नवउदारवादी अर्थतन्त्रको सिरानी हालेर समाजवादको परिकल्पना गर्नु ठगहरुको धन्दा हो

१) यो भन्दा पहिले तपाई हाँक साप्ताहिकलाई दिएको अन्तर्वार्ताका अनुसार यहाँले २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको थियो । पार्टी सदस्यता प्राप्त गर्दाको क्षणलाई कसरी स्मरण गर्नु हुन्छ ?
–समाजमा रहेका व्याप्त शोषण, दमन र जाली फटाहा एवं सुदखोरहरुद्वारा गरिब, किसान, जनसमुदायमाथिको चरम उत्पीडनका विरुद्ध मेरो नेतृत्वमा बागलुङको विहुँकोटका जागरुक युवाहरु स्थानीय रुपमा आन्दोलनरत थियौं । न्याय, समानता र मुक्तिका लागि कम्युनिष्ट पार्टीले नेतृत्व गर्छ भन्ने प्रारम्भिक चेतना ममा थियो । त्यसैक्रममा एकीकृत चौम सम्बन्धित पार्टीसँग सम्पर्क भयो र पार्टी सदस्यता फारम भर्ने काम भयो । जुन मेरो लागि अत्यन्त गौरव र उत्साहको विषय बन्यो । जसले कम्युनिस्ट आन्दोलनमा अगाडि बढ्न प्रेरित ग¥यो ।
२) तपाईं २०३८ मा अखिल (छैटौं) को केन्द्रीय कोषाध्यक्ष र २०४० मा महासचिव भइ काम गर्नु भयो । संगठनमा प्रवेश गर्दा बित्तिकै विद्यार्थीहरूलाई पाँचौ र छैठौंको भिन्नताबारे जानकारी गराइन्थ्यो भन्ने सुनिन्छ । त्यो कुरा साँचो हो? विद्यार्थीहरूलाई संगठनमा आबद्ध गर्दा अरू के कुराले कन्भिन्स गर्नु हुन्थ्यो?
–पाँचौं र छैठौं अखिलका तत्कालका अन्तविरोध मुख्यतः प्राविधिक खालका थिए । अखिलले गरेको २०२९ को चौथो सम्मेलनलाई अवैधानिक (जतिबेला झापालीहरुले जवस चाहिंदैन भन्ने मान्यता राख्थे । ) भनी शुरुमा पाँचौं वालाहरुले कुरा उठाए । विद्यार्थी आन्दोलनमा दमन भयो, २०३३ सालमा अयोध्यामा अखिलको पाँचौं राष्ट्रिय सम्मेलन भयो । त्यसको नेतृत्व निनु चापागाईले गरेका थिए । यो सम्मेलनलाई विदेशमा सम्मेलन गरेको, गुटगत संकीर्णता, सबैलाई नसमेटी मुठ्ठीभरले सम्मेलन गरेको जस्ता आरोपहरु पाँचौंले छैठौंमाथि लगाउँथे । छैठौं अखिलले त्यसको प्रतिवाद गर्दै ठोस अवस्थाको ख्याल नगर्ने मिथ्या आरोप, व्यक्ति हत्याको राजनीति अंगालेको (वन एरिया, वन स्कायड, वन युनिट र वन एक्सनको नारा र नीति) जवस चाहिंदैन भन्दै सम्मेलन बहिष्कार (गरेको) इतिहासको अगाडि बढेको गतिलाई नकारेको फुटपरस्त नीति अंगालेको जस्ता विषयहरु उठाउँथे । जनवादी र जनतान्त्रिक पदावली प्रयोगमा एक अर्काका विरोधी थिए । यसमा मुख्यतः वाम राजनीतिक आन्दोलनको फाँटमा देखा परेको पार्टी फुटको प्रभाव युवा विद्यार्थी आन्दोलनमा पर्नु स्वभाविक थियो–त्यसकै उपज थियो पाँचौं र छैठौं अखिल । अखिलमा २०२९ को चौथो सम्मेलनलाई पछि अखिल पाँचौंले सकार्दै पाँचौं सम्मेलन गरे । त्यसैबेला २०३६ मा लिलामणि पोख्रेलको नेतृत्वमा अखिलको छैठौं सम्मेलन गरे । यस बाहेक राजनीतिक मुद्दाहरु पनि उठाई विद्यार्थीहरुलाई कन्भिन्स गरिन्थ्यो ।
३) अखिल नेपाल युवक संघमा काम गर्दाको अनुभव के छ ?
–निरंकुश पंचायती व्यवस्थाको विरुद्ध कम्युनिस्टहरु सबभन्दा बढी अग्रसर थिए । पार्टीको नेतृत्वमा क्रान्तिकारी युवाहरुलाई संगठित र परिचालन गरिन्थ्यो । युवाहरुलाई जुझारु दस्ताका रुपमा अखिल नेपाल युवक संघमा आबद्ध गरिन्थ्यो र समाज परिवर्तनको भूमिकामा अग्रसर गरिन्थ्यो । जसले युवाहरुलाई सामन्ती र पुँजीवादी शोषण, दमन एवं विकृति विसंगतिका विरुद्ध जागरुक गर्दथ्यो । क्रान्तिकारी युवादस्ता तथा कम्युनिष्ट पार्टीको सहयोगी संगठनको रुपमा परिचालित गरिएका थियो ।
४)यहाँले २०३५ सालमा तत्कालीन चौम पक्षधर नेकपाको बाँके जिल्ला सेक्रेटरी भएर काम गर्नु भयो? नेकपा बाँके जिल्लाको संक्षिप्त ईतिहास वताउनु हुन अनुरोध छ ।
–इतिहास जस्तो गहन र खोजको विषयमा आधिकारिक धारणा राख्न त्यति सहज छैन । तथापि बाँकेको कम्युनिस्ट आन्दोलनको कुरा गर्दा २०३५ साल अगाडि कम्युनिष्ट पार्टीसँग सम्बन्धित केही गतिविधि र सम्पर्क रहेको पाइन्छ । त्यसैक्रममा माधव ज्ञवालीको नेतृत्वमा पुष्पलाल समूहको शिक्षक, बुद्धिजीवीमा केही सम्पर्क र सामान्य प्रभाव देखिन्छ । त्यसैबेला चौथो महाधिवेशन पक्षधर म बाँके जिल्लाको सेक्रेटरीको रुपमा २०३५ मा जोडिन पुगें । म संस्थापक सेक्रेटरी थिएँ । त्यसबेलासम्म बाँकेमा झापा आन्दोलनको प्रभाव थिएन । चौथो महाधिवेशन धाराको प्रभाव विस्तारै शिक्षक, विद्यार्थी र किसानमा पुनर्वास् क्षेत्र खजुरा आसपास, तीनवटै क्याम्पस र अन्यत्र विस्तारित हुँदै गयो । अखिल छैठौंको छैठौं सम्मेलन २०३६ मा सम्पन्न भएपछि अखिल (छैठौं) को बाँकेका सबै क्याम्पसबाट प्रतिनिधित्व भयो । २०३६ मा नै चौमको नेतृत्वमा पंचायतको एक दलीय तानाशाही विरुद्ध सभा, जुलुश जस्ता कार्यक्रम सम्पन्न भए । त्यसको जगबाट चौमको विस्तार हुँदै नेकपा (माओवादी) जनयुद्धको तयारीसम्मको भूमिकामा जोडिन पुग्यो । जसको क्रान्तिकारी धारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग आबद्ध छ । अर्को धारा २०३६ पछि माले एमालेको पनि सम्पर्क र संगठनको प्रभाव पनि क्रमशः बढ्दै संसदीय धारमा अहिलेसम्म छँदैछ । नेकपा (माओवादी) को एउटा धार खुला परिस्थितिमा आएपछि नेकपा (माओवादी केन्द्र) को रुपमा संसदीय धारामा प्रतिक्रियावादी सत्तामा छ ।
५) २०४१ को पाँचौ महाधिवेशनमा प्रचण्ड, बादल,देव गुरुङ लगायतका युवाहरू नेकपा ( मशाल) को केन्द्रमा आएका थिए भनिन्छ ।तर एक ठाउँ बादल र हरिभक्त कँडेल २०४२ मा पार्टी विभाजन भएपछि मोटो मशालका केन्द्रीय सदस्य बने भनेर लेखेको पाइयो । सत्य कुरा के हो ?
–२०४१ को पाँचौं महाधिवेशनमा मोहन वैद्य (क. किरण) महासचिव तथा प्रचण्ड र देव गुरुङ नेकपा (मशाल) को केन्द्रीय समितिमा निर्वाचित भएको कुरा सत्य हो । त्यतिबेला बादल केन्द्रीय समितिमा परेका थिएनन् । २०४२ मा मोहन विक्रम पक्षधर कमरेडहरुको एउटा हिस्सा (४ जनाको सदस्य) पार्टीबाट अलग भै नेकपा (मसाल) विभाजन भएपछि पार्टी नेकपा (मशाल) ले २०४२ मा प्रथम राष्ट्रिय भेलाको आयोजना ग¥यो । त्यसै भेलाले क. हरिभक्त कंडेल (प्रतिक) र रामबहादुर थापा (क. बादल) इन्द्र विलास (चितवन) र का. एस.पी. सहित ४ जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको थियो ।
६) नेकपा एकताकेन्द्रको एकतामहाधिबेशनका बेला चलेको फोरम बारे केही स्मरणीय कुरा छन् कि ?
–नेकपा (मशाल), नेकपा (चौम) लामा समूह, सर्वहाराको श्रमिक संगठन (रुपलाल समूह) र मोहन विक्रमबाट अलग भै बनेको नेकपा (मसाल) को बाबुराम भट्टराई लगायतको एउटा समूह एकताबद्ध भै नरबहादुर कर्मचार्य (संस्थापक नेता) अध्यक्ष र प्रचण्ड महासचिवको नेतृत्वमा बनेको नेकपा (एकता केन्द्र) को २०४८ मा एकता महाधिवेशन चितवनको माडीमा १५ दिनसम्म चलेको थियो । त्यस महाधिवेशनमा नेपाली क्रान्तिको कार्यदिशा, त्यसको संगठनात्मक ढाँचा लगायतका विभिन्न विषयमा र भिन्न मतका विषयलाई लिएर फरक फरक दस्तावेजहरु प्रकाशित गरी महाधिवेशन अगावै जिल्ला तहसम्म फोरमहरु संचालित गरी महाधिवेशनमा व्यापक दुई लाइन संघर्ष चलेको थियो । अन्त्यमा दीर्घकालीन जनयुद्धको कार्यदिशा बहुमतले पारित गरेको थियो । त्यसको नेतृत्व प्रचण्ड, मोहन वैद्य लगायतले गरेका थिए । दुुई लाइन संघर्ष निकै घनीभूत र पेचिलो बनेको थियो । तर त्यो मैत्रीपूर्ण नै रह्यो ।
७) तपाई पार्टीमा आर्थिक विभाग प्रमुख भइ काम गर्नु भयो । पार्टीमा हिसाब किताबको पारदर्शिता र हिसाबलाई ब्यबस्थित बनाउन ध्यान दिनु पर्ने कुराहरू के के हुन् ?
–हो, जनयुद्धको क्रममा २०५८ मा मेरो नेतृत्वमा हितमान शाक्य र श्रीराम ढकालको ३ सदस्यीय केन्द्रीय आर्थिक विभागको गठन भएको थियो । यसले पार्टीको समग्र आय केन्द्रित गर्ने, त्यसको हिसावकिताव व्यवस्थित र चुस्त दुरुस्त राख्ने र आवश्यकताका आधारमा पार्टी निर्णय बमोजिम खर्च गर्न पाउने जिम्मा पाएको थियो । पार्टीमा हिसावकितावको पारदर्शिता र आय–व्ययलाई व्यवस्थित गर्न निम्न विषयमा ध्यान दिइएको थियो ः (क) सबै सदस्यले आय व्ययको दैनिक हिसाव राख्ने (ख) आय–व्ययको स्रोत र विवरण खुलाउने, (ग)बील भौचरहरु राख्ने (घ) सबै हिसाब सम्बन्धित कमिटीमा पेश गर्ने र पारित गराउने (ङ) सबै कमिटीहरुमा अडिटिङको व्यवस्था गर्ने गराउने पारित गराउने (च) सबै रकम र हिसाव केन्द्रिकरण गर्ने–आवश्यकताका आधारमा निर्णय बमोजिम विकेन्द्रित गर्ने । (छ) हरेक कमिटीले बजेटको व्यवस्था गर्ने, र (ज) अडिट पछिको हिसावको सार संक्षेप सर्कुलरद्वारा तल्ला कमिटीलाई जानकारी गराउने आदि मुख्य छन् । अहिले पनि पार्टी र संगठनमा हिसावलाई व्यवस्थित गर्न आवश्यक छ । ध्यान दिन आवश्यक छ ।
८) तपाईले पार्टीमा अनुशासन तथा अनुगमन विभाग प्रमुख पनि भइ काम गर्नु भयो । पार्टी नेता र कार्यकर्तामा अनुशासनको महत्वबारे स्पष्ट गर्नु हुन अनुरोध छ ?
– क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मालेमावादी विचार, वर्ग पक्षधरता, पार्टी र क्रान्तिप्रतिको निष्ठा र समर्पण भाव आदि जस्ता सचेतनाले स्वेच्छिक अनुशासनको विकास गर्ने हो । साथै पार्टी एउटा सर्वहारावर्गको जनउत्तरदायी संस्था भएकोले त्यसले तय गरेका नीति, निर्णय तथा निर्देशन, विधि , विधान, पद्धति अनुकूल चलेका छन् कि छैनन् भन्ने कुराले पार्टीको चरित्र निर्धांरण गर्ने गर्दछ । पार्टीमा अनुशासन र अनुगमनलाई आत्मसाथ गर्न सबै तहले निम्न कुरामा ध्यान केन्द्रित गर्न आवश्यक छ । (क) माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा ठिक ढंगले बुझ्ने, प्रयोग गर्ने र विकास गर्ने, (ख) सर्वहाराकृत, एकीकृत केन्द्रीकृत, चुस्त र गतिशील पार्टीको निर्माण गर्ने (ग) सर्वहारा र क्रान्तिकारी जनशैलीद्वारा सुदृढ र प्रगाढ जनसम्बन्ध स्थापित गर्ने (घ) नीति निर्देशन र अनुगमनको द्वन्द्वात्मक सम्बन्धलाई एकताबद्ध र संयोजन गर्दै समग्र पार्टी पंक्तिलाई रुपान्तरण गर्ने । (ङ) सबै खाले प्रवृत्तिका विरुद्ध पार्टीलाई रुपान्तरण गर्न चिन्तन र व्यवहारमा एक रुपता कायम गर्ने र (च) वैचारिक–राजनीतिक कामको क्षेत्र, सांगठनिक क्षेत्र, आर्थिक क्षेत्र र सांस्कृतिक क्षेत्रमा नीति र नियमावली बनाइ लागु गर्ने आदि । यिनै विषयलाई ध्यानमा राखेर नेकपा (माओवादी) ले २०६१÷०६२ मा मलाई पार्टीको अनुशासन तथा अनुगमन विभागको प्रमुखको रुपमा जिम्मेवारी दिएको हो ।
९) तपाईं विद्यार्थी आन्दोलनका क्रममा २०३८ सालमा ५ महिना सिन्धुपाल्चोक जेलमा ,२०३८ सालमै काठमाडौं डिल्लीबजार खोरमा पनि थुनिनु भयो । २०३४ सालमा राजतन्त्रको विरुद्ध तथा गणतन्त्रको पक्षमा पर्चा छर्दा पनि गिरफ्तार हुनु भयो । कष्टडीमा रहँदाका भुल्न नसकिने केही घटनाहरू छन् कि ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टीको कुनै पनि नेता÷कर्ताकर्ता प्रतिक्रियावादी सत्ताको हिरासत वा जेलमा रहनु अनौठो कुरा त भएन नै । जुनसुकै अवस्थामा पनि कम्युनिस्टले जेल जीवनमा पनि श्रमलाई सिर्जनाको साधनको रुपमा सम्मान र प्रयोग गर्दछन् । कष्टडीमा रहँदा चौतारा जेलभित्र मेरो नेतृत्वमा बन्दीहरुलाई गरेको अध्यापन कार्य एउटा स्मरणीय कार्य थियो । त्यसले बन्दीहरुसँगको सामिप्यता र सम्बन्ध प्रगाढ बनायो । छुट्नेबेला बन्दीहरु ज्यादै भावुक भए । फेरि भेट गर्ने वाचा गरें । उनीहरु मध्ये केहीको छुट्ने अवधि भएकाले जेलबाट छुटे । म पाटन क्याम्पसमा सभापति थिए भेट गर्न आएपछि संगठित पनि भए । त्यस्तै शिक्षक आन्दोलनका सन्दर्भमा डिल्लीबजार खोरमा १८ दिनसम्म ५५ जनासँगै रह्यौं । त्यसमा हामीलाई फुटाउन प्रशासनले निकै कोशिश ग¥यो विभिन्न प्रकारको प्रलोभन र साउती ग¥यो तर हामी छुटे सबै छुट्ने नत्र सबै आप्mनो आन्दोलनको लक्ष्यका लागि निसर्त सबै रिहा हुने प्रतिबद्धताले हाम्रो एकता र संघर्षको गहिरो छाप प¥यो । यस्तै २०३४ मा गणतन्त्रको पक्षमा पर्चा छर्दाको क्षण र अनि हिरासत र तारिखमा छोडेको अवस्था पहिलो घटना भएकाले त्यसको छुट्टै स्मरण बन्यो ।
१०) आम निर्बाचन भएको १५ महिनामा प्रधानमन्त्रीले ३ पटक बिश्वासको मत लिनु पर्ने , प्रदेश सरकारहरूमा लगातार फेरबदल ,यो अस्थिरताले देशलाई कता लैजादैछ भन्ने ठान्नु हुन्छ ?
–आम निर्वाचनपछि पटकपट सरकार बदलिने जुन अवस्था देखिएको छ । त्यो प्रतिक्रियावादी संसदीय व्यवस्थाको चारित्रिक विशेषता हो । यस प्रकारको अस्थिरता र तरलताले बैदेशिक शक्ति केन्द्रहरुलाई चलखेल गर्न झन झन बलियो आधार बन्दै गयो । अर्को कुरा सत्ताको दलाली चरित्रका कारण दलगत र निहित स्वार्थ सिद्धिको साधनको रुपमा सरकारले उदांगो चरित्र प्रकट भयो । केन्द्रीय र प्रादेशिक गठबन्धन बन्दा वा बदलिंदा कुनै वैचारिक र नीतिगत धरातलको अभावले जतिबेला पनि अस्थिरता भैरहने अवस्था रह्यो । जसले गर्दा वैदेशिक शक्तिहरुको दलाली र चाकडीको प्रतिस्पर्धा मौलायो । सामान्य स्वाभीमान र स्वतन्त्र ढंगले सोच्ने र काम गर्ने स्थितिको तीब्र ह्रास हुँदै गयो । राष्ट्र, राष्ट्रियता र स्वाभिमानमा गम्भीर खतरा बढ्दै गयो । समग्रमा राष्ट्र असफलताको शिकार बन्ने दिशातिर गैरहेछ । त्यसलाई रोक्न राष्ट्रियता र नयाँ जनवादीको क्रान्तिकारी आन्दोलनले मात्र त्यसप्रकारका अत्तरविरोधको हल गर्न सक्छ । नत्र राष्ट्रघात र जनघातको पट्यार लाग्दो निरन्तर ओरालो लाग्ने अवस्थामा बदलाव आउन सक्दैन ।
११) देशको समग्र राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
– राष्ट्रघात, जनघात एवं जनतन्त्र विरोधी क्रियाकलापका विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरुले एकताबद्ध मै नयाँ ढंगले पहल गर्न आवश्यक छ । नामधारी संसदवादी कम्युनिस्टहरु राष्ट्र र जनताको दोहन गर्न र भ्रष्टाचार, कमिशनतन्त्र र दलालीमा लिप्त छन् – जतिसुकै विकासस र निर्माणको राग अलापे पनि त्यो केवल भ्रम छर्ने मात्र हो । नव उदारवादी अर्थतन्त्रको सिरानी हालेर उन्नति प्रगति र समाजवादको परिकल्पना केवल हांस्यास्पद कुरा मात्र हो र यो ठगहरुको धन्दा हो । पुरानो राज्यसत्ता साह्रै मक्किइसकेको छ । यसलाई ढाल्न बहुसंख्यक उत्पीडित वर्ग र समुदायले संगठित चोटिलो प्रहारलाई योजनाबद्ध ढंगले विकास गर्दै निर्णायक प्रहारमा जुट्न आवश्यक छ । यो पहल क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरुको संयुक्त प्रयासले नयाँ जनवादी सफल क्रान्तिको उद्घोष गर्न सक्छ । सम्भव छ सुन्दर भविष्य निर्माणको ।
१२) अहिले विकास हुँदै गइरहेको देशको यो संकटबाट मुक्ति पाउन के गर्नुपर्ने ठान्नु हुन्छ?
–यो कहालीलाग्दो संकटबाट मुक्ति पाउन साम्राज्यवादद्वारा पालित पोषित दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र कमजोर सामन्तवादी कडीका विरुद्ध निर्णायक संघर्षलाई व्यवस्थित ढंगले अगाडि बढाउन जरुरी छ । त्यतिले मात्र पुग्दैन, क्रान्तिका विरुद्ध तगारो बनेको तमाम खाले दक्षिणपन्थी संशोधनवाद–अवसरपवाद, जो नामधारी कम्युनिस्टका रुपमा साम्राज्यवाद र विस्तारवादका असली गोटीका रुपमा प्रतिक्रियावादी संसदीय व्यवस्थाका तावेदारलाई परास्त गरेर मात्र नयाँ सामाजिक व्यवस्था र जीवनको सुत्रपात हुन सक्दछ । त्यसको लागि मालेमावादी विचारधारात्मक तथा राजनीतिक कार्यदिशाको विकास गर्न आवश्यक छ । यसका साथ अहिलेको विश्व परिस्थिति तथा राष्ट्रिय परिस्थितिको गर्भबाट मालेमावादका समग्र विषयलाई सुक्ष्म अध्ययनका साथ ठोस स्थितिको पहिचान सहित विकास एवं प्रगति गर्न आवश्यक छ । यिनै समग्र अध्ययनबाटै नयाँ कार्यदिशाको विकास सम्भव छ ।
१३) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा मशाल बीचमा केन्द्रीय स्तरमा पार्टी एकता सम्पन्न भएकोछ । यो एकताको औचित्यता बारे प्रकाश पार्नु पर्दा के भन्नू हुन्छ ?
–क्रान्तिका लागि अनुकूल वस्तुगत परिस्थिति बढ्दै गए पनि आत्मगत परिस्थिति कमजोर भएकाले क्रान्तिले निर्णायक मोड लिन सकेको छैन । यसमा टेकेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच लामो समयदेखि चल्दै आएको वैचारिक, राजनीतिक छलफल, बहसका बीचबाट यो एकता भर्खर २०८१ वैशाख १८ गते सम्पन्न भएको हो । यो एकता विश्व सर्वहारावर्गका साथै नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायका लागि एक गौरवपूर्ण ऐतिहासिक आवश्यकताको विषय पनि हो । यो एकता प्रक्रियाले वस्तुगत र आत्मगत अवस्थाको अन्तरलाई कम गर्ने सहयोगीको भूमिका निर्वाह गर्नेछ । यसले क्रान्तिकारी कम्युनिस्टहरु र क्रान्तिका हिमायती जनसमुदायलाई उत्साहका साथै थप आशावादी बनाएको छ । तमाम प्रकारका दक्षिणपन्थी संशोधनवादीहरु र सबै अवसरवादीहरुले फैलाएको भ्रमजाललाई चकनाचुर पार्दै अघि बढ्न प्रेरित गरेको छ । आशा गरौं नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने सपनालाई क्रमशः व्यवहारिक रुप दिन सफल हुनेछौं ।
१४) पार्टीका आगामी कार्यक्रमहरु के छन् ?
–केन्द्रमा भर्खर पार्टी एकता सम्पन्न भएको छ । दुई पार्टी बीचको एकतालाई प्रदेश र जिल्ला हुँदै तल्ला निकायसम्म अभियानात्मक रुपमा एकता सम्पन्न गर्न जरुरी छ । पहिलो कुरा दुई पार्टी बीचको संगठनात्मक सफलतालाई पाटी, जवस÷मोर्चा लगायतका सबै क्षेत्रका विभिन्न निकायमा अभियानात्मक रुपमा सम्पन्न गर्ने छौं । दोस्रो हामी एकता महाधिवेशनको घनीभूत प्रक्रियामा पनि प्रवेश गर्ने छौं र त्यसका साथै राष्ट्र र जनताका समस्या राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नमा केन्द्रित रही ठोस र मूर्त संघर्षका कार्यक्रम पनि संचालन गर्नेछौं ।
१५) अन्त्यमा हाँक मार्फत भन्नू पर्ने थप केही छ कि?
–स्थापित पत्रिका हाँक साप्ताहिक मार्फत् हाम्रो पार्टीका विचारहरु सम्प्रेषित गर्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद सहित यो पत्रिका हाँकको थप प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित