कुरामा सहमति छ । त्यो जनयुद्ध अब इतिहासको कुरा भयो । त्यो माओवादीले चलाएको जनयुद्ध थियो । त्यसैले माओवादी जनयुद्ध भनिएको छ । यसमा खुला बहस गर्दै जाने र जनयुद्धका सकारात्मक–नकारात्मक पाटाहरुको समीक्षा गर्दै जाने निर्णय भएको छ । संघीयता र जातीय प्रश्नमा जातीय, क्षेत्रीय तथा स्थानीय स्वशासनलाई पार्टीको आधिकारिक लाइन बनाउने र नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो भन्ने कुरा स्वीकार गरिएको छ । हेर्नुस् !पार्टीमा मतभेदहरु हुन्छन । कम्युनिस्ट आन्दोलन मार्क्स, लेनिन र माओको पालादेखि नै तीब्र मतभेद र बहसबाट अगाडि बढेको छ । आधारभूत रुपले सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा कुरा मिलेपछि बाँकी मतभेदहरुलाई व्यवस्थापन गर्ने कुरा मुख्य हो । आज विश्वका कैयौं पार्टीहरु मतभेदको व्यवस्थापन गर्न नसकेर सिद्धिएका छन् । आधारभूत सिद्धान्त र राजनीतिक कार्य दिशा मिलेपछि एकता गरेर शक्ति आर्जन गरेर अगाडि बढ्नु देश र जनताको हितमा हुन्छ । जहाँसम्म मतभेदको कुरा छ त्यो त पार्टीको जीवन हो । त्यसलाई लेनिनवादी पद्धति अनुसार हल गर्दै जानुपर्दछ । त्यसैले यो एकतालाई असैद्धान्तिक र अराजनीतिक एकता भन्नु गलत हो ।
४)पार्टी चलाउन नसकेर पार्टी बुझाए भन्ने पनि हल्ला चलिरहेकोछ ।
– यो त कम्युनिस्ट पार्टी टुटफुट छिन्नभिन्न पारेर यथास्थितिमै रमाउन चाहानेहरुले भन्ने कुरा हो । आज नेपालको अवस्था कस्तो छ भने प्रतिक्रियावादी शक्तिहरु र कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी,यथास्थितिवादी शक्तिहरुले संगठित ढंगबाट देशलाई बर्बादीको दिशामा धकेलिरहेका छन् । आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद,सामन्तवाद र बाह्य रुपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको चक्रव्यूहमा देश फसेको छ । यसबाट देशलाई निकास दिन नयाँ जनवादी क्रान्तिका पक्षधर शक्तिहरुको बीचमा बलियो एकता आवश्यक छ । त्यसका लागि राजनीतिक,सैद्धान्तिक सहमति भएमा पार्टी एकता र तात्कालिक एजेन्डाहरू मिलेमा सहकार्य,कार्यगत एकता,संयुक्त मोर्चा जे सम्मभ हुन्छ । त्यो गरेर अगाडि बढ्नु पर्छ । त्यो नै आजको राष्ट्रिय आवश्यकता हो ।
५) नेकपा( मसाल) का महामन्त्री मोहन बिक्रम सिंहले पार्टी छोडेर गएका कार्यकर्ताहरूलाई मसालमा फर्कन आह्बान गरेर बक्तय निकाल्नु भएको छ ।सिंहको बक्तब्य प्रति तपाईको के प्रतिक्रिया छ?
– उहाँले यस्ता कुरा गरिरहनु हुन्छ । उहाँहरुले भर्खरै नवौं महाधिवेशन गर्नु भयो । उहाँहरू मसालको दक्षिणपन्थी राजनीतिक कार्य दिशालाई परिवर्तन गरेर क्रान्तिकारी कार्यदिशा अवलम्वन गरी क्रान्तिकारी शक्तिहरू सित पार्टी एकतामा आउनु पर्दथ्यो । तर त्यसो गर्नुको सट्टा उहाँहरु त नवौं महाधिवेशनबाट अझै दक्षिणपन्थी दिशामा अगाडि बढ्नु भएको छ । त्यो पार्टीभित्र इमान्दार क्रान्तिकारीहरु छन् तर उनीहरु नेतृत्वको शब्दजालमा अलमलिएका छन् । त्यसबाट मुक्त भएर संकीर्णताको घेरा तोड्दै क्रान्तिकारी पार्टीमा आउनु देश, जनता, क्रान्ति र पार्टीको हितमा हुनेछ ।
६)पार्टी एकता पछि संगठनात्मक व्यबस्थापन कसरी गर्दै हुनुहुन्छ ?
– यो पार्टीको असाध्य महत्वपूर्ण पक्ष हो । पार्टीको एउटै केन्द्र भएपछि आवश्यकता, योग्यता, क्षमताको आधारमा तल सम्म संगठनात्मक व्यवस्थापन गर्दै जाने कुरा भइ हाल्छ ।
७)यो एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा कस्तो योगदान पुर्याउने छ ?
– विश्व मानचित्रमा नेपाल एउटा यस्तो देश हो जहाँ कम्युनिस्ट पार्टीको पक्षमा निकै ठूलो जनमत छ । त्यो जनमतले गास, बास, कपास (अर्थात् रोजगारी), शिक्षा, स्वास्थ्य, न्याय र समानता चाहन्छ ।त्यसैबाट उसको मुक्ति र समृद्धि सम्भव छ । त्यसका लागि सैद्धान्तिक समझदारी र सही राजनीतिक कार्यदिशा सहितको एउटा मिलिटेन्ट, अनुशासित कम्युनिष्ट पार्टी आवश्यक पर्दछ । समस्या कहाँ छ भने सामन्ती, निम्न पुँजीवादी मूल्य मान्यता, धर्म, संस्कृतिले मान्छेलाई स्वार्थी र चरम व्यक्तिवादी बनाएको छ । त्यसैले पहिलो शर्त आफूभित्र र पार्टीभित्र द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकाणको निर्माण गर्दै परिवर्तित हुँदै जान सक्नुपर्छ । त्यही आधारमा तितरवितर भएको कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न सक्नुपर्छ । त्यसको प्रभाव जनतामा पर्दै जान्छ र जनताको आन्दोलन उठाउन सकिन्छ । जनताको ठूलो हिस्सालाई सचेत र संगठित नगरिकन कसैले विरता देखाएर परिवर्तन हुँदैन । जनतालाई सचेत र संगठित गर्न धैर्यता ,त्याग र साहसका साथ वर्गसंघर्षमा हेलिनुपर्छ ।यो क्रमिक रुपले रुपान्तरित हुँदै गएपछि नै सम्भव छ । देश र जनताको मुक्तिको लागि अर्को विकल्प नै छैन ।
यो एकताले सबै छरिएका क्रान्तिकारीहरूलाई एक ढिक्का भएर अगाडि बढ्न प्रेरित गर्ने छ । कम्युनिस्ट आन्दोलनमा आएको निरासालाई चिर्दै उत्साह र आसा ल्याउने छ । वर्ग संघर्षको विकास गदै कम्युनिस्ट आन्दोलनलाई नयाँ जनवाद÷ समाजवादको उद्देश्य तर्फ अगाडि बढ्न भरपर्दो आधार निर्माणमा यो एकताले योगदान पुर्याउने छ । राष्ट्रिय स्वाधीनता , जनतन्त्र र जनजीबिकाको आन्दोलनलाई प्राभावकारी बनाउन योगदान पुर्याउने छ ।
८)पार्टी एकता पछि तपाईको पार्टी आबद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपाल चल्छ कि चल्दैन ?
– अहिले संयुक्त मोर्चाको आवश्यकता झन बढेर गएको छ । अब त्यही मोर्चा वा अन्य कुनै नामको मोर्चा त संगठित गर्नु पर्छ नै ।त्यसबारे पार्टी एकीकरण भएपछि एकीकृत पार्टीले योजना बनाउने छ ।
९)अहिले नेपाल सरकारले बिश्वका विभिन्न कम्पनी, दातृ निकाय र विभिन्न देशका प्रतिनिधिहरूलाई बोलाएर तेस्रो लगानी सम्मेलन गर्यो। यहाँका पार्टीहरू र सरकार विदेशीहरूको लगानीमा आर्थिक उन्नति गरेर देश र जनताको मुक्ति गर्ने भनेर लागेकाछन । तपाईहरू त्यो मुक्तिको बाटो होइन भन्नू हुन्छ ? मुक्तिको बाटो के हो?
– हाम्रो जस्तो भुराजनीति भएको देशले आत्म निर्भर अर्थतन्त्रको विकास गरेर राजकीय पुँजीको विकासद्वारा राष्ट्रलाई बलियो बनाउनुपर्छ । हाम्रो देशभित्र उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, जलस्रोतको बहुआयामिक उपयोग, पर्यटनको विकासमा देश भित्रको पुँजी परिचालन गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्दछ । भृकुटी कागजकारखाना, हेटौंडा कपडा उद्योग, हरिसिद्धि इटा टायल कारखाना, लुम्बिनी चिनी कारखाना जस्ता ठूला उद्योहरूलाई राज्यको मातहतमा सन्चालन्मा ल्याउनु पर्दछ ।देशमा चलिरहेका राष्ट्रियस्तरका ठूला उद्योग बेचेर खाएर अहिले विदेशीहरुलाई लगानीका लागि बोलाउँदैछन् । यो उनीहरुलाई नेपालमा नाफा कमाएर विदेश लैजान र देशलाई अरू थप परनिर्भरता तर्फ धकेल्ने कोशिश भैरहेको छ । बिदेशीहरूलाई आऊ, नाफा कमाएर लैजाउ भनेर बोलाइएको छ । यसरी राष्ट्रको समृद्धि हुँदैन ।
१०) देशको समग्र अबस्थालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
– राजानीतिक अस्थिरताले देशलाई अकर्मण्य बनाएकोछ । अर्थतन्त्र चलायमान छैन । युवा श्रम शक्ति र शैक्षिक जनशक्ति लाखौंलाखको संख्यामा विदेश पलायन भैरहेकोछ । वैदेशिक व्यापार घाटा चुलिएकोछ। भ्रष्टाचार, अनियमितता ,तस्करीले सीमा नाघेकोछ । केन्द्र देखि स्थानीय तह सम्म कमिशनखोरहरूको सन्जाल झ्याङ्गिएकोछ ।जसलाई राज्यले संरक्षण गरेकोछ । वैदेशिक हस्तक्षेप बढेर गएकोछ । राष्ट्रिय स्वाधीनता जोखिममा छ । देशको यो अबस्थाबाट फाइदा उठाउन प्रतिगामी शक्तिहरू सल्बलाएका छन् । देशको जातीय, क्षेत्रीय र धार्मिक सद्भाब खल्बलाउन विदेशी शक्तिकेन्द्रहरूले जातिवाद,क्षेत्रीयतावाद र धार्मिक अतिवादलाई उछाल्ने कोशिश गर्दैछन् । यो अबस्थामा यी सबै गलत बिचार र प्रवृतिलाई सामना गर्ने सशक्त क्रान्तिकारी शक्तिको निर्माण आजको आबश्यकता हो ।
११) हाँक साप्ताहिक मार्फत भन्नू पर्ने थप केही छ कि?
– राष्ट्रियता,जनतन्त्र,जनजीविका, शोषित,पीडित जनताको पक्षमा बिगत चालीस वर्ष देखि अविचलितरूपमा हाँकले योगदान पुर्याएको छ । हाँकको निरन्तरता र प्रगतिको कामना गर्दछु ।

